८ वैशाख २०८१ शनिबार
अर्थ

आइटिसीले नेपाली वस्तु प्रवद्र्धनमा सघाउने

काठमाडौं-अन्तर्राष्ट्रिय व्यापार केन्द्र (आइटिसी)को सहयोगमा सरकारले चार उत्पादनको निर्यात प्रवद्र्धन तथा गैरभन्सार अवरोधबारे अध्ययन गर्ने भएको छ। विश्व व्यापार संगठन अन्तर्गतको संस्था आइटिसीले अलैंची, चिया, कफी र हाते कागजको निर्यात प्रवद्र्धन गर्न र निर्यातका क्रममा भोग्नुपरेका गैरभन्सार अवरोध हटाउन सघाउने भएको हो।
आइटिसीले उक्त ४ वस्तुको विधागत निर्यात रणनीति प्रवद्र्धन (एसइएस) गर्न र निर्यातका क्रममा कस्तो खालका गैरभन्सार अवरोध आउन सक्छन् भन्ने विस्तृत अध्ययनसमेत गर्ने जनाएको छ । आइटिसीको केन्द्रीय कार्यलयबाट जारी विज्ञप्ति अनुसार नेपाल सरकार वाणिज्य मन्त्रालय र आइटिसीले संयुक्त रुपमा उक्त कार्यक्रम गर्नेछन्।
चार उत्पादनका सरोकारवाला विकास साझेदार संस्थासँग मिलेर पहिलो चरणको कार्यक्रमसमेत सम्पन्न गरिएको छ । असार ६ देखि १६ गतेसम्म झापामा अलैंची, इलामामा चिया, पोखरामा कफी र काठमाडौंमा हातेकागज विधागत निर्यात रणनीतिको विषयमा अहिलेको अवस्थाबारे प्रशिक्षण सम्पन्न भएको थियो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा भएका उक्त प्रशिक्षण कार्यक्रममा सम्बन्धित क्षेत्रका प्रतिनिधि, विकास साझेदार प्रतिनिधि तथा सरकारी प्रतिनिधिको सहभागिता थियो ।
प्रशिक्षण कार्यक्रममा सरोकारवाला निकायले निर्यात रणनीति, वस्तुहरूको विशेषता, यिनीहरूको उत्पादन, अन्तर्राष्ट्रिय आयामहरू तथा बजारको आवश्यकता लगायत विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । प्रशिक्षणका क्रममा दोस्रो चरणको रणनीतिक ढाँचा प्रक्रियाबारे पनि छलफल भएको थियो । सरोकारवाला, विशेषज्ञ सहितको सहभागितामूलक गहन छलफलले देशको निर्यात रणनीति र आगामी ५ वर्षको लागि योजना बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।  
प्रशिक्षण कार्यक्रममा निर्यात क्षमता र व्यावसायिक वातावरणबारे पनि छलफल भएको थियो । त्यसैगरी पहिलो चरणको कार्यक्रम गैरभन्सार अवरोध के के हुनसक्छन्, अहिलेको गैरभन्सार अवरोधहरू हुन् भनेर पनि छलफल भएको थियो ।
सरोकारवालाले कार्यक्रमले यस क्षेत्रमा रहेका समस्या पहिचान गर्न, समस्याको समाधान गर्न सहयोग पुग्ने बताएका थिए । निजी क्षेत्रले भोग्नुपरेका समस्या र सार्वजनिक क्षेत्रमा रहेका समस्या पहिचान गर्न सहयोग पुग्ने उनीहरूको धारणा छ । ‘हामीले ठूलो मात्रामा निर्यात भएको अलैंचीको थप सम्भावना र यस क्षेत्रको विकासबारे छलफल गरेका छौं,’ नेपाल अलैंची उद्योग संघका निर्मल भण्डारीले भने ।
त्यसैगरी, नेपाल हातेकागज संघका अध्यक्ष मोहनकृष्ण मानन्धरले प्रशिक्षण कार्यक्रमले उत्पादन तथा निर्यातको लागि ठोस कार्य गर्न सहयोग पुग्ने बताए । उनले भने, ‘निजी तथा सार्वजनिक क्षेत्रका प्रतिनिधि सहभागी भएको यस अन्तक्र्रियात्मक कार्यक्रमले साझा समस्याको पहिचान र सहमति गर्न र हातेकागज क्षेत्रको निर्यात प्रवद्र्धन गर्न सहयोग पुग्नेछ ।’  
कार्यक्रमको दोस्रो भागको रुपमा निर्यात प्रवद्र्धन गर्ने रणनीति अनुरुप ३ सय ५० भन्दा धेरै नेपाली निर्यात व्यवसायीसँग उनीहरूले निर्यातका क्रममा भोग्नुपरेका प्रक्रियागत र नियमित रुपमा भोग्नुपरेका गैरभन्सार अवरोधबारे सर्वे लिएको थियो । सर्वेको प्रारम्भिक नतिजा अनुसार विशेषगरी कृषिप्रधान उत्पादनको निर्यात गर्दा गर्नुपर्ने ल्याब परीक्षण र प्रमाणीकरण समस्याका रुपमा रहेको देखाएको छ । निर्यात गर्दा देशभित्र गर्नुपर्ने ल्याब परीक्षण र प्रमाणीकरण नहुँदा बाहिर परीक्षण गर्नुपर्ने र त्यसले थप मूल्य र समय लाग्ने गरेको देखिएको छ ।
यो सर्वे आगामी अगस्ट (साउन–भदौ) महिनासम्म कम्तीमा ६ सय कम्पनीसँग गरिने जनाइएको छ । सर्वेको अन्तिम नतिजा विधागत निर्यात रणनीतिमा समावेश गरिने छ । विधागत निर्यात रणनीतिको अन्तिम निष्कर्ष निजी र सार्वजनिक क्षेत्रको लागि डकुमेन्ट बन्नेछ । भारत निर्यात हुने वस्तुमा देखिएका विषयलाई नेपाल सरकार र भारतीय सचिवस्तरीय बैठकमा पठाइने वाणिज्य मन्त्रालयकी उपसचिव मिना अर्यालले बताइन्।

 

प्रकाशित: १९ असार २०७३ ०४:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App