coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

मोटरसाइकल आतंक

यातायात व्यवस्था विभागका अधिकारीको हवाला दिँदै 'चक्रपथभित्र मोटरसाइकल(मोसा)मा प्रतिबन्ध लगाउने (सरकारको सोच रहेको)' बेहोराको समाचार गत असार २ गते एउटा दैनिकमा छापिएपछि उत्सुकता, आक्रोश र व्यंग्यका तरंगहरूले सामाजिक सञ्जालदेखि सामाजिक समारोहहरूसम्म तरंगित भइरहेका छन्। यद्यपि सार्वजनिक यातायात प्रणालीलाई प्रतिस्पर्धी, सुविस्तायुक्त र पर्याप्त बनाउन नसकुन्जेल सर्वसाधारणमाझ सर्वाधिक लोकप्रिय र सस्तो निजी सवारी साधन मोसामा प्रतिबन्धै लगाउन त न सम्भव छ न मनासिव नै। तर सार्वजनिक यातायात प्रणालीको स्तरीयता र पर्याप्ततामा वृद्धि पनि गर्दै लाने र साथसाथै सबै प्रकारका निजी सवारी साधन, त्यसमा पनि दुईपांग्रेेमा नियन्त्रण गर्दै जाने गर्नचाहिँ अत्यावश्यक भइसकेको छ खासगरी काठमाडौं उपत्यकाको सहरी क्षेत्रमा। कारण धेरै छन्, पहिलो त, सडकको क्षमतादेखि ट्राफिक प्रहरीको 'पुलिसिङ' को क्षमतासम्म केहीले पनि धान्नै नसक्ने भइसकेको छ यहाँ मोसा र त्यसको प्रयोगकर्ताको संख्या जुन निरन्तर बढ्ने क्रममै छ। कतैको पनि ट्राफिक सिग्नलमा केहीबेर रोकिनुपर्दा त्यो असन्तुलन सहजै देख्न सकिन्छ, जहाँ खटिने प्रहरीको संख्या हुन्छ एक दुई जना, मोसा हुन्छन् गन्नै नसकिने– सलहले आकास ढाकेझैं सडक ढाकेका।

सार्वजनिक यातायात प्रणालीलाई प्रतिस्पर्धी, सुविस्तायुक्त र पर्याप्त बनाउन नसकुन्जेल सर्वसाधारणमाझ सर्वाधिक लोकप्रिय र सस्तो निजी सवारी साधन मोसामा प्रतिबन्धै लगाउन त न सम्भव छ न मनासिव नै।

कारण अरु पनि छन्। पारबहनको प्रयोजनका लागिभन्दा पनि कतिपय युवाका लागि सडकमा 'स्टन्ट' र 'एडभेन्चर' गर्ने खेलको साधन बनेको छ मोसा। उनीहरू र उनीहरूका अभिभावकका लागि सामाजिक प्रतिष्ठाको वस्तु बनेको छ यो। बाह्र वा एसएलसी पास भएपछि त मलाई मोसा वा स्कुटर नभई हुँदैन भनेर घुर्क्याउने छोराछोरी र पास भइस् भने किन्दिन्छु भनेर सन्तानलाई पढ्नका लागि मोसाको प्रलोभन दिने बाबुआमा घरघरमा भेटिन्छन् हामीकहाँ, मोसा आवश्यक वा प्राथमिकताको कुरा भए पनि, नभए पनि। त्योबाहेक राष्ट्रको अर्थतन्त्रको दृष्टिकोणबाट पनि यसमा नियन्त्रण गर्नुपर्ने भइसकेको छ। आफूकहाँ उत्पादन नहुने मोसा, त्यसको पार्टपुर्जा र त्यसले दिनका दिन खपत गर्ने पेट्रोलियम पदार्थ सबै आयात गर्नुपर्ने देशले दुर्लभ विदेशी मुद्रा खर्च गरीगरी त्यस्तो आयातलाई अन्धाधुन्ध धानिरहन सक्दैन। तर लोकतन्त्रमा त्यस्तो नियन्त्रण प्रतिबन्ध लगाएर होइन कि निरुत्साह गर्ने आर्थिक उपायहरू प्रयोग गरेर गर्नु उचित हुन्छ। उदाहरणका लागि, चक्रपथभित्र मोसा चलाउन छुट्टै पास चाहिने व्यवस्था गर्ने र त्यस्तो पासको अधिकतम संख्या (कोटा) तोकेर बढाबढ प्रक्रियामा अधिक राजस्व बुझाउनेलाई पास वितरण गर्दै जाने प्रबन्ध गर्न सकिन्छ। ट्राफिक जाम कम गर्न, प्रदूषण नियन्त्रण गर्न र राजस्व बढाउन यस्तो 'अक्सनिङ' को व्यवस्था अन्यत्र मुलुकमा पनि गरिएका हुन्छन्।

