६ वैशाख २०८१ बिहीबार
राजनीति

वाम गठबन्धन काँग्रेस-राजपाप्रति अाक्रमक, फोरमसँग नरम

काठमाडौं – नेकपा एमाले र माओवादी केन्द्र गठबन्धनले नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालप्रति आक्रामक तथा संघीय समाजवादी फोरम नेपाल र अन्य साना वाम दलप्रति  नरम नीति अख्तियार गर्ने भएको छ। 

वाम गठबन्धनले तयार पारेको संयुक्त चुनावी घोषणापत्रमा कांग्रेस पुँजीपतिवर्गको पार्टी भएको निष्कर्ष निकाल्दै उसले संविधान कार्यान्वयन गर्न नसक्ने र कांग्रेसजस्तै राजपा पनि राष्ट्रिय स्वाधीनताको सबालमा भरोसायोग्य पार्टी नभएको उल्लेख छ। 

गठबन्धनले चुनावी घोषणापत्रको मूल नारा ‘कम्युनिस्टको नेतृत्वमा परिवर्तन र उपलब्धि, कम्युनिस्टकै नेतृत्वमा सामाजिक न्याय र समृद्धि’ तय गरेको छ। 

‘नेपाली कांग्रेसले बचेखुचेका उदार सामन्तवर्ग र मूलतः दलाल नोकरशाही पुँजीपतिवर्गको प्रतिनिधित्व गर्छ, यो पार्टीले सामन्ती निरंकुशताविरुद्ध र लोकतन्त्रको पक्षमा संघर्ष गरेको भए पनि यसले आफ्नो वर्गचरित्रको सीमाका कारणले यो संघर्षलाई पूर्णतासम्म पुर्‍याउने संघर्षको नेतृत्व गर्न सकेन्,’ घोषणापत्रको मस्यौदामा उल्लेख छ, ‘कम्युनिस्ट क्रान्तिकारी शक्तिहरूले सामान्तवादको निर्णायक उन्मूलन गर्ने लोकतान्त्रिक क्रान्तिको नेतृत्व गरेपछि यो शक्ति बाध्यात्मक ढंगले सामेल हुन आइपुगेको हो । तसर्थः नेकाले वर्तमान नयाँ संविधानको अन्तर्वस्तु, मूल मर्म र भावनालाई आत्मसात् गर्न सक्दैन र त्यसलाई सही ढंगले क्रियान्वयन गर्न सक्दैन।’ 

संविधान कार्यान्वयन गर्न नसक्ने भन्दै कांग्रेसलाई यथास्थितिवादी शक्तिको रुपमा चित्रित गरेको वाम गठबन्धनले भ्रष्टाचारलाई संरक्षण गर्ने दलका रुपमा पनि उसलाई चित्रित गरेका छन् । ‘०४६ सालपछि सबैभन्दा बढी सरकारमा बसेको यो पार्टी (कांगे्रस) आफंै भ्रष्टाचारको पर्यायवाची झंै बनेको छ र यसले सुशासानको प्रत्याभूति दिन सक्दैन भन्ने स्पष्ट भइसकेको छ’, मस्यौदमा उल्लेख छ । कांग्रेसले समाजवाद शब्द दस्तावेजमा मात्रै राखेको जिकिर गर्दैै वाम गठबन्धनले नवउदारवादी आर्थिक नीतिको अन्ध पक्षपोषण गर्ने उसले समाजवाद त परै जाओस्, नेपाली जनतालाई विकास एवं समृद्धिको तात्कालीन लाभ पनि दिन नसक्ने निष्कर्ष निकालेको छ ।  ‘कांग्रेसले कयौं राष्ट्रघाती सन्धिसम्झौता गरेको छ, यसले स्वतन्त्र पराराष्ट्र नीति अवलम्बन गर्न सक्दैन र राष्ट्रिय स्वाधीनताको सबालमा यो भरोसायोग्य शक्ति होइन’, वाम गठबन्धनको निष्कर्ष छ।

