७ वैशाख २०८१ शुक्रबार
कला

मलिना बनिन पत्रकार

 वीरगन्ज-नेपाली सिनेमा जगतका नयाँदेखि पुरानासम्मका दिग्गज कालाकारहरुलाई ‘कास्ट’ गरेर बनाउन लागिएको कथानक चलचित्र ‘संरक्षण’को छायांकन लगभग सकिएको छ। ‘मैले १२ वटा फिल्म गरें जसमध्ये ५ रिलिज भइसकेका छन्,’ फिल्ममा सामाजिक अभियानकर्ताको भूमिकामा रहेकी अभिनेतृ आशिष्मा नकर्मीले भनिन्, ‘अहिलेसम्म मैले गरेको फिल्ममध्ये यो सबभन्दा गाह्रो लाग्यो।’
सानोसानो पनि कुराहरुलाई सुक्ष्म तरिकाले ध्यान पुर्याएर छायांकन गर्दा एउटै दृष्यको लागि अनेक पटक प्रयास गरेर सुट गर्नु परेको यो उनको पहिलो फिल्म भएको उनले अनुभव सुनाईन् । यो फिल्ममा आफुले पब्लिकको प्रतिनिधित्व गरेको उनले बताईन्। पाँच ‘प’ –पब्लिक, पोलिटिक्स, पुलिस, पावर र प्रेसले कसरी भूमिका गरिरहेको हुन्छ भन्ने चित्रण गर्ने यो कमर्सीयल फिल्मका निर्देशक पुरनेन्दु झाले यसलाई ‘पोलिटिकल ड्रामा’ भने।
अग्रज कलाकार निर शाहदेखी रेशम फिलिलीमा हरियाको भूमिकामा दर्शकको मन जितेका नयाँ पुस्ताका कालाकार कामेश्व चौरसियासम्मलाई राजनीतिक पात्रको रुपमा उतारिएको संरक्षणमा अभिनेता निखिल उप्रेती प्रहरी अधिकारीको रुपमा देखाइएका छन्। तराई मधेसको राजनीतिक कथबाट देशकै  सेरोफेरो उजागर गर्न खोजिएको भनिएको फिल्ममा पछिल्लो पटक र यसभन्दा अगाडी मधेस आन्दोलनको प्रमुख केन्द्र रहेको वीरगन्जमा कार्यरत प्रहरी उपरीक्षकको रुपमा उप्रेतीलाई देखाइएको छ। कथाको अधिकंश हिस्सा वीरगन्ज र आसपासको क्षेत्रमा छायांकन गरिएको छ भने भोजपुरी सिनेमाका स्थापित कलाकार स्थानीय नन्दु श्रीवास्तव लगायतले पनि फिल्ममा भूमिका गरेका छन्।
    ‘फिल्मले राख्न खोजेको कुरा बडो सशक्त ढँगले प्रस्तुत गरेको मैले बुझेको छुँ, कथाबस्तु, लिइएका कलाकारमा बिविधताको दृष्टिकोणले र फिल्म निर्माण प्रक्रियाको हिसाबले यसमा नयाँपन छ,’ मिथला रंगमञ्चबाट उठेका कलाकार तथा रंगकलाका विश्लेषक रमेशरञ्जन झाले भने, ‘दर्शकले नयाँ कुरा मन पराउछन् जो यस फिल्मले दिएको छ ।’ अहिलेको मुख्य धार नेपाली फल्मभन्दा यसले फरक मुख्यधार बनाउने भन्दै, एउटा मधेसकेन्द्रीत दलको केन्द्रिय अध्यक्षको भूमिकामा रहेका उनले ऐतिहासिक बताएको यस फिल्मले नेपाली चलिचित्रका साबिकसंगै फरक दर्शक बर्गलाई पनि आकर्षित गर्ने दावी गरे। निखिलसंगै यस फिल्ममा सौगात मल्ल पनि प्रहरी अधिकृतको भूमिकामा देखा पर्नेछन्।
    ‘करिब साढे ३ बर्ष लगाएर फिल्मको कथाबस्तु तयार पार्न निर्देशकले निकै मिहनेत गरेका छन्,’ फिल्मका एक जना निर्माता नरेन्द्र महर्जनले भने, ‘नेपाली फिल्मको चलनचल्तीभन्दा फरक रहेको यो फिल्मले सफलता पाउनेमा बिश्वस्त छुँ ।’ भारतीय रंगमञ्च की नेपाली कलाकार श्वेता साहले फिल्मले महिला पात्रहरुलाई सशक्त भूमिकामा देखाएको बताइन् । परिस्थितीवस राजनीतिमा होमिने एक जना गृहणीको भूमिकामा उनी छिन् भने पूर्व मिस नेपाल मलिना जोशी यस फिल्ममा पत्रकारको भूमिकामा देखा पर्दै छिन् । ‘नयाँ किसिमको यो भूमिका मेरो लागि निकै उत्साहजनक छ, म यसमा पत्रकार बनेकी छुँ, पत्रकारिताको बारेमा धेरै कुरा थाहा नभए पनि मैले बिगत केही बर्षमा धेरै जना पत्रकारहरुलाई अन्तरवर्ता दिदा उनीहरुसंग समय बिताएको कुरा काम लाग्यो,’ मलिनाले नागरिकलाई भनिन्, ‘भूमिका कति धेरै स्क्रिनमा छ भन्नेभन्दा, कति पावरफुल छ भन्ने महत्वपुर्ण हुन्छ।’

 

प्रकाशित: १७ असार २०७३ ०९:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App