Monday 8 Mangshir, 2071 |
Menu

नागरिक शनिबार

पूजा गर्न मात्र होइनन् नयराजका कृति

  • १ भाद्र, २०७०
  • तीर्थबहादुर श्रेष्ठ
  • DISQUS_COMMENTS
(0 votes)
पण्डित नयराज पन्तको १०१ औं जन्म जयन्तीको स्मृतिसभा गत शनिबार नक्सालको 'क्राउन प्लाजा' भन्ने होटलको सभाकक्षामा सम्पन्न भयो। त्यस समारोहको सभापतित्व गर्न न्यायाधीश शेषराज सिवाकोटीले मलाई आग्रह गर्नुभएको थियो।

 
प्रत्येक वर्ष साउन २६ गते ज्ञानगुन साहित्य प्रतिष्ठान, ज्ञानगुन प्रकाशन एवं नयराज पन्त शोध सम्मान कोषले एउटा विशिष्ट खालको स्मृतिसभा आयोजना गर्ने गरेको छ। त्यहाँ नेपालका वरिष्ठ वरिष्ठ इतिहासविद्, ज्योतिर्विद्, गणितज्ञ तथा संस्कृतज्ञहरू जम्मा हुन्छन्। पण्डित नयराज पन्तको व्यक्तित्व एवं कृतित्वमा प्रकाश पारिन्छ। विद्वान एवं विदुषीहरूलाई सम्मान गरिन्छ। त्यसका साथमा ज्ञानगुन प्रकाशनका नयाँ अंकहरूको विमोचन हुन्छ र अरू गहकिला पुस्तकहरू पनि लोकार्पण गरिन्छन्। एक प्रकारले साउनको झरीमा पुस्तकको वर्षा हुन्छ।

पण्डित नयराज पन्त विद्यामा समर्पित व्यक्ति थिए। 'डेडिकेसन' अर्थात् समर्पण उहाँको पर्याय हो। हो, नयराज र उहाँका देनप्रति समर्पित व्यक्तिहरूको जमघट हुने दिन साउन २६ गते हो। त्यसको मियोका रूपमा ज्ञानगुन साहित्य प्रतिष्ठानका अध्यक्ष शेषराज सिवाकाटी प्रत्यक्ष हुनुहुन्छ भने ऊर्जाका रूपमा हामी विद्वान रुक्मनाथ पौडेललाई पाउँछौं।

पण्डित नयराजसँग मेरो सम्बन्ध संयोगै संयोगको यथार्थ मात्र हो। इतिहास, गणित, ज्योतिष वा संस्कृत कुनै विषयले मलाई नयराज पन्तसम्म पुग्ने ढोका खोल्दैन। मैले वनस्पतिशास्त्र पढेँ। वन, वनस्पति र प्रकृतिको संरक्षण, सम्वर्द्धन तथा विकासको बाटोमा आफूलाई डोर्‍याउन चाहेँ। समय र परिस्थितिका संयोगले नेपालका विशिष्ट विद्वान तथा विख्यात इतिहासविद्, ज्योतिर्विद्, प्रसिद्ध गणितज्ञ र संस्कृतज्ञ पण्डित नयराजको सामिप्यमा पर्दै आएको हुँ। ज्ञान–विज्ञान एवं प्राज्ञिक क्षेत्रमा एक महान् आदर्शका रूपमा गुरु नयराजलाई नमन गर्दै यहाँसम्म आइपुगेको हुँ।

१९७० सालको साउनेझरीसँगै यस धर्तीमा पण्डित नयराज पन्त महाबौद्ध टोलको जुन घर र जुन कोठामा अवतरण हुनुभयो, त्यहीँ मेरो जन्म भयो, त्यसको २४ वर्षपछि, १९९४ असोज ६ गते। यो कुरा मैले २००९ सालमा मात्र मेरो बुवा खर्दार लोकबहादुर श्रेष्ठबाट थाहा पाएँ। त्यतिबेला उहाँहरू कोठा भाडामा बस्नुभएको थियो होला।

