Thursday 2 Ashwin, 2071 |
Menu

नागरिक शनिबार

इतिहास साधक पितापथमा

  • १ भाद्र, २०७०
  • सन्तोष रिमाल
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं– घरमा ठ्याक्कै कति पुस्तक छन्, उनीहरूले हिसाब निकालेका छैनन्। इतिहास अन्वेषक स्वर्गीय नयराज पन्तका दुई छोराको दैनिकी बाबुले जम्मा परेका तिनै पुस्तक र अभिलेखको अध्ययन, प्रकाशन र व्यवस्थापनमा बित्छ।
पण्डित नयराजकै अगुवाइमा २००४ सालमै अनौपचारिक रूपले स्थापना भएको 'संशोधन–मण्डल' ले ६६ वर्षे इतिहास बनाएको छ। त्यसलाई बचाउँदै त्यहाँ संग्रहृत दुर्लभ इतिहासमा डुब्नु उनका दुई छोरा जेठा महेशराज र कान्छा दिनेशराजको नित्यकर्म बनेको छ।
अधिकांश समय उनीहरू तिनै पुराना चिजबिजसँग भुल्छन्, बाँकी समय जिज्ञासुहरूलाई 'ज्ञान बाँडेर' बिताउँछन्। महेशराजको छाउनीस्थित पाँचतले घरको फराकिलो साढे दुई तला किताबले भरिएको छ। कान्छा दिनेशराजको धुम्बाराहीस्थित घरको भुइँतला पनि पुस्तकलाई नै पुगेको छैन। उनले किताबलाई ओसबाट जोगाउन र फराकिलो ठाउँमा व्यवस्थापन गर्न आडैमा नयाँ घर ठड्याइरहेका छन्।
दुई भाइको घर अटेसमटेस पार्नेगरी यी पुस्तक चारतिरका स्रोतबाट बटुलिएका हुन्। 'बुबाको मावलीतिरका हजुर'बा (पण्डित भुवननाथ पाँडे) का जिजु'बा (लक्ष्मीपति पाँडे) ले विसं १८१५ देखि १८८८ सम्म जम्मा पार्नुभएका ३२ खण्ड अभिलेखमध्ये एक खण्ड यहाँ छ। बबाले जम्मा पार्नुभएको, संशोधन मण्डलले तयार पारेको र हामी दाजुभाइले जुटाएका सामग्री पनि छन्,' संशोधन मण्डलको अफिससमेत रहेको आफ्नो घर घुमाउँदै महेश अर्थ्याउँछन्।
संशोधन मण्डलको परिचय संस्था आफैंले दिएको छ– 'नेपालको इतिहास र संस्कृतिको खोजी गर्ने संस्था।'
यसको स्थापना गुरुकुल शिक्षा पद्धतिबाट पढाइ हुने पाठशालाका रूपमा भएको थियो जहाँ प्राचीन व्याकरण अष्टाध्यायीको पढाइ हुन्थ्यो। नेपाली इतिहास र संस्कृति अध्ययन गर्ने हो भने संस्कृत भाषा शिक्षा पढाउनुपर्छ भन्ने नयराजको जोड थियो। तर, यहाँको शिक्षा पद्धति दरबार हाइस्कुलको नियमित पढाइभन्दा फरक भएकाले सर्वसाधारणको आकर्षण गुमाउँदै गयो। गुरुकुलमा पढेर जागिर खान गाह्रो भयो भन्ने सोचले हुनसक्छ, विद्यार्थी घट्न थाले।
त्यसपछि गुरुकुलकै शिक्षक र विद्यार्थीलाई समेटेर नयराजले 'नेपालको इतिहासमा विदेशी अन्वेषकहरूको आधिपत्य तोडेर आफैं अनुसन्धान गर्ने' बिँडो उठाए।
२०१८ सालमा आएर नयराजको यो प्रयासले संस्थागत रूप लियो।
र, नाम रह्यो– संशोधन मण्डल, जसको अर्थ 'इतिहासलाई संशोधित रूपमा प्रस्तुत गर्ने हो' भनी महेशराज प्रस्ट्याउँछन्।
इतिहास विधामा सबैले गुरु मानेका उनै नयराजको १ सय १ औं जन्म जयन्ती गत शनिबार सम्पन्न भयो।
...

