८ वैशाख २०८१ शनिबार
समाज

'भगवान आउनुभएछ'

सप्तरी तिलाठीमा शनिबार डुबानपीडितको स्वास्थ्य जाँच्दै डाक्टर गोविन्द केसी। तस्बिर : मिथिलेश यादव

जितेन्द्रकुमार झा/मिथिलेश यादव

तिलाठी (सप्तरी)-  'कि होय छै?'

 – 'डार दुखाय छै।'

 'चलयो फिरैमे समस्या होयछै की?'

 – 'होय छै, डाक्टर साहेब, बैसैमे सेहो दिक्कत होय छै।'

यो संवाद हो– वरिष्ठ हाडजोर्नी चिकित्सक डा. गोविन्द केसी र सप्तरीका एक बाढीपीडितको।

मेडिकल शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँचका माग राखेर निरन्तर अनशन आन्दोलन गरेर सामाजिक अभियन्ताको बेग्लै पहिचान बनाएका डा. केसी आठौं अनशन तोडेको १२ दिनमै शनिबार सप्तरीको तिलाठी पुगे।

त्यहाँ उनले डुबान क्षेत्र आसपासका बाढीपीडितको दिनभर उपचार गरे।

उनले अधिकांश बिरामीसँग स्थानीय मैथिली भाषामै कुराकानी गरे। राम्ररी मैथिली बोल्न नआए पनि डा. केसी बिरामीका समस्या, लक्षणलगायत जानकारी स्थानीय भाषामै लिइरहेका थिए।

स्थानीय महिला तथा सर्वसाधारणलाई नेपाली बोल्न कठिन भएको महसुस गरेरै डा. केसीले मैथिली बोल्ने कोशिस गरेको शिविरमा खटिएका तिलाठी स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी दीपेन्द्र झाले जानकारी दिए।

'बिरामीलाई डाक्टरसाबले नेपालीमा सोध्दा त्यसलाई हामीले मैथिलीमा अनुवाद गरेर बिरामीलाई बताउनुपर्थ्याे,' झाले भने, 'पछि त डाक्टरसाब आफैं मैथिलीमा सोध्न थाल्नुभयो।'

डा. केसीले मैथिलीमा सोध्दा स्थानीयलाई समस्या बताउन सहज भएको स्थानीय खुसीलाल यादवले बताए।

'उहाँले मैथिलीमा सोध्दा आफ्नै गाउँठाउँको मान्छेजस्तो लाग्यो', यादवले भने, 'यति ठूलो र चर्चित डाक्टर यति सहज र सरल होलान् भन्ने हामीले सोचेकै थिएनौं।'

डा. केसीले शनिबार दिनभर सप्तरीको दक्षिणी भेगमा पर्ने सकरपुरा र तिलाठीका बाढीपीडितसँग बिताए। बिहानै सकरपुराका बाढीपीडितका समस्या बुझेर उनी तिलाठी पुगे र त्यहाँ शिविर चलाए।

सप्तरीको तिलाठीस्थित खाँडो खोलामा भारतले बनाएको बाँध साउन ७ र ८ गतेको बाढीले भत्काउँदा स्थानीय बस्ती डुबेका थिए। दुई दिनमा डुबान हटे पनि त्यसयता स्थानीयमा भाइरल ज्वरो, आँखा पाक्ने, खुट्टा गल्नेलगायत समस्या देखिएको थियो।

सहयोगी पाँच चिकित्सकसहित बिहान करिब साढे ११ बजेतिर तिलाठी आइपुगेका डा. केसी साँझ करिब ६ बजेसम्म उपचारमै व्यस्त रहे। सप्तरी उद्योग वाणिज्य संघको संयोजनमा राखिएको शिविरमा डा. केसी शनिबार दुई घन्टाजतिका लागि आएको तर बिरामीको चाप देखेर दिनभर बसेको संघका वरिष्ठ उपाध्यक्ष शंकर दासले  जनाए। उनका अनुसार अझै बिरामी जाँच्ने काम नसकिएपछि आइतबार पुनः शिविर राख्ने गरी सदरमुकाम राजविराज आएर बसेका छन्।

डा. केसीको टोलीले करिब सय जना विशेष तथा ३ सयभन्दा बढी सामान्य बिरामीको  स्वास्थ्य जाँच गरेको थियो। शिविरमा आँखाको समस्या सगरमाथा चौधरी आँखा अस्पतालका चिकित्सकले हेरेका थिए।

आफूसँग औषधि, फलफूल, साबुन, टुथपेस्ट, ब्रसलगायत सामग्री ल्याएका डा. केसीले स्थानीय बालबालिकालाई कापी, कलम पनि बाँडे। डा. केसीले तिलाठी आउन ढिलो भएकोमा स्थानीयसँग क्षमा मागे। 'यहाँ म एक साताअघि नै आउनुपर्ने थियो', उनले भने, 'विभिन्न कारण डुबानका बेला म तपार्इंहरुसम्म आउन सकिनँ, ढिलो भएकोमा क्षमाप्रार्थी छु,' उनको याचना थियो।

स्थानीयले उनलाई मिथिला परम्पराअनुसार 'पाग' र 'गम्छा' ओढाएर सम्मान गरेका थिए। स्थानीय युवाका तर्फबाट निरजकुमारले डा. केसीलाई मैथिली भाषामा लेखिएको सम्मानपत्रसमेत हस्तान्तरण गरेका थिए।

प्रकाशित: २३ श्रावण २०७३ ०२:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App