टोपी दिवस : जोड्ने कि तोड्ने ?

सोमबार, १७ पुष २०७४, ०९ : ४३ राजेन्द्र थापा


अचम्मको जात छ नेपाली, चाहिने कुरामा ध्यान केन्द्रित गर्नुभन्दा नचाहिने कुरामा बढी चलखेल गर्छ । अनि अनावश्यक विवाद, मुद्दा, द्वन्द्व, मनमुटाव, उत्तेजना तथा बेमेलको विषय उत्पन्न गरिरहेकै हुन्छ । यौटा सानु झिल्काबाट पूरै मनमा डढेलो लगाउने घटना या दुर्घटना समय समयमा घटिरहेकै छ । झन् त्यसमाथि आइटीको सरल पहँुचपछिको अनियन्त्रित अराजक फेसबुक, ट्विटर, अनलाइन आदि जस्ता सामाजिक सञ्जालबाट यस्ता विवाद र द्वन्द्वात्मक स्थिति उत्पन्न गर्ने खतरनाक स्थिति बढिरहेको छ । सुरक्षाकै दृष्टिले पनि सामाजिक सद्भावका लागि यी थ्रेट हुन सक्छन् ।

नेपालका हरेक जातिका आआफ्ना जातीय पोसाक सबै राष्ट्रिय पोसाक भनेर घोषणा गरेमा दौरा–सुरुवाल र टोपीको विवाद सकिन्छ ।

