coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

१८ घन्टा अपरेसनपछि बालिकाको उद्धार

सोमबार मोरङ, पथरीबाट सकुशल अपहरणमुक्त गरिएकी बालिका। तस्बिर : नेपाल प्रहरी

विराटनगर- सोमबार बिहान ४ बजे। मोरङको पथरी मस्त निद्रामा थियो। राजमार्गको त्यो बस्तीको एउटा घरमा भने हलचल थियो। सादा पोसाकमा रहेका सुरक्षाकर्मीले घर घेरा हालेका थिए। केही भित्र पसेका थिए। ५ वर्षकी बालिका ओछ्यानमा मस्त निद्रामा थिइन्। निदाइरहेकै अवस्थामा प्रहरीले बालिकालाई अँगालोमा राखे। र, बिस्तारै घरबाहिर निस्किए।

स्कुलबाट घर फर्किरहेकी भारत, बिहार, कटिहार कुरसेलाकी स्पर्श (छवि) अग्रवालको बुधबार (साउन १९ ) अपहरण भएको थियो। पेट्रोलपम्प सञ्चालक भानु अग्रवालकी छोरी स्पर्शलाई अपहरण गरिएकै साँझ नेपाल ल्याइएको र पथरी–४ स्थित रीता साहको घरमा अपहृत बालिकासहित अपहरणकारी लुकेको सूचनाका आधारमा प्रहरीले सोमबार बिहान त्यो घरलाई घेराबन्दी गरेको थियो।

प्रहरीले स्पर्श अपहरणमा संलग्न सुनसरी, इनर्वा–५ का दिनेश गुप्तालाई पक्राउ गरेको छ। ‘स्पर्श सुतेकै कोठामा गुप्ता पनि सुतिरहेको थियो,’ अपरेसनमा खटिएका पूर्वक्षेत्र प्रहरी कार्यालयका एक अधिकृतले भने, ‘बच्चालाई केही गर्ला भनेर हामीले पहिले सुतिरहेकै अवस्थामा स्पर्शलाई सेफ साइड गर्‍यौं, अनि मात्र गुप्तालाई नियन्त्रणमा लियौं।’

स्पर्शलाई सधैंझैं बुधबार पनि बुबा भानुले स्कुल पुर्‍याइदिएका थिए। उनी सधैं बुबाको गाडी चढेर स्कुल जान्थिन्, फर्किंदा स्कुलबसमा।

त्यस दिन स्पर्शको घर नपुग्दै गाडी घ्याच्च रोकियो। बाहिर २–३ जना बलेरो गाडीमा बसेका थिए। एनबिआर स्कुलमा केजीमा पढ्दै गरेकी स्पर्शलाई परिचित व्यक्तिले नै गाडीबाट तल झारे। र, बलेरोमा लगेर बसाइदिए। ‘घर नपुग्दै बाटोमै स्कुलबस रोकेर स्पर्शलाई उतार्ने त्यही स्कुलका पुराना ड्राइभर हुन्,’ स्पर्शका बुबा भानुले भने, ‘मिथुन पासवान हो उसको नाम, स्कुल बस हाँकेकाले छोरीलाई उसले चिन्थ्यो।’ कटिहार प्रहरीले पासवानलाई पक्रिसकेको छ।

...

आइतबार १२ बजेर ३० मिनेट। पूर्वक्षेत्र प्रहरी कार्यालयका प्रमुख डिआइजी केशरीराज घिमिरेको मोबाइल बज्यो। ‘जयनेपाल’ भन्दै उनी फोनमा कुरा गर्न थाले। प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले स्पर्श अपहरणबारे आएको सूचना डिआइजी घिमिरेलाई सुनाइरहेका थिए। उनले लगत्तै अपरेसन थालिहाल्न निर्देशन दिए।

‘१८ घन्टा लगातार अपरेसनपछि अपहृत बालिकाको उद्धार गरियो,’ सोमबार अपराह्न डिआइजी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा घिमिरेले भने, ‘धनकुटा, सुनसरी र मोरङको ६ ठाउँमा रेड हानियो, बल्ल पथरीको एउटा घरबाट रेस्क्यु गरियो।’

प्रहरीको क्षेत्रीय अपराध ब्युरो, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले अपरेसन गरेको थियो।

