७ वैशाख २०८१ शुक्रबार
समाज

पश्चिमी पहाडमा भारी हिमपात

काठमाडौं- मौसममा परिवर्तन आएसँगै पश्चिमी उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात भएको छ। हिमपातले जनजीवनसमेत कष्टकर बनेको छ। कतिपय ठाउँमा यातायातसमेत अवरुद्ध भएको छ। बझाङ संवाददाता जगत खडकाका अनुसार  दुई दिन देखि परेको  र्बषा संगै हिमपात भएपछि यहाँका विकट ग्रामीण भेगका बासिन्दाको जनजीवन कष्टकर भएको छ। पानी  परेसँगै  बाक्लो हिमपात भएपछि विकटका ग्रामीण भेगका बासिन्दा घरबाहिर निष्कन समेत मुस्किल भएको छन् भने पानी जमेर खानलाई पनि हिउँ पगाल्नुपर्ने अवस्था आएको छ।

तीन फुटभन्दा बढी हिउँ जमेको छ खाने पानीका मुहान र धारा पुरिएका छन्। 'दुई दिन भयो घरबाहिर ननिस्केको', दाँतोला गाविस ५ का वीरेन्द्र बिष्टले भने, 'गाईभैंसीलाई खुवाउने खरपात र दाउरासमेत ल्याउन पाएको छैन। चिसोले बिरामी पर्ने डर छ।'

हिउँ निकै परेकाले जय पृथ्वी राजमार्गमा यातायातका साधन चल्न कठिन भएको कर्णाली यातायात काउन्टरका कुमार खड्काले बताए। हिमपातका कारण गाडी बाटामा ७ घण्टा जाममा फसेको उनले जानकारी दिए। उनका अनुसार चिसो बढेपछि यात्रु संख्या पनि घटेको छ।

यसैगरी बाजुरा संवाददाता कृष्ण ओलीका अनुसार त्यहाँ तेस्रोपटक हिमपात भएको छ। पुसको पहिला सातादेखि माघ दोस्रो साता आइपुग्दा जिल्लामा तीनपटक हिमपात भएको हो। पुसमा दुईपटक हिमपात भएको थियो। हिमपातले जिल्लाको जनजीवन कष्टकर बनेको छ। बिहीबार मध्यरातदेखिको हिमपातले लेकाली बस्ती र हिमाल सेताम्य छन्।

मध्यरात एकाएक मौसम बदली भएर हिमपात भएको हो। जिल्लाका रुगिन, बिच्छ्या, दहकोट, काँडा, आटीचौर, कैलाशमाडौं, पाण्डुसैन, जुकोट, मार्तडी, जुगाडा, मानाकोट, डोगडीसहित दर्जन गाविसका लेकाली भेगमा हिमपात भएको छ।

सदरमुकाम मार्तडीमा वर्षा भइरहेको छ भने सदरमुकाम नजिकैका बस्तीमा हिमपात भएको छ। हिमपात जारी रहेको छ। सरकारी कर्मचारीले कार्यालयमै आगो ताप्दै सेवा सञ्चालन गरेका छन्। हिमपातले जनजीवन निकै कष्टकर बनेको स्थानीयले बताए। गाईबस्तुलाई दानापानी दिनदेखि बालबालिका र वृद्धावृद्धालाई चिसोको प्रभाव बढी परेको छ।

हिमपातले हवाई सेवा पनि बन्द भएको छ। मार्तडी–कोल्टी ट्याक्टर र जिप सेवा बन्द भएको छ। मान्छेको आवतजावत समेत रोकिएको छ।

दार्चुला संवाददाता प्रेम चुनाराका अनुसार बिहीबार राति एक्कासि सुरु भएको वर्षा र हिमपातका कारण दार्चुलाको जनजीवन प्रभावित भएको छ। जिल्लाको उत्तरी एक दर्जन गाविसमा हिमपात र वर्षाले चिसो बढेको छ। व्याँस, राप्ला, सुन्सेरा, धौलाकोट, हिकिला, घुसा, खण्डेश्वरी, खार, तपोवन, सितोला, गुल्जर, शेरीलगायतका गाविसमा बाक्लो हिमपात भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ। हिमपातका साथै जिल्ल्ााभरि वर्षासमेत भएको छ। लगातारको वर्षा र हिमपातले घरबाहिर निस्कन समेत मुस्किल भएको स्थानीयले बताएका छन्। हिमपात र वर्षाले जनजीवन प्रभावित भए पनि हिउँदे बाली सप्रिने भएकाले किसान हर्षित छन्।

रुकुम संवाददाता गणेश विकका अनुसार सदरमुकाम आसपासका गाविसलगायत पूर्वी रुकुममा भारी हिमपात भएको छ। शुक्रबार बिहानैदेखि सिस्ने, प्वाङ, रन्मामैकोट, स्यालाखदी, गोतामकोट, चौखावाङलगायतका गाविसमा हिउँ परेको हो।

हिउँ परेसँगै चिसो बढेको छ। जिल्ला सदरमुकाममा भने दिनभरि नै वर्षा भयो। चिसोले यहाँका बालबालिका, वृद्धवृद्धा र बिरामीलाई समस्या भएको छ भने दैनिकी कष्टकर बनेको छ।

प्रकाशित: १५ माघ २०७३ ०२:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App