Tuesday 17 Bhadra, 2071 |
Menu

नागरिक शनिबार

कवि खोज्दै जाँदा

  • ८ भाद्र, २०७०
  • बसन्त बस्नेत
  • DISQUS_COMMENTS
(1 Vote)
कवि खोज्दै जाँदा
भदौरे झरीले काठमाडौंका अफरोड भिजाइरहेछ। आकाशमा मौसम रोइरहेछ, जमिनमा कवि। एक चर्चित (भनूँ, लोकप्रिय) कविको कांग्रेस प्रवेशले काठमाडौंका कविकुना अझै गर्मिंदा छन्। कोही खुसी छन्, कोही रोइरहेछन्। अखबारमा यो खबर पुरानो भइसक्यो। कविहरू भने उही हेडलाइन दोहोर्यातइ दोहोर्यारइ पढिरहेछन्। 'यो जोसँग सम्बन्धित छ' को शैलीमा केही कवि उनका कविताको प्यारोडी सुनाउन मग्न छन्। आफ्नो गोजीको पैसाले चिया पिउँदै अरूको कुरा काट्नु हाम्रो समाजको सर्वाधिक ठूलो विलास हो। दस रुपियाँ खर्चिंदैमा सहजै मिल्ने आत्मरन्जनबाट कविमात्रै किन मुक्त हुन्थे!
तर, भृकुटीमण्डपको एक चियापसलमा धुम्धुम्ती बसिरहेका मस्तमौला कवि उपेन्द्र सुब्बालाई यस्ता खबर र छेडखानीसँग मतलब छैन।
देशमा प्याज, ग्यास, डलर र सुनको भाउ बढ्दो छ, जसरी अनिश्चय, संशय र बिस्मात् बढ्दो छ। रुपियाँ घट्दो छ, जसरी आशा र उत्साह घट्दो छ। लाग्छ, देश डिप्रेसनमा गइरहेको छ। यस्तो कुरा सबैभन्दा धेरै कविहरूलाई थाहा छ। उपेन्द्रलाई यतापट्टि ठिकठिकै वास्ता छ। स्मृतिको तुइनमा झुन्डिएर उनलाई फर्किनु छ, पाँचथर सेहोनाम्लाङ डाँडोमुनिको आङसराङ गाउँ। हेर्नु छ, उही पुरानो घर। बस्नु छ, उही पिँढीमा। गाउँ भने उनले छाडेको बेलाझैं कहाँ सहीसलामत छ र!
आफ्नै घरपति चिन्न बिर्सेको बिरानो आँगनको नाममा उनले गीत रचेका छन्। उपेन्द्रसँग यस्तै ग्रामीण विम्ब छन्। ती कहिले कविता हुन्छन्, कहिले कथा। कहिले गीत, कहिले सिनेमा। हाई डेसिबलको बजार हल्लाभन्दा धेरै पर उपेन्द्र छन्। तैपनि उनी किन यति साह्रो शक्तिशाली छन्? 
किनकि उनको मौनता पनि टड्कारो सुनिन्छ। दुई साताअघि उनले 'खोलाको गीत र पुराना कविताहरू' को घुम्टी उघारे। उनले उघारे पनि के भन्नु! फिनिक्स बुक्सले छरपस्ट कविताहरू बटुल्यो। उसैले सार्वजनिक गर्यो।। कवि चुपचाप छन्। चर्चा उनैको छ। 
हिजोआज पुस्तक छापिनुअघि नै लेखकहरूको ताहुरमाहुर सुरु हुन्छ। अझ लेख्नुअघि नै सुरु हुन्छ। लेखकले किताब लेख्ने सोच बनाउँदै गरेको– एउटा खबर। लेख्न थालेको– दोस्रो खबर। फस्ट ड्राफ्ट सकेको– तेस्रो खबर। पुनर्लेखन गरें भनी दाबी गरेको– चौथो खबर। यति गते विमोचन हुने– पाँचौ खबर। विमोचनको त कुरै भएन– छैटौं खबर। त्यसपछि रिभ्यु, चर्चापरिचर्चा, (हिजोआज त सानोतिनो स्केलमै सही) बुक टुर– सातौं, आठौं, नवौं खबर। यसरी असंख्य खबर लेखिनु आफैंमा अनौठो र अनुचित होइन। तर उपेन्द्रलाई यतातिर पनि चाख छैन। उनको संसार फुङसिङ पर्तिर छ। त्यहाँ पान्थरे लुङाहरू छन्। उनी सुलुम्फीको ओरालो झर्छन्। छाला सुकुवा डाँडोमुनि उनको मेहेलबोटे गाउँ छ। ओसाँघु, वनपाला छ। सप्तमी, रवि, राँके र यासोक बजार छ। बाबु मेजरसिंहले बनाएको घर, कमाएको खेत छ। बाउप्रधान व्यवस्थामा आमाको नाम थाहा छैन। मेलापात छ। सोल्टिनी, हजुरनी, सप्तमी साइँलीहरू छन्। सुमधुर यादहरू छन्। यादहरू यदाकदा 'दुखेर आउँछन्।' 'खोलाको गीत' का गीताङ्गे कविका कच्चापदार्थ यिनै हुन्। त्यसभन्दा परको संसार उपेन्द्रको आफ्नो होइन। कमसेकम उनका कविता पढ्दा यस्तै लाग्छ।
चाप्पती?
फूलमती?
दिलमती?
वा, खाओती, नामओती, लाओती?
मेरो आमाको नाम के होला?

