४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

आतंकवादमा केन्द्रीत हुँदै अमेरिकी निर्वाचन

काठमाडौं- अमेरिकाको फ्लोरिडा राज्यको ओल्र्याण्डोमा गएको आइतबार भएको आमनरसहांरस्थलको भ्रमणपछि राष्ट्रपति बाराक ओबामाको प्रतिक्रिया आयो– डोनाल्ड ट्रम्पको चुनाव प्रचार नीतिले देशमा उत्तेजना फैलाउने काम बढी गरेको छ।

उनले भने, 'ट्रम्पको शैलीले यतिखेरको निर्वाचन अभियानमात्र होइन कि यसले देशमा असुरक्षाको खतरनाक अवस्था पनि ल्याउन सक्छ। उनले ट्रम्पको निर्वाचन प्रचार शैलीको बिहीबार खुलेरै विरोध गरे।

ओल्र्याण्डोमा रहेको समलिङ्गीहरुको एक रात्रि क्लवमा एक २३ वर्षीय युवकले गोली चलाउदा त्यहाँ रहेका ४९ जना निर्दाेष नागरिकको ज्यान गएको थियो। त्यसमा परी कम्तीमा पनि ५३ जना मानिस घाइते भएका छन् र तीमध्ये अधिकांश अझैपनि उपचाररत छन्।

अमेरिकामा पछिल्ला वर्षहरुमा समय समयमा हुने गरेका यस्ता गोलीकाण्डमध्येको एक ठूलो नरसंहार हो यो। हालैका दिनमा राष्ट्रपतीय निर्वाचनका लागि रिपब्लिकन तर्फका उम्मेदवार डोनाल्ड ट्रम्पले गरेको प्रचारको शैली आक्रामकमात्र नभएर हिंस्रक हुनसक्ने भन्दै राष्ट्रपति ओबामाले आफ्नो अभिव्यक्ति त्यसतर्फ संकेत गरेका हुन्।

ओल्र्याण्डोमा मारिएका व्यक्तिका परिवारजनसँग राष्ट्रपति ओबामाले यो बन्दुक आतङ्कले मुलुकभित्र अतिवादीहरुको जन्म दिइरहेको र त्यसको फाइदा अरु विदेशी आतङ्कवादी र अतिवादीहरुले लिइरहेको गुनासो गरे। आफ्नो कार्यकालमा यो अमेरिकी नागरिकको हातको बन्दुक खोस्नका लागि गरेको आफ्नो प्रयासको अवरोध पनि रिपब्लिकनहरु नै भएको र त्यसलाई झनै पछिल्लो पटक ट्रम्पले प्रचारात्मक शैलीमा नै प्रतिरक्षा गर्ने गरेको बताए।

उनको यो प्रतिक्रियाको भोलिपल्टै ट्रम्पले पनि अमेरिकी नागरिकले लाइसेन्सप्राप्त हतियार राख्न पाउने भनी यसअघिदेखि गर्दै आउनुभएको दाबीको बचाउ गरे। उनले होस्टनमा शुक्रबार रिपब्लिकनले निकालेको र्यालीमा आफ्नो पूर्वघोषित नीतिको बचाउ गरेका हुन्।

फ्लोरिडा राज्यमा हालै भएको बन्दुककाण्डपछि पनि उहाँले आफ्नो नीतिको बचाउ गर्दै भने, 'यदि त्यो रात्रि क्लबका सञ्चालकहरुसँग नै आवश्यक मात्रामा हतियर भइदिएको भए त्यो नरसंहार हुन पाउँदैनथ्यो।

उनले आफ्नो अध्यागमनसम्बन्धी मेक्सिकोसँगको सीमानामा पर्खाल निर्माण गर्नुपर्छ भन्ने नीतिको पनि सो र्यालीमा बचाउ गरे। उनले भने, 'म मेरो पुरानै नीतिमा अडिग छु, मेक्सिकोसँग पर्खाल निर्माण गर्नैपर्छ र यदि त्यसो गरियो भने मात्र अमेरिका हत्या, हिंसा र डकैतीका धेरै प्रकोपबाट बच्नसक्छ।'

