Friday 14 Kartik, 2071 |
Menu

नागरिक शनिबार

मन्त्रीकी छोरी ! प्रसूति छोडेर बैंकतिर

(1 Vote)
मन्त्रीकी छोरी ! प्रसूति छोडेर बैंकतिर
क्लिन इनर्जी बैंककी महाप्रबन्धक वर्षा श्रेष्ठ राजनीतिक वातावरणमा हुर्किइन्। बाबु होमबहादुर श्रेष्ठ पञ्चायतकालका प्रभावशाली मन्त्री थिए। घरमा राजनीतिक जमघट भइरहन्थ्यो। दाइ र दिदीहरू चासो राख्थे, तर वर्षालाई कुनै मतलब थिएन। काठमाडौं अहिलेजस्तो बाक्लिएको थिएन। वरपरका सबैले चिन्थे । बाटो र बजार निस्कँदा छेउछाउकाले साउती मार्थे, 'ऊ मन्त्रीकी छोरी !' उनलाई भने त्यो पगरीसँग त्यति सरोकार थिएन।
मन्त्रीको झन्डावाल गाडी परिवारको लागि होइन भनेर बाबुले नै अथ्र्याएका थिए। जति हतार भए पनि स्कुल हिँडेरै जान्थिन्। 'यो सुविधा परिवारलाई हैन। बाबुको धाक लगाउँदै उत्ताउलो बन्नु हुँदैन। सडकमा झरेको बेला पनि संघर्ष गर्न सक्ने हुनुपर्छ,' यस्ता उपदेशले उनलाई पावर प्रयोग नगर्न सावधान तुल्याइरहन्थ्यो।

'बुवा–आमाले सधैं साधारण बन्न जोड दिनुहुन्थ्यो,' राजनीतिले नतान्नुमा उनीसँग खास कारण छ, 'यो मेहनतको फल पाइने क्षेत्रजस्तो कहिल्यै लागेन।'

वर्षा कक्षा तीनसम्म सुनसरीको इनरुवामा पढिन्। त्यसपछि सेन्ट मेरिजमा। उनी पढ्न जान्नेमा गनिन्थिन्। राम्रो पढ्नेलाई मेडिकल लाइनमा लगाउनुपर्छ भन्ने धारणा थियो। उनले 'इन्स्टिच्युट अफ मेडिसिन'बाट हेल्थ असिस्टेन्ट पास गरिन्। पढाइमा त्यति मजा आएको थिएन । 'टपर' हुन मन थियो, त्यसकै लागि राम्ररी पढिन् । प्रसूतिगृहको इमरजेन्सी कक्षमा सजिलै जागिर मिल्यो।

दाजुहरू अमेरिकामा थिए, बुवा–आमा घुम्न जाने भए । कान्छी छोरी वर्षा सँगै जान पाइन् । 'तीन महिना बस्दा अमेरिकी संस्कृतिले पूरै प्रभावित तुल्यायो । किन–किन काठमाडौं फर्किएपछि स्वास्थ्य क्षेत्र त मेरो लागि हुँदै होइन भन्ने लाग्थ्यो,' त्यो जागिरबाट अलग्गिने सोच बनाइन् । त्यसैबेला नेपाल अरब बैंक (पछि नबिल)बाट जागिरको अफर आयो ।

'डाक्टर भए ठिक, नत्र आइमाइले अरू काम गर्नु हुँदैन,' उनी बैंकमा जागिर खाऊँ कि नखाऊँ भन्ने दोधारमा रहँदा समाज यस्तो ठान्थ्यो । उनले अमेरिका घुम्दा 'हस्पिटालिटी'को राम्रो नमुना देखेकी थिइन् । 'मुसुक्क हाँस्ने, गुड डे भन्ने, अरूलाई खुसी र सन्तुष्ट बनाएर आफ्नो व्यवसाय अघि बढाउने तरिकाको प्रभावले मलाई काठमाडौंमा पनि केही नयाँ गर्ने प्रेरणा दिइरह्यो । सेन्टमेरिजमा सिकेको ज्ञानको झल्को अमेरिकामा जताततै भेटेकी थिएँ,' राम्रो आचरण र व्यवहारका साथ अघि बढ्ने थलो बैंक बन्न सक्ने उनले लख काटिन् । र, काम गर्न तयार भइन् ।