वीर अस्पतालको पश्चिममा महाबौद्ध बहाल छ। ठूलो बौद्ध चैत्य पनि छ। त्यही चैत्यको ठिक पश्चिममा हाम्रो घर थियो। ब्लक नम्बर १०/४३९। घरबाहिर बाटोसम्म कौसी निकालिएको थियो। त्यहाँ स्कुलको पाठ पढ्न बस्दा कौसी मुनिबाट पण्डितज्यू मसाँ गल्लीको आफ्नो पाठशाला जानुहुन्थ्यो। महाबौद्ध टोल र वरपरका मानिसको शवलाई विष्णुमति कर्णदिपको मसानमा लाने बाटो भएकाले त्यस गल्लीको नामै मसान गल्ली पर्न गएको हुनुपर्छ। त्यहाँ बज्राचार्यहरूको ठूलो चोक र ठूलो बारी थियो। पियुष वर्ष औषधालयको त्यहीँ स्थापना भएको हो। त्यहीँ पण्डित नयराजको गुरुकुल पनि स्थापित थियो। महाबौद्ध टोलमा आवतजावत गर्ने अरू मानिसभन्दा गुरु नयराज बेग्लै देखिनुहुन्थ्यो। अलग्गै छुट्टिने। कोहीसँग नबोल्ने। गम्भीर स्वभाव। उज्यालो चेहरा। निधारमा श्रीखण्डको ठूलो टीका। टाउकोमा दमाईले सिएको टोपी। मुन्टो सधैं माथि आकासतिर फर्काएर हिँड्ने। बिल्कुल पृथक स्वभावका। बुवा भन्ने गर्नुहुन्थ्यो– संस्कृतका विद्वान गुरु हुन्, पण्डित हुन्।

हाम्रो घरमा पनि टोलछिमेकका ४०/५० जना केटाहरू मेरा दाइ भक्तबहादुरसँग पढ्न आउँथे। उहाँले मेटि्रक पास गरेपछि मेरो घर अंग्रेजीबाजको घर भयो। उहाँ बुवाको पहिलो पत्नीबाट जन्मेका माहिला छोरा हुनुहुन्थ्यो। विसं २००८/०९ तिर हृदयाघातले उहाँको अकस्मात् निधन भयो। र, मेरो एसएलसी परीक्षा पनि बिग्रियो। म संस्कृत विषयमा उत्तीर्ण हुन सकिनँ।

बुवाले विह्वल मनस्थितिमा मलाई पण्डित नयराजको घर सबलबहालमा लिएर जानुभयो। गुरुकुलका लागि विद्यार्थी पाएँ भनी पहिले त गुरु दंग पर्नुभयो। जब एसएलसीको प्रसंग चल्यो, उहाँ रातोपिरो हुनुभयो। 'अंग्रेजी पढ्नेलाई पढाउन्न' भन्दै हामीलाई बाहिर जाने बाटो देखाइदिनुभयो। खिन्न भएर घर पुगेका बुवाले भन्नुभयो, 'यही घरमा यहीँ जन्मेका मान्छेले पनि त्यस्तो व्यवहार गर्ने!'

हामी निकै दुःखी भयौं।

विसं २००९ र २०१० मेरा लागि चुनौतीका वर्ष थिए। उता गुरु नयराज र उहाँका विद्यार्थीका लागि अझ ठूलो चुनौतीको बेला थियो, इतिहास–संशोधनको प्रकाशन र वितरणका कारण।

धनबज्र बज्राचार्यसँग मेरो चिनजान थियो, टोले दाइ भएकाले। दस सालतिरको कुरा हुँदो हो। डिल्लीरमणविरुद्ध चिच्याएर नारा लगाउँदै दोलाई ओढेर भोंसिको र नयाँसडक ओहोरदोहोर गरेको देखेँ। इतिहास–संशोधनको पत्र बेच्न हिँडेका रहेछन्। डिल्लीरमण पनि भोंसिकोतिरै बस्ने ठूला नेता थिए। उनी शिक्षामन्त्री हुँदा त्रिचन्द्र कलेजमा विज्ञान कक्षलाई दोब्बर क्षमताको बनाइदिए। त्यसैले, मलाई २०११ सालताका विज्ञानमा भर्ना पाउन गाह्रो भएन। र, म विज्ञान शिक्षामा अघि बढेँ।

