७ वैशाख २०८१ शुक्रबार
अर्थ

धुलिखेलमा पर्यटन सूचना केन्द्र

पर्यटन सूचना केन्द्रका पदाधिकारीको स्वागतपछि सामूहिक फोटो खिचाउँदै उद्घाटनका अवसरमा आइपुगेका पर्यटक ।

बनेपा–उपत्यकासँगैको पर्यटकीय गन्तव्य काभ्रेपलाञ्चोकमा पर्यटन उद्योग तथा व्यवसायको प्रवद्र्धन एवं पर्यटकलाई आवश्यक सूचना तथा जानकारी उपलब्ध गराउन धुलिखेलमा पर्यटन सूचना केन्द्र सञ्चालनमा ल्याइएको छ ।

धुलिखेल वातावरण तथा पर्यटन प्रवद्र्धन समितिले सञ्चालनमा ल्याएको सूचना केन्द्रको उद्घाटन नेपाल सरकारका सह–सचिव रविन्द्र घोलिजु श्रेष्ठले गरेका हुन् । ‘पर्यटकीय हिसाबले संसारमै नाम कमाएको धुलिखेल आउने पर्यटकलाई आवश्यक पर्ने सबै खालका सूचना र यहाँ पर्यटकीय उद्योग व्यवसायमा लगानी गर्न चाहनेलाई मद्दत गर्न सकेमा केन्द्र सञ्चालनले सार्थकता पाउनेछ,’ उनले सुझाव दिए ।

धुलिखेलमा स्तरीय लज, होटल तथा रिसोेर्ट हुँदाहुँदै पर्यटकले उचित सूचना नपाउँदा कतिपय अवस्थामा काठमाडौंतिरै फर्कनुपर्ने अवस्था रहेको थियो । ‘सूचना केन्द्रले धुलिखेल र आसपासका सबै पर्यटकीय गन्तव्यको सूचना एकै ठाउँबाट उपलब्ध गराउने भएकाले व्यवसायी र पर्यटक दुवैलाई फाइदा पुग्ने भयो,’ क्षेत्रीय होटल संघका अध्यक्ष एवं धुलिखेल लज रिसोर्टका प्रबन्ध निर्देशक प्रेमकण्ठ श्रेष्ठले भने ।

काभ्रेका धुलिखेल, पनौती, नमोबुद्ध, पाँचखाल, दोेलालघाट, तिमाल क्षेत्र काठमाडौं उपत्यकासँगैको पर्यटकीय गन्तव्यस्थलका रुपमा विकसित हु“दै आएको छ । समितिले यी क्षेत्रको समेत विवरण समावेश भएको टुरिस्ट गाइड बुक २०१७ र वेबसाइट डब्लुडब्लुडब्लु डट धुलिखेलइटिपिसी डट ओआरजी डट एनपी सञ्चालनमा ल्याएको पुराना पर्यटन व्यवसायी एवं समितिका उपाध्यक्ष सुनकुमार माकजु श्रेष्ठले जानकारी दिए । 

‘यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई धुलिखेलका अलावा जिल्लाका भौगोलिक, धार्मिक, सांस्कृतिक तथा पौराणिक महत्व बोकेका अन्य स्थानबारे बढी जानकारी दिन नेपाल पर्यटन बोर्डको सहयोगमा प्रकाशन भएको गाइडबुक केन्द्रमा आउने पर्यटकलाई उपलब्ध गराउन थालेका छौं । यसमा अद्यावधिक रुपमा पर्यटकीय गन्तव्य समावेश गर्दै समेत लैजाने योजनामा छौं,’ उनले भने ।