करिअरले यु टर्न लियो । पाइला अस्पताल छोडेर बैंकतिर मोडियो । 'भ्यालेन्टाइन्स डे'का दिन जागिर 'ज्वाइन' गरेको उनलाई सम्झना छ । दरबारमार्गस्थित क्लिन इनर्जीको अफिसमा ३० वर्षे बैंकिङ करिअर समीक्षा गर्दा उनले गुनासो गर्ने ठाउँ भेटिनन् । 'बैंकिङ क्षेत्रसँगको प्रेम एकदमै फलदायी रह्यो । कहिल्यै ट्रेजेडी परेन,' पहिलो प्रेम करिअरसँग भयो भन्छिन् वर्षा ।

मन्त्रीकी छोरी, दायाँबायाँ आँखा लगाउँदै हिँडे 'परिवारको इज्जत जान्छ' भन्ने स्कुलिङमा हुर्किएकी थिइन् । कहिल्यै डगमगाउने चेष्टा गरिनन् । विवाह गर्ने बेला भएको सन्देश परिवारले नै ल्याए । केटा पनि उनीहरूले नै खोजे, दाइको साथी अभयशंकर श्रेष्ठ । व्यापारमा राम्रो चिनारी बनाएका अभय वर्षालाई मन प¥यो । 'परिवारले मनको कुरा बुझेजस्तो लाग्यो, विवाह भयो,' उनी भन्छिन् ।

***

नयाँ घरमा भित्रिएपछि जागिरलाई निरन्तरता दिन निकै सकस परेको उनी सम्झन्छिन् । संयुक्त परिवारमा बसेर जागिर चलाउन अप्ठ्यारो परेपछि उनले छोड्ने सोच बनाइनन् । श्रीमान्ले भने, 'मलाई छोड्न सक्छौ भनेमात्र जागिर छोड ।' घरमा सघाउने र काममा लाग्न प्रेरित गरिरहने श्रीमान्का कारण उनी प्रगति गर्न सकेको ठान्छिन्।

उनी १० वर्ष सगोलमा बसिन्। अफिसको काम साह्रै चर्को थियो। कहिलेकाहीँ राति ११ बजे घर पुग्थिन्, थकाइले चूर हुँदै । 'धेरै थाक्दा निद्रा लाग्दैनथ्यो । तर, के गर्नु बिहान आठ बजे गाडी लिन आइपुग्थ्यो,' उनले अल्छी गरिनन्।

उनलाई बैंकको काम मन पर्योआ, मन परेको काम गर्न पाउँदा समय दिन कन्जुस्याइँ गरिनन् । उनले काम थाल्नेबित्तिकै हल्ला चल्यो, 'अरब वैंकमा मुसलमानले सबै तरुनी राखेको छ, तिनीहरूलाई दुबई लैजान्छ,' यस्तो खबर सुनेर वर्षाका बा चिन्तित बने। छोरीको व्यस्तता र बाबुको चिन्ता बढ्यो । 'तर, जागिर नपाउनेले चलाएको अफवाह थियो त्यो । कुनै डर चिन्ता थिएन, अत्यन्त राम्रो वातावरणमा काम सिक्न पाएका थियौं,' हल्लाको पछि नलागी काम गर्न दिने परिवारप्रति उनी आभारी छिन्।

हेल्थ असिस्टेन्टको पढाइले बैंकको काम के सिकाउँथ्यो ! दिनभर अफिसको काम, राति अबेरसम्म सिद्धान्तको अध्ययन । यसमा पनि उनले पतिको साथ पाइन् । उनले नबिल बैंकको सबै शाखामा काम गरिन्, खुट्टा तान्नेको कमी थिएन । तैपनि आफूलाई प्रतिस्पर्धामा कमजोर हुन दिइनन्, टेलरबाट म्यानेजरसम्म भइन् । त्यतिबेला सिकेको कुराले उनमा अहिले पनि साहस जगाएको छ । उनी ठान्छिन्, 'सिकेर कहिल्यै नसकिने रहेछ, मर्नुअघि पनि सास फेर्न रोक्न सिक्नुपर्छ ।'

'सानोमा दुःख गरे पछि सुख पाइन्छ' उनले यो उक्ति सुनेकी थिइन्, अनुभव गर्नुपरेको थिएन । बच्चा हुर्काउँदै घर र अफिस धान्दा उनले झलझली त्यही उक्ति सम्झिइन् । काममा फड्को मारेपछि बुझिन्, 'दुःख गरे पछि सुख पाइन्छ भनेको यही होला ।'

