८ वैशाख २०८१ शनिबार
विचार

पुनर्निर्माणको पर्व

कुनै पनि विकास निर्माणका लागि हामीकहाँ पर्व कुर्ने चलन छ । कुनै खास पर्व पारेर शिलान्यास वा उद्घाटन गरेपछि त्यसको कार्यान्वयन भइहाल्छ भनेर ढुक्क हुन भने सकिँदैन । त्यसो हुँदो हो त हामीकहाँ विकास निर्माण योजना/आयोजनाको अहिलेजस्तो दुर्दशा हुने थिएन । कुनै न कुनै बहानामा यस्ता काम रोकिएका छन् । त्यसमा प्रत्येक वर्ष माघ २ गते भूकम्प दिवसका दिन कुनै न कुनै आयोजनाको थालनी गरेर वा यससम्बन्धी सचेतता जगाउँदै मनाउने चलन छ । १९९० माघ २ गतेको महाभूकम्पपछि जनधनको क्षतिलाई ध्यानमा राखी मनाउँदै आएको भूकम्प दिवसलाई शासन सत्ता परिवर्तन हुँदै गए पनि वर्षौंदेखि निरन्तरता दिइँदै आएको छ । आखिर विपत्तिको सम्झना जहिल्यै गर्नु र त्यसबाट भविष्यमा जोगिन तयार हुनु अनिवार्य छ । सबैजसो समाजले विगत घटनाबाट पाठ सिक्दै भविष्यको तयारी गर्छन् । त्यसमा पनि हाम्रोजस्तो भूकम्पीय जोखिम भएको मुलुकले यसबाट सिकेर अगाडि बढ्नु उत्तिकै आवश्यक छ । तर, हामी त्यसरी पाठ सिक्ने खालका मानिस भने होइनौं । भूकम्प दिवसको आसपासमा हामी केही दिन यसबारे चर्चा÷परिचर्चा गर्छौं, त्यसपछि बिर्सन्छौं । भनिन्छ, सुखी त्यही हो जसले विगतका दुःख सजिलै बिर्सन्छ । यो हो भने हामी साँच्चिकै सुखी मानिस हौं । हामीलाई विगतका दुःख सम्झनु नै छैन । त्यसबाट उम्किनका निम्ति प्रयास गर्नु आवश्यक पनि छैन। 

ऐतिहासिक महत्त्वको धरहरा रहेको ठाउँलाई निश्चित व्यापारी वर्गको फाइदाका लागि अझै पनि दोहन गर्न छाडिएको छैन । अतः यी घटनाबाट सिक्दै आगामी दिनमा कामलाई तीव्र पार्ने पाठका रूपमा यो दिवसलाई मनाउन सकिन्छ । भूकम्प सुरक्षा दिवसलाई पुनर्निर्माण पर्वका रूपमा पनि सम्झना गर्ने कि ? 

मुलुकभरि मंगलबार धुमधामसँग भूकम्प दिवस मनाइएको छ । यसरी दिवस मनाउने क्रममा विगतमा गरिएका प्रतिज्ञालाई भने सम्झने काम भएन । दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा राजधानी काठमाडौं नजिकैको बुङमतीमा पुनर्निर्माणको महाअभियान सुरु भएको थियो । त्यो बेला स्थानीयले महाअभियान थालनीका क्रममा माला लगाइदिएका प्रमुख अतिथि ओलीको अनुहार बिर्सेका छैनन् । स्थानीय त्यो बेला जति खुसी भएका थिए, अहिले त्यत्तिकै निराश छन् । सरकार प्रमुखले थालेको कामसमेत पूरा गर्न सक्ने अवस्थामा मुलुकको राज्यसंयन्त्र रहेको छैन । कुनै कामको थालनी हुन्छ भने त्यसको निरन्तरता र समापनको जिम्मेवारी सरोकारवाला निकायको हुने गर्छ । हाम्रो मुलुकमा भने राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थले थालनी गरेका काम पूरा नहुँदा पनि त्यसको खोजी हुँदैन । वास्तवमा त्यहाँको पुनर्निर्माण सम्पन्न भएपछि उद्घाटनका क्रममा बहालवाला प्रधानमन्त्रीको त्यहाँ उपस्थित हुनुपर्ने थियो । बहालवालासँग आयोजनाका शिलान्यासकर्ता पूर्वप्रधानमन्त्री फेरि माला लगाएर बस्न पाएका भए त्यसको महत्ता नै बेग्लै हुने थियो । त्यो बेला प्रधानमन्त्रीलाई महाअभियान सुरु गर्नुपर्छ भनी सहमत गराएर शिलान्यास गराउने व्यक्तिहरूले पछि वास्ता नगरेको भनेर बुझ्नुपर्ने हुन्छ । कुनै पनि काम थालनी भएपछि त्यसको प्रगतिबारे मुलुकको स्थायी सरकारका रूपमा रहेको कर्मचारीतन्त्रको जिम्मेवारी यहाँ महत्त्वपूर्ण हुन आउँछ । भूकम्पपछि आफ्ना संरचना निर्माण हुने अपेक्षामा बसेका सर्वसाधारणप्रतिको जिम्मेवारी पूरा नगरेको यो उदाहरण हो । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको रानीपोखरी पुनर्निर्माण अभियान र तत्कालीन प्रधानमन्त्री ओलीले उद्घाटन गरेको बुङमतीको टोखा पिनी टोलको अवस्थाले यथार्थमै मुलुक पुनर्निर्माणको लथालिंग अवस्थालाई उजागर गरेको छ। 