इटहरी र भेडेटारका केही होटलमा प्रहरीले छापा मारेको सूचना अपहरणकारी गुप्ताले पायो। उसले बालिकालाई आइतबार राति ८ बजेर ३० मिनेटमा पथरी ल्याइपुर्‍यायो। नातेदार रीता साहको घरमा बास बस्यो। डिआइजी घिमिरेका अनुसार अपहरण गरेकै दिन स्पर्शलाई भारतीय अपहरणकारीले सुनसरीको कप्तानगन्जमा गुप्ताको जिम्मा लगाएका थिए। ‘गुप्ता स्पर्शलाई लिएर एक दिन इटहरी बस्यो,’ डिआइजी घिमिरेले भने, ‘दुई दिन भेडेटारमा।’

प्रहरीले खोजी तीव्र पारेको सुइँको पाएपछि गुप्ता आइतबार साँझ भेडेटारबाट स्पर्शलाई लिएर पथरी पुगेको थियो।

गुप्ताले प्रयोग गरेको मोबाइल सिग्नल पछ्याउँदै प्रहरीले १८ घन्टा लामो प्रयासपछि बिहार प्रहरीका लागि ‘टाउकोदुखाइ’ बनेको स्पर्श अपहरण काण्ड पटाक्षेप गरिदियो। ‘फिरौतीको बार्गेनिङ हुनुअघि नै यति छोटो समयमा अपहृतको उद्धार गरिएको हो,’ डिआइजी घिमिरेले भने, ‘गुप्ताले स्पर्शलाई ठाउँ सार्दा कतै मोटरसाइकल त कतै गाडी प्रयोग गरेको थियो।’

स्पर्श अपहरणमा बिहारको मेहता ग्याङ (समूह) संग्लन देखिएको छ। कटिहारबाट अपहरण गरिएकी बालिका स्पर्शलाई ‘सेफ पार्ट’ मा राख्न गुप्ताको जिम्मा लगाइएको थियो। गुप्ता मेहताले ग्याङका लागि काम गरेको प्रहरीलाई बयान दिएको छ। ‘गुप्ताको काम स्पर्शलाई नेपालमा सुरक्षित साथ लुकाएर राख्ने थियो,’ डिआइजी घिमिरेले भने, ‘हाम्रो अनुसन्धानमा स्पर्श अपहरण प्रकरणमा ५ जनाको संग्लनता देखिन्छ, त्यसको सूचना बिहार प्रहरीलाई दिइसकिएको छ।’

कटिहारको कुरसेला इलाकाबाट अपहरण गरिएकी स्पर्शलाई फुलकाहा हुँदै सुनसरीको कप्तानगन्ज ल्याई गुप्ताको जिम्मा लगाएर भारतीय अपहरणकारी फर्किएका थिए।

‘अपहरणकारीले कुनै डिमान्ड गरेको छैन,’ पत्रकार सम्मेलनमा स्पर्शका बुबा भानुले भने। स्पर्शको परिवारले फिरौती मागेको कुरा इन्कार गरे पनि भारतीय सञ्चार माध्यममा ५ देखि २५ करोड रुपैयाँसम्म फिरौती मागिएको समाचार आएको छ। फिरौती मागेकै कारण कटिहार प्रहरीले बिहारका पूर्व सांसद नरेश यादवका छोरा सन्तोष यादव र कटिहारकै तेजाटोलाका सुनिल सिंहलाई पक्राउसमेत गरेको छ। कटिहार प्रहरीले बालिका अपहरणमा फिरौती मागेको र रक्सीसेवन गरेको आरोपमा दुवैलाई शनिबार नै जेल चलान गरिसकेको छ।

कटिहार प्रहरीका एसपी सिद्धार्थ मोहन जैनले पूर्वसांसद यादवको छोरा सन्तोषको मोबाइल सिम जफत गरेर अनुसन्धान भइरहेको जनाएको छ।

स्पर्श अपहरण भएपछि बिहार प्रहरीले सीमावर्ती भारतीय सहर फारबिसगन्जका विभिन्न शंकास्पद ठाउँमा लगातार छापा मारिरहेको थियो। अपहरणको केही घण्टापछि सैफगन्ज चोकनजिक एउटा बलेरो गाडीमा स्पर्शसहित २ जना अपहरणकारी देखिएको सूचना कटिहार प्रहरीले पाएपछि सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता बढाएको थियो।

प्रकाशित: २५ श्रावण २०७३ ०१:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App