coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

चिनियाँ चमत्कार

चीनको राजधानी बेइजिङमा कात्तिक १ देखि सुरु भएको सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं महाधिवेशन मंगलबार समापनसँगै संसारभरि यसबारे चर्चा भइरहेको छ । ग्रेट हल अफ द पिपलमा एक सातादेखि चलेको महाधिवेशन उद्घाटन समारोहमा राष्ट्रपति सी जिनपिङले आफ्नो मुलुक अब नयाँ युगमा प्रवेश गरको घोषणा गरेका थिए । तीन घन्टा लामो सम्बोधनमार्फत उनले चीनलाई विश्वसामु उदाएको धनी र शक्तिशाली मुलुकका रूपमा समेत चित्रित गरेका थिए । सभ्यताका पुरानो विरासत बोकेको चीनको तयारी यतिबेला विश्वको केन्द्र बन्न उन्मुख छ। नेतृत्व सबल रह्यो भने जस्तोसुकै व्यवस्थाबाट पनि समृद्धि सम्भव छ भन्ने सन्देश चीनले दिएको छ । जनता समृद्ध भए व्यवस्था टिकाउन गाह्रो छैन । ‘अफिम युद्ध’ समाप्त भएको दुई सय वर्षपछि अर्थात् अबको करिब २५ वर्षमा आफ्नो साख फिर्ता गरी आफूलाई विश्वमा सबैभन्दा सम्पन्न राष्ट्र बनाउने चिनियाँ नेतृत्वको लक्ष्य रहेको छ । राष्ट्रपति सीको मुलुक नयाँ युगमा प्रवेश गरेको भन्ने अभिव्यक्ति र आगामी योजनालाई मूर्त रुप दिन मंगलबार दुई सय ४ पूर्ण र एक सय ७२ जना वैकल्पिक केन्द्रीय सदस्य भएको १९ औं केन्द्रीय कमिटी गठन गरिएको छ । १९ औं महाधिवेशनबाट पार्टीले उसको निर्देशित सिद्धान्तमा थप विचार पाएको छ । ‘नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादबारे सी जिनपिङ विचार,’ लाई पार्टीको विधानमा महाधिवेशनले उल्लेख गरेको छ । महाधिवेशनको अन्तिम सत्रले राष्ट्रपति सीलाई पार्टी विधानमा आधुनिक चीनका निर्माता माओ त्से तुङ सरहको स्थान दिएको छ भने बुधबार बसेको १९ औं केन्द्रीय कमिटीको पूर्ण बैठकले उनलाई अर्को पाँचवर्षे कार्यकालका लागि पार्टी महासचिवमा पुनः निर्वाचित गरेको छ । पार्टी विधानमा सीको नाम हुनुको अर्थ अब उनीविरुद्ध हुने कुनै पनि गतिविधिलाई पार्टीको सत्तामाथिकै चुनौतीका रूपमा लिइनेछ । उनले बुधबार नै सात जना पार्टीको स्थायी कमिटी र २५ सदस्यीय पोलिटब्युरोको नाम सार्वजनिक गरिसकेका छन् ।

चीनले अहिले लिएको नीति राजनीतिक र आर्थिक दुवैमा सफल देखिएको छ । विश्व समुदायबाट व्यक्त आशंका र आक्रमणविपरीत चीनले व्यापार, व्यवसाय, लगानी र अन्तर्राष्ट्रिय शान्तिमा सहयोग पुर्‍याइरहेको छ ।