खरोबार भन्छन् क्यार मंगलबार
मंगलबार जन्मेकाले मंगली पो हो कि?
असारमा जन्मेकाले आसारी पो हो कि?
पाँच दिदी, दुई बहिनीबीच जन्मेकाले 
खन्तरी नाम पो हो कि? 
साँच्चि, मेरो आमाको नाम के होला?

...मेरो नागरिकता, सर्टिफिकेट र अन्य पुर्जाहरूमा 
कहीँ कतै उल्लेख छैन
अब म 
मेरो आमालाई के नाम दिउँ्क?
(मेरो आमाको नाम, ४२)
उपेन्द्र ठूला विम्ब कोरल्दैनन्। सत्तादेखि सद्दाम, मार्क्सदेखि हिटलरजस्ता पात्रमाथि घाँगडान प्रतीक हालेर कविता चम्काउने, तिनै कविताले पाठकलाई आतंकित पार्ने धेरै निक्ले। तिनले कुनै सिद्धान्त चपाउन, उग्राउन र खोस्ल्याउन बाँकी राखेनन्। उपेन्द्रको कविलाई अंशमा उही जिमिभूमि पान्थर पर्यो । उही मुन्धुम, उही चुम्लुङ उही इतिहास र उही समाज पर्योउ। कविहरूको जम्बोरीमा नयाँ स्वादको कवि खोज्दा उनै उपेन्द्र भेटिए। इतिहासको संयोग वा उपेन्द्रको सौभाग्य, कविहरूको 'हाइरार्की प्रोटोकल' मा आफ्नो पालो कहिले आउँछ भन्ने पत्तो पाउनुअघि नै उनले कवितालाई नयाँ स्वर दिए। 
लट्टा परेको कपाल र रुद्राक्षको माला लगाएका उपेन्द्र लजालु छन्। निधार र ओठका रेखालाई इन्ची टेपले नापेर छुट्याउनुपर्छ– कुनचाहिँ उनको मुस्कान हो, कुनचाहिँ लज्जा वा गाम्भीर्य। त्यतिले नपुगे कवितै पढ्नुपर्छ।
०५८ सालको एक दिन। गीतकार हुने ध्याउन्नमा काठमाडौं आएका उपेन्द्रलाई संगीतकार शान्तिराम राईले कवि राजन मुकारुङसँग चिनाइदिए। त्यो साँझ पुतलीसडकको किमची रेस्टुराँमा मधुशाला जम्यो। कविलाई समाज र समयसँग 'डिफ्यामिलियराइज' गराउने त्यस्तै केही तŒव हुन्छन्। जस्तो कि, मदिरा। 'जाँड खानु नराम्रो काम होला, तर त्यो दिन सँगै बसेर जाँड नखाएको भए हामी मिलेर आन्दोलन हाँक्दैनथ्यौं कि,' आफूलाई त्यसबेलाको नामी जँड्याहा भन्न रुचाउने उपेन्द्र लख काट्छन्। 
आन्दोलन, अर्थात्, पचासको दशकलाई सर्वाधिक प्रभाव पारेको साहित्यिक अभियान 'सिर्जनशील अराजकता।' हाङयुग अज्ञात, राजन र उपेन्द्र मिलेर चलाएको यो आन्दोलनले परिचयको खोजीलाई मुख्य मुद्दा बनायो। यो आफ्नो समयमा चर्चित र विवादित दुवै भयो।
२०५७ भदौ १३ गते राजन, हाङयुगको नेतृत्वमा केही कविले थालेको यो अभियानले एक वर्षपछि उपेन्द्र पसेसँगै गति लियो। 'हाम्रो आन्दोलनसँग जोडिनुभयो भने तपाईंको कविताले अर्थ पाउँछ,' माझकिरातका राजनले यी लिम्बुको कविहृदयलाई पाइन् हाले। 
