७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

चाकुकाे चटाराे (फोटो फिचर)

तस्बिरः दिनेश गाेले

काठमाडौं– माघे संक्रान्ति नजिकिँदै गर्दा काठमाडौं उपत्यकाका चाकु व्यवसायीलाई अहिले चाकु बनाउन भ्याइ नभ्याइ छ । माघे संक्रान्तिलाई केन्द्रित गरेर बजारमा चाकुको माग बढी हुने भएकाले यतिबेला टोखा, मंलगबजार र भक्तपुरका चाकु व्यवसायी चाकु बनाउन व्यस्त भएका हुन् ।

माघे संक्रान्ति र यमरी पुन्हीःमा चाकु अनिवार्य भएको हुँदा जाडो याममा शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्वको लागि चाकु खाइने भएकाले व्यवसायीहरु पुसको दोस्रो सातादेखि उखुको रस वा सख्खर पकाएर चाकु बनाउन सक्रिय भएका छन् । ललितपुरस्थित मंलगबजार, भक्तपुर र टोखाका अधिकांश चाकु व्यवसायीहरु बिहानैदेखि चाकु बनाउन जुटेका छन् ।

उखुको रस वा सख्खर, दुध, घ्यु, सुख्खा नरिवल र खुवा पकाएर तयार हुने चाकुले जाडो मौसममा शरीरलाई न्यानो राख्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्दछ । त्यसबाहेक चाकुमा बदाम, पेस्ता, काजु लगायत पौष्टिक चिज र मसला राखिने गरिन्छ । मंगलबजारमा विगत १५ वर्षदेखि चाखु उद्योग संञ्चालन गरिरहेका हरिराज श्रेष्ठ कामदारसहित बिहानैदेखि चाकु पकाउन जुटेका छन् । ‘पुसको पहिलो सातादेखि बजारमा माग बढ्न थालेपछि बिहानैदेखि चाकु पकाउन भ्याइ नभ्याइ हुन्छ । सुरुमा अन्य व्यवसायीहरुमार्फत चाकु बिक्री गर्थे । अहिले चाकु पकाउनेदेखि बजारमा लगेर बिक्री गर्ने काम सबै कामदारको सहयोगमा आफै गर्ने हुँदा पुस महिनादेखि माघे संक्रान्तिसम्म खाना खाने फुर्सद पाइन्न।’ उनले हरेक वर्ष माघे संक्रान्तिको लागि भनेर परिवारको सदस्यहरुबाहेक १० जना अन्य कामदारको राख्ने गरेका छन् ।उनले बजारको माग अनुसार विभिन्न थरीका चाकुहरु तयार पार्ने गरेका छन् । उनले सादा चाकु,  खुवा चाकु, किसमिस र बदाम हालेको स्पेसल चाकु र सुत्केरी महिलाहरुको लागि पौष्टिक तत्व हालेको सुत्केरी चाकु बनाउने गरेका छन् । उनले चाकुबाहेक तिलको लड्डु समेत उत्पादन गर्ने गरेका छन् । सामान्यतय प्रतिहप्ता ५० किलो चाकु उत्पादन गर्ने व्यवसायीहरुले सिजनमा भने प्रतिदिन दुई सयदेखि ४ सय किलोसम्म चाकु बनाउने गरेका छन् ।

महंगीका कारण चाकु बनाउने सामग्रीको मूल्य बढेपछि यसवर्षको लागि भने व्यवसायीहरुले सबैभन्दा सानो सादा चाकुको मूल्य ५० रुपैंया तोकेका छन् । ‘महंगीको कारण चाकु बनाउन प्रयोग हुने सबै सामग्रीको मूल्य बढेको छ । यसअघि ३० देखि ४० रुपैंयासम्ममा खरिद गर्न सकिने सबैभन्दा सानो खालको सादा चाकुको मूल्य अहिले ५० रुपैंया पुगेको छ,’उनले भने ।

तस्बिरः दिनेश गाेले
तस्बिरः दिनेश गाेले
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App