Friday 4 Poush, 2071 |
Menu

नागरिक शनिबार

इन्द्रेको बाउ

  • आइतबार ६ श्रावण, २०७०
  • केदार शर्मा
  • DISQUS_COMMENTS
(0 votes)
बाटोको हिलो नाप्दै चालक चन्द्र। तस्विरः भीम चपागाईं बाटोको हिलो नाप्दै चालक चन्द्र। तस्विरः भीम चपागाईं
अप्ठ्यारो काम गर्ने मान्छे धेरै हुन्छन्, तर अप्ठ्यारा काम गर्दा हाँस्न र हँसाउन सक्ने थोरैमात्र हुन्छन् ।

इन्द्रेको बाउ दिनभर हाँसिरह्यो, हामीलाई पनि हँसाइरह्यो ।

तर हामी कुनै हाँसोलाग्दो काममा थिएनौं । दुई महिनादेखिको झरीले गलाएको माटोमा बनेको कच्ची पहाडी बाटोमा घन्टाको आठ किलोमिटरका दरले घस्रिनु त्यति रमाइलो काम होइन । गाडी ठाउँ–ठाउँमा अड्किन्छ, फँस्छ, अनि चक्कामात्र फनफनी घुम्न थाल्छ । उकालोमा पछाडिबाट ठेल्दा पछाडि नै सर्ने डर सधैं हुन्छ । त्यसो नभए पनि चक्काले छ्याप्ने हिलोका लागि तयार त हुनै पर्छ । कहिलेकाहीँ गाडी कोल्टिएर एकातिरको ढोकै नखुल्ने अवस्था आइपुग्छ । पर्मेजुङको एउटा ओरालोमा त मुटु कक्रिएर लालगेडी जत्रो भयो, हिलो माटोलाई समाउन नसकेका चक्काको गति र दिशालाई नियन्त्रणमा लिन इन्द्रेको बाउसित निकै कममात्र समय उपलब्ध थियो । उसका हातको त्यो छोटो समयमा १२ जनाको जीवनको बाँकी भाग निहित थियो । चिप्लिँदै गरेको गाडीलाई बायाँतिर मोड्नमा निमेषभरको मात्र ढिलाइ भएको भए ऊ, उसका बारेमा लेख्न मन गर्ने यो लेखक, उसका फोटा खिच्ने फोटोग्राफरलगायत कोही पनि बाँकी रहने थिएनन् ।

हाम्रा लागि त एक दिनको यात्रामात्र हो । उसको त पेसा नै यस्तो छ, जहाँ अलिकति तलबितल प¥यो भने 'जीप एक सय ५० मिटर तल' भन्ने समाचारमा सजिलै नाम आउन सक्छ ।

तर पनि इन्द्रेको बाउ हाँस्छ, थोरै बोल्छ तर बोलेपिच्छे हसाउँछ । गाडी निकै नराम्ररी फँस्यो भने खल्तीको महँगो मोबाइल निकालेर फोटा खिच्न पनि भ्याउँछ ।

'इन्द्रेको बाउ' मे अ १ ज ४६३ का चालक चन्द्र मुखियालाई हामीले दिएको पगरी । 'इन्द्रेको बाउ चन्द्रे'ले पनि नसक्ने काम पार लाउने व्यक्तिको नाम संयोगले चन्द्र नै परेछ । एउटा उकालोमा निकैबेर अड्किएर गाडी उक्सिएपछि कसैका मुखबाट फ्याट्ट निस्कियो, 'ल है पार लायो इन्द्रेको बाउले !'

पहिलोपटक भेटेको मान्छेका नाममा सिधै नभए पनि एकार लगाइएको थियो, चन्द्रलाई 'चन्द्रे' भनिएको थियो । गोली जसरी नै बोली छुटिसकेको थियो । तर उनले त्यसभित्रको परिहास बुझिदिए । कसैले जोक बुझेन भने न बिजोक हुने हो ! अगाडि–पछाडि, दायाँ–बायाँ र तल–माथि हल्लिएर बेहाल भएका यात्रीसितै उनी पनि मजाले हाँसे । अनि त दिनभर उनी इन्द्रेको बाउ नै भए ।

उनले हामीलाई इलामको फिक्कलबाट मकरजुङ, पर्मेजुङ, नयाँबजार हुँदै सोयाङको सिरान, स्यालढुंगासम्म पु¥याएर फर्काउने जिम्मेवारी लिएका थिए । हामीले १० किलोमिटर बाटोबाट जोगमाई खोलादेखि नयाँबजारसम्मको करिब एक हजार मिटरको उचाइ चढ्नुपथ्र्यो । त्यो उकालो सरदरमा १० प्रतिशतको मात्र भए पनि एकैनासको थिएन । त्यसैले गाडी जति तेर्सो हिँड्न पाउँथ्यो, भरे आउने उकालो सम्झेर हामीलाई त्यति नै डर लाग्थ्यो । उकालो चढ्दा बाटो ढिलो र अप्ठ्यारो थियो, फर्किंदा त्यही बाटो अलि छिटो तर निकै डरलाग्दो भयो ।

चालक चन्द्र मुखियाको प्रोफेसनालिजमले हामीलाई साँच्चै प्रभावित पा¥यो । उनको अनुहारमा थकान, दिक्क, डर, झर्कोफर्को केही देखिएन । लगभग १० घन्टाको सहयात्रामा उनले 'सडक शब्दावली'बाट एउटा पनि शब्द साभार गरेको सुनिएन ।