अराजकको समूहमा मिसिनेबित्तिकै उपेन्द्रले 'सिर्जनशील अराजकता : शालीन विद्रोह' अभियानको पछिल्लो शब्द 'शालीन विद्रोह' फुर्को फाल्ने प्रस्ताव गरे। आन्दोलनलाई मूल स्वर दिन 'सिर्जनशील अराजकता' भन्ने शब्द नै पर्याप्त रहेको उनको दलील थियो। पछि शशि लुमुम्बु, पदम गौतम, अच्युतम भट्टराईहरू यस्तै के मा कुरा नमिलेर छुट्टिए। उपेन्द्रले टुक्राइदिएको 'शालीन विद्रोह' बोकेर फुटेका केही कवि एकाध वर्ष कराए। तिनको आवाज र कविता कसैले सुनेन। यो आरोप लगाइदिए आरोपितहरू पनि खासै नरिसाउलान्। 
२०६१ सालसम्म चिच्याएरै हिँडे तीन सिर्जनशील अराजक यारहरू। त्यसपछि बिस्तारै मत्थर। मत्थर हुनुको भित्री कारण व्यक्तित्वको टकरावमात्रै थियो कि अरू पनि केही थियो उनीहरू नै जानुन्। हिजोआज भन्छन्– हामीले उठाएका मुद्दालाई राजनीतिले बोकेर हिँड्यो। हामीलाई फुर्सदै फुर्सद।'
सिर्जनशील अराजकतासँग 'वैचारिक अनेकानेक, साँस्कृतिक वैविध्य, नश्लीय चेत' जस्ता केही मुद्दा थिए। पुरातन राज्ययन्त्र, एकेडेमी, चिन्तन र लेखनबाट नेपाली साहित्यको सम्पूर्णता प्रतिविम्बित नहुने उनीहरूको ठोकुवा थियो। नयाँपनको खोजीमा थिए यी कविहरू। त्यो 'नयाँपन' को सग्लो नापनक्सा भने उनीहरूसँग थिएन। लेखनको भाषा, शैली र विचारमा एक प्रकारको उन्माद थियो। छाडा भनिएका शब्दलाई कवितामा घुसाउँथे उनीहरू। लजालु उपेन्द्र पनि यस मामलामा निपुण नै थिए। उनको 'म त भनिदिन्छु जाँ... जिन्दगी' भन्ने कविता त्यस बेला सुपरहिट थियो। 
अराजकलाई धारेहात लगाउँथे अग्रज। साहित्यको जनजातीकरण गरेको आरोप उनीहरूमाथि छँदै थियो। झलक सुवेदी, अभि सुवेदी, सञ्जीव उप्रेती, गोविन्दराज भट्टराईलगायत केही लेखक र समालोचकले बौद्धिक विमर्शमा जमेर भाग लिएपछि उनीहरूको प्रभाव सतहमा छाएको थियो। ०६२/६३ को आन्दोलनपूर्व उपेन्द्र एन्ड कम्पनीले जति कराए पनि त्यो साहित्येतर समाजका लागि 'खोलाको गीत' नै भयो। पछि जनआन्दोलनले उही एजेन्डा च्यापेर यसरी हल्ला गर्यो कि अराजकहरूले चिच्याए पनि नसुनिने भयो। जे होस्, उनीहरूले उठाएको एजेन्डा अन्ततः स्थापित भएरै छाड्यो। ती तीन जिकिरकर्तामध्ये एक हुन् उपेन्द्र।
हाङयुग र राजन थिए, मुखर वक्ता। उनीहरूको बोलीमा जति शक्ति थियो, त्यति नै शक्ति थियो, उपेन्द्रको मौनतामा। हाङ्युग र राजन सिर्जनात्मक लेखनसँगै वैचारिक बहसमा पनि उत्रिन्थे। उपेन्द्र पर कतै कुनामा चुपचाप। कविको नापजोख, हिसाबकिताब र तुलना गर्नु त कसोरी! बढी से बढी किलोवाटका कवि भने उपेन्द्र नै थिए।
यी शक्तिशाली कविको 'फ्ल्यासब्याक' रोचक छ।
०५२ सालमा पहिलोपटक उपेन्द्रले 'म विद्यार्थी : एक जुवाडे' शीर्षकको कविता लेखेर श्रीरूपरेखा साप्ताहिकमा छपाए। कविता त यस्तो हिट भएछ कि, गाउँगाउँबाट उनलाई चिठी ओइरिन थाले। चिठी– जुवाडेका होइन, विद्यार्थीका। केटाका होइन, केटीका। पत्रव्यवहार गर्दै जाँदा उपेन्द्रलाई एउटी 'डाइहार्ड' भनाउँदी फ्यानले फोटो पठाइदिन भनिछन्। उनले पनि घच्चीको फोटो धुलाएर पठाइदिए। 
