८ वैशाख २०८१ शनिबार
कला

संगीतज्ञ अम्बरको सम्झना

काठमाडौं- संगीतज्ञ अम्बर गुरुङको निधन भएको १३ औं दिन शनिबार उनको निवासमा पुगेकाहरुले उनको संगीत क्षेत्रमा योगदान अतुलनीय रहेको चर्चा गरे। उपप्रधान तथा रक्षामन्त्री भीम रावलले आफूले गुरुङको बारेमा पहिले नै कविता लेखेको कुरा बताए।

साँझपख पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता मीनेन्द्र रिजाल र पूर्णबहादुर खड्का पनि श्रद्धाञ्जली दिन पुगे। देउवाले नेपालको संगीत क्षेत्रका नअस्ताउने नक्षत्र रहेको संकेत गर्दै उनी नेपाली संगीतमा सधैं अमर रहने बताए।

सेनाका मानार्थ कर्नेल अम्बरको तेह्रौ दिनमा श्रद्धाञ्जली दिन पुगेका नेपाली सेनाका सेनापति राजेन्द्र क्षेत्री, पूर्व सेनापति छत्रमानसिंह गुरुङले पनि अम्बरको योगदानलाई स्मरण गरे। नेपाली सेनाको सैनिकगान 'रातो र चन्द्र सूर्य'को कम्पोज गर्नुका साथै अम्बरले सेनालाई संगीत शिक्षा पनि दिएका थिए। 'हामी मात्र होइन गीतसंगीत मन पराउने सबैले उहाँलाई मिस गर्नेछन्,' पूर्वसेनापति छत्रमानसिंह गुरुङले भने, 'उहाँले संगीत क्षेत्रमा देशलाई नै ठूलो गुण लाउने योगदान छ।'

बुढानिलकण्ठस्थित उनकै निवासमा आयोजित श्रद्धाञ्ली कार्यक्रममा मध्यदिनदेखि राति अबेरसम्म पनि उनलाई सम्झनेहरुको भीड थियो। हिन्दु परम्परा अनुसार १३ औं दिन सकिए पनि गुरुङ परम्पराको घेवा, लामा बसाल्ने जस्ता पारम्परिक कार्यहरु बाँकी रहेको उनका जेठा छोरा किशोर गुरुङले बताए। त्यसपछि भने बुबाको अधुरा योजना पूरा गर्नतर्फ आफू लाग्ने उनले सुनाए।

जेठ २५ गते बिहान उनको ग्रान्डी अस्पतालमा उपचारका क्रममा अम्बर गुरुङको निधन भएको थियो। खानेनलीको क्यान्सर, पार्किन्सन्स, डायबिटिज जस्ता विभिन्न रोगबाट ग्रसित उनलाई अन्तिम अवस्थामा फोक्सोको निमोनिया भएको थियो।

तनहुँ जिल्लाको रिसिङ पुर्ख्यौली घर भए पनि अस्थायी रुपमा भारतको दार्जिलिङमा उनको परिवार बस्थ्यो। १९९४ मा आमा रेणुका गुरुङ र बाबु उजिरसिंह गुरुङको कोखबाट दार्जलिङको लालढिकीमा उनको जन्म भएको थियो।

अगमसिंह गिरीले लेखेको ‘नौलाख तारा उदाए’ बोलको गीत आमनेपालीमाझ चर्चित भएपछि अम्बर नेपाल आएका थिए। नेपाली राष्ट्रिय गान 'सयौं थुँगा'का संगीतकार उनी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिकल्पनाकार र प्रथम कुलपति समेत भए।

पाँच दशकदेखि निरन्तर संगीत साधनामा लागेका अम्बरलाई नेपाली कला र संस्कृतिको संरक्षण र उत्थान गरेवापत २०५४ सालको जगदम्बाश्री पुरस्कारबाट सम्मानित गरिएको थियो।

प्रकाशित: ६ असार २०७३ ०३:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App