coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्वार्ता

‘तत्काल जनप्रतिनिधिको अनुभूति दिलाउँछौं’

मुलुककै ठूलो पोखरा–लेखनाथ महानगरपालिकाको मेयरमा एमालेका उम्मेदवार मानबहादुर जिसी निर्वाचित भएका छन् । २०३७ सालदेखि राजनीतिमा लागेका जिसीले २०४१ मा नेकपा मालेको सदस्यता लिएका थिए । २०५८ देखि २०६० सम्म एमाले जिल्ला कमिटी कास्कीको सचिव रहेका उनी पार्टीको आठौं जिल्ला अधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए । उनले २०६६ देखि २०७० सम्म अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । अहिले उनी कास्कीका जिल्ला इन्चार्ज हुन् । पोखरा लेखनाथ मेयर उम्मेदवारमा आकांक्षी धेरै भएपछि छनोटका लागि एमालेले आन्तरिक निर्वाचन गरेको थियो । आन्तरिक निर्वाचनमा सात आंकाक्षीलाई पछाडि पार्दै पार्टीबाट मेयरको उम्मेदवार भएका जिसी जनताबाट पनि अनुमोदित भए । मेयरमा निर्वाचित  जिसीसँग नागरिक दैनिकका पोखरा संवाददाता सन्तोष पोखरेलले गरेको कुराकानीको सार : 

स्थानीय तह निर्वाचनबाट मुलुककै ठूलो महानगरपालिकाको मेयरमा निर्वाचित हुँदा कस्तो अनुभव भएको छ ?
दुई दशकको प्रतीक्षापछि स्थानीय तहमा बल्ल जनप्रतिनिधि आएका छन् । त्यसमा निकै खुसी लागेको छ । स्थानीय तहमा जनप्रनितिधि हुँदाको प्रत्यक्ष अनुभव अब जनताले केही दिनमै गर्न पाउनेछन् । हाम्रोभन्दा पनि राम्रो उम्मेदवार भन्ने मतदातामा थियो होला । हुन त अरु पनि राजनीतिक दलका उम्मेदवार थिए । ती सबैजना उम्मेदवार सक्षम र राम्रा नै थिए । तर, मतदाताले हामीलाई पत्याएका हुन्। 

अब जनताले आफ्ना प्रतिनिधिबाट के पाउँछन् ? 
हामीलाई १८ सय २५ दिन काम गर्ने समय दिइएको छ । अब जनताले केही दिनकै अन्तरमा जनप्रतिनिधि हुँदा र नहुँदाको फरक प्रत्यक्ष रुपमा  कामबाट अनुभव गर्न पाउने छन् । मेरो पहिलो दायित्व, सेवाग्राहीले स्थानीय तहमा जुन झन्झट र अवरोधका साथ काम गर्नुपरेको छ । त्यो अब तत्काल हट्नेछ । पदभारको भोलिपल्टै जनताले सेवामा केही फरक अनुभूति गर्न पाउनेछन् । झन्झटमुक्त भएर नागरिकले स्थानीय तहबाट सेवा पाउनेछन् । हामीले राम्रो सेवा दिलाउन सकेनौं भने हामीप्रति जनताको विश्वास घट्नेछ । 

पोखरा–लेखनाथ महानगरका समस्या के–के देख्नुभएको छ ?
पोखरामा धेरै समस्या छन् । यहाँको पार्किङ व्यवस्था अस्तव्यस्त छ । फोहोर  व्यवस्थापन हुन सकेको छैन । सडकको पानी नालामा नअटेर सडकबाटै बग्छ । वर्षाको भेलले हैरान पारेको छ । बाटोेमा खाल्डाखुल्डी छन् । लामो समय ती खाडल नपुर्दा जनतालाई झनै सास्ती भएको छ । महानगरको मान्यताअनुसार सुविधा यहाँ छैनन् । अब ती समस्या समाधान गर्नुपर्ने जरुरी छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, व्यवस्थित र सुविधासम्पन्न बसपार्क, ताल संरक्षण, सुकुम्बासी समस्या समाधान गर्न हामीले योजना बनाएका छौं । ती पनि पोखराको विकासका लागि नभई नहुने पूर्वाधार हुन् ।

तत्कालको तत्कालै यी समस्या समाधान गर्न सहज छ त ?
हामीले तत्कालीन र दीर्घकालीन रुपमा समाधान गर्न सक्ने समस्या पहिचान गर्नेछौं । तत्काल गर्न सक्ने समस्याको समाधान तत्कालै हुनेछ । जस्तै पोखराको कुनै पनि सडक भत्केको २४ घण्टाभित्र मर्मत हुनेछ । हामीले सूचना पाएको २४ घण्टामै यो समस्या समाधान हुनेछ । त्यसबाहेक निर्वाचनका बेला बनाएको घोषणापत्र अनुसार हामीले योजनाबद्ध तरिकाले जनताको अपेक्षा पूरा गर्नेछौं । तत्काल समाधान गर्न नसकिने समस्यमा लागि दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्छ ।