परिणाम के भयो– ती युवतीले चिठी लेख्नै छाडिदिइन्।
कवि उपेन्द्रलाई आफ्नो अनुहार निक्कै राम्रो लाग्थेछ। तर त्यसैले धोका दियो। कविताले जोडेको नाता तस्बिरले तोड्यो।
'जे होस्, त्यस बेला कविताको 'पावर' थियो,' सहयोद्धा लेखक राजन उपेन्द्रको काव्यसामर्थ्य (अनुहार होइन) सँग एक सय प्रतिशत विश्वस्त छन्। थप्छन्, 'नत्र कसरी त्यत्तिका चिठी आउँथ्यो!' 
२०४८ सालमा इलाम क्याम्पसमा आइए पढ्न गएका उपेन्द्र त्यसपछि दमक झरे। दमकमा गएपछि एक सम्बन्धमा झ्याम्मिए उनी। 'अब त त्यसबारे भन्नु पनि सायद नमिल्ला,' लिम्बु लवजमा उनी बोल्छन्।
त्यो 'भन्नै नहुने' सम्बन्ध तीन वर्ष चल्यो। जसै नाता टुट्यो, उनी विरक्तिए। रक्सीमा रस बस्यो। मधुमस्त भएर गीत लेखे– 'जीवन आखिर के नै हो र।' दीप श्रेष्ठले गाएको यसै गीतका लागि उपेन्द्रले रेडियो नेपालबाट पुरस्कार जिते। दीप अहिले पनि कन्सर्टमा यो गीत गाइबस्छन्। उपेन्द्रको शब्दको घनत्व थाहा पाइसकेका दीप फेरि अर्को नयाँ गीत माग्न गएछन्। उपेन्द्रलाई साह्रैगरी लाज लाग्यो रे। अनि त के थियो– पन्छिनु, भाग्नुसिवाय। लजालु कविका लागि दोस्रो विकल्प उपलब्ध थिएन। यो उनले लाज मान्दै–मान्दै गरेको दाबी हो।
'सिर्जनशील अराजकता'सँग आबद्ध भएसँगै उपेन्द्रको पहिलो कविताकृति 'डाँडामाथिको घामजून र गड्तीरका राँकेभूतहरू' २०५९ सालमा प्रकाशित भयो। दौलत साम्बा, डम्बर लावती मिलेर पुस्तक छपाइदिए। अहिलेजस्तो व्यावसायिक प्रकाशक त्यस बेला थिएनन्। साझा प्रकाशन र एकेडेमीमा अराजक कविको वर्चस्व हुने कुरो भएन। उपेन्द्रले एउटा भद्र अराजकता देखाइदिए– जजसले उनको कविताकृतिका लागि गोजी निखने, प्रकाशक भनेर तिनका पत्नीको नाम कृतिमा लेखाइदिए। कविताको चुनदाम कति हात पर्थ्यो र त्यसबेला! तैपनि उपेन्द्रले त्यसबेला राम्रै पैसो हात पारेको बताउँछन्।
त्यसको दुई वर्षपछि उपेन्द्रको 'होङ्ग्रायो, भोग र पांग्रा' नामक अर्को कविताकृति छापियो। त्यसपछि झन्डै एक दशक गुप्तवास। फिनिक्सका गौतम राई र कुमार ढकालले नयाँ कृतिका लागि आग्रह गरे। 'खोलाको गीत र पुराना कविताहरू' यसैको परिणति हो। 
अझै पनि कविताको रोडम्याप छैन उपेन्द्रसँग। सपना देखेर कवि भएका पनि होइनन् उनी। अहिलेकै बान्कीका कविता लेखूँला भन्ने पनि कहिल्यै भएन। त्यस्तो के भयो, जसले उनलाई यहाँसम्म ल्याइपुर्याियो? 
