७ वैशाख २०८१ शुक्रबार
राजनीति

नागरिकतासम्बन्धी ऐन कार्यान्वयनमा चुनौती

भक्तपुर-नागरिकता तथा पञ्जीकरणसम्बन्धी ऐन र कानुन कार्यान्वयनमा चुनौती रहेकाले समयानुकूल यसको परिमार्जन गर्नुपर्नेमा सरोकारवाले जोड दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले नागरिकता तथा पञ्जीकरणसम्बन्धी ऐन कार्यान्वयनको अवस्थाका विषयमा आयोजना गरेको दुईदिने अन्तरक्रियामा गृहमन्त्रालयका सहसचिव विनोद केसीले नागरिकतासम्बन्धी ऐन परिमार्जन हुन लागेको बताए ।

उनले नागरिकता हातले लेखेर दिँदा धेरै गल्ती हुने भएकाले सूचना प्रविधिको माध्यमबाट गर्नुपर्ने बताए। उनले नागरिकता र पञ्जीकरणको विषय देशको अस्तित्व र राष्ट्रसँग जोडिएकाले यसतर्फ कर्मचारी सचेत हुनुपर्ने आैंल्याए।

कार्यक्रममा गृहमन्त्रालयको उपसचिव उद्धव थापाले नागरिकतासम्बन्धी ऐन र कानुन परिमार्जन नभएसम्म हाल देखिएका समस्या न्यूनीकरण हुन नसक्ने बताए। अन्तरक्रियामा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव शङ्कर नेपालले नेपालको नागरिकता र पञ्जीकरण वितरण विधि अन्तर्राष्ट्रिय मापदण्डअनुरुप हुन नसकेकाले पनि समस्या आएको बताए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले स्थानीय निकाय र प्रशासनसँगसँगै जानुपर्नेमा जोड दिँदै राष्ट्रियतासँग गाँसिएको नागरिकताको सिफारिस गर्ने स्थानीय निकाय भएकाले दुईबीच सहकार्य अनिवार्य भएको उल्लेख गरे। पञ्जीकरण सेवा दिने कुरामा एउटै निकायले पनि फरक फरक निर्णय गरिदिँदा समस्या हुने गरेको उनले औँल्याए।

भक्तपुरका स्थानीय विकास अधिकारी ध्रुवप्रसाद कोइरालाले घटना दर्ता गरिसकेपछि पुनः दर्ता गर्न झन्झटिलो भएकाले नागरिकता, जन्मदर्ता गर्दा यथार्थ बुझेर मात्र गर्नुपर्नेमा जोड दिए।

 अन्तरक्रियामा गृहमन्त्रालयका सहसचिव विनोद केसीले नागरिकतासम्बन्धी कानुन र प्रावधान, मन्त्रालयका उपसचिव उद्धव थापाले नागरिकतासम्बन्धी ऐन, कानुनको कार्यान्वयनको अवस्था र पञ्जीकरण विभागका उपसचिव शङ्कर नेपालले पञ्जीकरणसम्बन्धी व्यवस्था र कार्यान्वयनको अवस्थाका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मध्यपुरथिमि नगरपालिका अधिकृत भूपेन्द्र सापकोटा, अनन्तलिङ्गेश्वर नगरपालिकाका कार्यकारी अधिकृत होतराज लम्साल, सूर्यविनायक नगरपालिकाका कार्यकारी अधिकृत यमलाल अधिकारीलगायतले स्थानीय निकाय र प्रशासनबीचको समन्वय अति आवश्यक रहेकामा जोड दिए। रासस

प्रकाशित: २० असार २०७३ ०५:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App