४ वैशाख २०८१ मंगलबार
विचार

गालीगलौज होेइन, अजेन्डा बताऊ

प्रमुख राजनीतिक दलले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनलाई जेजसरी आ–आफ्नो प्रतिष्ठासँग जोड्दै प्रचारमा लागेका छन्, त्यसक्रममा एकअर्काप्रति गालीगलौजको तहमा उत्रिने काम गरिरहेका छन् जुन राजनीतिक दल र तिनका नेताका लागि सुहाउने विषय होइन । अझ उदेकलाग्दो विषय त के छ भने विपक्षीमाथि प्रहार गर्ने कार्य स्थानीय नेता तथा कार्यकर्ताभन्दा पनि शीर्ष नेतृत्वबाटै बढी भएको छ । राजनीतिक दलको चुनावी प्रचार हेर्दा लाग्छ, उनीहरूसँग अजेन्डाको खडेरी छ । त्यसैले त चुनाव प्रचारप्रसारका क्रममा राजनीतिक दलका शीर्ष नेताले आफ्नो पार्टीको अजेन्डा, नीति र कार्यक्रम बताउँदैनन् बरु प्रतिस्पर्धी दलहरूप्रति कटाक्षमात्रै गर्छन् । उनीहरुले बुझ्नुपर्ने तथ्य के हो भने प्रतिस्पर्धी दल र तिनका नेतालाई गाली गरेर मात्रै चुनाव जितिँदैन र राजनीतिलाई मर्यादित बनाउन पनि सकिँदैन । उल्टै नेताहरुको एकअर्काप्रतिको कटाक्षले राजनीतिप्रति सर्वसाधारणमा वितृष्णा उत्पन्न हुन सक्छ । त्यसैले राजनीतिक दलका शीर्ष नेताले चुनावी अभियानलाई सम्बोधन गर्ने क्रममा यस पक्षमा ध्यान पु¥याउन आवश्यक छ ।

मधेस केन्द्रित राजनीति गर्दै आएका राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमजस्ता दलका सबै शीर्ष नेता यति बेला प्रदेश नम्बर २ को चुनावी अभियानमा सक्रिय छन् । उनीहरुमात्र होइन, प्रमुख दलका शीर्ष नेतृत्व पनि प्रदेश नम्बर २ को निर्वाचनमा सक्रिय छन् । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसमेत अन्य वरिष्ठ नेता पनि चुनावी प्रचारमा जाने भएका छन् । यता एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल प्रदेश नम्बर २ को स्थानीय तहमा खटिएका छन् भने अध्यक्ष केपी शर्मा ओली पनि चुनावी सभालाई सम्बोधन गर्न मधेस झर्ने तयारीमा छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायतका नेता मधेसमा खटिइरहेका छन् । एक हिसाबले भन्ने हो भने यतिखेर सबै राजनीतिक दलदेखि सिंगो राज्यसंयन्त्र, नागरिक समाज सबैको ध्यान प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा केन्द्रित छ । यसरी निर्वाचनप्रति चासो बढ्नु आफैंमा सकारात्मक हो । जसरी निर्वाचनप्रति प्रमुख दलको चासो देखिन्छ, त्यसैगरी चुनावी प्रचारलाई आफ्नो अजेन्डा जनतासमक्ष लैजाने अवसरका रुपमा दलहरुले उपयोग गरेको भने देखिँदैन ।

मधेसकेन्द्रित राजनीतिक दलको निरन्तरको आग्रह र दबाबका कारण सरकारले संसद्मा संविधान संशोधनको प्रस्ताव दर्ता गराए पनि त्यो अस्वीकृत भएलगत्तै तराई–मधेसमा स्थानीय निर्वाचन हुन लागेको हो । सुरुमा निर्वाचन बहिष्कार गर्दै आएको राजपा अहिले तेस्रो चरणको निर्वाचनमा सहभागी हुन राजी भएको हो । यस हिसाबले निर्वाचनमा संविधान संशोधनको विषय प्रमुख मुद्दाका रुपमा उठ्नु अस्वाभाविक होइन । तर संविधान संशोधनको मुद्दालाई नै केन्द्रमा राख्ने बहानामा राजनीतिक दल एकअर्काप्रति गालीगलौजमा उत्रिनुलाई भने कुनै हिसाबले पनि जायज मान्न सकिँदैन । फेरि राजनीतिक  दलले संविधान संशोधनको विषयमा पनि आफ्नो पार्टीको धारणा जनतालाई बुझाउने प्रयास गरेका छैनन्, प्रतिस्पर्धी दललाई गालीगलौज गर्ने काममात्रै गरेका छन् । शनिबार कलैयाको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अधिकांश समय एमालेलाई गाली गर्न खर्चिनु एउटा उदाहरणमात्रै हो । माओवादी केन्द्रमात्र होइन, नेपाली कांग्रेस, एमालेदेखि मधेस केन्द्रित राजनीतिक दल सबैले चुनावी अभियानलाई गालीगलौजमा परिणत गर्नु चिन्ताको विषय हो ।

मधेसमा परम्परागत शक्तिका रुपमा दाबी गर्दै आएको नेपाली कांग्रेस आफूलाई त्यही अवस्थामा फर्काउने दाउमा छ भने एमाले आफ्नो दलमाथि लाग्दै आएको मधेसविरोधी आरोपको जबाफ निर्वाचनमार्फत नै दिने अभियानमा जुटेको देखिन्छ । माओवादी केन्द्र पनि पहिलो संविधानसभामा पाएको ‘पोजिसन’ फर्काउने रणनीतिमा लागेको देखिन्छ । २०६२÷६३ को आन्दोलनपछि उदाएका मधेस केन्द्रित दलहरू त्यहाँको प्रतिनिधित्व गर्ने राजनीतिक शक्ति आफूहरु भएको जुन दाबी गर्दै आएका थिए, त्यसलाई प्रमाणित गर्नुपर्ने चुनौतीपूर्ण अवस्थामा छन् । त्यसमाथि मधेस केन्द्रित राजनीति गर्दै आएका राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम र  नेपाल लोकतान्त्रिक फोरमबीच आफ्नै खालको दलीय प्रतिस्पर्धा छ । यस हिसाबले पनि राजनीतिक दलबीच प्रदेश नम्बर २ को निर्वाचनमा बढी प्रतिस्पर्धा देखिएको हो । लोकतन्त्रमा राजनीतिक दलबीच प्रतिस्पर्धा हुनु सकारात्मक हो तर त्यस्तो प्रतिस्पर्धा स्वस्थ, शिष्ट र मर्यादित हुनुपर्छ । प्रदेश नम्बर २ को चुनावी सभालाई सम्बोधन गर्ने क्रममा होस् वा अन्य चुनावी प्रचारकै क्रममा किन नहोस्, राजनीतिक दल र तिनका नेताकार्यकर्ताको ध्यान यसतर्फ केन्द्रित होस् ।

प्रकाशित: २५ भाद्र २०७४ ०२:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App