८ वैशाख २०८१ शनिबार
प्रविधि

मोबाइल कभर क्रेज : नयाँ पुस्ताको भावना अभिव्यक्ति

स्मार्ट फोन हातमा हुनु मात्र ठूलो कुरा भएन, त्यो कति स्टाइलिस छ, त्यसले पनि महत्व राख्न थालेको छ। सेल फोनलाई स्टाइलिस बनाउने विभिन्न एसेसरिज हुन सक्छन्। हिजोआज स्टाइलका लागि मोबाइल कभर र केसको प्रयोगमा मानिस सचेत हुन थालेका छन्।

पत्रकार लीला श्रेष्ठले सामसुङ जे सेभेन किनेको एक वर्ष पनि भएको छैन। अहिलेसम्म उनले सातवटा कभर फेरिसकिन्।

'पहिले तीज आउँदा तीजको गीत रिङटोन राख्थे, अहिले साउनमा हरियो रङका कभर हालेर तीन आउन लागेको संकेत दिन्छन्।'

'छिटो–छिटो नयाँ मोबाइल किन्ने कुरा आउँदैन। बरु नयाँ कभर फेरेपछि नयाँ फोन किनेजस्तै फिल हुन्छ,' श्रेष्ठ भन्छिन्, 'बजारमा नयाँ मोडलको स्मार्ट फोन आएको थाहा हुन्न। नयाँ कभरका लागि भने बजार चहार्ने गरेकी छु।' उनी मोबाइलमा विभिन्न आर्टफुल ब्याक कभर किन्छिन्।

कभरले सेलफोनको सुरक्षासँगै सौन्दर्य पनि थप्छ। तथापि उनी यसको प्रयोग स्टाइलका लागि बढी गर्छिन्। उनी भन्छिन्, 'मोबाइलमा राम्रो कभर हाल्नु मानिसले अनुहारमा शृंगार गर्नुजस्तै हो।' त्यसैले उनी बजारमा आएका विभिन्न डिजाइका कभर रोजेर प्रयोग गर्छिन्।

कभर सामान्यतः फोनको सुरक्षाका लागि हो। ताम्राकार कम्प्लेक्समा रहेको सेलफोन रेस्क्यु सेन्टरका सञ्चालक राज भण्डारी काठमाडौंको धुलोबाट मोबाइललाई बचाउन एक मात्र उपाय कभर भएको बताउँछन्।

मोबाइलको स्त्रि्कन स्क्र्याच हुनबाट बचाउन फ्िलप कभर प्रयोग गर्न सकिन्छ। यद्यपि हिजोआज स्त्रि्कन सुरक्षाका लागि टेम्पर्ड ग्लास स्त्रि्कन प्रोटेक्टर राख्ने प्रचलन भएकाले ब्याक कभर बढी प्रयोग गरिन्छ।

उनको पसलबाट धेरैजसो आइफोन र सामसुङका कभर बिक्री हुने गरेको छ।

बजारमा विभिन्न डिजाइनका फोन कभर पाइन्छन्। बनावटका आधारमा ब्याक कभर, फ्िलप कभर, बम्पर केस बजारमा पाइन्छन्। तिनमा पनि फेब्रिक, लेदर, प्लास्टिक, मेटल, सिलिकनजस्ता मटेरियल प्रयोग गरिएका कभर पाइन्छन्। एक सय रुपैयाँदेखि हजारौं मूल्य पर्ने कभर छान्ने अप्सन पनि छ।

रुचि र भावना अभिव्यक्ति

भक्तपुर, सुडालका दीपेश खड्का पेसाले कम्युटर इन्जिनियर हुन्। पेसा नै इन्फर्मेसन टेक्नोलजीसम्बन्धी भएकाले दुई–तीनवटा स्मार्ट फोन उनको साथमा हुन्छ। साथै उनी कभरप्रेमी पनि हुन्। उनले आइफोन सेभेन एसका लागि विदेशबाट मगाएर कभर प्रयोग गरेका छन्। दीपेशजस्ता ग्याजेट फ्रिक युवा सामान्यतः ब्रान्ड कन्सस हुन्छन्। यसकारण उनीहरू फोन कभर पनि ब्रान्डेड नै प्रयोग गर्न रुचाउँछन्।