'छोरी मान्छेले सहन सक्नुपर्छ अरूको कुरा सुन्नुहुन्न,' बिहेअघि बाबुले भने । पछि ससुराले पनि दोहोर्यानए। अहिलेका नारीवादीले यस्तो अर्तीलाई कसरी व्याख्या गर्लान् उनलाई सरोकार छैन । वर्षाले सहन सिकिन् र त्यो साह्रै गाह्रो हुने अनुभव गरिन् । 'सहन सके सधैं जितिन्छ,' लामो परीक्षा दिएपछि उनलाई यो कुराको बोध भयो।

अहिले बैंकिङ क्षेत्रमा स्कोप बढेको छ । युवा पुस्ता यसतर्फ निकै आकर्षित छन् । वर्षाका छोरा आकाशशंकर र छोरी आयुषा यो क्षेत्रमा लाग्न इच्छुक छैनन् । वर्षाले पनि जोड गरिनन् । राम्रो ठाउँमा पढ्ने व्यवस्था मात्र गरिदिइन् । समाजशास्त्रमा स्नातक छोरीले फाइन आर्ट पढ्ने चाहना गर्दा उनले रोकिनन् । 'ऊ यो काममा अति इन्जोइ गर्छे । कहिले बिहान छ बजेसम्मै काम गरिरहेकी हुन्छे । पढाइमा यो हदसम्मको प्रेम देखेकीले उसलाई यो गर, यो नगर भन्न मन लागेन,' अमेरिकामा पढाइ र कामसँगै अघि बढाइरहेका छोरालाई पनि आफूले कहिल्यै हस्तक्षेप नगरेको बताउँछिन् । मन लागेको काम गर्न पाउँदा कति आनन्द पाइन्छ वर्षालाई थाहा छ ।

बैंकमा काम गर्ने उद्देश्यका साथ राम्रो युनिभर्सिटीमा पढेर आएकाहरू उनलाई क्षमतावान् लाग्छ । उच्च महŒवाकांक्षी पनि । तिनलाई वर्षाको सुझाव छ, 'मेहनत गर्नूस्, सकारात्मक बन्नूस्, एक वर्षमै अन्त फड्को मार्दैमा प्रगति हुँदैन । आफ्नो क्षमता पुष्टि गराउनूस् ।'

***
फिटनेस र फेसनमा महिला अगाडि देखिन्छन् । वर्षा भन्छिन्, 'म मेकअप त्यति बुझ्दिनँ। भाउजू र छोरीले सम्झाउँछन् ।' दुब्ली भएकाले फिटनेसका लागि क्लब धाइनन्। जम्मा एकपटक फेसियल गरें भन्छिन्, त्यो पनि एकजना साथीले कर गरेकीले।

'अनुहार सिँगार्ने फुर्सद नै पाउँदिनँ,' जागिरले उनलाई साडी लगाउने बानी लगायो । यसमै सजिलो अनुभव गर्छिन् ।

'फुर्सदमा के गर्नुहुन्छ ?'

'टन्न खान्छु, शनिबार दिउँसो मजाले सुत्छु, हप्ताभरिको थकाइ मेट्नेगरी ।' सुत्नुअघि टेलिभिजन हेर्दाको समय र शनिबार उनलाई असाध्यै मनपर्छ । योग र 'आर्ट अफ लिभिङ'बाट प्रभावित छिन्, तर त्यो अभ्यासलाई निरन्तरता दिन सकेकी छैनन् ।

उठ्नेबित्तिकै उनी ९३ वर्षका ससुरा र ८९ वर्षकी सासूलाई भेट्छिन् । एकछिन पूजाआजामा लाग्छिन् । ब्रेकफास्ट गरेपछि अफिस । बिहान भ्याउँदिनन्, बेलुकी भान्छा सम्हाल्न छुट्दिनन् । दाल, चामल र तरकारी किन्न आफैं खट्छिन् । बगैंचाको काममा आनन्द मान्छिन् । 'हाउस वाइफ हुनुमा अर्कै आनन्द छ,' उनी भन्छिन्।

