८ वैशाख २०८१ शनिबार
विचार

वायुसेवा निगमको नियति

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम पछिल्लोपटक नियमविपरीतका केही निर्णय गरेर बदनाम भएको छ। 'पर्याप्त जहाज थप्दै बजार हिस्सा ओगट्ने र व्यवस्थापन पनि सुधार गर्दै लाने' नीति बोकेर तेस्रोपटक निगम हाँकिरहेका महाप्रबन्धक सुगतरत्न कंसाकार आफैंले यस्ता निर्णय गरे होलान् भन्ने विश्वास गर्नसमेत गाह्रो भएको छ। तर, निर्णय भने उनकै पहलमा भएका छन्। त्यसो हो भने निगमको दीर्घकालीन हितमा असर पर्ने गरी यस्ता निर्णय किन भइरहेका छन्? निगम व्यवस्थापनले पछिल्लोपटक सानो चिनियाँ जहाजको प्रशिक्षक पाइलटका रूपमा अमेरिकी ग्रिनकार्ड होल्डर नेपाली आङनुरी शेर्पालाई मासिक १० लाख रुपैयाँ दिनेगरी चार वर्षका लागि नियुक्त गर्न पुगेको छ जब कि त्यही योग्यताका अन्य पाइलटले मासिक एक लाख ८० हजार रुपैयाँमात्र तलब पाइरहेका छन्। त्यसैगरी त्यही चिनियाँ जहाजकै प्रशिक्षक पाइलटमा न्युजिल्यान्डका पेनिएटा माएभालाई मासिक १८ लाख रुपैयाँ तथा जहाज सञ्चालन, चालक दलको तालिम, उडान मापदण्ड र सुरक्षा, नियम पालनालगायत हेर्ने भन्दै इटालीका ६६ वर्षीय ग्याब्रिएल एसेन्जो (गेब) लाई मासिक साढे २६ लाख रुपैयाँ तलब दिने गरी दुई वर्षका लागि नियुक्त गरेको छ।

राष्ट्रिय ध्वजावाहक निगममा पर्याप्त जहाज र चुस्त व्यवस्थापन हुन नसकेकै कारण विदेशी वायुसेवाको हालिमुहाली चलेको हो। यसको प्रत्यक्ष मार यात्रुलाई परिरहेको छ।

त्यसबाहेक अवैध रूपमा ९३ हजार ६ सय अमेरिकी डलर बोकेर जहाज उडाउन जाँदै गर्दा रंगेहात पक्राउ परेका वरिष्ठ क्याप्टेन सुवर्ण अवालेलाई धरौटीमा छुट्नासाथ जहाज उडाउन महाप्रबन्धक कंसाकारले नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागे पनि प्राधिकरणले अनुमति दिएन। अहिले फेरि  पाइलट लाइसेन्स अद्यावधिक गर्ने नाममा महाप्रबन्धक कंसाकारले अवालेलाई तालिममा सिंगापुर पठाउने निर्णय गरे पनि सफल हुन भने सकेनन्। लगत्तै उनले मर्मत भइरहेको निगमको एउटा जहाज हेर्न र लिन जाने भन्दै एकैपल्ट २० कर्मचारीलाई सिंगापुर घुमफिरको स्वीकृति दिएका छन्। संस्थानमा कार्यरत कर्मचारीलाई राम्रो काम गरेबापत प्रोत्साहित गर्ने अनेकन् उपाय छन्। तर, उनले अपनाएको यो विधि एउटा व्यावसायिक व्यवस्थापकका निम्ति सुहाउने खालको छैन। यस्तो फजुल भ्रमणको पुष्टि निगम व्यवस्थापनले पक्कै पनि गर्न सक्दैन। कंसाकार आएपछि निगमले २ सय ८० सिटसम्मका दुई थान 'वाइड बडी' जहाज खरिद गर्ने निर्णय गरी पहिलो किस्ता ८ अर्ब रुपैयाँ पठाइसकेको छ। जहाज थप्ने विषयलाई सकारात्मक रूपमा लिइएको हो। एक वर्षभित्र दुई ठूला जहाज काठमाडौं आइपुग्नेछन्। कंसाकारकै प्रयासमा हाल उडिरहेका दुई थान एयरबस जहाज आएका थिए। राजनीतिक हस्तक्षेप र 'लोसे' व्यवस्थापनका कारण थिलथिलो बनेको निगममा कंसाकारको प्रवेशलाई उत्साहका साथ हेरिएको पनि हो। तर, यसबीच उनले गरेका निर्णयले एकपछि अर्को प्रश्न उठाइरहेका छन्।