'अन्वेषण नगर्ने हो भने अब सिद्धान्तज्यौतिष पढेर विशेष काम छैन।'
सिद्धान्तज्यौतिष पढ्न काशी पुगेका नयराज पन्तलाई गुरु पद्माकर द्विवेदीको कुराले प्रभावित तुल्यायो। पन्तले आफ्नो पुस्तक 'लिच्छविसंवत्को निर्णय'मा लेखेका छन्, 'सिद्धान्तज्यौतिष पढेको हुनाले त्यसैतिर अन्वेषण गर्ने मेरो इच्छा भयो। तर त्यस विषयमा काम गर्न मेरो लेखा असम्भवप्रायः भयो।'
गणित विषयका निबन्ध लेखेर लगातार छपाउनधरी असमर्थ भएपछि उनी इतिहास अन्वेषणतिर लागे। घरमा नेवारी लिपिमा लेखिएको महाभारतको विराटपर्व थियो। पढे। नेवारी लिपि पढ्न सक्ने भए। देव मन्दिरका शिलालेख खोजी खोजी पढ्न थाले। 'काठमाडौं सहरका धेरैजसो भाग, पाटन र कीर्तिपुर सहरका त्यसभन्दा कम भाग र भादगाउँ सहरका ज्यादै थोरै भागका शिलापत्र पढ्न म समर्थ भएँ,' २०४४ मा मदन पुरस्कारप्राप्त आफ्नो उक्त किताबमा नयराजले लेखेका छन्– 'नेपालका इतिहासमा थुप्रै अशुद्धि देख्न थालेँ।'
सिद्धान्त ज्यौतिष पढ्न गएका पन्तले जब प्रश्नपत्र नै अशुद्ध देखे, उनले ठाने, 'इतिहासको अन्वेषण नगरी सही तथ्य प्राप्त गर्न सकिँदैन।'
इतिहास अनुसन्धान गर्नुपर्छ भन्ने जागरणलाई व्यवहारमा उतार्न प्रश्नपत्रमा देखिएको अशुद्धिले उनलाई झनै अग्रसर तुल्यायो। एक्लैले शिलापत्र खोज्न, पढ्न र तिनलाई प्रकाशन गराउन कठिनाइ देखेपछि उनले आफ्नो संगतमा आएकालाई सोही काममा प्रवृत्त गराउन थाले।
'२००७ सालको परिवर्तनपछि ब्रह्माचर्याश्रमका प्रधान पुरुषजस्ता योगी नरहरिनाथको मनमा पनि राजनीति पसेछ। त्यसपछि ज्ञानमणिले सो आश्रम छाडे र हामीले मासँगल्लीको वैद्य दिव्यबज्र बज्राचार्यको घरमा चलाएको सानो पाठशालामा पढाउन आए,' त्यही समय नयराज पन्तले ठड्याएका थिए संशोधन मण्डलको जग।
नयराजको कामलाई नजिकबाट नियालेका वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठ संशोधन मण्डलले नेपाली इतिहासको थुप्रै गल्ती घटना सच्याएको सम्झन्छन्।
'लिच्छविकालको सम्बत सच्याउनेदेखि अंशुवर्माको सम्बत निर्क्याेल गर्ने काम मण्डलले गर्‍यो,' उनी भन्छन्, 'संशोधन मण्डलले त्यसबेला थुप्रै शिलालेख पढेर डकुमेन्ट तयार गर्‍यो।'
नेपाली आफैंले अध्ययन गरेर इतिहास तयार नगर्दा र अंग्रेजको भर पर्दा धेरै त्रुटि भएको तथ्य औंल्याउने काम मण्डलबाट भएको उनी बताउँछन्।
'थुप्रै युद्धमा नेपालसँग अंग्रेजले हारेको छ। नालापानी एउटामात्र उनीहरूले जितेका हुन्। आफूसँग हार्ने बलभद्रको अंग्रेजले प्रशंसा गर्‍यो। हामीले उनैलाई वीर बलभद्र मान्यौं, अरू विजेता नायक को हुन्? कहिल्यै खोजी गरिएन,' यस्त अप्रमाणित इतिहासको अन्वेषणमा नयराज अगुवा बनेको तीर्थले बुझेका छन्।
अरनिकोबारे चीनले जानकारी दिएपछि आफ्नो विभूति मान्ने नेपालले अरू व्यक्तिको खोजीमा जाँगर नचलाएको उनी टिप्पणी गर्छन्। 'थप अनुसन्धान गर्नु सट्टा सीता, जनकजस्ता पौराणिक पात्रलाई हामीले विभूति मान्न थाल्यौं,' उनी भन्छन्।
...

