४ वैशाख २०८१ मंगलबार
अन्तर्वार्ता

अबको संघर्ष संविधान संशोधनका लागि : राजेन्द्र महतो

धनुषा–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतो अब सडक र सदन दुवैतिरबाट संविधान संशोधनका लागि संघर्ष गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताउँछन् । चुनाव जितेपछि उनीसँग गरिएको छोटो कुराकानी:

 
संविधान जारी भएपछि भएको पहिलो प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएपछि कस्तो अनुभूति हुँदैछ ?
यो मधेस आन्दोलनको जीत हो । हामी सडकमा बसेर आन्दोलन गरिरहँदा सरकारले गोली चलाएर आन्दोलन विफल पार्ने प्रयास ग¥यो । सरकारले जनताको भावना दबाउने प्रयास ग¥यो । अहिले जनताले ब्यालेटका माध्यमले तत्कालीन सरकार चलाउने नेताहरूसँग बदला लिएका छन् । यो मेरो जीत होइन, सम्पूर्ण मधेसी जनताको जीत भएको छ ।
 
आन्दोलनका बेला मधेसका सबै जिल्लामा पुगेर प्रदर्शनकारीलाई उत्साहित गर्नुभयो । चुनावमा आफ्नै क्षेत्रमा सीमित रहनुभयो । कति गाह्रो भयो जित्न ?
यो क्षेत्र चुनावका लागि प्रतीकात्मक थियो । सम्पूर्ण मधेसवादीका लागि यो क्षेत्रमा ठूलो चुनौती थियो । आन्दोलन दबाउन भूमिका खेल्ने कांग्रेसका ठूला नेता विमलेन्द्र निधी हुन् । मधेस विरोधी संविधान पुष्पकमल दाहाल, सुशील कोइराला र केपी ओलीले मात्रै ल्याएको भन्न मिल्दैन । निधीजीले मात्रै त्यसबेला त्रुटिपूर्ण संविधानमा हस्ताक्षर नगर्ने अडान लिइदिएको भए मधेसी जनताले यति ठूलो आन्दोलन गर्नुपर्ने आवश्यकता नै हुँदैनथ्यो । त्यस्ता नेताका विपक्षमा मैले चुनाव लड्नु नै सबै क्षेत्रका मधेसी उम्मेदवारलाई बल पु¥याउने काम भयो ।
 
निधीका विपक्षमा तपाईँको उम्मेदवारी नै ठूलो कुरो भन्नुभयो । कसरी ?
पच्चीसौँ वर्षदेखि चुनाव जितेर सरकारमा बस्ने नेता हुन् निधीजी । शक्तिशाली मन्त्री पनि भए तर जनकपुरको अवस्था हेरेर रुन मन लाग्छ । चुनावका बेला मैले महसुस गरेँ यहाँका जनता कति आतंकित छन् भनेर । उद्योगी, व्यापारी सबै भयभित थिए । निधीलाई भोट दिएन भने कुनै बेला कुनै मुद्दा लागेर जेलमा जानुपर्छ कि कतिबेला कहाँ आक्रमण भइहाल्छ भन्ने मनोभावले त्रसित थिए जनता । त्यस्ता तानाशाही नेताका विपक्षमा मधेसवादी दलका उम्मेदवारले हिम्मत गर्नुले सम्पूर्ण मधेसका उम्मेदवारलाई बल मिलेकै हो ।
 
चुनावी प्रचारमा हिँडेका बेला जनताले के अपेक्षा राखेको पाउनुभयो ?
आन्दोलनका बेला सहादत दिएका परिवारका लागि नेताले के गरे र सहिदको सपना किन पूरा हुन सकेन भन्ने जिज्ञासा जनताको रह्यो । जनकपुरलाई भयमुक्त बनाउनुपर्ने र मधेसको विकास गर्नुपर्ने जनताको अपेक्षा छ । जनकपुरलाई सुन्दर सहर बनाउन र सम्पन्न मधेस निर्माणका लागि इमानदारीपूर्वक काम गर्न जनताले सचेत गराएका छन् ।
 
जनताका ती अपेक्षा सम्बोधन गर्न कस्तो योजना बनाउनुभएको छ ?
जनकपुरको विकास र सुन्दर सहर निर्माण गर्न जनताले मलाई जनकपुरमै बस्नुपर्ने धारणा राखेका छन् । म जनकपुरमै मधेस आश्रम निर्माण गरी बस्ने निर्णय गरिसकेको छु । जनकपुर चुरोट कारखाना बन्द छ, त्यसलाई सञ्चालन गराउँछु । जनकपुरलाई मिथिला राजधानीको स्वरूपमा व्यवस्थित र कलात्मक सहर निर्माण गर्ने योजना बनाएर अघि बढ्नेछु । संविधान संशोधन गराउन आगामी दिनमा सडक र संसद्मा एकैसाथ संघर्ष सुरु गर्नेछौँ ।
 
जनकपुर चुरोट कारखाना चलाउने कुरो गर्नुभयो । कहिलेसम्म सञ्चालन हुन्छ ?
चुनाव सम्पन्न भएको छ । देश व्यवस्थित हुँदै जान्छ अब । संविधान संशोधनको अजेन्डालाई मुख्य केन्द्रमा राखेर विकासका अन्य मुद्दालाई अगाडि बढाउनुपर्छ । जनकपुर चुरोट कारखाना चलाएर स्थानीय जनताका लागि रोजगारीको व्यवस्था गर्नु मेरो अजेन्डा हो । नयाँ सरकार गठन हुने बित्तिकै यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउँछु । जनकपुरमा धेरै सार्वजनिक जग्गा छ, त्यसलाई व्यवस्थित गरी रामायणका आधारमा जनकपुरसँग जोडिएका सबै सहरको बीचमा सम्बन्ध स्थापित गर्ने र साँस्कृतिक सहर निर्माण गर्ने काम पनि सँगसँगै अगाडि बढ्नेछ ।
 
संविधान संशोधन भन्ने शब्द सुन्नै नचाहने एमालेलगायतको मोर्चा बलियो भएको छ, अब कसरी हुन्छ त संशोधन ?
कांग्रेस, एमाले र माओवादीले मिलेर मधेस विरोधी संविधान बनाएका छन् । तीमध्ये कांग्रेस र माओवादीले त संविधान त्रुटिपूर्ण रहेको स्वीकार गरिसके । अब एमालेले पनि मधेसी जनताको भावनालाई कदर गर्नैपर्ने हुन्छ । सबै दलले जिम्मेवार भएर मधेसी, दलित, जनजाति, मुस्लिमलगायत पिछडिएका समुदायलाई अधिकार सम्पन्न बनाउनुपर्ने हो । यसका लागि अब सडक र संसद्बाट दबाब सिर्जना गर्नेछौँ ।
 
अगामी सरकारमा राजपा नेपाल सहभागी हुन्छ ?
राजपा नेपाल र संघीय समाजवादी फोरमको संयुक्त मोर्चा बनेको छ । सरकारमा सहभागी हुने कुरा तत्काल छैन । मधेसको मुद्दामा कसरी अगाडि बढ्ने भन्ने विषयमा मोर्चाको बैठकबाट निर्णय गरिनेछ । चुनावका मुखमा बनेको मोर्चालाई जीवन्त राख्दै अगामी दिनमा संयुक्तरूपमै संघर्षलाई अगाडि बढाउने सोच छ ।
प्रस्तुति : सुरेश यादव

प्रकाशित: २८ मंसिर २०७४ ०५:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App