कमाइको धेरै हिस्सा घुमफिरमा खर्च गर्छिन् । छोरा अमेरिका र दाइ अस्ट्रेलियामा रहेकाले उनी ती देशको यात्रा बढी गर्छिन् । सकेसम्म छोरीलाई साथै लैजान्छिन् । 'बेफ्वाँकमा खर्च गर्ने बानी छैन । गरगहनामा किन्न, विदेश गएको बेला सपिङ गर्न बढी खर्च गर्छु,' उनी आफूलाई मितव्ययी बताउँछिन्, 'यस्तो खाने, यहाँ जाने, ग्यादरिङ गर्ने भन्ने फुर्सद नै हुँदैन । शाकाहारी छु, खानामा पनि धेरै च्वाइस छैन । यस्तो पफ्र्युम, यस्तो गाडी, यस्तो घर भन्ने पनि लाग्दैन; मात्र सफा चाहिन्छ ।'

छोरी आयुषा र छोरा आकाशशंकर 'ममीजस्तो हुन पाए' भन्छन् । त्यतिबेला वर्षा प्रफुल्लित हुन्छिन्, 'आफ्नो छोरा–छोरीको आदर्श बन्न सक्नु चानचुने कुरा होइन ।'

मध्यम वर्गीयका कथा

प्रज्वल पराजुलीको नयाँ उपन्यास 'ल्यान्ड ह्वेर आई फ्ली' पढ्दै गर्दा मैले आफ्नै बूढी हजुरआमा सम्झेको थिएँ। उपन्यासकी आमा पात्रले मलाई उनको सम्झना दिलायोे।

बुङमती खुला संग्रहालय

बुङमती खुला संग्रहालय

विदेशीलाई काठमाडौं नजिक नेवार गाउँ ‘साइट सिन' गराउनुपर्योन भने ललितपुरको बुङमती पुर्यालइन्छ। नेपाली पनि पुग्छन्, देवदेवीको दर्शन गर्न। गाउँले जीवनशैली, काष्ठकला, मन्दिर र चैत्य त्यहाँका मुख्य आकर्षण। त्यहाँ रातो मच्छिन्द्रनाथ,...

बाह्रसिंगा पछ्याउँदै

बाह्रसिंगा पछ्याउँदै

जीपमा बसेर बाह्रसिंगा हेर्न शुक्लाफाँटा पुग्दा मन सशंकित थियो। खर झाँगिएका बेला बाह्रसिंगा देख्न नपाइने हो कि भनेर। किनकि ०६६ मंसिरमा पहिलोपटक आउँदा देख्न पाइएको थिएन। घारीभित्र लुकेका थिए। ०७०...

काठमान्डूप्रति

काठमान्डू छिरेपछि स्वयं काठमान्डू बन्न खोज्छ मान्छे। चोभार थुनेर पौडिन खोज्छ, सक्तैन महाराज बन्न खोज्छ, बन्दैन

बाइक चोरीको भित्री कथा

बाइक चोरीको भित्री कथा

रातको १२ नाघिसकेको छ। कुकुर अरू रातभन्दा बढी नै भुकिरहेको छ। काठमाडौं मस्त निद्रामा रहँदा दुर्गा श्रेष्ठ भने कुकुरको एकोहोरो भुकाइका कारण ब्युँझन्छन्। साढे एक बजेतिर भुकाइ केही मथ्थर हुन्छ।...

घर (कथा)

स्वयम्भूको स्तुपा छिर्ने बाटोको मोडैनिर उसले आफ्नो गाडी बिसायो। उसका आँखा परपरसम्म डुलेर फर्किए। चित्रबहादुरको कतै अत्तोपत्तो थिएन। उसले एकपटक आफ्नो नाडीमा बाँधेको घडी हेर्यो । अपराह्नको चार बजेको थियो।...

टुटेको साहित्य जोड्दै

टुटेको साहित्य जोड्दै

बीसको दशकमा नेपाली सांगीतिक क्षेत्रका दुइटा अभियान–समूह निक्कै सक्रिय भए– राल्फा र लेकाली सांगीतिक समूह। राल्फालीहरू वामपन्थी धारमा रहेर क्रान्ति र विद्रोहका गीत गाउँथे, लेकाली विशुद्ध लोकजीवनका भाका र सुस्केरालाई...

टिफिन बक्स

टिफिन बक्स

गौतम कक्षा पाँचमा पढ्थे। गौतम चार वर्षको हुँदा उनको बुबा बित्नु भएको थियो। गौतमलाई उनकी आमा शान्तिले दुःख गरी हुर्काएकी थिइन्। गौतमले पनि आमाको दुःख राम्ररी थाहा पाएका थिए। त्यसैले...