पश्चिमी आइएनजिओहरूले जनयुद्धको औसर र त्यसपछिको राजनीतिक संक्रमणात्मक लुछाचुँडीबाट लाभ उठाई स्थानीय एनजिओहरूका माध्यमबाट नेपालीबीच आपसमा खाल्टा खनेर एकअर्काको चिहान बनाउन गरिएको अर्बौंको लगानीले उत्पन्न आपसी भेद र घृणाको द्वन्द्वात्मक जलनशीलताको रापताप हर जात, समुदाय, वर्ग र तप्काले आफ्नै आँखाअगाडि देखिरहेको र भोगिरहेको प्रस्ट छ । बहाना हिन्दु धर्म सिद्धयाउने तर वास्तवमा १७ प्रतिशत बुद्धमार्गीलाई ९ प्रतिशतमा झारिसकेको तथ्यांक आइरहेका छन् । ‘दलितहरूले धर्म परिवर्तन गरिरहेका छन्’को हल्लामा यता बाघ आयो बाघ आयो भन्दै सयौँ हजारौँ वर्ष प्राचीन जनजातीय संस्कृतिकै खोरमा पसेर बाख्रा घिच्याइरहेको अवस्थाबारे कतै चेत छैन । जनजातीय संस्कृतिको मर्ममै ठोकिरहेको थाहै छैन, किनभने जनजातिलाई एकहोरो आर्य खसमा तारो हान्नु नै पहिचान हो भन्ने भ्रम पैmलाइरहिएको छ । यसरी पहाडी जनबीच कौरव पाण्डव युद्धको रिमोट युरोपमा रचिइएको बोध हुन्छ भने फेरि पहाडी र मधेसीबीचको घमासानको अर्कै परिच्छेद लेखिइएको प्रस्ट घोषणा हुन्छ । राजनीतिक शक्ति हासिल गर्नेका स्वार्थलाई करोडौँ डलर गुटमुटाउने नेता, मानवअधिकारकर्मी, पहिचानकर्मी, बौद्धिक धमिरा, नागरिक समाज, मलसाँप्रासरि जहाँ पनि छिर्न सक्ने वकिल तथा विज्ञ विश्लेषक आदिहरूका हातबाट घरीघरी आपसी सद्भावमा अगुल्टो झ्वाँस्स ठोक्दै, झिक्दै बिस्तारै जोडहरूमा झुल्स्याउँदै गइरहेको खतरनाक अवस्थामा समाज पुगिसकेको छ ।
     झन् यसै बेला अर्को नयाँ अगुल्टो बालिएको अवस्था छ । २०१४ मा कुनै श्रद्धावान् नेपाल लगायत केही संस्थाले अंड्ग्रेजी वर्षको जनवरी १ मा नेपाली पोसाक प्रवर्धन गर्ने नाममा मनाउन प्रारम्भ गरेको प्रस्तावित नेपाली पोसाक दिवस २०१६ देखि टोपी दिवसमा परिणत भयो । त्यसबेला साधारण रूपमा समर्थन र टिप्पणी, सेयर आदि भए ।
   राष्ट्रियता, नेपालित्वको पहिचान, राष्ट्रिय गौरव नाम दिँदै उही एक भाषा एक भेषको नयाँ संस्करण ल्याउँदै गर्दा भुलियो कि यदि पोसाकमा राष्ट्रियता हुन सक्छ भने पहाडी राष्ट्रवाद या बाहुन पहिरनको प्रतीक भनेर चित्त दुखाइने गरिएको टोपी मात्रै कसरी राष्ट्रियताको प्रतीक हुन सक्छ त ? यदि टोपीबाट राष्ट्रियताको पहिचान हुनसक्छ भने सँगसँगै धोती दिवस, बख्खुु दिवस, चौबन्दी दिवस पनि संयुक्तरूपमा किन नमनाउने ?
    देशले ध्यान दिएको छैन । सरकारले चासो लिएको छैन । सुरक्षा निकायले सोचेकै छन् । कुनै व्यक्ति या संस्थाले राष्ट्रिय दिवस घोषणा गर्नु जायज हो कि नाजायज ? यसले समाजका के असर पर्छ ? अल्पकालीन या दीर्घकालिक सुरक्षात्मक प्रभाव के पर्छ ? जनजाति र मधेसी समाजको यसमा कस्तो विचार र भाव उत्पन्न होला ? यस्ता कुनै कुरा कसैले चासो लिएको छैन । क्रिस्चियनकै नयाँ वर्षलाई चाड बनाउनुका पछाडि धर्मगुरु या एजेन्टहरूको रणनीति पो छ कि ? सवाल नै खतरनाक छ । जवाफ झन् कस्तो होला ?    
    कुरोले चुरो भने गत २०१७ को नयाँ वर्षमा कटायो, जब हप्तादेखि सामाजिक सञ्जालमा टोपी दिवसको कमेन्ट सुरु भयो, पक्ष र विपक्षमा । टोपीमा लबेदा सुरुवाल पनि थपियो र भयानकसँग फोटो, सेल्फी भटाभट हुन थाल्यो । महिलाहरू पनि टोपी लाएर फोटो टाँस्न थाले । मानौँ नेपालको परिचय तुर्की टोपी हो, राष्ट्रवाद भनेको मुसलमानी लबेदा सुरुवाल हो । टुपी छोप्न लगाउने गरिएको टोपीमा जन्मदेखिको प्रेम र स्वाभाविक आफ्नो पहिचान हुने नै भयो बाहुनका लागि । परन्तु खसहरूको पनि २०१७ मा सहभागिता बढेको थियो । तर पोसाकसहित फोटा खिचाउनेहरू भने क्रिसमस र नयाँ वर्षको लामो बिदा मनाइरहेका अमेरिका, अस्ट्रेलिया तथा युरोपतिरका नेपाली या एनआरएन नै बाहुन क्षत्री नै देखिएका थिए । अरब, मलेसियाजस्ता गैरक्रिस्चियन क्षेत्र आदिमा श्रम बेचेर मर्नु–बाँच्नुको स्थितिमा रहेकाहरूको भने सहभागिता कमै थियो । गत वर्षको सामाजिक सञ्जाल खोजेर विश्लेषण गरे थाहा होला ।