म दरबार हाई स्कुलको विद्यार्थी। त्यहाँ माथिल्लो तलामा हाई स्कुलको पढाइ हुन्थ्यो। अंग्रेजी विद्या पद्धति। त्यस भवनको तल्लो तलामा संस्कृतका छात्रहरू हुन्थे। हामी बेन्चमा बसेर पढ्ने, उनीहरू चकटी र सुकुलमा। दुईखाले छात्रहरूको कहिल्यै आपसमा भेटघाट र मेलमिलाप भएन। आ–आफ्नै संसारमा बेग्लाबेग्लै जीउँथ्यौं। बाँच्थ्यौं।

पण्डित नयराज पन्त र म दुईविपरीत दिशा हिँडेका यात्री थियौं। मेरो जन्म वर्ष १९९४ सालमा उहाँ काशी विश्वविद्यालयबाट गणित ज्योतिषको आचार्य परीक्षाबाट दीक्षित व्यक्तित्व हुनुहुन्थ्यो। उता काशी विश्वविद्यालयको विपरीत धु्रवमा स्थापित अलिगढ मुस्लिम युनिभर्सिटीबाट वनस्पतिशास्त्रमा एमएस्सी परीक्षाबाट २०१९ सालमा दीक्षित भएर आएको व्यक्ति म परेँ। यी दुवै विश्वविद्यालय सन् १९१३–१९१४ ताका आपसी होडबाजीमा स्थापना भएका थिए। सन् १९१३ गुरुको जन्म साल पनि हो। त्यसमा अर्को संयोग पनि जोड्न चाहन्छु। मेरी आमा दुर्गालक्ष्मीको जन्म वर्ष पनि १९७० (सन् १९१३) नै हो। मेरी आमा एक महिनाले कान्छी पर्नुभयो। उहाँको जन्मदिन भदौ ३१ गते पर्न आउँछ। गत असार १८ गते उहाँ ९९ वर्ष ९ महिना र ९ दिन पूरा गरेर दिव्य रथारोहण (चौथो पास्नी) को भागी हुनुभएको थियो।

गत शनिबार नयराज स्मृति दिवसको बिहान सदाझैं आमालाई दूध र बिस्कुट दिन बसेँ। 'तिमीले खायौं' भनेर सोध्नुभयो। दूध खाएपछि सरस्वती वन्दना सुनाउन आग्रह गरेँ। विस्तारै प्रस्टसँग सुनाउनुभयो। गुरु नयराजलाई पनि सम्भि्कबसेँ। उहाँ पनि जीवित हुँदो हो त आज दिनेशराज पन्तजीले पनि यस्तै सेवा गरी बस्दो हो। फरक यतिमात्र हो कि, हामी नेपाली भाषामा कुरा गर्ने, उहाँहरू संस्कृत भाषामा। त्यसअतिरिक्त यता मलाई आमाले पाठ सुनाउनुपर्ने, उता छोराले बुवालाई पाठ सुनाउनुपर्ने।

दैवको लीला २०५९ कात्तिक १८ गतेबाट त्यो संयोग टुट्न गयो। आफ्ना हरेक प्राप्ति, सुख, दुःख, वेग र आवेग समेत 'पूर्णिमा पत्रिका' लाई समर्पण गर्दै आउनुभएका गुरुले हामीलाई साँझ ६ बजेर २५ मिनेट जाँदाजाँदै औंसीको अँध्यारोमा छाडेर जानुभयो।

लक्ष्मीपूजाको साँझ म सानेपामा झिलिमिली बत्ती जोड्दै थिएँ। त्यस साँझ बिजुली आउँदै आएन सानेपामा। रात अँध्यारो नै रह्यो। बिहानी झन् अँध्यारो भयो। गुरुको देहावसानको समाचार जो कानमा ठोकिन आयो।