'राजनजीले नउक्साएको भए म यसरी लेखिरहन्थें कि छाड्थें यस्सै भन्न सक्दिनँ,' उनी भन्छन्, 'लेख्दा लेख्दै यी कविता बने, अब फरक शैली खोज्छु।' उपेन्द्रलाई शब्दको मितव्ययिता राख्ने बानीले प्रभावशाली कवि बनायो। उनी कविता र गीतमा सीमित छैनन्। उनको कथाकृति यसै वर्ष आउँछ रे। यस वर्ष नआए कहिल्यै आउँदैन रे। आफैंलाई धम्की! 
उपेन्द्रले जति कविता लेखे, प्रायः सबै हिट भए। छोटा तर चोटिला कविता लेख्ने उपेन्द्र आफैं भने कविता कम पढ्ने बताउँछन्। 'खै के भा'को हाव मलाई, कवितामा पटक्कै इन्जोय गर्नु सक्दिनँ,' अंकमा गन्न मिल्ने केही थान दाह्री सुम्सुम्याउँदै उनी बोल्छन्, 'अझै डुब्नु सकेको छुइनँ कवितामा।' 
उनको मेनुमा धेरै कविको नाम छैन पनि। एक, वैरागी काइँला। दुई, कृष्णभुषण बल। तीन, गुमानसिंह चाम्लिङ। यी कविलाई चाहिँ दोहोर्यािई तेहेर्या ई पढेको उनी सुनाउँछन्।
हिजोआज सिनेमाको काममा डटिरहेका छन् उनी। दसैंभित्रमा 'देश खोज्दै जाँदा' शीर्षकको सिनेमा प्रदर्शनमा आउँदै छ। उनले त्यसमा भुटानी शरणार्थीको कथा लेखेका छन्। प्रकाश आङ्देम्बेले निर्देशन गरेका छन्। 'लाटो पहाड' शीर्षकको अर्को सिनेमा पनि प्रदर्शनको तयारीमा छ। केही निर्माताले तीन अरू सिनेमाको स्त्रि्कप्ट लेख्न लगाएछन्। पैसा पनि दिएछन्। सिनेमा अझै बनेको छैन। 
लेखेर बाँच्ने लेखकको सूची तयार गर्दै छन् हिजोआज स्वयं लेखक र पत्रकारहरू। उपेन्द्रले आफ्नो नाम दर्ज गराएका छन् यसमा। लेखेकै भरमा घरखर्च चलाइरहेको उनको भनाइ छ। बिन्दास छन् उपेन्द्र। कवि दौडको दैनिकीमा उनी भेटिँदैनन्। काठमाडौं आएका बेला भृकुटीमण्डप, बागबजार र ताल्छिखेलतिर भेटिन्छन्। 'अरू त थाहा छैन, मेरो स्वभावका कारण घरकाहरूलाई चाहिँ दुःख भयो होला,' उनी भन्छन्, 'बैंसमै अरब गएको भए हुन्थ्यो जस्तो लाग्छ कहिलेकाहीँ। यति साह्रो नगर्नुपर्थ्यो जस्तो लाग्छ।' छिमेकी गाउँ यासोक सुब्जनीकी कल्पना लावतीसँग बिहे गरेका उपेन्द्र अहिले दुई छोरीका बाबु भइसकेका छन्।
अहिलेका कवितासँग सन्तुष्ट छैनन् उनी। 'बढी राजनीतिक छन् अहिलेका कविता,' उनी भन्छन्, 'देश पनि यस्तै कालमा छ। तैपनि जीवन जगतका कुरा नै बढी लेख्नुपर्छ।'
१० गीत रेकर्ड भइसकेका छन् उपेन्द्रका। उनी यतिखेर लिम्बु फिल्म निर्देशन गर्दै छन्। त्यसको नाम जुराइसकेका छैनन्। आफ्नै स्त्रि्कप्ट छ। उनले चाहेको जस्तो फिल्म बनेकै छैन, उनको दाबी छ। 'आफ्नो कन्सेप्ट र कथालाई निर्देशन गर्ने विचार गरेको हुँ,' उनी भन्छन्।
र, निर्माता अहिलेसम्म खोजेका छैनन्। कसो फेला नपर्ला र निर्माता! उनको विश्वासलाई विश्वास गर्नुमा हामी सबैको कल्याण छ।
पहिलोपटक भोट हाल्दै करिश्मा

