७ वैशाख २०८१ शुक्रबार
राजनीति

साढे पाँच हजार घरमा मात्र छानो

सुलिकोट गाउँपालिकास्थित ताकुकोटमा घर निर्माण गर्दै भूकम्पपीडित। तस्बिर: नरहरि

गोरखा- भूकम्पको ३२ महिना बितिसक्दा केन्द्रबिन्दु जिल्ला गोरखामा भने पाँच हजार पाँच सय ६५ घरको मात्रै छानो छाइएको छ। यी घरधुरीले सरकारले दिने तेस्रो किस्ता अथवा छानो छाउन दिने अन्तिम किस्ताबापतको एक लाख लिइसकेका छन्।

६० हजार आठ सय १५ घर भत्किएको तथ्यांक रहेको यहाँ करिब ५५ हजार भूकम्पपीडितले सरकारी अनुदानको पैसा लिइसकेका छन् । यीमध्ये १५ हजार आठ सय २९ घरधुरीले दोस्रो किस्ताको एक लाख ५० हजार लिएर घर निर्माण गरिरहेका छन्। दोस्रो किस्ता लिनेमध्येबाटै करिब पाँच हजारले तेस्रो किस्ता लिएका हुन् ।

यो क्रम हेर्दा गोरखामा पाँच हजार घर निर्माण सम्पन्नको चरणमा छन् भने करिब १० हजार घर निर्माणाधीन छन् । घरको जग र डिपिसी (धरातल) तहसमेत निर्माण सुरु नभएको घरको संख्या४० हजार हाराहारी छ । यीमध्ये पनि केही घरले पुनर्निर्माण थालेका छन्।

‘यो तथ्यांक गाउँमा खटिएका प्राविधिकबाट सहरी विकास तथा भवन डिभिजन कार्यालयमा आएको हो,’ सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख रोशन श्रेष्ठले भने ।

जग हालेपछि पहिलो किस्ता, गारो लगाएपछि दोस्रो र छानोका लागि तेस्रो किस्ता प्राविधिकले सिफारिस गरेपछि सहरी विकास तथा भवन डिभिजन कार्यालयले जिल्ला समन्वय समिति र समितिले कोष तथा लेखा नियन्त्रण कार्यालयमा फाइल पठाएपछि पीडितको खातामा अनुदानको पैसा जम्मा हुन्छ ।

यो वर्ष तीन अर्ब रुपैयाँ आएको गोरखामा दोस्रो र तेस्रो किस्ता गरी एक अर्ब २६ करोड ४० लाख रुपैयाँ आइतबारसम्म निकासा गएको प्रमुख कोष नियन्त्रक श्रीधर ज्ञवालीले बताए । ‘एक अर्ब ७३ करोड ६४ लाख रुपैयाँ अझै बाँकी छ,’ उनले भने ।

यसअघि भन्दा अहिले घर निर्माणको काम धमाधम अगाडि बढेको छ । चाडपर्व, स्थानीय निर्वाचन सकिएको र पुनर्निर्माण प्राधिकरणले पनि पुस मसान्तसम्म दोस्रो र असारसम्म तेस्रो किस्ता लिनुपर्ने नियम बनाएपछि घर बनाउनेको संख्या बढेको हो ।

‘गाउँपालिकामा सीधै इन्जिनियर खटिएका छन्, घर बनाउने संख्या पनि बढेको देखिन्छ,’ भवन डिभिजन प्रमुख श्रेष्ठले भने, ‘प्राविधिक अभावले घर निर्माण भएर पास नहुने अवस्था छैन, अहिले पुग्ने गरी जनशक्ति खटिएका छन् ।’

गाउँपालिका र नगरपालिकाबाट दोस्रो, तेस्रो किस्ताका लागि सिफारिस आउने क्रम बढेको भवन डिभिजन प्रमुख श्रेष्ठ बताउँछन् । ‘अहिले दैनिक चार–पाँच सय फाइलसमेत आउने गरेको छ,’ उनले भने, ‘आइतबार मात्रै दुई हजार फाइल हामीले दोस्रो–तेस्रो किस्ताका लागि जिसस पठायौं ।’

सरकारी अनुदान नपाउने डरले घर बनाउने क्रम अहिले बढेको छ । सबैतिर एकैपटक पुनर्निर्माण चलिरहँदा अहिले दक्ष जनशक्ति अभाव, निर्माण सामग्री अभाव हुँदा महँगोमा पुनर्निर्माण गर्नुपरेको गुनासो सर्वसाधारण पीडितको छ । पुनर्निर्माणको यो गतिले अझै वर्षौं लाग्ने देखिन्छ ।

जिल्ला समन्वय समितिका सदस्य मानप्रसाद धिताल भन्छन्, ‘सरकारले पैसा दिएर घर बनाउने हो, जहिले भएपनि पाइन्छ भन्ने बुझाइले पनि यसअघि पुनर्निर्माणको गति सुस्त भएको हो ।’ अनुदान लिन निर्धारित सीमा तोकेर सुरु गरेको भए अहिलेसम्म करिब ५० प्रतिशत घर निर्माण सम्पन्न हुने उनी बताउँछन् । पुनर्निर्माण नगरी बसेका सर्वसाधारणलाई यो वर्षको चिसो पनि अस्थायी घरमै कष्टले कटाउनुपर्ने बाध्यता छ ।

 

 

प्रकाशित: ४ पुस २०७४ १४:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App