वाम गठबन्धनले कांग्रेसकै दाँजोमा राजपालाई पनि राखेको छ । ‘राजपा सामान्तवादको अवशेष दलाल पुँजीपतिवर्गको एउटा हिस्साको प्रतिनिधित्व गर्ने पार्टी हो, यसले राष्ट्रिय आत्मसमपर्णवादी एव दलाल नीतिको पक्षपोषण गर्छ र गरिब तथा श्रमिकमुखी सामाजिक, आर्थिक रुपान्तरणको खुलेर विरोध गर्छ,’ घोषणापत्रको मस्यौदामा उल्लेख छ।

राजापाले राष्ट्रिय एकतालाई समेत कमजोर पार्ने निष्कर्ष वाम गठबन्धनको छ । ‘राजपाले राष्ट्रिय स्वाधीनता, राष्ट्र हित एवं राष्ट्रिय एकतालाई कमजोर पार्ने र परिवर्तनको सामाजिक न्याययुक्त जनमुखी एव समाजवादउन्मुख अन्तरवस्तुलाई भुत्ते पार्ने काम गर्छ,’ मस्यौदामा आरोप लगाइएको छ, ‘र यसको संघीयताको पक्षधरता पनि फितलो छ, यो भुइँ तहका जनतालाई स्वशासनको अधिकार दिने र अधिकार सम्पन्न गराउने कुराको विरुद्धमा रहने गरेको छ।’

वाम गठबन्धन उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग भने नरम हुँदै सहकार्यसमेत गर्न सक्ने पक्षमा उभिएको छ । ‘संघीय समाजवादी फोरले राजपा प्रवृतिबाट आफूलाई अलग राख्ने प्रयत्न गरिरहेको छ, यसको विकासक्रमलाई नजिकबाट हेर्दै मिल्ने मुद्दामा यो पार्टीसँग सहकार्य गर्न सकिन्छ’, गठबन्धनको निचोड छ।

यो गठबन्धनले अन्य कम्युनिस्ट शक्तिको आलोचनामाा पनि समय खर्चिएको छ । अन्य कुनै दलको नाम उल्लेख नगरी मस्यौदामा भनिएको छ, ‘देशमा केही अन्य साना कम्युनिस्ट समूह पनि छन, उनीहरूको जडसुत्रीय, संकिर्णतावादी, आत्मकेन्द्रित, गुटवादी प्रवृतिको आलोचना गर्दै एकता, धु्रवीकरण र सहकार्यमा ल्याउने प्रयत्न गर्नुपर्छ’, मस्यौदामा लेखिएको छ।

एमाले र माओवादी गठबन्धनले नयाँ संविधानको पूर्ण स्वामित्व लिने प्रतिबद्धता घोषणापत्रमाफर्त गरेका छन । तर, आवश्यकता अनुसार संविधान संशोधनमा पनि लचिलो हुने उल्लेख गरेका छन् । ‘नेपाली जनताको महान संघर्षबाट हासिल गरिएका गणतन्त्र, संघीयता, समानुपातिक, समावेशीकरण, सामाजिक न्याय र धर्मनिरपेक्षताजस्ता ऐतिहासिक उपलब्धिसहितको जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली र समाजवादउन्मुख समावेशी लोकतन्त्रलाई संस्थागत गरिएको नेपालको संविधानको पूर्ण स्वामित्व लिँदै त्यसको प्रभावकारी कार्यान्वयन गरिनेछ,’ मस्यौदामा छ, ‘नयाँ संविधानको क्रियान्वयनमा जोड दिँदै आवश्यकता एवं परिस्थितिअनुसार यसको परिमार्जन एवं विकास गर्दै लगिने छ।’ 

समतामुलक न्यायसहितको आर्थिक विकास र समृद्धिलाई प्राथमिकतामा राखेर निर्वाचन घोषणापत्रलाई अन्तिम रुप दिँदै गरेको वाम गठबन्धनले राष्ट्रिय पुँजीको विकास र उत्पादकत्व वृद्धि गर्दै समाजवादका आधार निमार्ण गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित: ३० आश्विन २०७४ ०३:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App