४ वैशाख २०८१ मंगलबार
विचार

प्रश्नको घेरामा लोकतान्त्रिक गठबन्धन

‘गठबन्धन गरेर आगामी प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव लड्ने र चुनावपछि पार्टी एकता नै गरेर एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने’ नेकपा–एमाले, माओवादी केन्द्र(माके) र नयाँ शक्तिको अप्रत्याशित असोज १७ घोषणाको प्रतिक्रियास्वरूप नेपाली कांग्रेसले पनि तुरुन्तै लोकतान्त्रिक गठबन्धन गरेर चुनावमा जाने उद्घोष ग¥यो । जुन गठबन्धन सफल भए नै पनि कांग्रेसका लागि कति उपयुक्त, फाइदाजनक र दिगो होला भन्ने प्रश्न त छँदैछ, साना दलहरूको ठूलो भाग खोज्ने प्रवृत्तिका कारण उसले कतैकतैमात्र गठबन्धन गर्नसक्ने स्थिति देखिएको छ । वास्तवमा, वाम गठबन्धनबाट कांग्रेस आत्तिनुपर्ने थिएन । कांग्रेसीहरू त ‘कांग्रेस हार्ने भनेको कांग्रेसकै कारणले मात्र हो, अरुको कारणले कांग्रेस हार्दैन’ भन्थे सधैँ । जुन धेरै हदसम्म सत्य पनि हो ।

अब कांग्रेसले कि आफूलाई सुधार्नुपर्छ कि सकिनु, बीचको बाटो छैन । मेहनत नगरे पनि इतिहास रचेको ब्याज खाँदै, बिपीको नाम भजाउँदै र विपक्षीको विभाजित भोट ब्यांकको फाइदा लिँदै सत्तामा गएर मोज गरिरहन अब पाइने छैन ।

२०१५ सालदेखि अहिलेसम्म भएका आठवटा संसद्÷संविधान सभा(संस)देखि स्थानीय तहसम्मका चुनावमध्ये पाँचवटामा कांग्रेसले बहुमत ल्याएको छ भने तीनवटामा ऊ दोस्रो भएको छ । २०५१ सालको संसदीय चुनावमा थोरै सिटको अन्तरले मात्र दोस्रो बनेको, पार्टी फुटेसरीको अवस्थामा चुनावमा जान परेकाले हो । २०६४ सालको संस चुनावमा त्रास र आसको माओवादी लहरका बीच अरु जस्तै पछि परे तापनि ऊ दोस्रै भएको हो । २०७४ सालको स्थानीय निकाय चुनावमा दोस्रो बन्नुपरेका कारण पनि उसका आफ्नै कमजोरी थिए– जस्तो कि गुटबन्दी, सरकारमा रहँदाको खराब कार्यसम्पादन, प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउनेलगायतका पार्टी नेतृत्वको थुप्रै मूर्खतापूर्ण कदमहरू ।

टाउको दुखेको औषधि नाइटामा
अस्तब्यस्त संगठन, पार्टीभित्र संस्थागतै बनिसकेको गुटबन्दी, राम्रो मान्छेलाई भन्दा हाम्रो मान्छेलाई च्याप्ने गुटका नेताको प्रवृत्ति, अक्षम नेतृत्व, स्कुलिङ÷प्रशिक्षणले शून्य ‘विन्दास टाइपका’ कार्यकर्ता, पार्टीको स्वार्थलाई भन्दा व्यक्तिको स्वार्थलाई प्रधानता दिने व्यक्तिवादी सोच र चरित्रको पार्टी पंक्ति, टिम संस्कृतिको अभाव– कांग्रेस चुनाव हार्ने ‘आफ्नै कारण’ को सूची लामो छ । हो, यतिका संस्थागत र प्रवृत्तिगत कुरामा रातारात सुधार गरेर आगामी चुनावमै चामत्कारिक उपलब्धि हासिल गर्न सकिँदैन । तर शेरबहादुरले रामचन्द्र, कोइरालाहरू, सिटौलालगायत नेता बोलाएर ‘अब अस्तित्वकै संकट आइलागिसक्यो, पार्टी रहेमात्र हामी रहन्छौँ, त्यसैले आआप्mना स्वार्थ र पूर्वाग्रहबाट सदाका लागि माथि उठेर, राम्रो र जित्ने उम्मेदवार छानौँ र तेरो÷मेरो नभनिकन उसलाई जिताउन सब दिलोज्यानले लागौँ, मैले अहिलेसम्म धेरै गल्ती गरेँ, तपाईँहरूले पनि गर्नुभो, अब कसैले पनि गल्ती नगर्ने प्रण गराँं र पार्टीलाई २०१५ सालको उचाइमा पु¥याउन एक भएर लागौं’ भनेर छातीमा हात राखेर संकल्प गर्न÷गराउन त सक्थे नि तर न उनले त्यसो गर्न आवश्यक सम्झे, न अरु गुटीय नेताले ।

