८ वैशाख २०८१ शनिबार
राजनीति

भानुजयन्तीमा प्रणव मुखर्जी दार्जिलिङ आउँदै

इलाम- नेपालीभाषी बाहुल्य रहेको भारत, दार्जिलिङमा बुधबार २ सय २औं भानुजयन्ती मनाइँदै छ। नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाउन भारतीय राष्ट्रपति प्रणव मुखर्जीसमेत दार्जिलिङ पहाड उक्लँदै छन्।

 केन्द्रीय कृषिमन्त्री एसएस अहलुवालिया, पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बेनर्जी, राज्यपाल गभर्नर केशरीनाथ त्रिपाठी, गोर्खा टेरिटोरियल एड्मिनिस्ट्रेसन प्रमुख विमल गुरुङलगायत विशिष्ट व्यक्ति समारोहमा सहभागी हुने पश्चिम बंगाल सरकारले जनाएको छ।

 दार्जिलिङमा राष्ट्रपति नै सहभागी भएर भानुजयन्ती मनाउन लागिएकाले यो अपूर्व अवसर हुने स्थानीय पत्रकार ज्ञानेन्द्र अर्यालले नागरिकलाई बताए। पश्चिम बंगाल सरकारले आयोजना गर्न लागेको समारोहमा गोर्खा टेरिटोरियल एड्मिनिस्ट्रेसन (जिटिए) तथा दार्जिलिङ नेपाली साहित्य सम्मेलनको पनि सहयोग र समर्थन छ। 'नेपाली भाषाका आदिकविको जयन्ती मनाउन यो वर्ष भव्य समारोह आयोजना गरिँदै छ,' उनले भने, 'धेरै संख्यामा विशिष्ट व्यक्ति आउने भएकाले समारोहको तयारी पनि भव्य छ।' समारोह आयोजनाका लागि दार्जिलिङ झकीझकाउ पारिएको छ। भानुभक्तको पूर्णकदको सालिक रहेको पर्यटकीय चौरस्ता क्षेत्रमा कार्यक्रम आयोजना गरिने र समारोहको राष्ट्रपति मुखर्जीले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले बताएका छन्।

 कार्यक्रममा सहभागी साहित्यकार र विशिष्ट व्यक्तिले भानुभक्तले नेपाली भाषामा अनुवाद गरेको 'रामायण' सामूहिक वाचन गर्नेछन्। भारतका विभिन्न क्षेत्रबाट आएका साहित्यकारबीच भानुभक्तबारे चर्चा–परिचर्चा गर्ने कार्यक्रम रहेको अर्यालले बताए। 'देशभरबाट भेला भएका कलाकारले समेत त्यस अवसरमा आफ्ना प्रस्तुति राख्नेछन्,' उनले भने, 'भानुजयन्तीमा राष्ट्रपति नै सहभागी हुनुचाहिँ अहिलेसम्मकै ठूलो उपलब्धि हुनेछ। यसले भानुभक्त आचार्यप्रतिको गरिमा बढाउनेछ।'

 केन्द्रीय, पश्चिम बंगाल सरकार र स्थानीय साहित्यकार साहित्यको कुनै भाषा–भूगोल नहुने आशयसाथ कार्यक्रम भव्य बनाउन लागिपरेको उनको भनाइ छ। कोलकाताको थर्डलाइन क्रिएसन संस्थाले स्टेज व्यवस्थापन गर्दै छ। स्टेजवरिपरि अढाई सयभन्दा बढी बिजुलीबत्ती जडान गरिँदै छ। जिटिएले पनि स्टेज सजाउन र सरसफाइमा सघाएको स्थानीय हिमालय दर्पणले लेखेको छ। प्रशासनले चौरस्तामा मंगलबारदेखि घोडा लैजान निषेध गरेको छ। चौरस्ता घुम्न आउने पर्यटकले घोडचढीको अनुभव लिने गर्छन्।

 राष्ट्रपतिलगायत केन्द्र सरकारका प्रतिनिधि मंगलबार दिउँसो दार्जिलिङ पहाड आइपुग्नेछन्। मुख्यमन्त्री बेनर्जी सोमबार बेलुकै दार्जिलिङ पहाड आउने तय भएको छ। विशिष्ट व्यक्तिहरूको आगमनलाई ध्यानमा राखेर स्थानीय प्रशासनले सुरक्षा व्यवस्था 'अत्यन्त कडा' बनाएको छ। दार्जिलिङ सहर, चौरस्ता, राज भवन, रिचमन्ड हिल र लेबोङ क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ। राष्ट्रपति मुखर्जी मंगलबार बागडुग्रा विमानस्थलमा ओर्लिएपछि स्थल सवारीमा दार्जिलिङ आउनेछन्। मुख्यमन्त्री बेनर्जीले मुखर्जीलाई लेबोङ सेना छाउनीमा स्वागत गर्नेछिन्। राष्ट्रपति र राज्यपाल राजभवनमा बास बस्नेछन्।

 जिटिएले पनि राष्ट्रपति मुखर्जीलाई स्वागत गर्ने कार्यक्रम तय भएको छ। हिमालय दर्पणका अनुसार बुधबार भानुभक्तको जन्मजयन्ती समारोहपछि राष्ट्रपति मुखर्जी भोलिपल्ट दार्जिलिङ टी एसोसिएसनको सभामा सहभागी भएर शुक्रबार फर्किनेछन्।

 

...

भारत दार्जिलिङको चौरस्तास्थित आदिकवि भानुभक्त आचार्यको पूर्णकदको सालिक। पर्यटकीय नाइटिंगेल पार्क र दार्जिलिङ सहर।

 

तस्बिर :  भीम/नागरिक

प्रकाशित: २८ असार २०७३ ०१:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App