मोटरसाइकल कोलाज

संख्याको मात्र कुरा होइन, अति नै जथाभावीपूर्वक चलाउनाले पनि मोसाको संख्या र प्रयोगमा नियन्त्रण अत्यावश्यक भइसकेको छ। आज समस्या यति विराट भइसकेको छ कि नागरिक शिक्षा, चालक शिक्षालगायतका कुनै शिक्षाले पनि त्यसमा सुधार ल्याउन सक्ने स्थिति छैन। जथाभावीका केही झलक तल वर्णन गरिन्छ। हुन त हाम्रा सबै चालक जथाभाबी ओभरटेक गर्ने गर्छन् तर मोसाहरूको जथाभावीको त तुलनै छैन। जताबाट पनि अर्थात दायाँबाट नमिले बायाँबाट ओभरटेक गर्नुलाई नियमविपरित ठान्नै छाडिसकेका छन् उनीहरूले। जुन कुरामा प्रहरीले पनि वास्ता गर्न छाडिसकेको छ। त्यसरी ओभरटेक मात्रै गरिदिए त हुन्थ्यो, ओभरटेक गर्नासाथ ओभरटेक गरेको सवारी साधनको अगिल्तिरबाट स्वाट्ट अर्कोतिर मोडिनु पनि उनीहरूका लागि सामान्य कुरा हुन्। कतिपय मोसा चालकहरू गल्ली वा सानो सडकबाट ब्यस्त मूल सडकमा निस्कँदा दायाँ मोडिनु छ भने एकछिन अडेर, हेरेर, सुरक्षित छ भन्ने एकीन गरेरमात्र मोडिनुपर्नेमा त्यसो गर्दैनन्। अड्नु, कुर्नु साटो परसम्मै रङ साइडमै, धेरै गरे अलिकता छेउछेउ च्यापेर, निर्धक्क मोसा चलाउँछन्। र, जहाँ पुगेपछि नरोकीकन आफ्नो लेनतर्फ मोड्न सकिन्छ त्यहीँ पुगेपछि मात्र मोड्छन्। त्यतिन्जेल रङ साइडमा चलाइरहन्छन्। कसैले केही भन्दैन, कथं विपरित दिशाबाट आउने सवारीको चालकले केही भन्यो भने भर्खर गल्लीबाट निकालेको, उता मोड्न बाँकी नै छ भन्दिन्छन्, सक्किगो।

प्रहरी नहुने ठाममा हेल्मेट फुकालेर कुदाउने र प्रहरी हुने ठाममै पनि हेल्मेटको पट्टी नकसिकन चलाउने मोसा चालक थुप्रै हुन्छन्। हेल्मेट माथि सारेर मोबाइल सेटमा कुरा गर्दै, त्यसको स्त्रि्कनमा हेर्दै औंलाले थिच्दै एक हातले मात्र ह्यान्डिल समाएर निर्धक्क मोसा चलाउने पनि भेटिन्छन्। अरु सवारी साधन पनि यो र यस्ता जथाभावी गर्नेमा कम त छैनन् तर राति चर्को हेडलाइट बालेर विपरित दिशाबाट आंउने सवारी साधनको चालकलाई आँखै नदेख्ने बनाउनेमा पनि मोसा नै धेरै हुन्छन्। लाइसेन्सिङ परीक्षामा उत्तीर्ण हुन नसकेपछि लाइसेन्स नलिई चलाउने वा नक्कली लाइसेन्स लिइ चलाउनेमा पनि मोसा चालक नै अग्रपंक्तिमा पर्छन्। माइतीघरतर्फबाट थापाथली आउँदा ब्यस्त सडकको जाम छल्न पेटीबाटै मोसा कुदाउने चलनै चलाएका थिए मोसावालाले एकताका, जसलाई पछि त्यहाँका महिला ट्राफिक प्रहरीले कडाइका साथ बन्द गराए। तर छोटो अवधिका लागि पार्किङ गर्नुपरे सडकमा नमिले पेटीमै पार्किङ गर्ने, अझ ह्यान्डिल लक गरेर एकातिर हिँडिदिने उनीहरूको चलन कसैले बन्द गराउन सकेको छैन। पार्क गर्दा अर्काको सवारी साधनलाई छेकेर, सडकमा ठाडो तेर्सो ठीक साइड रङ साइड जता जसरी मन लाग्यो त्यसरी पार्क गर्नु मोसाका लागि सामान्य कुरा हुन्।

