७ वैशाख २०८१ शुक्रबार
प्रविधि

समस्या थप्दै रोबोट

रोबोटले मानिसको दैनिकीमा नराम्रो प्रभाव पार्न थाल्यो भन्दा तपाईंलाई आश्चर्य लाग्ला तर विकसित मुलुकमा यसले सर्वसाधारणको जागिर खोस्न थालिसक्यो । होटलहरुमा अतिथिलाई स्वागत गर्नेदेखि लिएर रिसेप्सनमा अरुका प्रश्नको उत्तर दिने काम पनि यसैले सम्हालिसकेको छ ।

वैज्ञानिकहरु त जागिरभन्दा अगाडि बढेर रोबोटसँगको यौन सम्बन्ध कस्तो हुने होला भन्ने चासो दिन थालिसके । कुनै दिन कसैले रोबोटसँग बिहे ग¥यो भने आश्चर्य नमाने हुन्छ भनी वैज्ञानिकहरुले चेताइसके ।
केही साताअघि लन्डनको गोल्डस्मिथ विश्वविद्यालयमा आयोजित एउटा सम्मेलनमा रोबोट र यौन सम्बन्धका बारेमा चर्कै बहस हुन पुग्यो । विषय थियो, ‘लभ एन्ड सेक्स विद् रोबोट्स’ र यो विषयमा छलफल चलाउन नमिल्ने भनी मलेसियाली सरकारले रोक लगाएको थियो । मलेसियाली सरकारले प्रतिबन्ध लगाएपछि हतारहतार कार्यक्रम लन्डन सारियो र त्यहीँ छलफल आयोजन गरियो ।

कार्यक्रममा केही विवादित प्रश्न पनि उठे । आयोजनमा कुनै यौनसम्बन्धी उद्योगले भाग लिएको थिएन न त सेक्स रोबोटलाई प्रदर्शनका लागि राखिएको नै थियो ।

रियल डल्स क्यालिफोर्नियाको सेक्स खेलौना बनाउन प्रमुख कम्पनी हो । उसले कृत्रिम बुद्धिमतायुक्त सेक्स डल बनाएर बजारमा बेच्ने तयारी गरिरहेको छ । यस्तो अवस्थामा डाक्टर डेभिड लेवीजस्ता व्यक्तिका तर्क सत्य साबित हुनेछ ।
लामो समयदेखि मानिसजस्तै देखिने बुद्धिमान रोबोट्सको युग सुरु हुने हल्ला चलिरहेको छ । डेभिड लेवीले छलफल कार्यक्रममा रोबोट र मानिसबीच यौन सम्बन्ध पछि स्वीकार हुनसक्ने भनी टिप्पणी गरेका थिए ।
उनले भने, ‘आउँदो दस वर्षभित्र यस्तो सफ्टवेयर तयार हुनेछ, जसको सहयोगले रोबोटमा एउटा अन्तरङ्ग साथीका सबै किसिमका गुण हुनेछ । त्यही गुणले मानिसले उसलाई प्रेम गर्नेछ भने रोबोटले पनि मानिसप्रति विश्वास, सम्मान र सहनशीलताजस्ता कुरा अपनाउनेछ ।’

घरमा सधैँ झैँझगडा रुचाउने व्यक्तिले त्यस्तै किसिमको रोबोट घर ल्याएर दैनिक रुपमा घर झगडा मच्चाउन पनि सकिने उनले बताए । हुन त रोबोटलाई सेक्स पार्टनर बनाउने विषयमा ‘नैतिकता’जस्ता कुरा पनि बाधा बन्न सक्ने सम्भावना छ ।
डाक्टर डेभिड लेवीले चाहिँ कानुनले त्यस्ता रोबोटलाई मानिसकै दर्जा दिनुपर्ने धारणा राखे । त्यसो त यस्तो घटना हुने सम्भावनामा अझै कैयौँ वर्ष लाग्ने केहीको धारणा छ तर यतिबेला नै यसबारे खोजखबर नहुने हो र यसका लागि हामी मानसिक रुपमा तयार नहुने हो भने पछि यी कुराले मानिसको दिमाग खराब गर्ने पक्का छ ।

यसैगरी रोबोटको अधिकारका कुरा पनि आएका छन् तर डाक्टर डेभिड भने रोबोट मानिसका लागि भएकाले रोबोटको अधिकारका लागि सोचिहाल्नुपर्ने अवस्था नआएको बताउँछन् ।

गोल्डस्मिथ विश्वविद्यालयका वरिष्ठ लेक्चरर केट डेभलिनको भनाइमा ‘लभ एन्ड सेक्स विद रोबोट्स’माथि भएको छलफलले सेक्स रोबोटको उद्यम भोलिका दिनमा कसरी अघि बढ्छ र यससँग जोडिएका नैतिक मुद्दा कस्ता किसिमका हुनेछन् भन्ने विषय सतहमा ल्याएको बताइन् । उनको भनाइ छ, ‘हाम्रा वरिपरि चेतनशील मेसिन भए भने हामीले उनीहरुको चेतनशीलता कस्तो छ भन्ने कसरी थाहा पाउँछाँै ? उनीहरूप्रति हाम्रो जिम्मेवारी के र कस्तो हुनेछ भन्नेबारेमा हामीले अहिलेदेखि नै सोच्नुपर्ने बेला आएको छ ।’

अब हुँदाहुँदा हामीले उनीहरुको अधिकारका बारेमा पनि सचेत हुनुपर्ने हुन्छ । सानातिना कुरामा उनीहरुको सहमति लिएर नै काम गराउनुपर्ने वा लिनुपर्ने हुन्छ । भनेपछि, मानव अधिकार त्यो बेला गौण हुनेछ भने मेसिनका अधिकारका बारेमा पनि हामीले सचेत हुनुपर्ने बेला आउँदैछ !
 

प्रकाशित: २० पुस २०७३ ०५:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App