पोखरा लेखनाथ नगरपालिका समेटिएका कतिपय गाउँ निकै विकट छन् । त्यहाँका समस्या कसरी समाधान गर्ने ?
पोखरा महानगरपालिका बनेपछि यसमा समेटिएका कतिपय गाउँमा विकासका पूर्वाधार छैनन् । विकासका पूर्वाधार नहुँदानहुँदै पनि त्यहाँका बासिन्दा महानगरवासी भएका छन् । विकट र दुर्गम गाउँको विकासका लागि महाननगर अब हिच्किचाउने छैन । ठाउँ अनुसार महत्त्व बुझेर ती गाउँका बासिन्दालाई महानगरको अनुभूति दिलाउने हाम्रो जिम्मा हुनेछ । अप्ठेरो गाउँका बासिन्दालाई आवश्यक सेवा सुविधा दिलाएर महानगरवासीको अनुभूति दिलाउन पहल गर्नेछौं । हिउँद–बर्खा नभनी गाउँको विकासमा एकजुट हुनेछौं । 

पोखराका विकासमा तपाईंका प्राथमिकता के–के हुन् ?
हामीले निर्वाचनअघि भनेझैं पोखरामा प्रविधिमैत्री तरिकाले सेवा दिनेछौं । स्वस्थ र स्वच्छ समाज निर्माण, सफा पिउने पानीको व्यवस्था, युवा उद्यमीको सहर, दिगो विकास हाम्रा मूल योजना छन् । जनतालाई अहिले सुशासन चाहिएको हो । त्यसबाहेक सडक, बढ्दो ट्राफिक समस्या समाधान, पार्किङ व्यवस्थापन पनि हाम्रा समस्या हुन् । ती सबैलाई पालैपालो समाधान गर्दै जाने हो । स्मार्ट सिटी बनाउने भनेर मात्र हुँदैन । त्यसका लागि पूर्वाधार आवश्यक पर्छ । हामीले स्मार्ट सिटीका लागि पूर्वाधार बनाउँदै जानेछौं । स्मार्ट सिटीलाई पुष्टि गर्ने खालका पूर्वाधार बनाउन सक्यौं भने जनताले बल्ल फरक अनुभव गर्नेछन् । 

पोखरेली मतदातासँग तपाईका प्रतिबद्धता कसरी पूरा गर्नुहुन्छ ?
सिंहदरबारमा भएको अधिकारलाई प्रत्येक नागरिकको घरघरमा पुर्याउने प्रतिबद्धता थियो । अब निर्वाचित भइसकेका छौं । जनतासँग जुनजुन प्रतिबद्धता गरेका छौं त्यसैमा अडेर काम गर्नेछौं । प्रतिबद्धताअनुसार प्रविधिमैत्री सेवा, युवा उद्यमीको सहर लगायतलाई गुरुयोजना अनुसार विकास गर्दै लैजानेछौं । तत्काल गर्नुपर्ने र लामो समय लगाएर गर्नुपर्ने कामलाई छुट्याएर अघि बढ्छौं । त्यसका लागि विज्ञसँग सुझाव लिने हो । विज्ञको सुझावबिना अघि बढ्दा सफल हुन सकिन्न । विज्ञले दिएको सुझाव र प्रतिक्रियाको आधारमा हामीले काममा गति दिने हो । 

लामो समयदेखि अड्किएका विकास योजनालाई कसरी सम्बोधन गर्नुहुन्छ ?
पोखरामा लामो समयदेखि धेरै विकासका काम अड्किएका छन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, बसपार्क यहाँका पुराना र लामो समयदेखिका योजना हुन् । विमानस्थल बनाउन जग्गा छ, पैसा पनि छ । तर, अहिले काम अड्किएको छ । हामीले त्यसको हलो फुकाउने हो । काम किन अड्कियो भनेर जनतालाई सुसूचित पनि गर्ने हो । त्यसबाहेक बसपार्क पनि नारा मात्र बनेको छ । नगरभित्र व्यवस्थित बसपार्क बनाउन सुकुमबासी समस्या समाधान गर्नुपर्छ । हामीले पाँच वर्षभित्र पोखराको पूरै सुकुमबासी समस्या समाधान गर्ने वाचा गरेका छौं । एउटा झुप्रो नभएको व्यक्ति महानगरमा छैनन् भन्ने बनाउने अठोट छ । सुकुमबासी समस्या समाधान ग¥यौं भने बसपार्क बनाउन बाटो खुल्छ ।

जनताले जनप्रतिनिधिबाट कसरी सुखद अनुभूति गर्न पाउँछन् ?
अब स्थानीय सरकार बनेको छ । हिजोसम्म अधिकार सबै सिंहदरबारमा थियो । अब सिहंदरबारका अधिकार गाउँ–गाउँमा पु¥याउनेछौं । घरगाउँमा अधिकार पुर्याउन सकियो भने बल्ल सफल भएको भन्न मिल्छ । जनताले अनुभूति हुनेगरी काम हुन्छ । केही दिनमै राहत मिलेको अनुभूति हामीले जनतालाई गराउँछौं । २० वर्षसम्म स्थानीय निर्वाचन नहुँदाको अभाव सबै कुराको अभाव भयो । स्थानीय तह खाली हुन नहुने रहेछ भन्ने पार्नेछौं ।

