८ वैशाख २०८१ शनिबार
राजनीति

रहेनन् प्रजातन्त्र सेनानी

झापा- प्रजातन्त्र सेनानी भूविक्रम नेम्वाङको आइतबार निधन भएको छ। झापा, धुलाबारीनिवासी ८० वर्षीय नेम्वाङ लामो समयदेखि दुवै मिर्गौला खराब भएर थलिएका थिए। बिर्तासिटी अस्पतालमा उपचारक्रममा साँझ साढे ६ बजे उनको निधन भएको हो। केही समय पहिले मात्र उनी राजधानीमा उपचार गरेर फर्किएका थिए। केही दिनअघि झापा आएका उनी घरबाटै उपचारका लागि बिर्तासिटी अस्पताल धाइरहेका थिए।

नेपाली कांग्रेस नेतृत्वमा भएको प्रजातन्त्र प्राप्तिको सशस्त्र क्रान्तिमा उनले पूर्वको कमान्ड सम्हालेका थिए। २०१७ पुस १ गते राजा महेन्द्रले बिपी कोइराला नेतृत्वमा रहेको जननिर्वाचित सरकार अपदस्थ गरेपछि उनले पूर्वको आन्दोलनको नेतृत्व गरेका थिए। त्यसक्रममा उनी लामो समय भारत निर्वासनमा थिए। पाँचथरमा पहिलोपटक प्रहरीको बन्दुक खोसेर चर्चामा आएका उनी बिपी कोइरालानिकट मानिन्थे। मच्छिन्द्र केरुङ, दान खालिङ लगायत योद्धा उनका सहयात्री थिए।

२०४८ सालमा झापाको कलवलगुढीमा भएको कांग्रेसको आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका नेम्वाङ पार्टीभित्र कोइराला परिवारको विपक्षमा उभिएका थिए। शेरबहादुर देउवाले पार्टी विभाजन गर्दा नेम्वाङले देउवालाई साथ दिएका थिए। पछिल्लो समयमा कांग्रेसमा निस्त्रि्कय रहेका उनी मुलुकमा चलेको पहिचानवादी आन्दोलनको पक्षमा उभिएका थिए। पहिचानवादी दल गठन गर्ने बेला नेता अशोक राई लगायतलाई उनले बलियो ढाडस दिएका थिए। उनी कांग्रेस विभाजनपछि धुलाबारीमा खेतीपाती सम्हालेर बसेका थिए।

उनकी श्रीमती भुपेन्द्रकुमारी तथा दुई छोरामध्ये कान्छा भाइचन्द्र नेम्वाङ छन्। जेठा छोरा वीरेन्द्र नेम्वाङको यसअघि नै निधन भइसकेको छ। छोरीहरु विजया, बबिता र राधिका छन्। नेम्वाङको सोमबार स्थानीय निन्दा नदीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

प्रकाशित: २४ श्रावण २०७३ ०३:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App