विसं २००९ बाट ३७ वर्षको अन्तरालपछि पण्डित नयराज र मेरो अनायास भेट भयो, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान नामक एक चौतारीमा, जहाँ विभिन्न दिशाबाट उक्लेर आउने यात्रीहरूको भेट हुन्छ। २०३६ साल वैशाख १ गतेको गठन अनुसार ९ जना प्राज्ञ परिषद् सदस्यमध्ये विजयबहादुर मल्ल तथा पण्डित नयराजबाहेक अरूसँग मेरो भेट त्यसपूर्व कहिल्यै भएको थिएन। कुलपति लैनसिंह वाङ्देललाई सानेपामा मास्कोविच कार चढेको देख्थेँ। कलाकार भन्ने थाहा थियो। उपकुलपति माधव घिमिरेलाई 'गाउँछ गीत नेपाली ...' भन्ने गीतका रचयिता कविका रूपमा चिनेको थिएँ। त्यस्तै, भूपि शेरचन घुम्ने मेचमा अन्धो मान्छे देख्ने कवि हुन् भन्ने ज्ञान थियो। बालकृष्ण पोखरेललाई झर्रो नेपालीका प्रवर्द्धक भन्थे साथीहरू। ढुण्डिराज भण्डारीका बारेमा धेरै थाहा थिएन। आफूलाई 'हंस मध्ये बको यथा' भएझैं लाग्न थाल्यो। तर, त्यसो भएन।

श्रीखण्डको संगतले बञ्चरो पनि बास आउने हुन्छ भन्ने कुराको पूर्ण अनुभव भयो, प्रज्ञा प्रतिष्ठानको दस वर्ष। त्यसमा गुरु नयराजसँगका केही प्रसंग सम्झने चेष्टामा छु।

प्राज्ञ परिषद् सदस्यहरूमा गुरु सबैभन्दा जेठा (६६ वर्ष) र म सबैभन्दा कान्छो (४२ वर्ष) उमेरका थियौं। गुरुको अनुभव लामो, अध्ययन धेरै र थुप्रै अधुरा काम टुंग्याउने ध्येयले प्रज्ञा प्रतिष्ठानको कार्यक्रम चलाउन थाल्नुभयो। पण्डित गोपाल पाँडे र उनको घनमूल ल्याउने रीति तथा प्राचीन गणित र नवीन गणितको तुलनामा कस्सिएर लाग्नुभयो। दैवज्ञशिरोमणि लक्ष्मीपति पाँडेको धूपधडी विषयमा पनि उहाँले गहिरिएर अध्ययन र अनुसन्धान गर्न थालेको ज्ञात भयो। तिनका साथमा लिच्छवि सम्बत्को निर्णयलाई लिएर बृहत् अध्ययन अनुसन्धानमा डुब्नुभयो। यी सबै अध्ययन र अनुसन्धान ज्यादै वैज्ञानिक पद्धतिमा चल्ने गरेको मेरो चेतनामा खुल्न गएको थियो। त्यस्तो हुँदा प्राज्ञ परिषद्का बैठकहरूमा गुरुलाई सघाउनु मेरो सौभाग्य बन्दै गयो। उहाँले अरूको योजना र कार्यक्रममा कुनै बाधा विरोध वा तर्क/वितर्क गर्नुभएको मलाई सम्झना छैन।

मैले प्रज्ञा प्रतिष्ठानको रजत जयन्तीमा विज्ञान प्रदर्शनी गर्ने कार्यक्रम राखेको थिएँ। त्यस प्रदर्शनीमा गुरुका तर्फबाट प्राचीन गणित र नवीन गणितको तुलनासम्बन्धी अनुसन्धानलाई टेवा दिन बनाइएका मोडल र खगोलशास्त्रलाई उजागर गर्ने विभिन्न मोडल तयार गरी प्रदर्शनीमा राखिदिनुभयो। त्यसअतिरिक्त श्री ५ रणबहादुर शाहको पालामा बनेको समय, घडी र पला पत्ता लगाउने यन्त्रहरू पनि प्रदर्शित भयो। सोही प्रदर्शनीमा गेहेन्द्र शमशेरले बनाएको 'वीर गन' ले पनि निकै प्रशंसा पाएको थियो। विसं २०३९ असार ९ गतेदेखि १९ गतेसम्म १० दिनमा असंख्य दर्शकले त्यो प्रदर्शनी अवलोकन गरेका थिए। तत्कालीन राजा वीरेन्द्रबाट गुरु नयराजले प्रस्तुत गरेका मोडलप्रति विशेष रुचि देखाएको पनि सम्झना हुन्छ।

