५ वैशाख २०८१ बुधबार
विचार

दूर भए अम्बर

संगीतज्ञ अम्बर गुरुङ हामी सबैबाट दूर भएका छन् । उनको निधनले नेपाली गीत–संगीतका क्षेत्रमा एउटा रिक्तता महसुस हुन पुगेको छ । उनका दर्जनौँ सुमधुर सांगीतिक सृजना छन्, जसले स्रोतालाई सधैँ मन्त्रमुग्ध पार्दै आएको छ । उनी गीत, संगीत र गायनका त्रिवेणी नै थिए । उनका केही निबन्ध पनि प्रकाशित छन् भने नाटकमा समेत संगीत दिएका छन् । पछिल्लो समय ख्याति कमाइरहेका कतिपय नेपाली संगीतकार उनका शिष्य छन् । उनको शैली पछ्याउनेहरू आज नेपाली संगीतजगत्मा स्थापित भइसकेका छन् । उनले आधुनिक नेपाली संगीतका क्षेत्रमा आफ्नो पहिचान उच्च बनाएका मात्र होइन, एउटा पुस्ता नै तयार पारेका छन् । पूर्वीय र पाश्चात्य संगीतलाई फ्युजन गर्दै आधुनिक नेपाली संगीत निर्माण गर्ने काममा उनको विशिष्ट योगदान छ । उनको लोकप्रियता शब्दमा मापन गर्न सकिँदैन । मंगलबार बिहानै यस संसारबाट बिदा भएका ७९ वर्षीय अम्बरको लोकप्रियता आगामी थुप्रै पुस्तासम्म कायम रहने विश्वास गर्न सकिन्छ । दार्जीलिङमा जन्मिए पनि उनको कर्मथलो सधैँ नेपाल रह्यो । उनका पितापुर्खा नेपालबाटै बसाइसराइ गरी दार्जीजिङ पसेका थिए । उनले करिब आधा शताब्दी नेपाली संगीतको उत्थानका निम्ति लगाए । उनले संगीत आकाशमा जति काम गरे त्यो सबै नेपाल र नेपालीप्रति नै समर्पित रह्यो । उनको नेपाल आगमनले नेपाली गीत–संगीतलाई थप मजबुत पारिदियो र उचाइ प्रदान गरिदियो ।  


दोस्रो जनआन्दोलनको सफलतापश्चात् मुलुक राजनीतिक, सांस्कृतिक तथा मनोवैज्ञानिकरूपले पनि परिवर्तनको दिशामा हिँडेको छ । यसै परिप्रेक्ष्यमा देशको राष्ट्रिय गीत पनि नयाँ बन्ने अभियान चल्यो । उक्त अभियानमा नेतृत्वदायी भूमिका उनै अम्बरले निर्वाह गरेका थिए । उनकै अग्रसरता तथा संगीत निर्देशनमा नेपालको नयाँ राष्ट्रिय गान ‘सयौँ थुंगा फूलका हामी एउटै माला नेपाली...’ तयार भएको हो । एउटा मुलुकको राष्ट्रिय गीत तयार पार्नु सामान्य काम होइन । उनको कुशल नेतृत्व तथा क्षमताकै कारण विवादरहित ढंगमा उक्त असामान्य कार्य सम्पन्न भएको थियो । संगीतमा उनको स्थान वास्तवमै अतुलनीय छ । उनको त्यही प्रतिभा देखेर साहित्य–संगीतप्रेमी राजा महेन्द्रले बीसको दशकको पूर्वाद्र्धमै नेपाल ल्याएर उनलाई नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा संगीत विशेषज्ञको जागिर दिए । पछि उनले प्रतिष्ठानमा संगीत संयोजक भएर पनि धेरै वर्ष काम गरे । उनले गोरखा दक्षिणबाहु तथा इन्द्रराज्य लक्ष्मीजस्ता सरकारी पुरस्कार र केही निजी क्षेत्रका सम्मान पनि पाए । त्यतिमात्र होइन, राजाले नेपाल ल्याएका उनले गणतन्त्र नेपालको राष्ट्रिय गान त तयार पारे नै साथमा नाट्य संगीत प्रज्ञा–प्रतिष्ठानको कुलपतिसमेत बन्ने अवसर पाए । पञ्चायतकालीन समयमा नेपाल पसेका उनले यो देशका विभिन्न परिवर्तनलाई सहजै आत्मसात गरेकाले पनि उनी सबै राजनीतिक दलका प्रिय तथा सम्मानित मान्छे बन्न पुगे । यो सबै उनको विलक्षण प्रतिभाका कारण सम्भव भएको हो ।   


लामो समयदेखि विभिन्न रोगले ग्रस्त भई गम्भीर अवस्थामा पुगेका अम्बरको केही दिनदेखि राजधानीको ग्रान्डी अस्पतालमा उपचार भइरहेको थियो । शरीरका महŒवपूर्ण अंगहरूले काम गर्न छाडेपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । उनको स्वास्थ्यअवस्था बुझ्न प्रधानमन्त्रीदेखि गीतकार, संगीतकार, गायक, साहित्यकार, कलाकारलगायत ग्रान्डी अस्पताल पुगेका थिए । यसअघि उनको उपचार भारतमा पनि गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले अम्बरको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्ने बताएर गीत–संगीतप्रति राज्यको चासो उच्च रहेको विश्वास दिलाएका थिए ।


अम्बरको निधनले नेपाली गीत–संगीतका क्षेत्रमा अपूरणीय क्षति भएको छ । उनीजस्ता बहुमुखी प्रतिभा विरलै जन्मन्छन् । उनको योगदानको उच्च मूल्यांकन गर्दै राज्य तथा जनस्तरबाटै कदर गरिनुपर्छ । यस दुःखद क्षणमा नेपाल रिपब्लिक मिडिया अम्बरका शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै उनको आत्माको चिर शान्तिको कामना गर्दछ ।

प्रकाशित: २६ जेष्ठ २०७३ १०:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App