विसं १९९५ सालमा बनारसबाट फर्किएपछि नयराज रानीपोखरी पाठशालामा ज्योतिष विषयको प्राध्यापनमा लागेका थिए। औपचारिक शिक्षा पद्धतिको अधिनमा रहेर विद्यार्थीलाई सक्षम बनाउन सकिएलाजस्तो उनलाई लागेन। २००४ सालदेखि उनले धनबज्र बज्राचार्यको घरमा आफ्नो छुट्टै पद्धति विकास गरेर पढाउन थाले।
उनी विद्यार्थीहरूलाई नै इतिहास संशोधन गर्न लगाउँथे, आफू बाटोमात्र देखाउँथे। व्याकरण र पञ्चांगमा निपूर्ण बनाउने कोसिस गर्थे।
'उहाँ विद्यार्थीले वृत्ति लिऊन् भनेर अघि सार्नुहुन्थ्यो, अभिभावकले विरोध गर्थे,' दिनेश सम्झन्छन्।
उनीहरूले आफ्ना बाबुको आलोचना गर्न बनाएको कविता दिनेशलाई अझै कण्ठ छ :  'आफू लुकेर बसने अर्काको नाम राखने
चेलाको नाम राखेर ठूलाको दर्प तोडने।'
'तर, उहाँलाई यस्ता कुरासँग सरोकार थिएन। कसैले सहयोग सम्झे लाख, नसम्झे सवा लाख भन्नुहुन्थ्यो,' बाबुको त्यो शैलीलाई आफूले पनि अपनाएको दिनेश बताउँछन्। प्रचार नगरी काम गर्नुपर्छ भन्ने बाबुको मान्यतामा दाजुभाइ नै अडिग रहेको उदाहरण दिन्छन्।
'संशोधन मण्डलको ठूलो साइन बोर्ड पनि राखेका छैनौं, केही सोधपुछ गर्न आउनेलाई जानेको बताएर सहयोग गर्छौं,' प्रचार नगरी काम गर्नु, पढ्नु, बु‰नु, त्यसलाई आचरणमा उतार्नु, अनि मात्र बोल्नू भन्ने पिताको आज्ञा उल्लंघन नगरेकोमा पन्त वन्धुलाई गर्व छ।  
नयराज कठिन अनुसन्धान गरेर इतिहास संशोधन गर्थे, मानिसहरू इतिहासको आलोचना गरेको आरोप लगाउँथे। 'हाम्रो अनुसन्धान गरेको चिज सीमित घेराभित्र हुन्थ्यो, डिल्लीरमण जस्ता व्यक्तिले हाम्रा चिज व्यापक बनाउँथे, आफैंले जानेर लेखेजस्तो गरेर,' दिनेश भन्छन्, 'कति त हाम्रो कामलाई फेमिली जर्नल भनेर पनि उडाउँथे।'
संशोधन मण्डलले इतिहास र संस्कृतिको विषयमा प्रकाशित सामग्री संग्रह गर्दै आएको छ। तिनमा देखिने त्रुटि र अशुद्धिले भने पन्त दाजुभाइलाई दुःखी तुल्याउँछ। 'पत्रिकामा एउटा चिज अशुद्ध देखेँ भने तीन मिनेटसम्म अगाडि पढ्न सक्दिनँ। डिस्टर्व भएर त्यहीँ रोकिन्छु। कहाँ–कहाँ खण्डन गर्दै हिडुँ, सम्भव पनि छैन,' दिनेश भन्छन्। त्यस्ता अशुद्धि सामना गर्न गाह्रो पर्ने भएकैले संग्रह गर्ने सामग्रीबाहेक अरू पढ्दिन भन्छन् महेश।
'धेरै चिज हावाको भरमा उडेको हुन्छ। पत्रकारले पनि त्यसैलाई टिपिदिन्छन्। अरूले बोलेको कुरा सत्य हो कि झुटो जाँच गर्नुपर्छ,' महेशको आग्रह छ।
नेताले बोली फेर्नु र ढाँट्नुलाई उनी नौलो मान्दैनन्। किनभने त्यो उनीहरूको 'पेसा' हो। आफूलाई विद्वतवर्ग ठान्ने हो भने पत्रकारले झुट्टाको पछि लाग्न नहुने अर्ती दिन्छन् दिनेश। यो सिद्धान्तमा पनि उनी बाबुबाटै प्रभावित छन्। 'झुटो तथ्य र तर्क गर्ने नेताको म आलोचना गर्दिनँ, त्यो त उनीहरूको काम नै हो। ठिक/बेठिक छुट्याउने जिम्मा विद्वानको हो,' नयराजको यस्तो भनाइ दिनेशको कानमा गुञ्जिरहन्छ।