प्रज्ञा प्रतिष्ठानमा रहँदा बस्दा गुरु नयराज पन्तलाई जति जानेबुझेँ, त्योभन्दा बढी उहाँलाई बु‰ने अवसर ज्ञानगुन प्रकाशन र ज्ञानगुन साहित्य प्रतिष्ठानले प्रदान गर्दैछ। उहाँका व्यक्तित्व र कृतित्व, उहाँको स्वभाव र प्रकृति, उहाँका ज्ञान र उपदेश आदि विषयमा सयौं निबन्ध तथा लेख प्रकाशनमा ल्याउने काम भएको छ, तर उहाँको वैज्ञानिक आयामतिर हात हाल्ने जमर्को भएको छैन। निश्चय पनि उहाँ एक उच्चकोटीका वैज्ञानिक हुनुहुन्छ। त्यो पाटो हामीले पल्टाउन सकेका छैनौं।

गुरु नयराजको अनुसन्धानले उजागर नगरेको भए पण्डित गोपाल पाँडे र पण्डित लक्ष्मीपति पाँडेलाई 'नेपालका पुराना वैज्ञानिक र प्राविधिज्ञ' नामक पुस्तकले स्थान दिने थिएन। प्राध्यापक डा. छविलाल गजुरेल तथा श्री करुणाकर वैद्यको वर्षौंको प्रयासमा नेपालको लगभग सात सय वर्षको अन्तराल (अरनिकोदेखि इकराम मुल्ला) मा मात्र ९ जना वैज्ञानिक एवं प्राविधिक फेला पर्न गयो। यस्तो किन भयो वा किन हुन्छ भन्ने विषयमा गुरु नयराजसँग धेरैपल्ट मेरो कुराकानी भएको छ।

उहाँ बारम्बार भन्नुहुन्थ्यो, युरोपतिर पहिले विद्याको क्रान्ति आयो, शिक्षाको क्रान्ति भयो र त्यसपछि मात्र राजनीतिक क्रान्ति आयो। हामीकहाँ राजनीतिक क्रान्ति पहिले आयो, शिक्षा वा विद्याको क्रान्ति हुन सकेको छैन। हामीकहाँ विद्याको क्रान्ति र विद्वान्को कदर हुन सकेको छैन। विदेशीको विद्यामा हामी डोरिएका छौं। विदेशीको लहैलहैमा हाम्रो भूगोल रचिन्छ, इतिहास रचिन्छ।

उहाँ भन्नुहुन्थ्यो, नेपाली जवानले धेरैपल्ट अंग्रेजी फौजलाई हराएर लखेटेको इतिहास छ। तर, ती वीर योद्धा को थिए भन्ने कहीँ नामनिसान छैन। अंग्रेजहरूसँग हारेको युद्धमा लडेकाहरू आज नेपालका वीर कहलिन्छन्, जस्तै बलभद्र। किनभने, इतिहास अंग्रेजले लेखिदिए र हामी पढ्यौं।

अरनिकोलाई चीनले चिनाइदियो र राष्ट्रिय विभूतिका रूपमा हामीले सकार्‍यौं। इतिहासले स्थान नदिएका धार्मिक पात्रहरू राजा जनक र सीतालाई पनि राष्ट्रिय विभूति बनायौं। कालगतिले स्विट्जरल्यान्डमा प्राण त्याग्ने राजा त्रिभुवन पनि सहिदमा दर्ता भए।

इतिहासको गणित र विज्ञान गुरुको प्रिय वस्तु रहेको कुरा नयराजका कृतिहरू विशेषगरी लिच्छवि सम्बत्को निर्णयको सन्दर्भमा धेरै नै प्रस्ट हुन्छ। प्रश्न र परीक्षाबाट विद्या र शिक्षाको प्रगति हुन्छ भन्ने हेक्का पाएको हुँ मैले गुरुबाट। तिनलाई आत्मसात् गरी गत शनिबार मैले सभापतिको मन्तव्यमा उठाएका केही कुरा यहाँ प्रस्तुत गर्न चाहन्छु।