हिजोआज मानिसहरू फोन कभरबाट आफ्नो भावना पनि अभिव्यक्त गरिरहेको दीपेश बताउँछन्, जुन पहिलेपहिले मोबाइलको रिङटोनबाट अभिव्यक्त गर्थे। उनी  भन्छन्, 'पोस्टरिङटोन समयको ट्रेन्ड भनेकै फोन कभर हो। प्रायः मान्छेका फोन साइलेन्ट मोडमा हुन्छन्। तैपनि मानिसको विचारको अभिव्यक्ति फोन कभरबाट थाहा पाउन सकिन्छ।'

एक जमाना थियो, मानिसहरू मन पर्ने गीत, संगीत रिङ टोनमा राख्थे, त्यहीबाट उनीहरूको अभिरुचि र व्यक्तित्व अनुमान गर्न केही हदसम्म सकिन्थ्यो पनि। मन पर्ने गायक र चलचित्रका गीतलाई रिङटोन राखेर त्यसप्रति समर्थन जनाउँथे। त्यो एक प्रकारको सान पनि थियो।

दीपेशले अनुभव सुनाए, 'अहिले रिङटोनले अर्थ नराख्ने मात्र होइन, यसले मानिसलाई इरिटेट पनि बनाउँछ। त्यसलाई फोन कभरले रिप्लेस गरेको छ।'

ताम्राकार कम्प्लेक्सको टक टु मी मोबाइल सेन्टरकी सरु जिरेल स्टाइलिस फोन कभरको क्रेज अहिले टिनएजर्समा बढी भएको बताउँछिन्। 'मोबाइल किन्न आउने ९० प्रतिशतले स्टायलिस कभर किनेर लैजान्छन्,' उनले भनिन्। खेलप्रेमी युवा लिगको समय विभिन्न क्लबको लोगो र सम्बन्धित क्लबका खेलाडीका फोटो फोनकभर राखेर समर्थन जनाउँछन्।

महिला पनि फोनका स्टाइलिस कभरको खोजीमा हुन्छन्। सरु भन्छिन्, 'पहिले तीज आउँदा तीजको गीत रिङटोन राख्थे, अहिले साउनमा हरियो रङका कभर हालेर तीज आउन लागेको संकेत दिन्छन्।' विवाह तथा अन्य पार्टीमा जाँदा ड्रेससँग मिल्ने रंगको कभर राख्छन्। यसरी मौसमअनुसार कभर फेर्नेहरू एउटा मोबाइलका लागि ६–७ वटासम्म कभर राख्ने गरेको दीपेश खड्का बताउँछन्। कतिपय कभरप्रेमी त सादा कभर किनेर आफूलाई मन पर्ने टेक्स्ट र आफ्नो वा आफ्ना प्रिय व्यक्तिको तस्बिर आफैं कस्टम डिजाइन गरी प्रिन्ट गराउँछन्।

मोबाइलअघि नै कभर बजारमा

हुन त मोबाइल कभर नयाँ ट्रेन्ड होइन। तथापि ट्रेन्डी पुस्ताको चाहनाअनुसार कुनै पनि कम्पनीको नयाँ फोनभन्दा पहिले नै कभर बजारमा आइपुग्छ। दीपेश भन्छन्, 'कभर बनाउने कम्पनीले पनि मोबाइलको नयाँ मोडल सार्वजनिक हुनेबित्तिकै कभर बाहिर ल्याउँछन्। सामसुङ एस–८ अप्रिल २१ देखि बजारमा आउँदै छ तर त्यसको कभर भने बजारमा आइसक्यो।' नेपालमा थाइल्यान्ड, दुबई, चीन लगायत देशबाट कभर आयात हुने गरेको छ।

ट्रेन्ड विश्लेषकहरू त फोनको कभरले मानिसको व्यक्तित्व समेत प्रतिविम्बित गर्ने धारणा राख्छन्। फोन कभर प्रयोगले व्यावसायिकता झल्काउन सकिने उनीहरू बताउँछन्। मानिसको व्यक्तित्व बुझ्न सकिने भएकाले मोबाइल कभरको प्रयोग गर्दा पेसा, उमेर, मर्यादाको समेत ख्याल गर्नु उचित हुन्छ।

प्रकाशित: २६ चैत्र २०७३ ०४:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App