यसरी गर्नपर्ने कुराचाहिँ नगर्ने उनीहरू अविश्वसनीय दलहरूसँग सिद्धान्तहीन गठबन्धन गर्नचाहिँ हुर्दुरिएका देखिँदा गठबन्धन गर्नपूर्व विचार पु¥याउनुपर्ने कुरा थुप्रै छन् । उदाहरणका लागि, ६०ः४० अनुपातको सिट बाँडफाँटबाट माकेलाई बढी फाइदा हुने जस्तो देखिए तापनि दोस्रो र तेस्रो ठूला दल हुँदा बाम गठबन्धनबाट एमाले, माके दुवैलाई उत्तिकै फाइदा छ तर लोकतान्त्रिक गठबन्धनतर्फ यो स्थिति छैन । यता कांग्रेस र अरु (ससाना) दलबीचको ‘ग्याप’ धेरै ठूलो छ । तर पनि उनीहहरूलाई गठबन्धनमा ल्याउन कांग्रेसले आफ्नो भाग कटाएर प्रत्यक्षतर्फको सिट धेरै छाड्नुपर्ने हुन्छ । र, यसबाट भोलि त्यही अनुपातमा कांग्रेसले पाउने समानुपातिकतर्फको सिट पनि गुम्नेछ । अर्थात एमाले–माकेलाई भएको जस्तो परस्पर फाइदा नहुनेमात्र होइन, गठबन्धनबाट कांग्रेसलाई घाटा हुन सक्नेछ ।

त्यसै पनि, आफ्नो हैसियतभन्दा धेरै बढी र बेमनासिब संख्या एवं स्थानको भाग नपाई गठबन्धनमा नआउने दलमध्ये धेरैलाई कांग्रेसलाई जस्तो लोकतन्त्रसँग खासै मोह पनि छैन । कांग्रेसले आफ्नोसमेत मतबाट उनीहरूलाई चुनाव जिताए नै पनि उसलाई धोका दिएर भोलि उनीहरु एमाले–माके गठबन्धनको सरकारमा जाने छैनन् भन्ने ग्यारेन्टी छैन । जाँदा कमल थापा ‘राष्ट्रवाद’को दुहाई दिएर जालान् भने कम्युनिस्ट पृष्ठभूमिका उपेन्द्र यादव, विजय गच्छदार कांग्रेसमा फर्केजस्तै घरफिर्ती भन्दै जालान् । जाने निहुँ र नारा फरक होलान् तर जानचाहिँ जान सक्नेछन् । पूर्वकांग्रेसी नेताहरू धेरै भएको राजपा नेपाल नै पनि भोलि प्रचण्डले ‘मधेसी पहिचान’ को ललिपप देखाए भने लोकतान्त्रिक गठबन्धनबाट नबाहिरिएला भन्न सकिँदैन । बाह्य शक्तिको संकेतमा चल्ने क्षेत्रीयतावादी दल ऊ त्यसै पनि भरपर्दो साझेदार होइन कांग्रेस जस्तो राष्ट्रिय पार्टीका लागि । यी दुवैमध्ये कुनै एक गठबन्धन मात्रै पनि सिद्धान्तमा आधारित गठबन्धन भएको भए यस्तो डर हुने थिएन । त्यसो नभई सत्ताका निमित्त गरिएको गठबन्धन हुँदा र यी सबै दलका विगत हेर्दा त्यस्तो दलबदलु भइरहने पक्कै छ । त्यसै पनि, आफ्नो सबभन्दा ठूलो सत्ता साझेदारले हप्तौं, महिनौंदेखि प्रमुख प्रतिपक्षसँग मिलेर पकाएको खिचडीको गन्ध, सुइँकोसम्म नपाउने हुस्सु कांग्रेसले थुप्रै ससाना दलको चियो गरेर उनीहरूलाई अर्कोतिर जानबाट कतिन्जेल रोक्ला ?