धरहरा कसले बनायो भन्ने प्रश्नको उत्तरमा भीमसेन थापा अगाडि उभिन्छ। रानीपोखरीको सवालमा प्रताप मल्ल प्रकट हुन्छ। कसले बनायो स्वयम्भू चैत्य, बौद्धनाथ चैत्य, पशुपतिनाथ मन्दिर, चाँगुनारायण मन्दिर, बुढानिलकण्ठको मूर्ति, पलाञ्चोक भगवतीको मूर्ति वा लुम्बिनीको अशोक स्तम्भ? कहाँ गए ती वैज्ञानिक, प्राविधिक, शिल्पकार वा कालिगढहरू? यस्तै प्रसंगमा भारतको ताजमहल कसले बनायो भन्ने प्रश्न उठ्दा त्यहाँको चिहानबाट शाहजहाँ उठेर आउँछ। गुरु नयराजको विद्रोही स्वभावलाई स्मरण गराउने खालको कविता उर्दू शायर साहिर लुध्यानवीले ताज महलको बारेमा कोरेको पंक्ति यहाँ स्मरणयोग्य छ।

मेरी महबुब! उन्हे भी तो मुहब्बत होगी
जिनकी सन्नाई ने बख्शी है इसे शक्ले–जमिल
उनके प्यारोंके मकाबिर रहे बे–नामो–नमूद
आजतक उनपे मलाई न किसिने क दिल
मेरी महबुब कहीँ और मिलाकर मुझसे!

(भावानुवाद व्याख्या :  मेरी प्रियसी! ती शिल्पी, ती कालिगढ, ती कलाकार जसले ताजमहललाई यो उत्कृष्ट रूपमा अवतरण गराए, तिनका पनि त मायापिरती र प्रियसी होलान्। तिनका प्यारको अवशेषको कतै नामनिसान छैन। उनीहरूका लागि आजसम्म कसैले एउटा बत्तीसम्म बालेको छैन। मेरी प्रियसी कहीँ अन्तै भेटौं न!)

निष्कर्षमा साहिर लेख्छन् :

ये चमनजार, ये जमनाका किनारा, ये महल
ये मुनक्कश दरो दिवार, ये मेहराव, ये ताक
इक शहनशाहने दौलतका सहारा लेकर
हम गरिबोंके मुहब्बतका उडाया है मजाक
मेरी महबुब कहीँ और मिलाकर मुझसे!

(भावानुवाद व्याख्या :  यो बगैंचा, यो जमुना नदीको किनार र यो महल, यी कलात्मक ‰यालढोका, खोपा र खोपीहरू एकजना शहनशाहले आफ्नो धनसम्पत्तिको सहारा लिएर हामीजस्ता गरिबहरूको प्रेमको मजाक उडाएको छ। मेरी प्रियसी कहीँ अन्तै भेटौं न!)

गुरु नयराज पनि विद्रोही स्वभावको हुनुहुन्थ्यो। सवाल उठाउने व्यक्ति हुनुहुन्थ्यो। परीक्षा गर्ने र प्रमाण भेट्टाउने व्यक्ति हुनुहुन्थ्यो। आफ्ना विचार र आफ्ना यन्त र प्रयन्तका सबै विवरण कवितामा ढाल्ने सफल एवं सबल कवि पनि हुनुहुन्थ्यो। तर, पण्डित नयराजका कविता र कवित्वबारे उति चर्चा सुन्नमा आएको छैन।

गुरुकहाँ कुनै कुरा लिएर गयौं भने पहिले उहाँ आँखा चिम्लेर श्लोक भन्नुहुन्थ्यो। आफ्नै श्लोक वा अरू कविका श्लोक। श्लोकका सूक्ति र सूत्र भेट्नुहुन्थ्यो। त्यहाँबाट थालेको कुरा निष्कर्षमा टुंग्याउनुहुन्थ्यो। त्यो गुरुको स्वभाव थियो। विशेषता थियो।

