७ वैशाख २०८१ शुक्रबार
खेल

सुदूरसँग आर्मी स्तब्ध

नेपालगन्ज- त्रिभुवन आर्मी क्लबलाई २–१ ले हराउँदै सुदूरपश्चिम–११ सोमबार यति सिमेन्ट नेपालगन्ज गोल्डकप फुटबलको फाइनलमा पुगेको गरेको छ। सुदूरलाई उपाधि दाबेदार बनाउने क्रममा जीवन चौधरी र विनोद केसीले गोल गरेका थिए। 

आर्मीले पहिलो हाफमा लिएको अग्रता जोगाउन सकेन। सुदूरका जीवनले ६० औं र विनोदले ७६ औं मिनेटमा गोल गर्दै टोलीलाई फाइनल पुर्याअए। म्यान अफ दी म्याच सुदूरपश्चिमका राकेश हमाल भए। उनले एमआइफोर कम्पनीको मोबाइल सेट प्राप्त गरे।

खेलको ३८ औं मिनेटमा सन्जिव मोक्तानले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए। मध्यान्तरसम्म आर्मीको नियन्त्रण रहेको खेल दोस्रो हाफमा भने सुदूरपश्चिमले लियो। रुपन्देहीलाई हराएर अगाडि बढेको आर्मीको यात्रामा सुदूरपश्चिम बाधक बनेको छ।

आर्मीका प्रशिक्षक डाइमोज धिमालले खेलमा प्राप्त मौका सदुपयोग गर्न नसक्दा हार बेहोर्नुपरेको बताए। 'राम्रो मौका मिल्दा पनि हामीले गोल गर्न सकेनौं,' उनले भने।

आर्मीका कप्तान राजु तामाङले नयाँ खेलाडीसँग अनुभवमा कमी र डिफेन्सले बल जोगाउन नसक्नु हार्नुको मुख्य कारण भएको बताए। 'नयाँ खेलाडीमा अनुभवको कमी थियो, जसले गर्दा डिफेन्स कमजोर भयो,' उनले भने।

नेपालगन्जको मौसममा खेल्दा अनौठो अनुभव भएको बताउँदै कप्तान राजुले अर्को वर्ष राम्रो तयारीसाथ आउने वचन दिए।

आर्मीका केही सिनियर खेलाडी झापामा हुने प्रतियोगिताको तयारी गर्नुपर्ने भएकाले अनुपस्थित हुँदाको फाइदा सुदुरपश्चिमले लिएको छ।

खेलमा रेफ्रीले सुदूरपश्चिमका विनोद केसी, सन्तोष कार्की, नरेन्द्र चौधरी र विजय चौधरी तथा आर्मीका राजु आलेमगरलाई पहेँलो कार्ड देखाए।

आर्मीलाई हराएपछि सुदूरपश्चिमले पहिलोपल्ट राष्ट्रियस्तरको प्रतियोगितामा फाइनल खेल्ने मौका पाएको छ। कैलालीको लालबोझीस्थित हिमालय युवा क्लबमा आबद्ध खेलाडीलाई सुदूरपश्चिम–११ को प्रतिनिधित्व गराउँदै मैदानमा उतारेका प्रशिक्षक सुरेश हमालले गाउँमा नियमित प्रशिक्षण गरेका कारण आफ्ना खेलाडीले आर्मीलाई हराउन सफल भएको बताए।

'पहिलोपल्ट यो लेभलको प्रतियोगिता खेलेका हौं, हाम्रा खेलाडीले आज राम्रो खेल खेलेका हुन्,' उनले भने, 'एउटा गाउँले प्रशिक्षणमा हुर्केको टोलीले ए डिभिजन क्लबलाई हराउन सक्नु हाम्रा लागि ठूलो उपलब्धि हो।'

उनले आफ्नो खल्तीबाट खेलाडीलाई साधारण पारिश्रमिक दिएर प्रशिक्षण दिइरहेको गराइरहेको जानकारी गराए। 'हामीहरू भारतका हुने थुप्रै प्रतियोगितामा सहभागी हुन्छौं तर नेपालमा राष्ट्रिय स्तरको प्रतियोगिता कहिल्यै खेल्न पाउँदैनांै,' उनले दुखेसो पोखे। २०६० सालमा स्थापित क्लबमा सबै स्थानीय खेलाडी रहेको हमालले जानकारी दिए।

उद्घाटन खेलमा नेपालगन्ज–११ लाई टाइब्रेकरमा हराएर सुदूरपश्चिम सेमिफाइनल पुगेको थियो।

सुदूरपश्चिम–११ का खेलाडीलाई खेलको दोहोरो चाप परेको छ। नेपालगन्जमा फाइनलमा पुगेका उनीहरू हिमालय क्लबको तर्फबाट मंगलबार धनगढीमा हुने जिल्ला लिग खेल्न सोमबार बेलुका नै त्यसतर्फ हिँडेका छन्।

मंगलबार वेस्ट काठमाडौं एफसी र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच सेमिफाइनल प्रतिस्पर्धा हुनेछ। 

प्रकाशित: २१ वैशाख २०७३ ०३:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App