coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्वार्ता

दुई नं. प्रदेशमा चुनाब नगरे विखण्डनको बिउ रोपिनेछः कोइराला

डा.शेखर कोइराला। फाइल तस्विर

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले महाधिवेशनको झन्डै एक वर्षपछि आइतबार केन्द्री कार्यसम्पादन समिति गठन गरेको छ। महाधिवेशनमा सबैभन्दा बढी मत पाएर केन्द्रीय सदस्य निर्वाचित भएका डा.शेखर कोइराला सो समितिमा पर्न नसकेकोप्रति असन्तुष्ट देखिएका छन्। नेता कोइरालासँग नागरिकन्युजका कृष्ण ढुंगानाले गरेको टेलिफोन अन्तर्वार्ताः

१. कांग्रेस केन्द्रीय समितिले आज गठन गरेको केन्द्रीय कार्यसम्पादन समितिमा तपाइँको नाम परेनछ नि?

सभापति, महामन्त्रीहरुलाई नचाहिएर मलाई नराखिएको होला। महाधिवेशनमा सबैभन्दा बढी मत पाएर म केन्द्रीय सदस्य निर्वाचित भएको हुँ। केन्द्रीय कार्यसम्पादन समिति गठनले भोटको माने निरर्थक नै देखायो। बरिष्ठताको आधार के के हुन् र ती कति  वैज्ञानिक छन् भनेर खोज्ने बेला भएको छ।

सभापति, महामन्त्रीहरुलाई नचाहिएर मलाई नराखिएको होला। महाधिवेशनमा सबैभन्दा बढी पाएर म केन्द्रीय सदस्य निर्वाचित भएको हुँ। केन्द्रीय कार्यसम्पादन समिति गठनले भोटको माने निरर्थक नै देखायो।

२. महाधिवेशनको एक वर्षपछि केन्द्रीय कार्य सम्पादन समिति गठन भएको छ। पार्टीकाहरु निर्णयहरु अब चुस्त हुन्छन् होला नि?

यो निकै ढिलो भएको हो। कांग्रेसले नीतिगत रुपमा गर्नुपर्ने धेरै काम बाँकी छन्। पार्टी विधान एकातिर छ राज्यको संरचना अर्कै भइसक्यो। संघीय संरचनाअनुसार पार्टीलाई ढाल्ने कामहरु बाँकी नै छन्। यी विषयहरु मैले आजको केन्द्रीय समिति बैठकमा उठाएको छु।

३. मधेसी मोर्चा चुनाबमा नजाने चेतावनी दिइरहेको छ। केन्द्रीय समितिमा यसबारे केही छलफल भयो?

त्यो विषयलाई बैठकमा मैले नै उठाएको हुँ। तराई मधेसको समस्याको दीर्घकालीन समाधानको खोजी कांग्रेसले गर्नुपर्छ। तराई मधेस कांग्रेसकै हो। अहिले संविधान संशोधनको माग गरिरहेको शक्ति मधेसी मोर्चा तराईको मध्यमार्गी शक्ति हो। उनीहरुलाई साथ लिएर हिँड्न सक्नुपर्छ। दुई नम्बर प्रदेशलाई मात्र छोडेर अरु प्रदेशमा चुनाब गर्ने भन्ने जुन विषय उठिरहेको त्यसले विखण्डनको बिऊ रोप्नेछ। त्यो मुलुकका निम्ति दुर्भाग्यपूर्ण हुनेछ। संविधान संशोधनलाई प्रक्रियाबाट टुंगो लगाएर लगाउनुपर्छ र मोर्चासहित चुनाबमा जानुपर्छ।

४. महानिरीक्षक र राजदूत नियुक्ति प्रकरणमा कांग्रेसको सिफारिशले ठूलो विवाद भयो। यसमा तपाइँको धारणा के रह्यो?

बैठकमा यो विषयले पनि स्थान पायो। मेनपावर व्यवसायीलाई राजदूतमा सिफारिश गरिनु राम्रो होइन। राजदूत प्रकरण र महानिरीक्षक नियुक्ति विवादले आमकांग्रेस कार्यकर्ताको शिर झुकाउने काम गरेको छ। प्रहरी प्रमुख नियुक्तिको अधिकार सरकारको हो तर त्यसलाई विधि र कानुनअनुसार गरिनुपर्छ। महानिरीक्षक प्रकरणमा सर्वोच्चले जुन तरिकाले निर्णय गरेको छ त्यसले लोकतन्त्र कमजोर पार्नेछ तर अब महानिरीक्षक नियुक्ति अदालतको फैसलालाई आधार मानेरै गरिनुपर्छ। आइजीपी नियुक्तिमा पार्टी सभापति र गृहमन्त्रीबीच विवाद सतहमा आउँदा पार्टीप्रति नकारात्मक सन्देश गएको छ।

५. कांग्रेसले राष्ट्रियताको पक्षमा बलियोसँग खुट्टा टेक्न सकेन, भारतलाई काखी च्याप्ने चीनलाई उपेक्षा गर्ने स्थिति रह्यो भन्ने गुनासाहरु छन् नि?

निश्चय नै विश्व र छिमेका भइरहेका घटनाक्रम तथा मुलुकभित्रको कहिलै नटुंगिने संक्रमणकालले राष्ट्रियतालाई कमजोर पार्दै लगेको हो। यो चुनौतीपूर्ण सम्वदेनशील घडिमा लोकतान्त्रिक कुटनीतिक संयन्त्रलाई सवल र प्रभावकारी बनाउन जरुरी छ। छिमेकीहरुको आर्थिक सम्पन्नता र महत्व विश्वमै बढेर गएको सन्दभलाई ध्यानमा राख्दै यसबाट हामीले कसरी फाइदा लिने र उनीहरुसँग कसरी सन्तुलित सम्बन्ध बनाइराख्ने भन्ने विषय अहिलेको प्रमुख चुनौती हो। कांग्रेस कोही परस्त हुनु हुँदैन भन्ने मेरो मान्यता हो। नेतृत्वले अन्तर्राष्ट्रिय सम्बन्धहरुलाई बलियो बनाउँदै छिमेकीहरुसँग सन्तुलित सम्बन्ध बनाउनैपर्छ।

प्रकाशित: १३ चैत्र २०७३ १३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App