एउटा घटना सम्झन्छु। गाईजात्राको समय थियो। मलाई थाहा पाउन मन लाग्यो गुरुबाट त्यसको इतिहास। पृथ्वीनारायण शाहका सिपाहीहरूले काठमाडौंमा गाईजात्रा निकालेको देखेछन्। यो के गरेको भनी सोध्दा त्यसबेलाका नेवारहरूले 'भाय् मसिया, भाय् मसिया' अर्थात् 'भाषा बु‰दैनौं' भनेछन्। त्यो नेवारी शब्द गुरुको एउटा श्लोकबाट उद्धृत भयो र भन्नुभयो, गाईजात्रा प्रारम्भको तिथिमिति यकिन भएको छैन। खोजी गर्नुपर्छ।

यस्तै अर्को प्रसंगमा बुद्ध जयन्तीको कुरा चल्यो। गुरुले भन्नुभयो, श्रीलंकाका बौद्धहरूले वैशाख पूर्णिमालाई बुद्ध जयन्ती मान्छन्, तर धेरै पहिले नेपालमा नेपाल सम्बत् 'न्हुँ दँ' को दिन बुद्ध जयन्ती मान्ने गरेको 'जस्तो लाग्छ', तर अध्ययन भएको छैन र प्रमाण जुटेको छैन। त्यो पाटोको अनुसन्धानमा लाग्ने उमेर छैन भनेर उहाँले भन्नुभयो। अरू कसैले लाग्नुपर्ने कुुरामा जोड दिन थाल्नुभयो।

उहाँ इतिहाससँग जुध्ने र वर्तमानसँग बाँच्ने व्यक्ति हुनुहुन्थ्यो। लिच्छवि सम्बत्को निर्णय पुस्तक प्रकाशनको बेला उहाँले सुनाएको कविता उक्त पुस्तकको पृष्ठ ५७७ मा छापिएको छ। त्यो यहाँ उद्धृत गर्छु :

दाह्री स्वेत भयो, बहत्तर पुगेँ, भो देह क्यै दुर्बल,
आँखा कान दुवै गले, स्मृति भने ताजै छ मेरो अझ।
ऐंले पाणिनि–भास्कर–प्रभृतिका सूत्रार्थ सम्भि्ककन,
गर्दैछु श्रम यो कडा लगधका सूत्रार्थ बु‰ना कन।।

अन्त्यमा,
पण्डित नयराज पन्त एवं उहाँका सिर्जना, योगदान र कृतिहरू प्रशंसाका फूल बाँधेर पूजा गर्ने निर्जीव मूर्तिहरू हैनन्। तिनको अध्ययन गर्नु, परीक्षा गर्नु र बदलिँदो परिस्थितिसँग आत्मसात् गरेर त्यो विद्या, त्यो ज्ञान र ती प्रविधिलाई अझ अगाडि लाने जमर्कोमा लाग्ने जवानहरू खडा गर्नु आजको आवश्यकता हो।

विद्यार्थी, विद्यालय, महाविद्यालय तथा विश्वविद्यालयहरू पनि बौद्धिक क्रान्तिमा हैन, राजनीतिक क्रान्तिमा होमिबसेको अवस्थामा क्रान्तिकारी नयराजहरू शिक्षा र विद्याको क्षेत्रमा जन्मनुपरेको टड्कारो छ।

ज्योतिको स्वरूप पण्डित नयराज पन्तलाई श्रद्धाञ्जली अर्पण गर्दा वा स्मरण गर्दा अरू व्यक्ति, संस्था वा समुदायलाई आक्षेप लगाउनु वा होच्याउनु तुच्छ कर्म हुन्छ। उहाँले हासिल गरेको उचाइमा उचाइ थप्नु हाम्रो काम हो। त्यो कसरी सम्भव हुन्छ भन्नुपर्दा नेपाल (राजकीय) प्रज्ञा प्रतिष्ठानबाट उहाँले प्रकाशित गर्नुभएका ग्रन्थहरूमा तत्कालीन उपकुलपति कवि माधवप्रसाद घिमिरेका प्रकाशकीयहरू पढ्दा अझ स्पष्ट हुन्छ।
अन्तर्द्वन्द्व