साइलेन्सर निकालेर सानोतिनो हवाईजहाजको जस्तो आवाज निकाल्दै, अति ब्यस्त सडकमा पनि बुलेटको गतिमा 'जिगज्याग' पारेर अरु सवारी साधनलाई छोला कि जस्तो गरेर तिनका बीचबीचबाट फुत्त फुत्त छिराएर हुइँकिनुलाई कतिपय युवा आफ्नो पौरख ठान्छन्। 'बाइक' को पछाडि सिटमा बसेकी गर्लफ्रेन्डले दुईटा हातले ग्वाम्म च्याप्दै आफ्नो शरीरको तातोले उसको 'पौरख' लाई 'चार्ज' पनि गरिदिएकी छ भने त झन् के चाहियो र? स्थलमार्गमै आकासमा जस्तो उड्न खोज्छन् उनीहरू। यस्तो लाग्छ मानौँ उनीहरूलाई दुर्घटनामा परेर मरिन्छ वा घाइते होइन्छ भन्ने डर वा चिन्ता नै छैन। मोसाहरूले हुइँक्याएको देखेर पैदल यात्रीको त सातै जान्छ भने ठूला बस ट्रक जस्ता सवारी साधनसमेत उनीहरू ठोक्किन आउलान् भनेर डराउँछन् र बरु आफैँं छेउ लाग्छन्। दुर्घटना भएमा त्यसको प्रकृति वा गुण–दोषका आधारमा कारबाही गर्नेभन्दा ठूलो सवारी साधनलाई बढी दोषी ठहर्‍याउने ट्राफिक प्रहरीको प्रवृत्तिले गर्दा पनि अरु सवारीका चालक समेत मोसा चालकदेखि डराउँछन्। नजाने यो कस्तो नियम हो ट्राफिक प्रहरीको यस्तो व्यवहारबाट जथाभावी चलाउने मोसा चालकको मनोबल झनै बढेको छ। वास्तवमा ट्राफिक प्रहरीको संख्यात्मक उपस्थिति र उनीहरूको क्षमता एवं साधनको कमीको हिसाबकिताब गरेेरै जथाभावी मोसा चलाउनेको मनोबल बढेको हो।

सिटमा भरिएको चामल वा सिमेन्टका बोरा, ग्यासका सिलेन्डर, खसी/बोका राखेर वा अझ दायाँबायाँ दुवैतिर दुई फिटसम्म बाहिर निस्कनेगरी धारिलो फलामे डण्डी, काठ, फर्निचर, ऐना, टिभी, वासिङ मेसिन जस्ता सामान राखेर मोसालाई मालगाडी बनाउंँदै चलाएका दृश्य पनि काठमाडांैका सडकमा मनग्ये देख्न पाइन्छन्। पछाडिको सिटमा बस्नेले सकी/नसकी बडो सास्तीपूर्वक ती सामान च्यापेर सन्तुलन मिलाउन खोजेको दृष्यले हेर्नेको मनमा एकैफेर हाँस्य र करुण रस सञ्चार गराउँछ। चेकिङमा बिलबुकको म्याद नवीकरण गर्न ढिलाइ भएको पाइए कारबाहीको रसिद काटिहाल्ने ट्राफिक प्रहरीले यस्तो खतरनाक ढंगबाट चलाइएको मोसाचाहिँ धरमर धरमर गर्दै आफ्नै सामुन्नेबाट गुडेर जाँदा पनि कारबाही गर्नु त परै जाओस्, रोकेर सोधेको, सचेत गराएकोसम्म पनि आजसम्म थाहा छैन। हो, ट्राफिक प्रहरीले घामपानी, जाडोगर्मी, हावाहुरी, धुलोधुँवा सहेर, जनशक्ति र साधनको कमीका बाबजुद दुःखकष्टपूर्वक ड्युटी गरिरहेका हामी सबैले देखेका छौं। त्यस्का लागि उनीहरूलाई धन्यवाद तर यहाँनेर उनीहरूलाई पनि प्रश्न– के आफू र अरुको पनि ज्यान जोखिममा पार्नेगरी यसरी मोसा चलाउने काम ट्राफिक कसुरअन्तर्गत पर्दैन?

