७ वैशाख २०८१ शुक्रबार
विचार

रेल एक सपना

छिमेकीको विकाससँगै आफू पनि अघि बढ्न सकिएन भने दिक्दारीको अवस्था आउँछ । अहिले छिमेकी भारत र चीनको तीव्र विकासजस्तै मुलुकले गतिको लय नपक्रिँदा जनस्तरमा चिन्ता बढ्दो छ । सञ्चारले  छिमेक र संसारमा भइरहेको प्रगतिबारे थाहा पाउन सजिलो भएको छ । त्यसले जनतामा भने अन्यत्र भएका प्रगति आफूकहाँ किन भइरहेका छैनन् भनेर सोच्न बाध्य तुल्याउँछ । छिमेकी भारतमा बुलेट ट्रेन निर्माणका लागि यही बिहीबार त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदी र सहयोगी मुलुक जापानका समकक्षी सिन्जो आबेले संयुक्तरुपमा शिलान्याश गर्ने भएका छन् । उत्तरतिरको छिमेकी चीनले हाम्रो सीमाक्षेत्रमा तीन वर्षपछि सन् २०२० मा रेल ल्याउने तयारी तीव्र पारेको छ । नेपालको सीमा रसुवागढीबाट २६ किलोमिटर टाढा केरुङमा रेल आइपुग्दा यता कुनै तयारी नहुने हो भने विकासको गतिबाट हामी धेरै पछि परेको महसुस गर्ने अवस्थामा हुन्छौं । हामीकहाँ भने गीतसंगीतमा समेत ‘रेल’ शब्दको प्रयोग भइरहेको छ । रेल एक सपनाजस्तो छ यहाँ । कुनै बेला राजधानीको भृकुटीमण्डपमा चलाउने बालरेललाई देखेर दंग पर्ने हाम्रा नागरिकका निम्ति रेलको आफ्नै महŒव छ । हाम्रो आफ्नै जनकपुर–जयनगर रेल्वे एउटा इतिहास भइसकेको छ । पहिले अमलेखगन्जसम्म आउने गरेको रेल खुम्चिँदै–खुम्चिँदै इतिहासमा सीमित भएको देखिएकै हो ।
भारतीय प्रधानमन्त्री मोदी र उनका जापानी समकक्षी आबेले भारतको पहिलो बुलेट ट्रेनको शिलान्याश गरेपछि त्यसलाई सम्पन्न गर्ने समयसमेत तय भइसकेको छ । यो परियोजना अगस्ट २०२२ मा भारतीय स्वतन्त्रताको ७५औं वर्षगाँठका अवसरमा सम्पन्न गर्ने तयारी छ । यो रेल्वे सेवाले भारतको अहमदाबाददेखि मुम्बईसम्मको साविकको ६ घन्टाको दूरी घटाएर तीन घन्टामा पु¥याउनेछ । ५ सय ८ किलोमिटर लामो यो रेल्वे परियोजनानिम्ति जापानबाट ८८ हजार करोड रूपैयाँ सहुलियत ऋण प्राप्त हुनेछ । ऋण सहयोग पनि कति सहुलियतपूर्ण छ भने ०.१ प्रतिशत ब्याजमा आगामी ५० वर्षभित्र तिरे पुग्छ । अनि तिर्ने क्रम भने ऋण पाएको १५ वर्षपछि मात्र सुरु हुन्छ । निर्माणपछि यसको सेवा लिने जनतालाई महँगो नपर्नेसमेत अहिले चर्चामा आइसकेको छ । अहिले एसी फस्टक्लासमा यात्रा गर्दाभन्दा १.५ गुणा मात्र महँगो पर्नेछ । सिंगापुरकै शैलीमा दिल्लीमा मेट्रो चलाएर चौतर्फी प्रशंसा हासिल गरेको भारतका निम्ति बुलेट ट्रेनले जनतामा आत्मविश्वास थप बढाउने देखिन्छ । पूर्वाधारको विकासले जनतालाई मुलुकप्रति गौरवान्वित हुन प्रेरित पनि गर्छ । विकासको गति अगाडि बढाएपछि नेताका सामान्य गल्तीमा समेत जनताले आँखा चिम्लिन्छन् । मुलुकमा केही न केही भइरहेको तरंग पनि फैलिन्छ । चीनले संसारकै सबैभन्दा उच्च पठारमा रेलसेवा पु¥याएर चकितमात्र तुल्याएको छैन, बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) मार्फत कनेक्टिभिटी बढाउने कामसमेत गरेको छ ।
चीन र भारतले आक्रामकरुपमा रेल्वे सेवा विस्तार गरिरहेका बेला नेपालले समेत त्यसबाट फाइदा लिने रणनीति तय गर्नुपर्छ । चीनको बिआरआईमा सहभागी हुन नेपालले समझदारीमा हस्ताक्षर गरिसकेको भए पनि त्यसको कार्यान्वयनका निम्ति भने रणनीतिक तयारी गर्न सकेको छैन । नेपालले आफैं रेल्वे सेवा सञ्चालन गर्न थोरै भए पनि रेलमार्ग तयार भएको छ । तर, त्यसका निम्ति आवश्यक पर्ने रेलको व्यवस्था अहिलेसम्म गर्न सकेको देखिएको छैन । जयनगरबाट सुरु भएर जनकपुर हँुदै बर्दिबास पुग्ने ६९.२ किलोमिटरमध्ये ३५ किलोमिटरमा आगामी फागुनदेखि रेल चलाउने योजना रेल विभागले गरेको छ । उक्त खण्डको धनुषा कुर्थासम्म ३५ किलोमिटरमा फागुनदेखि रेल चलाउन सकिने पूर्वाधार तय हुने भएको छ । तर, त्यसका लागि रेल भारतबाट ल्याएर चलाउने वा के गर्ने भन्ने तयारी अहिलेसम्म हुन सकेको छैन । कसरी रेल चलाउने भन्ने अध्ययन रेल विभागले गरे पनि त्यसको व्यवस्थापनको सम्पूर्ण काम भने पूरा हुन सकेको छैन । नेपालले आफ्नै रेल चलाएन भने त्यो ट्रयाकमा भारतले आफ्नो सेवा विस्तार गर्न सक्नेछ । त्यसले मात्र नेपालको रेल्वे सपना भने पूरा हुन सक्दैन । एकातिर, बिआरआईअन्तर्गत केरुङ–काठमाडौं र काठमाडौं–पोखरा–लुम्बिनी रेल्वे प्रसंग अगाडि बढिसकेको छ । अर्कोतिर, यसको कार्यान्वयनको तयारी भने शून्यप्रायः छ । सरकारी निकायमात्र होइन, थिंकट्यांकले समेत यसको औचित्य, योजना र रणनीतिबारे तयारी गरेको देखिएको छैन । भनिन्छ, सपना त्यो हो जसले सुत्न दिँदैन । तर, हामी छरपस्ट सपना भएको मुलुकका नागरिक हौं जो निदाएर सपना देख्ने प्रयास गर्छौं । हाम्रा निम्ति रेल सपना त्यस्तै नहोस् । छिमेकीको प्रगति देखेर प्रेरणा लिनु सपनाभन्दा सार्थक हुन्छ ।

प्रकाशित: २७ भाद्र २०७४ ०४:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App