ट्रम्फले सन् २०१५ को अगष्टमा आफ्नो आप्रबासीसम्बन्धी नीति सार्वजनिक गर्दै म्याक्सीकोसँगको सीमामा पर्खालै बनाउने बताएका थिए। अमेरिकासँगको सीमामा विशाल पर्खाल बनाउने र त्यसको खर्च समेत म्याक्सिकोबाट भराउने घोषणा उनले गरेका हुन्। अमेरिकामा बसोबास गर्दै आएका गैरकानुनी मेक्सीकन आप्रबासीलाई त उनले लागू औषध तस्कर र अपराधीको समेत आरोप लगाएका थिए। उनको मुख्य निशाना मुस्लिम समुदायका नागरिप्रति पनि छ र आफ्ना भाषणहरुमा भन्दै छन् कि मुस्लिमका कारण नै अमेरिकामा असुरक्षा र हत्या हिंसा मच्चिँदैछ, मुस्लिम नागरिकलाई छिर्न नदिएपछि सबैकुरा ठीक हुन्छ।

सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको ट्वीन टावरमा अल कायदाले आक्रमण गरी तीन हजार भन्दा बढीको ज्यान लिएपछि अमेरिकाले आतङ्कवाद विरोधी अभियान सुरु गर्यो। खासगरी त्यो आतङ्कवाद विरोधी अभियानले मुस्लिम भावना विरोधीको रुप ग्रहण गरेकोजस्तो देखिँदै आएको थियो र आजका दिनसम्म पनि यस्तो प्रकारको भावना देखिन्छ।

अहिले त्यही भावनाले अमेरिका र मुस्लिम संसारका बीचमा एउटा निकै ठूलो पर्खाल निर्माण गरिदिएको छ। अमेरिकाले आतङ्कवाद विरोधी कानुन ल्यायो र ओसामा बिन लादेन खोज्ने अभियानको थालनी गर्यो। चार वर्षअघि अमेरिकाले पाकिस्तानमा आएर त्यो काम सम्पन्न गरेपछि ओबामाको दोस्रो कार्यकालको निर्वाचन लड्ने प्रमुख एजेण्डामध्येको एउटा त्यो पनि बन्न पुगेको थियो।

अहिले पनि अमेरिकामा लडाइँको शृंखला रोकिएको छैन। लडाइँ लड्नका लागि अमेरिकाका लागि फेरि अर्को आतङ्कले जन्म लिएको छ आइएस नामको। यही आतङ्कका विरुद्ध लड्ने प्रतिबद्धता अहिलेका अमेरिकी राष्ट्रपतीय निर्वाचनका उम्मेदवारले व्यक्त गरेका छन्। ट्रम्पले यस्तो आतङ्कलाई देशभित्र प्रवेश गर्न नदिनलाई अमेरिकामा मुस्लिमलाई नै प्रवेश गर्न दिन नहुने धारणा राख्छन् भने डेमोक्र्याटिक पार्टीका उम्मेदवार हिलरी क्लिन्टनले पनि यस हिंसाका विरुद्धमा लड्नका लागि आफू अमेरिकी नागरिकको साथमै रहेको बताउँछन्।

अमेरिकालाई सबै नागरिकको संयुक्त राज्य बनाउने अठोट गर्ने क्लिन्टनले तर पनि मुस्लिम वा मेक्सिकन नागरिकप्रति भने कुनै पनि किसीमको विभेद गर्न नहुने बताए।

विश्व महाशक्ति अमेरिकामा अगामी नोभेम्बर ८, मा हुन लागेको राष्ट्रपतीय चुनावको अधिकांश विषय आतङ्ककवादका विरुद्धमा नै केन्द्रित भएको देखिन्छ। ४५औं राष्ट्रपतीय चुनाबको प्रतिष्पर्धामा पार्टीको तर्फबाट आधिकारीक उम्मेद्वारको चयन गर्न रिपब्लीकन र डेमोक्र्याट पार्टीको आन्तरिक चुनावी प्रक्रिया जारी रहेको भएपनि हालसम्म बलियो रुपमा मैदानमा रहेका हिलरी क्लिन्टन र डोनाल्ड ट्रम्पले प्रतिश्पर्धा गर्नेमा लगभग निधो भएको छ। तर, यसपालीको चुनाबी परिणाम र उम्मेद्वारलाई पनि बिगतका जस्तै आतङ्कवादका विरुद्ध लड्ने शक्तिशाली अभियान नै हो भनेर हेर्दा कुनै गल्ती हुनेछैन।

एकराज पाठक/रासस

 

प्रकाशित: ४ असार २०७३ ०९:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App