गठबन्धनका गुण-दोष
त्यसो त गठबन्धन संस्कृति एकप्रकारले स्वागतयोग्य कुरा पनि हो । प्रणालीकै त्रुटिका कारण होस् कि दलका, एउटै दलको बहुमत सरकार नबन्ने अवस्थामा गठबन्धन आवश्यकताकै विषय बन्छ जुन स्थिति अहिले हामीकहाँ छ । कम्युनिस्ट पार्टीहरूले समेत आफूले ‘शत्रु’ घोषित गरेका र ‘बुर्जुवा’ दलहरूसँग गठबन्धन गर्नु केही समयअगाडिसम्म निषेधको पात्र बनाएका कमल थापासँग अरु दलले सहकार्य गर्नु दलहरू सहिष्णु एवं राजनीतिक बहुलवादको अभ्यस्त हुँदै गएको र लोकतन्त्र परिपक्व हुंँदै गएको संकेत पनि हो । वास्तवमा, यो देशमा २ वा अधिकतम ३ दलमात्र रहने प्रणाली अत्यावश्यक भइसकेको छ । तर त्यस्तो प्रणालीका नाममा सत्ताकै लागि बारम्बार साझेदारहरु परिवर्तन भइरहने गठबन्धनले उल्टै राजनीतिक अस्थिरता, अवसरवाद, भ्रष्टाचार र दलबदलू संस्कृति बढाउँछन् मात्र ।
न्यूनतम साझा नीति तथा कार्यक्रमसमेत ल्याउन नसक्ने एमाले–माकेबीच कम्युनिस्ट एकताका नाममा गरिएको यो गठबन्धन पनि त्यस्तै गठबन्धन हो । बृहत् कम्युनिस्ट स्कुलिङ एउटै भए पनि पुष्पलाल–मनमोहन–मदन र मोहनविक्रम–निर्मल लामा–प्रचण्डपथका उनीहरूका स्कुलिङ फरक छन्, ‘लिगेसी’ फरक छन् । उनीहरूबीच हत्पति नपुरिने सैद्धान्तिक, वैचारिक खाडल छ । कथित जनयुद्धको मूल्यांकन, पहिचान राजनीति, पहिचानमा आधारित संघीयतादेखि संविधान संशोधनसम्मका राष्ट्रका जल्दाबल्दा मुद्दामा १८० डिग्रीको मतान्तर छ । एमालेलाई अन्धराष्ट्रवादी, महेन्द्रवादी भनेर गाली गर्ने माके र उसलाई भारतका सामु लम्पसार पर्ने उग्रवामपन्थी भन्ने आरोप लगाउने एमालेबीच यी सब कुरामा चामत्कारिक सहमति भएछ भने पनि त्यसपछि पदाधिकारी र कार्यकर्ताको पद मिलानमा आउने अथाह समस्याले एकतालाई सफल र दिगो हुन दिने छैन ।

वास्तवमा एकताको कुरा निकालिएकै चुनावी तालमेललाई सफल पार्नका लागिमात्र हो भने तालमेल सत्ताकै लागिमात्र हो । अतः उनीहरूको एकताको हौवा र प्रचारले कांग्रेस डराउनुपर्दैन । हो, तालमेलको कुरा बेग्लै हो । तालमेलबाट तत्कालका लागि कांग्रेसलाई ठूलै चुनौती आइलागेको पनि सत्य हो । त्यसैले उसले केही उपचारात्मक कदम भने चाल्नैपर्छ । तालमेल गर्नै नहुने होइन । आफू जित्दै नजित्ने ठाउँमा आफूलाई प्राप्त हुने भोट एमाले–माकेबाहेकको, जित्ने सम्भावना भएको अथवा राजनीतिकरूपले आफ्नो सर्वाधिक नजिकको उम्मदेवारलाई जाने रणनीतिक तालमेल कांग्रेसले गर्नुपर्छ । ससर्त वा विनासर्त जसरी गरिए पनि त्यस्तो तालमेलबाट कांग्रेसलाई फाइदै हुनेछ । तर पहिले त, त्यस्तो स्थान र स्थिति अरु कति छन् त्यसको राम्रो गृहकार्य गर्नुप¥यो । कांग्रेस यस्तै हो, गृहकार्य र मेहनत भन्ने लवज उसको शब्दकोशमा छैन भन्दै टक्टकिएर अब चल्ने छैन । आफ्नो प्रमुख प्रतिस्पर्धी सशक्त र ठूलो भएर आएको छ, चुस्त त ऊ पहिल्यै थियो कांग्रेसभन्दा । यस्तोमा अब कांग्रेसले कि आफूलाई सुधार्नुपर्छ कि सकिनु, बीचको बाटो छैन । मेहनत नगरे पनि इतिहास रचेको ब्याज खाँदै, बिपीको नाम भजाउँदै र विपक्षीको विभाजित भोट ब्यांकको फाइदा लिँदै सत्तामा गएर मोज गरिरहन अब पाइने छैन ।