'उहाँ भोट खसाल्नुहुन्थ्यो, कसलाई दिएँ भन्नुहुन्नथ्यो,' भोट खसालेको र पूजाकोठामा गरेका चिज गोप्य राख्नुपर्छ भन्ने पिताका सच्चा अनुयायी बन्ने प्रयत्न गरिरहेको उनी बताउँछन्।
दिनेश नयराजका कान्छा छोरामात्र होइनन्, संशोधन मण्डलका कान्छा विद्यार्थी पनि। पन्त परिवारका नयाँ सन्ततिले बाबुबाजेको कर्म नअपनाउने पक्का भइसकेको छ। उनीहरूका छोराछोरी कोही इन्जिनियरिङमा करिअर खोज्दै छन्, कोही विदेशमै बसोबास गर्छन्।
'हो, हामी दाजुभाइको शेषपछि संशोधन मण्डलको पनि शान्तिपूर्ण अवशान हुन्छ,' दिनेश भन्छन्, 'यो संस्था व्यापक बन्न सकेन होला, तर पुरानो कुरा खोज्नुपर्दो रहेछ भन्ने चेतना फैलाउन सफल भएको छ। अभिलेख, चिठी, ताम्रपत्र पनि पढ्ने चिज हुन् भन्ने जागरुकता ल्याउन सक्नुलाई पनि ठूलो उपलब्धि मान्नुपर्छ। बुवाले यसलाई मेची–महाकालीसम्म फैलाउन सक्नुभएको भए हामीभन्दा समर्पित अनुयायी पनि आउन सक्थे होलान्।'
जीवन रहेसम्म यो काममा समर्पित हुन दाजुभाइ तयार छन्। त्यसपछिको चिन्ता गर्दैनन्। 'कुनै संस्था खडा गरेर यी दुर्लभ सामग्री सुम्पनुहुन्न?' दुवै दाजुभाइ त्यसो गर्न तयार देखिँदैनन्। 'संरक्षणको नाममा संशोधन मण्डलको साँचो मूर्ख मण्डलीलाई सुम्पदैनौं, उनीहरूसँग सम्झौता गर्दैनौं, जोगिएन भने जोगिएन।'
उसै पनि नयराजका बारेमा सरकारले उति चासो पुर्‍याएजस्तो लाग्दैन दिनेशलाई। धेरैको  शतवार्षिकीमा करोडौं रकम विनियोजन गर्ने सरकारले नयराजलाई बेवास्ता गरेको उनको गुनासो छ। 'सरकारले सत्य कुरा बुझेको भए, पिताजीको शतवार्षिकी मनाउन शेषराज सिवाकोटी अघि सर्नुपर्थ्यो?' दिनेश प्रश्न गर्छन्।
उनलाई संशोधन मण्डलका अप्रत्यक्ष शिष्यले अनुसन्धानको काम जारी राख्लान् भन्ने विश्वास छ।
...
२०६९ सालको जगदम्बाश्री विजेता संशोधन मण्डलले २०१८ देखि प्रकाशन गर्दै आएको 'पूर्णिमा'लाई आज पनि नयराजका दुई छोराले निरन्तरता दिइरहेका छन्। इतिहास र अन्वेषणका जर्नल प्रकाशन पनि जारी छ।
'हाम्रो रनिङ कस्ट मासिक ४५ हजार छ, सरकारले वार्षिक १ लाख दिन्छ,' संस्कृति संरक्षणमा सरकारी उदासिनतासँग उनी निकै परिचित छन्। तर, आफूले गर्दै आएको काम जारी राख्न सरकारको मुख ताक्ने पक्षमा पनि छैनन्।
नयराजलाई पितामात्र मान्दैनन् महेश र दिनेश। उनीहरूको जीवनमा गुरुको स्थान पनि बाबुले नै पाएका छन्। दिनेशले त झन् नयराजसँग मात्रै पढे। उनीसँग कुनै विश्वविद्यालयको सर्टिफिकेट छैन। बाबु नै गुरु, उनी विश्वविद्यालय, उनले दिएको ज्ञान नै प्रमाणपत्र। त्यसैको भरमा उनी वाल्मीकि क्याम्पसको प्राध्यापकसम्म भए। दुई वर्षअघि अवकास पाएपछि उनी पनि बाबुकै कार्यलाई उजागर गर्ने काममा पूर्णकालीन भएका छन्। 'मलाई धेरैथोक गर्नु छैन, पिताजीको विषयमा जान्न आउने र अनुसन्धानमा लागेकालाई  सहायता गर्न पाए पुग्यो,' उनी भन्छन्।
जसले महिलालाई हतियार बोक्न सिकाइन्

