coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेस-एमालेलाई आफ्नैको त्रास

झापा- जिल्लाका १५ मध्ये कम्तीमा १० वटा स्थानीय तह आफूले जित्ने दाबी गरिरहेका कांग्रेस र एमालेलाई झापामा यसपटक विपक्षीभन्दा पनि पार्टीभित्रकै असन्तुष्टहरूसँग  सतर्क रहनुपर्ने भएको । गुटगत प्रतिस्पर्धाले आक्रान्त दुवै दलमा व्यक्तिगत टकरावले समस्या ल्याएको छ।

जसका कारण दुवै दलभित्र वडा तहबाटै उम्मेदवारको नाम सिफारिस गर्दादेखि सुरु भएको असन्तोषको स्वर मनोनयन मिति नजिकिँदा पनि  साम्य हुन सकेको छैन।

दोस्रो संविधानसभाको चुनावी नतिजा अनुसार पहिलो स्थानमा रहेको एमाले र दोस्रो स्थानमा रहेको कांग्रेस दुवैमा देखिएको समस्याले चुनावी नतिजामा असर पर्ने आंकलन पार्टीभित्रै शुरु भएको छ।

नेताहरूले यस्तो विवादलाई 'पार्टीभित्रको स्वाभाविक समस्या' भन्दै टार्ने प्रयास गरे पनि असन्तुष्टि कार्यकर्ता भने आफूले भने अनुसार नभए विद्रोह गर्ने सोचमा पुगिसकेका छन्।

पार्टीभित्र नेताका निकटले बढी अवसर पाएको, गुटगत रूपमा टिकट वितरण भएको तथा तल्लो तहको सिफारिसभन्दा नेताका इच्छा उम्मेदवार चयनमा हाबी भएको गुनासो कांग्रेस र एमालेभित्र बढी छ। दोस्रो संविधानसभा चुनावमा तत्कालीन राप्रपा नेपालभन्दा पनि पछि परेको माओवादी भित्र भने समस्या देखापरेको छैन। 'यसपटक विपक्षीभन्दा पनि आफ्नै साथीबाट बढी सजग रहनुपर्ने खतरा आयो', एमालेबाट नगर प्रमुखको उम्मेदवार बनेका एक नेताले भने, 'यसपटक ठूलो खतरा यही छ।'

सिटौलाको नगरमा समस्या

कांग्रेसको सबैभन्दा ठूलो समस्या जिल्लाकै पुरानो नगर भद्रपुरमा देखापरेको छ। पार्टीका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाको गृहनगर भद्रपुरमा अहिले उनकै दल भने दुई ध्रुवमा उभिएको छ। चुनावका लागि टिकट पाएको समूह चुनावी अभियानमा छ भने अर्को समूह उम्मेदवार नै फेर्ने अभियानमा छ। नगर प्रमुख पदका उम्मेद्वार गणेश पोखरेल र उपप्रमुखकी उम्मेद्वार तारादेवी भुर्तेल यतिबेला मतदाताको घरदैलोमा मत माग्दै हिँडिरहेका छन्। तर, नगरभित्रैको अर्को कांग्रेस टोली चाहिँ उम्मेद्वार चयन प्रक्रिया नै गलत भएकाले सच्याउनुपर्ने मागसहित हस्ताक्षर संकलन अभियानमा छ।

'हामीलाई उम्मेदवार चयनमा आपत्ति छ। त्यसैले हस्ताक्षर संकलन अभियान चलाएका हौं', भद्रपुर कांग्रेसका प्रभावशाली नेता राजेन्द्र घिमिरेले भने 'दुई सयभन्दा धेरै क्रियाशील कार्यकर्ताको हस्ताक्षरसहित पार्टीलाई निर्णय पुर्नविचार गर्न भनेका छौं। हाम्रो माग सुनिन्छ भन्ने आशा छ।'

असन्तुष्ट समूहमा घिमिरेबाहेक पूर्व सांसद जीतबहादुर पुरी, सुशील धमला, गोमा भट्टराई लगायतका नेता छन्।

'उम्मेद्वार चयन प्रक्रियागत रूपमा वडा, नगर, क्षेत्र हुँदै जानुपर्थ्यो,' असन्तुष्ट समूहकै एक नेताले भने 'तर सोझै सिटौलाले उम्मेदवार छान्ने काम गरे। तल्लो निकायलाई केही थाहै नदिई काम भएको छ। यो त दादागिरी हो। यसरी पार्टी चल्दैन।'

यसबाहेक कांग्रेसको समस्या दमकमा पनि छ। झण्डै दुई महिना अघिदेखि नै आफूलाई मेयरको उम्मेदवार भनेर प्रचार गरिरहेका थिए, घनेन्द्र सुब्बाले। तर, पार्टीले ढुण्डीराज भण्डारीलाई उम्मेदवार बनायो। दोस्रो संविधानसभा चुनावपछि राप्रपा त्यागेर कांग्रेसमा प्रवेश गरेका सुब्बालाई 'नवप्रवेशी' भन्दै टिकट नदिइएको र त्यसले आन्तरिक विवाद जारी राखेको दमक कांग्रेसका एक नेताले बताए।