सकारात्मक सोचको आवश्यकता
कांग्रेसले धेरै गल्ती गरेको छ, सम्भवतः कुनै पनि अरु दलले गरेको भन्दा धेरै र आत्मघाती गल्ती । त्यसका बाबजुद अहिले पनि देशको सबैभन्दा ठूलो, पुरानो, लोकप्रिय र व्यापक जनाधार भएको दल उही हो । लोकप्रिय (पपुलर) मत अहिले पनि उसैको बढी छ, पछिल्लो स्थानीय चुनावमा एमालेभन्दा केही कम सिट जिते पनि । यो लोकप्रिय मतलाई चुनावका लागि निर्णायक मत बनाउन सकेमा मात्र पनि अबको चुनावमा ऊ पुनः १ नम्बर हुन सक्नेछ । माके–एमालेको मत जोडिँदा वाम गठबन्धनको मत बढ्ने कुरा तर्कसम्मत भए तापनि उनीहरू दुवैको सबै मत स्वतः एक ठाममा जोडिंँदैन, एकथरीले सोचेको जस्तो । उम्मेदवारको व्यक्तिगत लोकप्रियता, तालमेलमा कार्यकर्तादेखि मतदातासम्मको स्वीकार्यतालगायतका थुप्रै ‘भ्यारिएबल्स’ ले चुनाव परिणामलाई प्रभावित गर्छन् । कांग्रेसले सकारात्मक भएर सोच्ने हो भने आगामी चुनावमा ऊ १ नम्बर दल बनेनछ भने पनि आकास खसिहाल्दैन । एक दुई निर्वाचन अवधि प्रतिपक्षमा बस्दैमा कांग्रेस सिद्धिँदैन । हो, सत्ताबिना बाँच्नै नसक्ने कांग्रेसभित्रको एउटा वर्गचाहिँ सिद्धिन सक्छ ।

त्यसै पनि वाम गठबन्धन आफ्नै अदूरदर्शी एवं पपुलिस्ट नाराहरू र बाँडेका सपना पूरा गर्न नसकेर अलोकप्रिय हुने र अर्को चुनाव हार्ने सम्भावना उत्तिकै छ । आफ्नै सैद्धान्तिक, स्कुलिङगत, गुटगत र व्यक्तिगत बेमेल तथा अन्तर्विरोधहरूले गरेर उनीहरू पुनः फुट्ने सम्भावना पनि बलियो छ । बाबुराम भट्टराईसमेत दुई साता पनि टिक्न नसक्ने गठबन्धनमा सधैँ बाझाबाझ गर्ने प्रचण्ड र ओली कति दिन मिलेर बस्लान् ? लाख दुर्गुण सही, कांग्रेसको त सहिष्णुता र लचकता त छ जसले गर्दा सबै प्रकारका शक्ति÷दल ऊसँग सहकार्य गर्न सहज मान्छन् । लोकतन्त्रमा खासै गल्ती नगरे पनि दुई÷तीन चुनावपछि मतदातामा उत्पन्न हुने ‘फटिग’ (थकान) का कारण अथवा ‘एन्टी इन्कम्बेन्सी फ्याक्टर’ का कारण पनि दलहरू चुनाव हार्ने गर्छन् । एमाले–माके मात्र यो नियमका अपवाद हुने छैनन् । मौका आइरहन्छ ।

कांग्रेस डराउनुपर्दैन– साम्यवादी अधिनायकवाद आउन सक्दैन, एमाले–माके गठबन्धनले चाहे पनि नचाहे पनि । त्यो चुनावबाट आउने कुरा पनि होइन । त्यसका लागि न विश्व परिस्थिति अनुकूल छ, न भूराजनीतिक स्थिति, न देशभित्रको शक्ति सन्तुलन र जनमत । त्यसैले बरु कांग्रेसले अहिलेको चुनौतीलाई आफूलाई सुधार्ने सकारात्मक दबाबका रूपमा लिनुपर्छ । र, आत्तिन एवं प्रतिक्रियाको राजनीति गर्न छाडेर राष्ट्र निर्माणको ठोस अजेन्डासहित, स्पष्ट राजनीतिक, आर्थिक, सामाजिक नीति तथा कार्यकक्रमका साथ जनतामा जानुपर्छ । उपहारमा जनतालाई सुशासन र विकास दिनुपर्छ र कार्यकर्तालाई जीवन्त एवं क्रियाशील संगठन । अनि गर्नैपरे देशव्यापीरूपमा गरिने भागबन्डाका आधारमा होइन कि स्थानविशेषलाई छानेर रणनीतिक आधारमा चुनावी तालमेल गर्नुपर्छ अहिले गोर्खामा बाबुराम भट्टराईसँग गरेजस्तो । कांग्रेसै जस्तो अर्को पार्टी भइदिएको भए देशव्यापी तालमेलमात्र होइन कि साझा नीति तथा कार्यक्रमका आधारमा एकतै गरे पनि हुन्थ्यो जुन स्थिति यहाँ छैन ।

प्रकाशित: ६ कार्तिक २०७४ ०३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App