व्यवस्थापन सुधारका नाममा संस्थाको हितविपरीत यस्ता निर्णय गर्दै जानु भनेको मुलुकको उड्डयन बजारमा आफ्नो हिस्सा गुमाउँदै जानु हो। तथ्यांकअनुसार नेपाली उड्डयन बजारको आकार १ खर्ब रुपैयाँ बराबर भएको छ। यसमा निगमको हिस्सा अधिकतम ८ देखि १० प्रतिशतमात्र छ। जहाज थप्दै जाने र व्यवस्थापन पनि सुधार गर्दै अगाडि बढ्ने हो भने बजार हिस्सा वृद्धि गर्न असम्भव छैन। एक वर्षभित्र दुई थान वाइड बडी जहाज आएपछि बजार हिस्सा बढेर १७ प्रतिशत पुग्ने अनुमान निगमको छ। बाँकी ९० प्रतिशत (९० अर्ब रुपैयाँ बराबर) को बजार अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले ओगटेका छन्। खाडी मुलुकबाट आउने आधा दर्जन बढी, भारत र चीनबाट आउने पनि लगभग त्यति नै तथा कोरिया, हङकङ, थाइल्यान्ड, मलेसियाजस्ता देशबाट आउने वायुसेवाले अर्बौं आम्दानी नेपालबाट लगिरहेका छन्। त्यतिमात्र नभई पछिल्लोपटक नेपालमै स्थापित हिमालय एयरलाइन्स पनि निगमको दह्रो प्रतिस्पर्धीको रूपमा अगाडि आएको छ। स्थापनाको एक वर्षमै तीन थान जहाज ल्याएर निगम जाने गन्तव्यमै उडान गरी हिमालयले निगमको हिस्सा खोसिरहेको छ।

राष्ट्रिय ध्वजावाहक निगममा पर्याप्त जहाज र चुस्त व्यवस्थापन हुन नसकेकै कारण विदेशी वायुसेवाको हालिमुहाली चलेको हो। यसको प्रत्यक्ष मार यात्रुलाई परिरहेको छ। नेपाली यात्रुको पहिलो रोजाइ निगम नै हुने गरे पनि ऊसँग पर्याप्त जहाज नहुँदा यात्रुले महँगो टिकट खरिद गरी अन्य अन्तर्राष्ट्रिय वायुसेवाका जहाजमा उड्न बाध्य भइरहेका छन्। यसको एउटा गतिलो उदाहरण– केही वर्षअघि निगमले भारतको नयाँदिल्ली उडान बन्द गरेपछि त्यहाँको सरकारी वायुसेवा एयर इन्डियाले यो रुटमा एकाधिकार जमाउँदै एकतर्फी भाडा ४२ हजार रुपैयाँसम्म असुलेको थियो। जबकि, निगमले यही रुटमा एकतर्फी जम्मा ८ हजार रुपैयाँमा उडान गर्थ्यो। त्यसबाहेक युरोप, अमेरिकाबाट नेपाल आउन चाहने पर्यटकले पनि सकेसम्म नेपालकै सरकारी वायुसेवा रोज्ने गर्छन् र नभएमात्र अन्य वायुसेवा प्रयोग गर्छन्। आफ्नो देशको वायुसेवा सक्षम नभएका कारण मलेसियादेखि खाडी मुलुकसम्म काम गर्न जाने नेपाली कामदारले हेपिएर यात्रा गर्नुपर्ने अवस्था छ। विदेशी एअरलाइन्सका कर्मचारीले नेपालीलाई हेपेको देख्दा जोसुकैको मन अमिलो हुन्छ। यो अवस्थालाई पनि नेपाल वायुसेवा व्यवस्थापनले ध्यान दिएर अघि बढ्नुपर्ने हो। निगम व्यवस्थापनले दीर्घकालीन उद्देश्य र प्रगतिमा ध्यान दिँदै कम महŒव र संस्थालाई आर्थिक भार पर्ने काम तत्काल रोक्नुपर्छ। अन्यथा निगमको अहिलेसम्मको नियति फेरिने छैन।

प्रकाशित: १२ भाद्र २०७४ ०३:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App