८ वैशाख २०८१ शनिबार
समाज

बाढीपीडितलाई क्राउड फन्डिङबाट सहयोग संकलन : दुरुपयोग हुने चिन्ता

काठमाडौं- नेपालमा हालै आएको बाढीले तराईका अधिकांश क्षेत्र डुबानमा पारेको खबरसँगै विश्वभर छरिएर रहेका नेपालीले 'क्राउड फन्डिङ' बाट सहयोग जुटाउन सुरु गरेका छन्। विभिन्न बेवसाइटमा उपलब्ध हुने क्राउड फन्डिङ सुविधा प्रयोग गर्दै शुक्रबारसम्म एक करोड रुपैयाँभन्दा बढी सहयोग संकलन भइसकेको छ। यो क्रम अझै बढिरहेको छ।

विश्वको सबैभन्दा ठूलो क्राउड फन्डिङ साइटका रुपमा चिनिएको गो फन्ड मी डट कममा नेपाल फ्लड (नेपालको बाढी) को नाममा भइरहेको क्राउड फन्डिङ अभियान ट्रेन्डिङमा छ। हालसम्म विश्वभर तीन अर्बभन्दा बढी अमेरिकी डलर उठाइसकेको दाबी गर्ने गो फन्ड मीमा नेपालको बाढीसँग सम्बन्धित सहयोग संकलनका मात्र २५ सयभन्दा बढी अभियान भेट्टाउन सकिन्छ। यीमध्ये सयौं अभियान सहयोग उठाउन सफल भइरहेका छन् भने केहीले उठाउन सकेका छैनन्। विश्वभर छरिएर रहेका नेपालीबाहेक केही विदेशीले समेत अनलाइन सहयोग जुटाइरहेका छन्। सहयोग दिनेमा पनि नेपालीसँगै विदेशी नागरिकसमेत छन्। जेनेरोसिटी, यु केयरिङ, क्राउड राइज, इन्डिगोगोलगायतका अनलाइनमा पनि नेपाली बाढीपीडितका लागि सहयोग संकलन भइरहेको छ। यस्तै अनलाइन साइटका माध्यमबाट धेरै अभियानकर्मीले नेपालका भूकम्पपीडितका लागि समेत सहयोग संकलन गरेका थिए।

दाताले अनलाइनको माध्यमबाटै अभियानको खातामा सहयोग रकम जम्मा गर्न सक्ने भएकाले छिटो सहयोग जुटाउन यस्ता वेबसाइट माध्यम विश्वभर चर्चित छन्। अनुगमन संयन्त्रको अभाव र संकलन गर्ने अभियन्ताको अविश्वासका कारण यस्ता माध्यमबाट संकलन हुने सहयोग पीडितसम्म पुग्नेमा भने आशंका हुने गरेको छ। कतिपय अभियन्ताले दातालाई प्रभाव पार्न गलत तस्बिर प्रयोग गरिरहेका छन् भने कतिपय अभियन्ताको सम्पर्क ठेगाना नै गलत र अस्पष्ट राखेको समेत भेटिएको छ। अमेरिकाको टेक्सासमा रहेको ग्रेटर अस्टिन नेपाली सोसाइटीले नेपालका बाढीपीडितका लागि सहयोग जुटाउन विदेशमा आएको बाढीको फोटो प्रयोग गरिरहेको छ। सोसाइटीले चलाएको अभियानले हालसम्म २ हजार ४ सय ३३ अमेरिकी डलर सहयोग जुटाएको छ। नेपालको क्षति देखाउन कयौं अभियानले बंगलादेशलगायतका देशका तस्बिर प्रयोग गरिरहेका छन्। सबैले विश्वसनीय माध्यमबाट बाढीपीडितसम्म सहयोग पुर्‍याउने प्रतिबद्धता गरे पनि सहयोग कुन माध्यमबाट पुग्छ भन्ने खुलाएका छैनन्।

पूर्वबैंकर तथा चार्टर्ड एकाउन्टेट अनलराज भट्टराई यस्तो माध्यमबाट सहयोग दिनुअघि अभियान वा सम्बन्धित संस्थाको विश्वसनीयताबारे अध्ययन गर्न दातालाइ सुझाव दिन्छन्। 'यस्तो माध्यमबाट उठेको सहयोगको पारदर्शिता र जवाफदेहिता नहुने भएकाले सहयोगको खाँचो भएकाका लागि नै अभियानबाट उठेको सहयोग खर्च हुने ग्यारेन्टी हुँदैन,' भट्टराईको भनाइ छ। नेपाल चेम्बर अफ कमर्ससँग आबद्ध भट्टराई थप्छन्, ‘केही व्यक्तिले यस्ता माध्यमको सदुपयोग गरेर देशका लागि ठूलो सहयोग पुर्‍याएका छन् भने गलत मनसाय भएका केहीले यस्तो माध्यमलाई व्यक्तिगत स्वार्थमा प्रयोग गरेको पनि भेटिन्छ। म आफैंले देखेको पनि छु।'

सरकारले बाढीपीडितका लागि राहत वितरणमा एकद्वार प्रणाली लागू गरे पनि यस्तो माध्यमबाट आउने सहयोगबारे कुनै अनुगमन गरेको छैन। नेपालमा मात्र नभएर यस्तो माध्यमबाट संकलन हुने सहयोगको उचित सदुपयोग भए वा नभएको अनुगमन गर्ने विषय विश्वभर नै चुनौती बन्दै गएको छ। सहयोग संकलन हुने र वितरण हुने दुवै देशका सरकारले यसको अनुगमन गर्न नसकेको भट्टराईको बुझाइ छ। दातालाई भने आफूले दिएको सहयोग कहिले हस्तान्तरण भयो भन्नेसम्मको जानकारी यस्ता साइटमा उपलब्ध छ।

'मेरो जानकारीमा भएसम्म ६० देखि ७० प्रतिशतसम्म यस्ता अभियन्ताले यस्तो रकम नेपालमा रहेका साथी वा चिनेजानेका मान्छेका व्यक्तिगत खातामा पठाउँछन्। पठाइएको रकम उद्देश्यअनुरुप खर्च भयो/भएन भन्ने खासै अनुगमन गरिँदैन,' भट्टराई भन्छन्।

अमेरिकामा बस्दै आएका नेपाली विद्यार्थी विजयकुमार पाण्डेले हालै बाढीपीडितका लागि र भूकम्पपछि गो फन्ड मीमार्फत आफ्नै साथीहरुले सुरु गरेको अभियानमा सहयोग गरे। 'सहयोग ठीक ठाउँमा पुग्छ, त्यसको फोटो राख्छन् तर संकलित सबै रकम सदुपयोग हुन्छ भन्नेमा चाहिँ शंका नै लाग्छ,' उनले नागरिकसँग भने ।

प्रकाशित: ३ भाद्र २०७४ ०२:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App