सीले चीनलाई समृद्ध, बलियो, प्रजातान्त्रिक, सांस्कृतिक रूपमा सम्पन्न, मिलेको र सुन्दर विशाल आधुनिक समाजवादी देश बनाउने लक्ष्य प्राप्तिका लागि असीम कार्य आवश्यक भए पनि त्यसपछिको दृश्य प्रस्ट रहेको बताएका छन् । उनले चीन विश्वको ठूलो अर्थतन्त्र भएको देश बन्ने क्रममा रहेको र समाजकल्याणको प्रभावकारी व्यवस्थासहितको चीनको आय उच्च हुने, जबाफदेही र जनताको सेवा गर्ने सरकार हुने, जनताको अधिकारको प्रत्याभूतिसहित स्वच्छ राजनीति हुने र सबै नागरिकले माया गर्ने सुन्दर देश हुने उल्लेख गरेका छन् । चीनले अहिले लिएको नीति राजनीतिक र आर्थिक दुवैमा सफल देखिएको छ । विश्व समुदायबाट व्यक्त आशंका र आक्रमणविपरीत चीनले व्यापार, व्यवसाय, लगानी र अन्तर्राष्ट्रिय शान्तिमा सहयोग पु¥याइरहेको छ । सन् २०१६ को अन्त्यसम्ममा १० करोडभन्दा बढी जनसंख्या भएका १३ वटा राष्ट्रमध्ये १० वटा विकासोन्मुख थिए । चीनको सफलताले विकासोन्मुख देशले सफलता र आधुनिकता समाजवादबाटै प्राप्त गर्नसक्ने देखिएको अभिव्यक्ति सीको छ । चीनको उदयसँगै विश्व परिदृश्यमा खेलाडीहरूसमेत परिवर्तन भएका छन् । सीद्वारा घोषित नयाँ युगले आधुनिक चीनको तेस्रो चरणलाई संकेत गरेको छ । आधुनिक चीनको पहिलो चरणमा संस्थापक अध्यक्ष माओले गृहयुद्धले क्षतविक्षत देशलाई एक ढिक्का बनाएका थिए भने दोस्रो चरणमा देङ सिआओपिङले चीनलाई समृद्धिको बाटोमा हिँडाएका थिए । तेस्रो चरणमा प्रवेश गरेको भनिएको चीनसामु थुप्रै चुनौती यथावत् छन् । चीनले देशका विभिन्न क्षेत्रमा भइरहेका असमान र अपर्याप्त विकासमा ध्यान पुर्‍याउनुपर्नेछ । यति मात्रै नभई नयाँ युगमा प्रवेश गरेको भनिएको चीनलाई राम्रो जीवन बिताउन चाहने नागरिकको बढ्दो आवश्यकता पूरा गर्न र मध्यम आय भएका नागरिक पनि चीनमा बाँच्न सक्छन् भनेर देखाउने चुनौती छ । अर्को प्रमुख समस्या भनेको देशमा बढ्दो भ्रष्टाचार नियन्त्रण पनि एक हो । सीले सन् २०१५ देखि भ्रष्टाचार नियन्त्रणसम्बन्धी कठोर अभियान सञ्चालन गरे पनि यसमा थप कडाइ आवश्यकता रहेको छ । त्यसैगरी ग्रामीण क्षेत्रमा रहेको गरिबी हटाउनु पनि चीनका लागि चुनौती रहेको छ। 

आधुनिक चीका निर्माता माओ त्से तुङपछि चीनको शक्तिशाली नेता बनेका सीको विचारधारा भनिएको राजनीतिक दर्शनलाई चिनियाँ कम्युनिस्ट पार्टीको विधानमा समावेश गरिएको छ । जिनपिङले एक दशक लामो शासन अवधिको आधा समय बिताइसकेका छन् । चीनलाई विश्व समुदायसामु ल्याउने निर्णय र चीनमा सुधार थालनीको ४० औं वार्षिकोत्सव आगामी वर्ष हो । यस अवसरमा उनले चीन सुधार गर्ने कार्यलाई अझै अगाडि बढाउने र विश्व अझै खुला बनाउने नीति पनि सार्वजनिक गरेका छन् । एक अर्ब ३७ करोडभन्दा बढी जनसंख्या रहेको चीनमा नौ करोड चिनियाँ कम्युनिस्ट पार्टीका सदस्य छन् । चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनबाट नेपाली दलहरूले मूलतः दुई पाठ सिक्न सक्छन्– मुलुकको स्थायित्व र विकास । नेपालमा पटक–पटक राजनीतिक परिवर्तन भएका छन्, तर ती परिवर्तन जनताको घरआँगनसम्म पुग्न सकेका छैनन् । राजनीतिक प्रणालीका हिसाबले नेपालले चीनबाट धेरै सिक्न सक्दैन तर आर्थिक प्रगतिको तरिका भने त्यहाँबाट बुझ्न सकिन्छ । नेतृत्व सक्षम नभई विकासका कुनै पनि गतिविधि अघि बढ्न सक्दैन । चीन र भारतजस्ता दुई विशाल शक्तिराष्ट्रको बीचमा रहन पाउनु नेपालका निम्ति आफैंमा महत्त्वपूर्ण छ। यी दुई मुलुकमा भइरहेका परिवर्तनलाई यहाँ ध्यानपूर्वक हेर्न सक्नुपर्छ । यी दुई देशका राजनीतिक पद्धतिबाट नेपाल अछुतो रहन सक्दैन । नेपालले आफ्नो हितका निम्ति पनि चीन र भारतमा भइरहेको आर्थिक प्रगतिबाट सिक्नु आवश्यक छ। 

प्रकाशित: ९ कार्तिक २०७४ ०६:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App