coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाँध रोक्ने सहमति, दशगजा विवाद साम्य

राजविराज- खाँडो नदीको मुहान थुन्नेगरी भारतीयले सप्तरीको सीमावर्ती गाविस तिलाठीस्थित दशगजा क्षेत्रमा एकतर्फी बाँध बनाउन थालेपछि बिहीबारदेखि उत्पन्न तनाव द्विपक्षीय सहमतिसँगै तत्कालका लागि साम्य भएको छ।

सप्तरी तथा सीमापारि सुपौल जिल्लाको स्थानीय प्रशासनबीच बाँध निर्माण कार्य रोक्नेसहित तीन बुँदे सहमति भएपछि विवाद साम्य भएको हो। पाँच वर्षयता खाँडो नदीको धार परिवर्तनका कारण विवाद भएकाले नदीको धारलाई पुरानै स्थानबाट बगाउन च्यानलाइज गर्ने, दशगजामा हराएका सीमास्तम्भ खोजीका लागि दुवै देशले केन्द्रीयस्तरबाटै पहल गर्ने र तत्कालका लागि जलउत्पन्न प्रकोप नियन्त्रणका प्रमुख तथा भारतीय जल संशाधनका प्रमुखको संयुक्त टोलीले अध्ययन गरी दिएको प्रतिवेदनका आधारमा निर्माण कार्य अगाडि बढाउने सहमति दुवै पक्षबीच भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले जानकारी गराए।

एक साताभित्र नेपालतर्फका जलउत्पन्न प्रकोप नियन्त्रण तथा भारतीय जल संशाधनको प्राविधिक टोलीलाई नदीको प्राकृतिक बहावसमेतलाई प्रभाव नपार्नेगरी कुन बाटोबाट च्यानलाइज गर्दा उपयुक्त हुने हो भनी प्रतिवेदन प्रस्तुत गर्ने जिम्मेवारीसमेत संयुक्त टोलीलाई दिइएको गौतमले जानकारी गराए।

बैठकमा नेपालको तर्फबाट सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमको नेतृत्वमा प्रहरी उपरीक्षक भीमप्रसाद ढकाल, सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय राजविराजका प्रहरी नायव उपरीक्षक निरकृष्ण अधिकारीलगायत सुरक्षा अधिकारी सहभागी थिए। भारतीय पक्षबाट सुपौलका डिस्ट्रिक्ट मजिस्टेट वैद्यनाथ यादव, सशस्त्र प्रहरी सीमा सुरक्षा बलका ४५ औं बटालियन प्रमुख रामअवतार भथोलियालगायतको सहभागिता थियो।

दुवै पक्षका सुरक्षा अधिकारी दशगजा क्षेत्रको स्थलगत अवलोकन गरी घटनाबारे जानकारी लिएपछि कुनौलीमा द्विपक्षीय छलफलमा बसेका थिए। दशगजा निरीक्षणपछि सुपौलका मजिस्टेट यादवले दशगजा घटना दुःखद् भएको भन्दै दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्। नेपाली पक्षलाई दुःख दिने नियत नरहेको बताउँदै उनले भने 'नेपाल र भारतबीचको सम्बन्ध सदियौंदेखिको हो र यो कायम रहन्छ, हामी दशगजा समस्याको ठोस समाधानका लागि गम्भीर छौं।'

भारतीयले दशगजा मिचेर बाँध निर्माण गर्न थालेपछि स्थानीय नेपाली गाउँलेले प्रतिरोध गर्दा बिहीबार साँझ दुवैतिरका स्थानीयबीच झडपसमेत भएको थियो। झडपक्रममा करिब एक दर्जन नेपाली नागरिक घाइते भएका थिए।

शुक्रबार बिहानसमेत केहीबेर उक्त क्षेत्र तनावग्रस्त भएको थियो। बिहानैदेखि भारतीयले बाँध निर्माण कार्यलाई निरन्तरता दिन खोजेपछि केही बेर तनाव उत्पन्न भएको सशस्त्र प्रहरी निरीक्षक ज्ञानबहादुर श्रेष्ठले जानकारी गराए। यद्यपि दुवैतिरका सुरक्षा निकाय तत्कालै स्थितिलाई नियन्त्रणमा लिन सफल भएको तिलाठीका निवर्तमान गाविस अध्यक्ष दिनेश्वर मिश्रले जानकारी गराए। हाल उक्त क्षेत्रमा दुवैतिरका सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। सर्वसाधारणलाई विवादित क्षेत्रसम्म जान निषेधसमेत गरिएको छ।

प्रकाशित: १५ श्रावण २०७३ ०२:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App