जसले महिलालाई हतियार बोक्न सिकाइन्

नानी जन्माएकै दिन घाँसदाउरा खेप्ने आमाका कहर देखेरै उनी सानैदेखि समाज र राजनीतिप्रति जिज्ञासु बनिन्। कक्षा ६–७ सम्म पढ्दा उनमा राजनीतिक चेतना पैदा भइसकेको थियो।

आइती

आइती

झ्यालैमा भाले बासिदियो। जर्‍याकजुरूक उठेँ। नियमित रेडियो अन गरेँ। खबर उही ताभुरभुर पाहाडमा भोल्क्यानो। कति फ्लाइट क्यान्सिल भए, कति ढिलो भए, प्रधानमन्त्री पिटरद्वारा त्यहाँका बासिन्दालाई सुरक्षित ठाउँमा जान आग्रह आदि।...

हामी तीज मनाउँदैनौं

कतिपय अधिकारकर्मी महिला भने तीजको साँस्कृतिक पक्षसँग असहमति जनाउँछन्। अधिकारकर्मी नम्रता शर्मा तडकभडकको तीजप्रति सहमत छैनन्। उनी महिलाको स्वतन्त्रतासँग तीजलाई जोड्न खोज्छिन्। परिवर्तनसँगै तीजलाई व्यापारीकरण गरिँदै लगिएको उनको तर्क छ।...

आनन्दको झिल्को जोगाउने कला

आनन्दको झिल्को जोगाउने कला

– कुनै बेला क्षयरोग, मलेरिया, जन्डिस, हेपाटाइटिसजस्ता रोग संसारको ठूलो समस्या थियो। मृत्युको कारण थियो। चिकित्सा विज्ञानले यी रोगको समाधान निकाल्यो। समाजको आधुनिकीकरणसँगै रोगले रूप बदलेको छ।

अन्तर्वार्ताले झन्डै जागिर खुस्केको

अन्तर्वार्ताले झन्डै जागिर खुस्केको

म त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी पढ्दाताका रेडियो नेपालमा ‘पार्टटाइम' काम गर्थें। दिउँसो त्रिविमा पढ्न धाउँथें भने प्रायशः चारबजेपछि रेडियो नेपालमा कार्यक्रम सञ्चालन गर्ने समेत काम गर्थें। यो २०२८/२९ सालतिरको कुरा हो।

त्यो जिद्दी केटो

नेल्सन मन्डेला विश्वचर्चित राजनीतिज्ञ एवं विश्वनेता हुन्। रंगभेदविरुद्धको आन्दोलका अभियन्ता उनले रंगभेद हटाउन हिंसाको सट्टा शान्ति र आशा रोजे। त्यही कारण उनी चर्चित छन्। सबैभन्दा धेरै समय जेल बिताउने नेताका...

नबिझाउने, नबिलाउने

नबिझाउने, नबिलाउने

'नारी पुरुष, एक रथका दुई पांग्रा'यो उक्ति अभिनेत्री मिथिला शर्मालाई सही लाग्छ। उनको रथ भने एक पांग्रामै सन्तुलित देखिन्छ। 'तपाईंले त एक पांग्राकै भरमा छलाङ मार्नुभयो नि?' अविवाहित यी अभिनेत्री...

कहिले छोड्ला गरिबीले!

कहिले छोड्ला गरिबीले!

सुत्केरीबाट तंग्रिँदै गर्दा आफू आमा हुनुको खुसी श्रीमान्सँग साट्न चाहन्थिन्। तर श्रीमान् टाढा–टाढा हुँदै गए। 'छोरी जन्मेको १० दिनमै अर्की ल्याए,' ओखलढुंगाकी भूमा दाहाल भन्छिन्, 'लोग्ने नै साथमा नभएपछि कसको...