'घनेन्द्रजीलाई पहिल्यै अघि बढ्नु भनिएको थियो, उहाँ राम्रो जनाधार भएको नेता हो', ती नेताले भने 'तर, एक्कासी राप्रपाबाट आएको निहुँमा उहाँलाई ब्याक गरिएको छ। यसले निम्त्याएको समस्या समाधान नगरे समस्या बढेर जाने निश्चित छ।'

प्रमुख र उपप्रमुख पदमा विवादरहित रूपमा उम्मेदवार तय भएको मेचीनगर कांग्रेसमा वडा तहका उम्मेदवारहरूको हकमा विवाद चुलिएको छ। मेचीनगरमा वडाध्यक्षको उम्मेदवारी घोषणा भइसकेर फेरि फिर्ता भएको छ। यसले टिकट खोसिएकालाई आक्रोशित बनाएको छ। मेचीनगर केन्द्रिय समितिका नेताद्वय विश्वप्रकाश शर्मा र नरेन्द्रविक्रम नेम्वाङको गृहनगर हो।

ओलीकै जिल्लामा कलह

अन्यत्र सबैतिर सहजै उम्मेदवार चयन हुँदै गर्दा यसपटक एमालेको सबैभन्दा ठूलो समस्या पार्टी अध्यक्ष केपी शर्मा ओलीकै जिल्लामा देखिएको छ। ओलीको एकछत्र प्रभाव रहेको दमकदेखि उनको गुटको प्रभाव कमजोर रहेको मेचीनगरसम्मै विवादले पार्टी पंक्ति विभक्त छ। ओलीकै गृहनगर दमकमा रोमनाथ ओलीलाई मेयरको उम्मेदवार बनाउने निर्णयविरुद्ध नेता अम्बिका खनाल समूह टिम खुलेरै उभियो। केही दिनअघि ओलीकै पहलमा विवाद मिलाइएको बताइए पनि समस्या यथावत रहेको स्रोतको भनाई छ। 'तर, अब छिट्टै उहाँ आफैं आएर विवाद मिलाउने कुरा छ', दमक एमालेका एक नेताले भने, 'त्यसैले अब समस्या नहोला।' उनले यसो भने पनि कार्यकर्ता पंक्तिमा भने तीव्र असन्तोष छ। २०५४ कै चुनावमा मेयरमा निर्वाचत रोमनाथ ओलीलाई अघि सार्दा पार्टीभित्र अरू कार्यकर्ता नभए जत्तिकै सन्देश गएको र युवाको बाटो छेक्न खोजिएको आरोप असन्तुष्ट समूहको छ।

केन्द्रिय सदस्य तथा सांसद् रबिन कोइराला संस्थापक मेयर रहेको मेचीनगरमा पनि एमालले बल्ल उम्मेदवार चयन गरेको छ। तर, त्यसको पृष्ठभूमि भने तिक्ततापूर्ण रह्यो। वडा तहसम्मै कार्यकर्ता पंक्ति दुई ध्रुवमा उभिने गरी चर्केको विवादले नगरमा समस्या बढाएको हो। माधव नेपाल समूहका प्रभावशाली नेता कोइरालाको आधार क्षेत्र मेचीनगरमा ओली समूह कमजोर छ। तर, मेयर र उपमेयर दुवै पदमा ओली आफंैले विष्णु प्रसार्इं र मिना उप्रेतीको नाम सिफारिस गरेर पठाएपछि आन्तरिक विवाद जारी छ। अझ उपमेयर पदमा शारदा शर्मा र उप्रेतीको नाम निर्णय गर्दै सच्याउँदै गर्दा समस्या बढेको हो।

मेयरको उम्मेद्वार विवादरहित रूपमा टुंगिएको अर्जुनधारामा उपमेयर पदमा भने एमालेले दुई जनालाई उम्मेद्वार बन्ने पत्र दिएको छ। अहिलेसम्म कमला आचार्यको नाम उम्मेदवारको रूपमा चर्चामा रहे पनि देवीमाया भट्टराई पनि उम्मेदवार बन्ने पार्टीको पत्र छ। पार्टीका नेताहरू भने यसलाई नकार्छन्। अध्यक्ष ओलीकै इच्छामा विर्तामोडमा ध्रुव शिवाकोटी मेयरको उम्मेद्वार बनेको बुझाई कार्यकर्ता तहमा छ। नगर तहबाट नाम सिफारिस हुँदा एकराज कार्की, लोकबन्धु कन्दङ्वा, हरिचरण शिवाकोटी र ध्रुव शिवाकोटीको नाम गएको थियो। तर, यी नाममा प्रदेश कमिटीमा निर्णय हुन नसकेपछि ओली आफैंले अन्तिममा ध्रुवको नाममा लालमोहर लगाएका थिए। यसले एमालेभित्र आन्तरिक असन्तोष बढाएको कार्यकर्ताहरू बताउँछन्। यद्यपि अनुशासनको कारवाही हुने त्रासले कोही पनि मुखर हुन भने सकेका छैनन्।

प्रकाशित: २८ जेष्ठ २०७४ ०२:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App