धुलिखेलको पुरानो बजार र त्यस क्षेत्रमा रहेका पुरातात्विक घर तथा मन्दिरको मर्मतसम्भारमा नगरपालिकाले समेत सहयोग गर्दै परम्परागत नेवारी शैलीलाई जोगाइराख्ने योजना बनाउन थालिएको वडा नं ७ का अध्यक्ष रोमीप्रसाद ब्यान्जूले जानकारी दिए । ‘यहाँका प्राचीन कलाकौशलयुक्त घर तथा मन्दिर दृश्यवलोकनको पहिलो रोजाइमा पर्ने गरेको छ । त्यसैले पनि यसलाई जोगाइराख्न हामी नगरवासीको कर्तव्य हो,’ उनले भने ।

धुलिखेल नगरपालिकाले समेत नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्यको पहिचान बनाएको नगर बनाउने उद्घोषसहित पर्यटन गुरुयोजना र लगानीमैत्री वातावरण सिर्जना गर्ने निर्णय गरेपछि पछिल्लो समय पर्यटन उद्योगका लगानीकर्ताहरु धुलिखेलमा ओइरिन थालेका छन् । यिनमा गैरआवासीय नेपाली संघका पदाधिकारीको समेत लगानी रहेको छ ।

धुलिखेलको नगरभाले २५ जनाभन्दा बढीलाई रोजगारी दिने उद्योग–व्यवसायलाई ५ वर्षसम्म स्थानीय कर छुटको व्यवस्था गरिने र उद्योग व्यवसाय स्थापना र सञ्चालनका लागि आवश्यक पर्ने सडक, पानी तथा बिजुली व्यवस्थापनमा सहजीकरण गरिने निर्णय गरेकोले होटल तथा रिसोर्टमा लगानी गर्नेहरु थपिएका समितिका सचिव एवं धुलिखेल इको रिसोर्टका सञ्चालक दीपेश श्रेष्ठको भनाइ छ ।

समितिका अध्यक्ष बिमल ब्यान्जूले संस्थाको स्थापनकालदेखि नै वातावरण संरक्षणका कार्यहरु र पर्यटन प्रवद्र्धनमा सहयोग गर्दै आएको जानकारी गराउँदै चालु आर्थिक वर्षमा धुलिखेलमा गाभिएका शारदा बतासे तथा शंखुपाटीचौर गाविसमा होमस्टेलगायत थप पदमार्गको विकास गर्न लागिएको बताए । 

यसअघि बहुसाझेदारी अवधारणामा जिविस काभ्रे, धुलिखेल नगरपालिका र रोटरी क्लब अफ धुलिखेलले स्थापना गरेको सूचना केन्द्र पाँच वर्षसम्म सञ्चालन भएर आर्थिक अभाव देखाउँदै २०६६ असोजमा बन्द भएको थियो । ‘यसपटक पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्तित्व, क्षेत्रीय होटल संघ र यात्री पर्यटन सहकारी संस्थाबीच समन्वय गरेर स्थापना गरिएको हुँदा भएकोले सूचना केन्द्रलाई दीर्घकालीन रुपमा सञ्चालन गर्नमा कुनै समस्या रहँदैन,’ ब्यान्जूले दाबी गरे ।

सूर्योदयको मनमोहक दृश्यावलोकनका साथै दर्जनौं हिमशृंखला एकैपटक अवलोकन गर्न सकिने स्वच्छ, शान्त रमणीयस्थल धुलिखेलले स्वदेशी तथा विदेशी पर्यटकलाई सहजै आकर्षण गर्दै आएको छ । हाल धुलिखेलमा आउने पर्यटकमा ६० प्रतिशत स्वदेशी र विदेशी ४० प्रतिशत रहेका छन् । पछिल्लो समयमा काठमाडौं सा“खुबाट लप्सेफेदी, नगरकोट, धुलिखेल, नमोबुद्ध हुँदै बल्थलीसम्म ‘भिलेज ट्रेकिङ रुट’ कायम गरिएको हुँदा धुलिखेल आउने र यहाँ हुँदै अन्यत्र जाने स्वदेशी तथा विदेशी पर्यटकको संख्या बढ्दो छ । 


 

प्रकाशित: १३ पुस २०७४ ०१:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App