अन्तर्द्वन्द्व

'तपाईं यो बच्चाकी आमा?'एउटा नियमित प्रश्न। कसैसँग केही अन्तरंग हुँदा एक वा दुई संवाद साट्नेबित्तिकै ममाथि आइपर्ने प्रश्न। यस्तो प्रश्न– अलिकति स्पष्टीकरणको मौकाका लागि मिठास अनुभव गर्दछु भने उतिखेरै त्यो...

एउटा नयराज पन्त नजन्मेको भए ...

एउटा नयराज पन्त नजन्मेको भए ...

'शब्द नाउँ भएको यस ज्योतिले संसारभरि प्रकाश नगर्ने हो भने पूरापूर तीनै लोकमा निस्पट्ट अन्धकार हुने थियो' भनी प्रसिद्ध अलंकारशास्त्री दण्डीले आफ्नो काव्यादर्शमा लेखेको परम्परामा एउटा नयराज पन्त नजन्मेको भए...

परिवारै आँखीझ्याल कुँद्दै

परिवारै आँखीझ्याल कुँद्दै

हाकुपटासी लगाएकी नेवारी युवती। पुरानो घरको आँखी झ्यालबाट बाटो चियाउँदै। बिहान पुजाआजा गर्ने बत्ति काट्दै। युवतीले बाटोमा हिड्ने युवाहरूलाई नियाल्ने। युवाहरूले पैसाका ढिकाले फ्याट्ट–फ्याट्ट आँखी झ्यालमा बत्ति काट्ने युवतीलाई हिर्काउने।...

पर्यटन गोरेटोमा बैतडी

पर्यटन गोरेटोमा बैतडी

नमस्ते खीर बाजे! कैलालीको अत्तरियाबाट डडेल्धुरा उकालिँदा बाटोमा साहुँखर्क भन्ने ठाउँ आउँछ। खीर र दहीका लागि प्रख्यात ठाउँ। भीमदत्त राजमार्ग ओहोर–दोहोर गर्नेहरू त्यहीँ खाजा खान्छन्।हामी पनि ७ वैशाख ०७१ का...

हुर्काउँदै फुटबलर

हुर्काउँदै फुटबलर

पोखराको अन्तिम दक्षिण कुनोमा पर्छ, दोबिल्ला। यहाँ फुस्रे खोला सेती नदीमा मिसिन्छ, अनि दुवै एक भएर बग्छन्। त्यसपछि कुन पानी सेतीको, कुन फुस्रेको छुट्याउन सकिन्न।त्यही दोबिल्लामा छ, सहारा एकेडेमी, जहाँ...

विप्लवी हस्ताक्षर

कवि विप्लव ढकाल समसामयिक नेपाली कविता धाराका एक विप्लवी हस्ताक्षर हुन्। उनी तत्कालीन निर्दलीयताको विकल्पमा बहुदलीयता कायम गर्न तल्लीन नेपाली समाजको भ्रुण भएकाले होला, उनका कवितामा कुनै न कुनै रूपमा...

एक क्रोनिक दार्शनिक

एक क्रोनिक दार्शनिक

हरेक वर्ष वसन्त ऋतुले पालुवा हालेपछि राजधानीका सडकभरि नीलो शिरीष फूल्छन् जसै, एक महान् स्रष्टाको सम्झना हुन्छ। ती हुन्, पारिजात। आफ्नै स्वतन्त्रताको फाँटभरि छताछुल्ल पोखिने, अप्ठ्यारो टाकुरामा पुगेर पनि आफ्नै...

डीभीले निम्त्याएका क्षण

कुनै महिला कसरी एक पुरुषका अघि कमजोर बन्न बाध्य हुन्छे? सिर्जना शर्माको उपन्यास ‘गोल्डेन गेट' की मुख्य पात्र ‘महिमा' को कथा पढ्दा यस्ता अनेकौं जवाफ पाउन सकिन्छ।