   गत वर्षको यसबेला प्रचण्डको सरकार थियो र प्रतिपक्षीहरू ओलीको राष्ट्रवादको मसालले पाकिरहेका अवस्थामा थिए । तसर्थ २०१६ को भन्दा सयौँ दोब्बर टोपी दिवसको सेलेब्रेसन र टोपी तथा लबेदा सुरुवाललाई सकल नेपालीको एक मात्र पहिचान भनेर यति धेरै शंख फुकिए कि देश र परदेशका कतिपय जनजातिहरूबाट तितोमात्र होइन, कडा विरोध र घृणाको कर्नाल नै बजाइयो । खस आर्यवाद, बाहुनवाद, सामन्तीवाद, जनजातिको पहिचानको हत्या, न्यूनीकरण, अभैm दास र मालिकको व्यवहार आदि विरोधका स्वरहरूमा एकअर्काको समर्थन र सेयर पनि निक्कै भयो ।
    मेरो सुरक्षा चेतको विश्लेषणमा यस वर्षको कथित टोपी दिवस भने जनजाति र खसआर्यको आपसी द्वन्द्व गालीगलौज मात्र होइन, टोपी जलाउनेजस्ता उग्र उत्तेजनात्मक घटनाको फोटो खिचेर सेयर नगरिएलान् भन्न सकिन्न । जनजातिका लागि खसआर्य राष्ट्रवाद र मधेसीका लागि पहाडी राष्ट्रवाद यो मुसलमानी लबेदा सलवार र तुर्की कथित टोपी दिवसले जोड्दैन, तोड्छ, त्यसैले अराजक हो, अमान्य तथा अवैध हो । यसमा साबिक विदेशी तत्वले नभड्काउला भन्न सकिन्न । क्रिस्चियन चाडकै समय नै छानिएकाले रणनीति अनुुसारै भएको हो कि ? किनभने, एक ताका आर्यखसका विरुद्ध पैmलाइएको घृणा र पहिचानको आगोको हदमा आङ शेर्पाले खुला रूपमा बाहुनको घाँटी खुकुरीले रेटेर आलो रगत प्युन चाहन्छु भनी गरेको आह्वानको राप सेलाउँदै गएको अवस्था छ । एक मधेस एक प्रदेशको नारा घन्किँदा जातीय राज्यका नाराहरू मौन भइसकेको अवस्था छ । आर्यखस जनजाति तथा मधेसी र थारूबीच पनि सद्भाव बढेको अवस्था छ । तसर्थ यस बेला टोपी राष्ट्रवादजस्ता अनावश्यक अर्कालाई उत्तेजनात्मक बनाउने कार्य गर्दा तिनै पुराना तत्वहरूले मौकामा चौका नहान्लान् भन्ने के छ ? यसबारे सुरक्षा निकायले या सुरक्षा विज्ञ भनेर छिमेकीलाई तथानाम बोलिरहनेहरू या सुरक्षा विश्लेषकहरू किन केही बोलिरहेका छैनन् ? सरकारले या संस्कार या धर्मले नमानेको कुनै पनि दिवसले यदि सामाजिक सद्भाव बिथोल्छ भने त्यो राष्ट्रप्रतिकै अपराध भएकाले सामाजिक सञ्जालमा साइबर क्राइमका रूपमा निषेधको हदसम्म हस्तक्षेप गर्न पनि पछि हट्नुहुन्न । आफ्नो कुनै राम्रै कार्यले पनि अन्यलाई उत्तेजना पैmलाउँछ भने त्यसो नगर्दा नै देश र समाज तथा जनताको भलाइ हुन्छ ।
   माधव नेपालको सरकारले लबेदा सुरुवाल र कालो टोपी र कालो जुत्तालाई औपचारिक पोसाक निर्धारण गरेको थियो, राष्ट्रिय पोसाक भनेको थिएन । तर प्रचण्डलगायत माओवादी मन्त्रीहरूले सरकारमै रहँदा उक्त पोसाकलाई नलगाएर उक्त निर्णयलाई पनि अर्थहीन बनाइसकेका छन् । सबै जातीय पोसाकलाई औपचारिक पोसाक बनाएपछि मात्र लबेदा सुरुवाल टोपीले औपचारिकता पाउनेछ ।
    मुसलमानी लबादा सलवारबाट आएको लबेदा सुरुवाल र तुर्की तथा अन्य मुसलमानी शैलीबाट भित्रिएको टोपीलाई नेपाली मान्नै तयार नहुनेहरू धेरै छन् नेपालमा । टुप्पी छोप्न बाल्यकालदेखि अनिवार्य टोपी लगाएर घरबाहिर निस्केको एक ब्राह्मणलाई जति यो टोपी आफ्नो लाग्छ त्यति नै बिरानो यही टोपी अरूलाई लागिरहेको हुन सक्छ । टोपीका प्राचीनरूप, कताबाट आएको, राणा महिलाहरूका ढाकाका बक्सिस पुरानो चोलोबाट ढाकाका टोपी लगाउन सुरु भएका (भादगाउँले) ज्यापू टोपीको भित्रीमा ज्यापू महिलाका थोत्रा हाकु पटासीहरूको प्रयोग आदि अनेक तथ्य या मिथहरू छन् । तिनमा कतै पनि नेपालको पहिचान या यो नेपाली मूल या आम किसान जनता नेपालीले कहिल्यै प्रयोग नगरेका टोपी या लबादा सलवार खाँटी नेपाली पहिचान हो भन्ने प्रमाण छैन । न त त्रिभुवनभन्दा पहिलेका कुनै राजाले टोपी र लबेदा सुरुवाल लगाएको तस्बिर छ । मेरै घरमा पनि बडाहाकिम स्तरका मेरा दरबारिया बाजेका सय सालताका खिचिएका १५–२० जनाको पारिवारिक फोटामा पनि कसैले उक्त टोपी र पोसाक पहिरेको छैन । बाजेले बिर्के टाइपको टोपीमा चाँद तोडा लगाएका छन् । भानुभक्तको टोपी पनि यस्तो छैन । तसर्थ यसको इतिहासमा कतै पनि नेपालको अंश भएको कुनै प्रमाण कतै छैन । अनि अनावश्यक यसलाई राष्ट्रिय पोसाक र नेपाली पहिचान बनाएर तथा टोपी दिवस मनाएर आपसमा किन उत्तेजना पैmलाउन सरकारले छुट दिन्छ ? वास्तवमा नेपालमा राष्ट्रिय पोसाक भन्ने नै छैन । नेपालका हरेक जातिका आआफ्ना जातीय पोसाक सबै राष्ट्रिय पोसाक भनेर घोषणा गरेमा यो जबर्जस्ती दौरा–सुरुवाल र टोपीको विवाद सकिन्छ । डा. माधवप्रसाद पोखरेल तथा शौरभले टोपीआदिबारे सार्वजनिक गरिसकेका अनुसन्धानले पनि यसलाई खाँटी नेपाली भनेर प्रमाणित गरेको छैन ।





