Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

कृषिराज्यमन्त्री हँसिमजाकको पात्र

smaller text tool iconmedium text tool iconlarger text tool icon
रामचन्द्र भट्ट, काठमाडौं, मंसिर २- मन्त्रीहरू तयारीबिनै औपचारिक कार्यक्रममा बोल्दा कहिलेकाहीँ हँसीमजाकको पात्र बन्नुपर्छ। यसको पछिल्लो उदाहरण बनेकी छन्, कृषि राज्यमन्त्री करिमा बेगम। कफी दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा राज्यमन्त्री बेगमले 'तराईमा समेत खेती विस्तार गर्न' निर्देशन दिएकी थिइन्।

उनले मन्त्रालय मातहतको चिया तथा कफी विकास बोर्डलाई निर्देशन दिँदै भनिन्, 'पहाडमा मात्र होइन, तराईमा पनि कफी खेती विस्तार गर्नुस्।'

मञ्चमा उभिएकी कृषि राज्यमन्त्रीले कफीको भौगोलिक विशेषता नबुझी यस्तो भन्दा दर्शकदिर्घामा रहेका वरिष्ठ कृषि अधिकारी, प्राविधिक तथा अन्य सहभागी लाजले रातो भएका थिए।

समुद्री सतहभन्दा आठ सय मिटरमाथिको उचाइमा मात्र कफी खेती हुन्छ। नेपालको तराई क्षेत्र बढीमा २ सय मिटर उचाइमा छ।

कफी दिवसको कार्यक्रममा बोल्नुपर्छ भन्ने पहिल्यै थाहा पाएका राज्यमन्त्रीले कम्तीमा मातहतका अधिकारीसँग सामान्य परामर्शमात्र गरेर आएका भए पनि यस्तो गल्ती हुने थिएन।

मन्त्रीले आफ्नो भनाइ राख्नेबित्तिकै राजधानीको त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको सभाकक्षमा गाइँगुइँ चलेको थियो। मन्त्रीजस्तो पदमा बसेका व्यक्तिले आफ्नै मन्त्रालय सरोकारको विषयमा जथाभावी बोल्नुले छवि नराम्रो हुने सहभागीहरूले टिप्पणी गरे। 'मन्त्री भन्दैमा सबै कुरा थाहा पाउनुपर्छ भन्ने छैन, तर कम्तिमा थाहा नभएको कुरा कर्मचारीहरूलाई सोध्नु त पर्छ,' कृषि मन्त्रालयकै एक उच्च अधिकारीले भने।

राष्ट्रिय कफी व्यवसायी महासंघका अध्यक्ष श्यामप्रसाद भण्डारीका अनुसार तराईमा कफीको व्यावसायिक खेती हुन सक्दैन। नेपालमा अरेबिका जातको कफी मात्र उत्पादन हुन्छ। मध्यपहाडी भेगबाहेक अन्त यसको खेती राम्रो हुँदैन। मन्त्री बेगमले भनेजस्तै बढी गर्मी हुने तराईमा कफी रोप्दा उत्पादनै नहुने व्यवसायीहरू बताउँछन्।

'आठसय मिटरभन्दा माथि र एकहजार ६ सय मिटरसम्मको उचाइमा मात्र कफी राम्रो हुन्छ,' भण्डारीले भने, 'गर्मी ठाउँमा यसको खेती हुँदैन भन्ने उदाहरण भारत र श्रीलंकाबाट लिन सकिन्छ।'

'गर्मीमा रोप्दा दाना थोरै लाग्छ र क्याफिनको मात्रा धेरै हुन्छ,' भण्डारीले भने। बढी क्याफिन स्वास्थ्यलाई हानिकारक मानिन्छ।

पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई थप्पड हानेर चर्चामा आएकी बेगम झण्डै एक सातापछि सार्वजनिक कार्यक्रममा देखिएकी हुन्। उनी कफी दिवसको अवसरमा आयोजित कार्यक्रममा 'विशेष अतिथि' बनेर आएकी थिइन्।

उनले तराईमा कफी खेती विस्तारका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजान कार्यक्रममा उपस्थित उपप्रधानमन्त्री विजय गच्छदारलाई आग्रहसमेत गरेकी थिइन्। 'म त क्याबिनेट बैठकमा जान सक्दिनँ, उहाँमार्फत् ध्यानाकर्षण गराउन चाहन्छु,' गच्छदारप्रति संकेत गर्दै उनले भनिन्।

आफूलाई बिहान उठ्नेबित्तिकै कफी चाहिने पनि उनले बताइन्। 'मलाई बिहान उठ्नेबित्तिकै बेडमै कफी र चिया चाहिन्छ,' उनले भनिन्।

बेगमको भनाइले गच्छदारको समेत चित्त बुझेनछ। उनले बेगमको भनाइ सच्याउँदै भने, 'कफीलाई पश्चिममा मात्र नभएर पूर्वमा पनि विस्तार गर्न कार्यक्रम सुरु गर्नुपर्‍यो।' विज्ञहरू भने नेपालको पूर्वाञ्चल विकास क्षेत्र कफीभन्दा चियाको निम्ति उपयुक्त ठहरिएको बताउँछन्।

'बढी पानी पर्ने र बढी चिसो हुने ठाउँमा पनि कफी फस्टाउँदैन,' भण्डारीले भने, 'चिसोमा कफीको जरा कुहिन्छ।'

नेपालमा १९९५ सालमा गुल्मीबाट कफी खेती सुरु भएको हो। पश्चिमको गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, कास्की, काभ्रे, नुवाकोट, रसुवा लगायत जिल्लामा कफी खेती भैरहेको छ। पूर्वाञ्चलका ओखलढुंगा, रामेछाप, इलाममा पनि विस्तार गर्न संभाव्यता अध्ययन भैरहेको छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
Last Updated ( बिहिवार, 17 डिसेम्बर 2009 08:34 )
onlineversion
Nagarik Offer