७ वैशाख २०८१ शुक्रबार
प्रविधि

रारामा पुग्यो टेलिकमकाे थ्रिजी सेवा

काठमाडौं– नेपाल टेलिकमले पर्यटकीय क्षेत्र रारा तालमा तेस्रो पुस्ताको मोबाइल इन्टरनेट सेवा (थ्रिजी) सुरु गरेको छ । हरेक पर्यटकीय क्षेत्रमा इन्टरनेटको पहुँच पुर्याउने नीतिअनुसार मुगुको रारा तालमा थ्रिजी सेवा पुर्याएको टेलिकमले जनाएको छ ।

‘हरेक पर्यटकीय क्षेत्रमा इन्टरनेटको पहुँच पु¥याउने नीतिअनुसार रारामा थ्रिजी सेवा सुरु गरेका छौं,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले भनिन्, ‘वैशाखको पहिलो साताबाट मुलुककै प्रमुख पर्यटकीय स्थल मुगु जिल्लाको रारा ताल क्षेत्रमा थ्रिजी सेवा सञ्चालनमा ल्याएका छौं ।’

उक्त थ्रिजी सेवा रारा ताल आसपासका साथै रारा (ताल्चा) विमानस्थल क्षेत्रमा पनि चल्ने टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमले काठमाडौं उपत्यका र पोखरामा फोजरी सेवा सञ्चालन गरिसक्दा ग्रामीण भेगमा भने थ्रिजी सेवा विस्तार गरिरहेको छ । रारामा पुगेको थ्रिजी सेवाबाट उक्त क्षेत्रमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सूचना तथा सञ्चारको पहुँचमा सहजता हुने जनाइएको छ ।

त्यसैगरी, टेलिकमले कम्पनीको अप्टिकल फाइबर सञ्जालमा कुल ६६ जिल्ला आवद्ध भएको जनाएको छ । कम्पनीको अन्डरग्राउन्ड अप्टिकल केबुल, एडिएसएस फाइबर र नेपाल विद्युत् प्राधिकरणबाट भाडामा लिई सञ्चालनमा रहेको अप्टिकल ग्राउन्ड वायर समेत गरी हाल कम्पनीको अप्टिकल फाइवर सञ्जालमा ५५ जिल्ला समेटिएकोमा सो सञ्जाल थप विस्तारका लागि पहाडी जिल्लाका एक्सचेन्ज, बिटिएस, रिपिटरहरुलाई समेत समेट्ने गरी कम्पनीद्वारा नयाँ एडिएसएल फाइबर आयोजनाको कार्य अघि बढाइएको छ । यस आयोेजनाको उद्देश्य कुल एक हजार किमीको मार्गमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने रहेको छ । यो नेटवर्कले देशका विभिन्न दुर्गम तथा विकट स्थानमा समेत भ्वाइस, डाटा तथा भिडियो सेवा प्रदान गर्न सकिने गरी सूचना मार्गको विस्तार हुनेछ । यो नेटवर्कले भोजपुर, संखुवासभा, खोटाङ, रामेछाप, दोलखा, मुस्ताङ, दैलेख, डडेल्धुरा, डोटी, बैतडी, अछाम र अन्य स्थानलाई कम्पनीको विद्यमान अप्टिकल फाइबर केबल संरचनामा आवद्ध गर्ने छ । उक्त आयोजना सम्पन्न भएपछि कम्पनीको अप्टिकल फाइबर सञ्जालमा कुल ६६ जिल्ला आबद्ध राजभण्डारीले बताइन् ।

यसैगरी, फरक–फरक सिस्टमबाट बिलिङ तथा ग्राहक सेवा हँुदै आएका कम्पनीका विभिन्न सेवालाई एउटै सिस्टमभित्र ल्याउने परियोजना अन्तर्गत वैशाख १० गतेदेखि एफटिटिएच र एडिएसएल सेवाको बिलिङ कन्भर्जेन्ट रियल टाइम बिलिङ सिस्टमबाट गर्न थालिएको छ । यसअघि नै सिडिएमए, जिएसएम र वाइम्याक्स सेवालाई कन्भर्जेन्ट बिलिङ सिस्टममा लगिसकिएको थियो भने सबएसटिएनलाई सिआरबिटी सिस्टममा माइग्रेसन गर्नका लागि आवश्यक तयारी भइरहेको टेलिकमले जनाएको छ । केही वर्षअघिदेखि टेलिकमले सबै सेवाका लागि एउटै कन्भर्जेन्ट बिलिङ तथा कस्टमर केयर सिस्टम जडान गरिरहेकोमा अब एउटै काउन्टरबाट एउटै सिस्टम प्रयोग गरी सिडिएमए, जिएसएम, वाइम्याक्स, एफटिटिएच र एडिएसएल सेवाको नयाँ लाइन जडान, महसुल संकलन लगायत ग्राहक सेवाका कार्यहरु गर्न सकिनेछ । यसले कार्यालयको कार्य सम्पादनमा छिटोछरितोपना आउनुका साथै ग्राहक सेवासमेत सहज हुने विश्वास टेलिकमले लिएको छ ।
 

प्रकाशित: १३ वैशाख २०७४ ०६:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App