पहिलोपटक भोट हाल्दै करिश्मा

करिश्मा मानन्धरले अहिलेसम्म भोट हालेकी छैनन्। मतदाता नामावलीमा नाम नभएर होइन। 'मैले अहिलेसम्म भोटको महत्त्व नै बुझिनँ। अहिले बल्ल महसुस गरेकी छु। यसपटक चाहिँ पक्कै भोट हाल्छु,' उनी भन्छिन्, 'राजनीतिक...

मुक्तिनिम्ति ज्यानको बाजी

मुक्तिनिम्ति ज्यानको बाजी

महिलामाथि हुने चरम उत्पीडनले जयपुरी घर्तीलाई राजनीतिमा लाग्न उक्सायो। उनी जहाँ समस्या देख्थिन्, त्यसको समाधान राजनीतिले मात्र गर्न सक्छ भन्ने सोच्थिन्।पुरुषले पाँचवटीसम्म श्रीमती थुपार्थे, उनीहरुलाई कजाएर आफू मालिक बन्न खोज्थे।

जसले महिलालाई हतियार बोक्न सिकाइन्

जसले महिलालाई हतियार बोक्न सिकाइन्

नानी जन्माएकै दिन घाँसदाउरा खेप्ने आमाका कहर देखेरै उनी सानैदेखि समाज र राजनीतिप्रति जिज्ञासु बनिन्। कक्षा ६–७ सम्म पढ्दा उनमा राजनीतिक चेतना पैदा भइसकेको थियो।

स्टेजले उठाएका कलाकार

स्टेजले उठाएका कलाकार

विश्व प्रसिद्ध संगीतकार विथोवेनका छोरालाई एकपटक कसैले सोधेछन्, 'तपाईंलाई कस्तो संगीत मन पर्छ?'उनले खल्तीबाट चानचुन पैसा निकाले र कान नजिक बजाउँदै भने, 'यसको खनखन मन पर्छ।'पछिल्लो समय नेपाली गीत–संगीतको धुनसँगै...

साहित्यको सत्यनिरुपण

साहित्यको सत्यनिरुपण

नेपाली समाजको विविधता साहित्यमा प्रतिविम्बित हुनु स्वभाविक छ। अरु क्षेत्रमा झैं नेपाली साहित्यमा पनि जातिगत क्षेत्रगत विविधता छन्। पछिल्लो पटक सक्रियतापूर्वक विविधताहरूको लेखन क्रम चलिरहेको छ। यो नेपाली समाजभित्रको बृहत्तर...

मेरो पोखरा

मेरो पोखरा

पोखरालाई पोखरेली आँखा लाइहेरआफ्नो धर्ती आकाशको गीत गाइहेरमरेपछि कहाँ खोज्नु स्वर्ग शून्यतामाजिउँदैमा दिव्यताको भाव छाइहेरमाछापुच्छ्रे अन्नपूर्णा हिमालका काखहराएमा मुटु अन्त फेरि पाइहेरप्रकृति र संस्कृतिको स्वच्छ दोभानमाविश्व सारा समेटिई यहीँ आइहेर।

कसले लैजाला गाउँमा दसैं?

बारीका डिलडिलमा उभिएका बोटमा लटरम्म अम्बक पाक्न थाले होलान्। घुरेनको आडका निबुवा र बिमिरा पनि छिप्पिन थाले होलान्। बोटै नुहाएर फलेका अनार र दारिममा पनि त मिठो स्वाद पसिसक्यो होला।यी...

परिवारै आँखीझ्याल कुँद्दै

परिवारै आँखीझ्याल कुँद्दै

हाकुपटासी लगाएकी नेवारी युवती। पुरानो घरको आँखी झ्यालबाट बाटो चियाउँदै। बिहान पुजाआजा गर्ने बत्ति काट्दै। युवतीले बाटोमा हिड्ने युवाहरूलाई नियाल्ने। युवाहरूले पैसाका ढिकाले फ्याट्ट–फ्याट्ट आँखी झ्यालमा बत्ति काट्ने युवतीलाई हिर्काउने।...