जापान हामीकहाँ भन्दा धेरै भूकम्प गइरहने मुलुक हो । तर, उसले भूकम्पबाट जोगिन मात्र होइन, त्यसको पुनर्निर्माणमा पनि उत्तिकै ध्यान दिएको छ । १९९० सालको भूकम्प गएपछि त्यसको अवस्थाबारे पुस्तक लेखेका ब्रह्मशमशेरले भूमिकामै जापानबाट पुनर्निर्माणका बारेमा सिक्नुपर्ने धारणा व्यक्त गरेका छन् । २०७२ सालमा अर्को ठूलो भूकम्प गएपछि हामीकहाँ पुनः यसबाट जोगिने र पुनर्निर्माणबारेमा पुनर्जागरणकालकै आगमन भएजस्तो अनुभव गरिएको हो। तर, त्यसपछिका सरकारीदेखि सर्वसाधारणसम्मका व्यवहारमा कुनै परिवर्तन देखिएको छैन । यस्तो लाग्छ, तीन वर्षअघि यो मुलुकमा करिब ९ हजार जनाको ज्यान जाने गरी ७.८ रिक्टर स्केलको भूकम्प गएकोजस्तो महसुस नै हुँदैन। सबैले यसलाई बिर्सनुमै उचित ठानेजस्तो लाग्छ । जापानमा भूकम्प र अन्य प्राकृतिक विपत्बाट जोगिन स्कुल तहको पाठ्यपुस्तकदेखि नै विद्यार्थीलाई तयार पारिएको हुन्छ । हामीले इतिहासबाट सिक्ने कुरा गरे पनि कहिल्यै त्यसलाई सिक्ने र कार्यान्वयन गर्ने सोचेनौं । आफ्ना विद्यार्थीलाई पनि यसबारे पाठ्यक्रममा राखेर सिकाउने प्रयाससमेत भएन । जापानले भूकम्पसम्बन्धी संग्रहालयसमेत निर्माण गरी भूकम्पीय जोखिमबारे जागरण गराउने गरेको छ । जापानको कोबेमा २०५१ माघ १ गते गएको भूकम्पलाई अहिलेसम्म स्मृतिमा राखिएको छ । त्यति मात्र होइन, त्यो ठाउँमा संग्रहालय स्थापना गरी जमिन फाटेको ठाउँलाई समेत सुरक्षित राखिएको छ । हामीकहाँ पनि यस्ता सोच नआएका होइनन् तर कार्यान्वयन शून्य छ । धरहरालाई नै अहिलेको अवस्थामा सुरक्षित राखेर संग्रहालय बनाउने विचार अघि सारे पनि कार्यान्वयन भएन । बरु त्यो ऐतिहासिक महत्त्वको ठाउँलाई निश्चित व्यापारी वर्गको फाइदाका लागि अझै पनि दोहन गर्न छाडिएको छैन । अतः यी घटनाबाट सिक्दै आगामी दिनमा कामलाई तीव्र पार्ने पाठका रूपमा यो दिवसलाई मनाउन सकिन्छ । भूकम्प सुरक्षा दिवसलाई पुनर्निर्माण पर्वका रूपमा पनि सम्झना गर्ने कि ? 

प्रकाशित: ३ माघ २०७४ ०४:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App