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

गाडीको बनावटमा आधारित गाइड ...

किन गर्ने गाडीको बिमा?

किन गर्ने गाडीको बिमा?

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न...

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ ...

दयाहाङ किराँत संग्रहालयको सद्भावना दूत

दयाहाङ किराँत संग्रहालयको सद्भावना दूत

अभिनेता दयाहाङ राईलाई खोटाङको ऐसेलुखर्क–५ रिब्दुङ महेश्वरीमा निर्माण सुरु गरिएको किराँत संग्रहालयको सद्भावना दूत बनाइएको छ। ...

सञ्जय दत्तको बायोपिक फिल्ममा विवाद

सञ्जय दत्तको बायोपिक फिल्ममा विवाद

बलिउडका अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित बायोपिक फिल्मको नाममा विवाद भएको छ। निर्देशक राजकुमार हिरानी र निर्माता विनोद चोपडा फिल्मको नाम...

जोहारीको ‘याँ सम्झिने कोई भएन’ को भिडियो सार्वजनिक

जोहारीको ‘याँ सम्झिने कोई भएन’ को भिडियो सार्वजनिक

गायक वीरेन्द्र जोहारी नयाँ देउडा गीतका साथ दर्शकश्रोता समक्ष आएका छन्। पेशाले नेपाल प्रहरीको प्रहरी नायव निरीक्षक पदमा कार्यरत जोहारीले...

मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीमा

मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाका यात्री आज महोत्तरी जिल्ला प्रवेश गरेका छन्। ...