७ वैशाख २०८१ शुक्रबार
प्रवास

शेयर बजारमा एनआरएनको दस अर्ब रुपैयाँ

लन्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) को सक्रियतमा विश्वभरका नेपाली समुदायबाट संकलन हुने १० अर्ब रुपैंयाको पूर्वाधार विकास कोषको रुपमा नेपाली शेयर बजारमा भित्रिने भएको छ। गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले गत सोमवार अल्डरशटका आयोजित  'गैर आवासीय नेपाली पूर्वाधार विकास कोष’ सम्वन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै १० अर्ब रुपैंयाको पूर्वाधार विकास कोष स्थापना गर्ने घोषणा गरे। नेपालको राजनीतिले समेत कोल्टे फेरेको अवस्थामा नेपालको पूर्वाधार विकासमा योगदान पुर्‍याउने उद्देश्यले कोषको स्थापना गरिएको अध्यक्ष भट्टले बताए।

कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले विदेशमा बस्ने नेपाली समुदायले परोपकारी क्षेत्रमा मात्र काम गरेर देशको उन्नति नहुने बताए। साच्चिकै देशलाई समृद्धिको बाटोमा लैजाने हो भने लगानीको विकल्प नभएको उपाध्यक्ष पन्तको तर्क थियो।

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेले नेपालमा पछिल्लो समयमा भएका राजनीतिक परिवर्तन दीगो हुन नसक्नुको पछाडी आर्थिक विकास भएको बताउँदै देशभित्र लागानीको लागि उचित समय भएको बताए। उनले संघले सुरु गर्न लागेको १० अर्बको कोषमा साना लगानीकर्तासमेत समावेश गरिने बताए। उनले निकट भविष्यमा सो कोषलाई आइपोओमा लैजान सकिने बताए।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले नेपालको निजी क्षेत्र गैरआवासीय नेपाली समूदायसँग मिलेर काम गर्न इच्छुक रहेको बताए।

अन्तर्क्रियामा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपालमा राजनीतिक उपलब्धिहरु संस्थागत भइसकेको र स्थिर सरकार बन्न थालेको अवस्थामा संघले गरेको १० अर्ब लगानीको घोषणा ऐतिहासिक र दुरगामी सोचको कार्यक्रम भएको बताए। उनले पुराना आग्रह र पूर्वाग्रह राखेर देश नबन्ने जिकिर गर्दै नयाँ सोचका साथ अगाडि बढ्न आग्रह गरे।

कार्यक्रममा संघका सल्लाहकार डा. हेमराज शर्माले कार्यक्रमको विषय तथा लगानीको खाका प्रस्तुत गरे।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले चीन, भारतलगायत अफ्रिकन मुलुक गैरआवासीय नागरिकको प्रभावले ती देशले समृद्धिको बाटो लिएको बताए। उनले देश विकासमा गैरआवासीय नेपालीले उल्लेख्य रुपमा योगदान पु-याउन सक्ने बताउदैं नेपाल उर्वर भूमि भएका कारण जुनसुकै क्षेत्रमा लगानी गरे पनि प्रसस्त आम्दानी हुने बताए। 

उनले संसारमा भइरहेको परिवर्तनअनुरुप नेपाल अगाडि बढेको बताए। उनले भने, ‘समय अनुकूल देशको नियम कानुनसमेत परिवर्तन हुँदै गएको छ, गैरआवासीय नेपालीले लगानीमा जोड दिनुपर्छ।’ 

गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीको सुझावको आधारमा ५ बुँदे घोषणापत्र समेत जारी गरिएको थियो। 

 

प्रकाशित: १० माघ २०७४ ०८:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App