मोसा दुर्घटना र काठमाडौं उपत्यका

सहरी क्षेत्रमा हुने सडक दुर्घटनासम्बन्धी तथ्यांक विश्लेषण गर्दा, दुर्घटनामा पर्ने वा दुर्घटना गर्ने सवारी साधनमध्ये दुईपांग्रे नै एक नम्बरमा छ। जसमा यदाकदा अरु सवारी वा पैदलयात्रीको दोष देखिए पनि धेरैजसोमा दोष चालककै देखिन्छ। बारम्बार दुर्घटना गराई सबभन्दा धेरै ज्यानको क्षति गराउने सार्वजनिक यातायातका साधनको दुर्घटना संख्यासमेत आर्थिक वर्ष २०७२–७३ मा २ हजार अर्थात मोसा दुर्घटनाको एक तिहाईभन्दा कम थिए। चारपांग्रे सार्वजनिक यातायातका साधन दुर्घटना हुँदा मृत्यु, अंगभंग हुनेको संख्या धेरै हुने भए पनि दुर्घटना संख्याकै कुरा गर्दा दुईपांग्रे सबैभन्दा माथि देखिन्छन् जसमा धेरैजसो स्वयं चालक र पैदल यात्रीको मृत्यु हुन्छ। प्रहरी प्रधान कार्यालयको आंकडाबमोजिम गत आर्थिक वर्ष २०७२–७३ मा भएका १६ हजार ५ सय सवारी दुर्घटनामध्ये ६ हजार ३ सय ६५ अर्थात झण्डै ४० प्रतिशत त मोसा दुर्घटना नै थिए। कुल सवारी दुर्घटनामध्ये ५ हजार ६ सय अर्थात झण्डै एक तिहाई दुर्घटना उपत्यकामै मात्र भए। उक्त आवको अन्त्यसम्म देशभर दर्ता भएका कुल सवारी साधन संख्या २३ लाख ३९ हजार १ सय चानचुनमध्ये १८ लाख ३५ हजार, अर्थात तीन चौथाई त मोसामात्रै छन्, बाँकी मात्र विभिन्न थरीका चारपांग्रे छन्। करिब यही अनुपात काठमाडांै उपत्यकाको पनि छ। अञ्चलव्यापी दर्ता हुने हँंदा काठमाडांै उपत्यका वा चक्रपथ भित्रमात्रै चल्ने मोसाको संख्या भने छुट्याउन सकिंँदैन।

आव २०७२–७३ को उपरोक्त आंकडाबमोजिमकै प्रवृत्ति (ट्रेन्ड) धेरै वर्षदेखि कायम छ। जसबाट के स्पष्ट हुन्छ भने सुरक्षाका दृष्टिले त काठमाडौंमा मोसाको संख्यामा नियन्त्रण अत्यावश्यक भइसकेकै छ। निरन्तर बढ्दो आयात भुक्तानी न्यूनीकरण गर्न, वातावरणको बढ्दो प्रदूषणमा कमी ल्याउन र सहरको सुन्दरताको रक्षा गर्न पनि मोसाको आयात र प्रयोगमा न्यूनीकरण गर्न ढिला भइसकेको छ। तर त्यस्तो कटौती गर्नुपूर्व वा त्यसको साथसाथमा त्यसको विकल्प पनि तयार गर्दै जानुपर्छ। र, त्यो विकल्प भनेको राम्रो र सर्वसुलभ सार्वजनिक यातायात नै हो, अहिलेको जस्तो जनतामारा, उपभोक्तामारा सिन्डिकेटले चलाउने सार्वजनिक यातायात प्रणाली होइन। प्रतिस्पर्धायुक्त, स्तरीय र पर्याप्त सार्वजनिक यातायात सुविधा नभएकैले पनि मोसालगायतका सबै चारपांग्रे निजी सवारी साधन यो बिघ्न बढेका हुन्। त्यस्तो सुविधा उपलब्ध हुनासाथ निजी सवारी साधनको प्रयोग स्वतः कम हुंँदै जानेछन्। किनकि विकल्प उपलब्ध भएपछि बजारको नियमले काम गर्छ र बढी मूल्य तिरीतिरी वा जोखिम मोलीमोली मान्छेले निजी सवारी साधन किन्दैन, प्रयोग गर्दैन।

प्रकाशित: १२ असार २०७४ ०३:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App