८ वैशाख २०८१ शनिबार
कला

सुवेदीले खोजे भूमिको नालिबेली

काठमाडौं– यसअघि उपन्यास ‘आधा जून’ लेखेका झलक सुवेदी फेरि ननफिक्सन विधामा फर्केका छन्। उनको नयाँ पुस्तक ‘भूमि, किसान र राज्य’को मंगलबार काठमाडौंमा विमोचन गरियो। गान्धीवादी अभियन्ता तथा गान्धी पिस फाउन्डेसनका पूर्व उपाध्यक्ष राजागोपालन भिपी र मानवशास्त्री जनक राईले संयुक्त रुपमा उक्त पुस्तकको विमोचन गरे ।

राजागोपालनले भूमि व्यवस्था आफ्नो पनि प्रिय विषय भएकोले किताबमा विशेष रुचि भएको बताए । ‘लाखौं मानिसको पहिचान, सुरक्षा र आत्मसम्मानसँग गाँसिएको भूमिलाई राज्यसँग जोडिदिएकाले म खुसी छु । यो पुस्तकले भूमिलाई फेरि बहसमाल्याउने प्रयास गरेको छ । यसले संसारभरिका भूमि आन्दोलनलाई उर्जा दिनेछ,’ उनले भने ।  

मानवशास्त्री राईले सुवेदीको पुस्तकले गहन विषय सरल भाषामा उठान गरेको बताए । उनले थपे, ‘आदिवासीहरुको भूमिसँगको अन्योन्याश्रित सम्बन्ध कसरी परिवर्तन हुँदै गयो भन्ने राम्रो चित्रण पुस्तकमा छ । भूमिआन्दोलनको पीडालाई बुझ्न पुस्तकले महत्वपूर्ण भूमिका खेल्नसक्छ ।’ उनले आफ्ना विद्यार्थीहरुलाई यो पुस्तक पढाउन चाहेको पनि अवगत गराए ।

लेखक सुवेदीले राजी, सोनाहा, चेपाङ, माझी, बोटे, मुसहर, दनुवार, गुरूङ जस्ता नेपालका आदिवासी जनजाति समुदायको भूमिसँगको सम्बन्ध र तिनमा आइरहेका परिवर्तनबारे समुदायमै पुगेर प्रत्यक्ष संवादका आधारमा पुस्तक तयार पारेका हुन् । उनले भने, ‘पुस्तक तयार पार्ने क्रममा भूमिलाई हेर्ने  मेरो दृष्टिकोण नै परिवर्तन भयो ।’

यस पुस्तकमा बिर्ता प्रथा र गुठी प्रथाको कहर खेपिरहेका रसुवा, नुवाकोट र सिन्धुपाल्चोकका किसानका पीडाको जीवन्त चित्रण पनि पाइन्छ । ६६ वर्षयता नेपालमा भूमि सुधारका नाममा भएगरेका काम, नेपालको अर्थ–राजनीतिक इतिहास र वर्तमानबारे लेखिएको यो पुस्तक आदिवासी समुदाय र राज्यबीचको सम्बन्ध तथा भूमि, किसान र राज्यबीचका सम्बन्धको इतिहास जान्न चाहनेका लागि उपयोगी हुनेछ ।

फाइनप्रिन्टले प्रकाशन गरेको पुस्तकको मूल्य २५० रुपैयाँ राखिएको छ । सुवेदीले यसअघि दुई ननफिक्सन पुस्तक ‘नेपाली विद्यार्थी आन्दोलनको आधा शताब्दी’ र ‘ब्रिटिस साम्राज्यका नेपाली मोहराः गोर्खा भर्तीको नालिबेली’ लेखेका थिए।

 

प्रकाशित: २२ असार २०७३ ०३:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App