लामो समयसम्म केन्द्रिकृत रहेको शासन प्रणाली अब सहजै गाउँसम्म पुग्ला त ?
हिजोसम्म केन्द्रिकृत शासन प्रणाली थियो । अब स्थानीय सरकार बनेको छ । हामीले अब घोषणापत्रमा भनेका कुरालाई व्यवहारमा लागू गर्नेछौं । इच्छाशक्ति हुने हो भने केन्द्रिकृत शासन सहजै गाउँसम्म पु¥याउन सकिन्छ । रुपान्तरण गर्न चाहना हुनुपर्छ । कसैले पनि चाहना राख्छ भने काम पूरा गर्न नसकिने कुरै आउँदैन । त्यसैले हामीले भनिरहेका छौं कि अब जनताले तत्कालै महानगरको अनुभूति गर्न पाउनेछन् । १५–२० दिनमै परिणाम देखिन थाल्नेछ । हिजो ऐन–कानुनले काम गर्न दिएन भन्ने थियो । अब त्यो हुने छैन । अब हिजो कानुनले काम गर्न दिएन भन्ने गुनासो न्यूनीकरण गर्दै लैजानुपर्छ । अहिलेसम्मको अवस्थामा सिंहदरबारमा पस्नै गाह्रो, सिंहदरबार टाढा भयो, काम गर्न झनै गाह्रो थियो । अब सिंहदरबार गाउँमा आएको छ । सिंहदरबारको अधिकार गाउँगाउँ पु¥याउने हो । सिंहदरबारका अधिकार गाउँगाउँमा पु¥याउने भनेर निर्वाचनका बेला मतदातासँग गरिएका प्रतिबद्धता अब पूरा हुनेछन् । 

महानगरभित्रका बेथितिलाई कसरी लिनुभएको छ ?
अब महानगरको मर्म अनुसार चल्ने हो । महानगरको मापदण्ड मिच्नु भनेको बेथितिको पराकाष्ठा हो । यो पराकाष्ठा रोकन सकेनौं भने पुर्खाले सराप्नेछन् । मापदण्ड मिच्नबाट रोक्न अब हामी अग्रसर हुनेछांै । अब हामीले १५–२० दिनमा फेरिने मापदण्ड बनाउने होइन । कम्तीमा ५० वर्ष र बढीमा १ सय वर्ष थेग्नेगरी मापदण्ड बनाउनुपर्छ । छोटो अवधिको मापदण्डले काम गर्न बाधा आइपर्छ ।

पोखरामा मापदण्डविपरीत अग्ला भवन बनेकोमा सर्वत्र आलोचना छ । त्यसलाई कसरी रोक्नुहुन्छ ?
पोखराको भूवनोट हेरेर अग्ला भवनको मापदण्ड तोक्ने हो । प्राकृतिक रुपमा जोखिममा पारेर कोही पनि सेवक बन्न पाउँदैन । त्यसका लागि हामीले विज्ञसँग सुझाव लिन्छौं । भवनको उचाइ मापदण्ड कति ठीक छ भनेर भौगोलिक बनावट अनुसार विज्ञसँग राय सुझाव लिनेछौं । हामी जनप्रतिनिधि भएको हिसाबले अहिलेसम्म बनिसकेका संरचनाले गर्दा क्षति हुनसक्ने सम्भावना के छ त्यो पनि हेर्नेछौं । कुनै संरचना मापदण्डभन्दा बढी अग्ला छन् र हामी जनप्रतिनिधिले ती पूर्वाधारबारे प्रश्न उठाउँदा तितो लाग्न सक्छ । तर, त्यसमा सरोकार राख्नैपर्छ । 

महानगरको आयस्रोत कसरी जुटाउनुुहुन्छ ?
महानगरका बासिन्दासँग कुन रुपमा कर लिने भन्ने निर्धारण हुन्छ । दायरा अनुसार कर लिने हो । समय अनुकूल सेवाग्राहीलाई सेवा सुविधा दिएर कर लिन सकिन्छ । त्यसले महानगरको आयस्रोतमा थप योगदान दिन सक्छ । 

अरु राजनीतिक दलसँग सहकार्य कसरी हुनसक्छ ?
राजनीति भनेको प्रक्रिया हो । पोखरा बनाउन राजनीति होइन, सबै मिल्नुपर्छ । निर्वाचन हुनुपथ्र्याे, भयो । हारजित स्वाभाविक प्रक्रिया हो । महानगर निर्माणमा सबै राजनीतिक दल, संघसंस्थाको महत्त्वपूर्ण भूमिका रहन्छ । हामी सबैको साथ लिएर अघि बढ्ने हो । पोखरा समृद्ध बनाउन कसैसँग टाढा हुन जरुरी छैन । पोखरा बनाउन सहमतीय हात जोडेर अघि बढ्ने हो । 

प्रकाशित: १३ जेष्ठ २०७४ ०२:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App