कोही अप्ठ्यारा काम रहरले गर्छन् र एडभेन्चरको मजा लिन्छन् । कोही तिनै काम करले, 'कर्मै यस्तो' भन्दै गर्छन् । चन्द्र मुखिया सम्भवतः यी दुवै कोटीमा पर्दैनन् । उनी आफूखुसी यस्तो

'अफ रोडिङ'को मजा लिने पुगिसरी आएका व्यक्ति होइनन् । तर उनी यसलाई बाध्यता पनि मान्दैनन् । ड्राइभिङ उनलाई महिनाको टाकन टुकन १०­ १२ हजार जति रुपैयाँ दिने जागिर हो । उनले बीएको पढाइ नसकिँदै २० वर्षको उमेरदेखि समातेको 'गाडी लाइन' उनका लागि पेटपालोको मेलो हो । त्यही काम उनी दत्तचित्त भएर गर्छन्, त्यही मन पराउँछन् । उनलाई गाडीमा चढ्ने थरीथरीका मान्छेका कारण आफ्नो जीवनमा पनि रङ थपिएझैं लाग्छ रे ! लाग्छ, कुनै पनि 'प्रोडक्ट'मा मुस्कानको 'स्टिकर' टाँस्न सकियो भने त्यसले राम्रो मूल्य अभिवृद्धि हुन्छ भन्ने पनि उनलाई राम्रोसँग थाहा छ ।

चन्द्रलाई हामीले दिनभर 'इन्द्रेको बाउ' भने पनि उनका घरमा १० महिनाअघि जन्मिएको भुकुमुने सानु मुखियाको नाम भने इन्द्र होइन । चन्द्र र मुना मुखियाको मायाको निशानी फुच्चेको नाम पनि निशान नै हो । ऊ बाबुको बाटो हेर्ने भएको छैन । चन्द्रलाई नै कतिबेला घर पुगूँ र फुच्चेलाई खेलाऊँ जस्तो भइरहेको हुन्छ । पारिवारिक उत्तरदायित्वले यी २४ वर्षे युवकलाई अझ गम्भीर बनाएको छ । उनको गम्भीरताले धेरैलाई सुरक्षित बनाएको छ ।

मान्छेलाई गाडी चल्ने ठाउँमा हिँड्न मन लाग्दैन । गाडी चलेका बाटामा पनि मान्छे रमाइलो मानेर हिँड्ने भए पदयात्रा पर्यटनको थालनीका लागि विश्वलाई नेपाल चाहिने थिएन । इलाममा पनि अब मान्छे हिँडेर कहीँ पनि जान रुचाउँदैनन् । जिल्लाभरिमा करिब दुई हजार किलोमिटर बाटो छ, जसमा करिब सवासय किलोमिटर पक्की होला । बाँकी कतै अलिअलि प्राविधिक सेवासहितका कतै गोलियाका ठेकेदारले जबरजस्ती बनाएका बाटाहरू छन् । चन्द्र मुखियामात्र होइन, अरू धेरै इन्द्रेका बाउहरू यिनै बाटामा काठ, चिया, दूध, अदुवा, बाँस, गाई, बाछा र मान्छे बोकिरहेका हुन्छन् ।

गोडाले हिँड्ने गोरेटा, घोडा हिँड्ने घोडेटा हुन्छन् भने जीपमात्र हिँड्ने बाटालाई 'जिपेटा' भने के हुन्छ ? आखिर 'जीप' पनि त गाडीको ब्राण्डबाट अर्थ विस्तार भएर एसयुभीको नेपाली नाम भइसक्यो नि ! मरुभूमिमा गरिने डेजर्ट सफारीजस्तो हाम्रा पहाडहरूमा 'जिपेटा सफारी' को नयाँ पेसा थाले के हुन्छ ?

चन्द्र मुखियाले कुदाउने ४६३ को मात्र होइन, यस भेकका धेरै गाडीको कुनै थर–जात बाँकी छैन । गाडीको बडी, चेसिस र इन्जिन फेर्न पाइँदैन भन्ने कानुनका दृष्टिबाट हेर्दा यहाँका धेरै गाडी कानुनविपरीत छन् । उहिले सतखुइलेका ल्यान्डरोभर गाडीमा बडी र चेसिसमात्र ल्यान्डरोभरका छन्, तीमध्ये धेरैमा महिन्द्राका डाइरेक्ट इन्जेक्टिङ इन्जिन लगाइएका छन् । त्यसैले निर्माण र उपयोगिता दुवै हिसाबले यिनलाई खच्चर गाडी भने हुन्छ । यी नियमविपरीत छन्, तर मेची अञ्चलको पहाडी भेकको कृषि अर्थतन्त्र यी खच्चर गाडीहरूमा नै निर्भर छ । त्यस्तै उस्तै पर्दा जिल्लाका हाकिमसाबहरू समेत यिनै 'एसयुभी' नचढी धर पाउँदैनन् । हाम्रा इन्द्रेका बाउहरूले कुदाउने यी गाडीमा प्रतिबन्ध लगाउन सरकारबाट पनि इन्द्रेको बाउ नै आउनुपर्छ ।

राम्ररी कुदिरहेका यी खच्चर गाडीलाई अवैध भनिराख्नुभन्दा वैधता दिएर र 'जिपेटा सफारी' सुरु गरेर पर्यटनमा एकैपटक दुईवटा खुट्किला थप्ने हो कि ? बरु सजिलो त यो पो हुने देखिन्छ !

बजेट मिति संविधानमै लेखौं

बजेट राजनीतिक र आर्थिक घोषणापत्र अर्थात् कार्यक्रम हो। यसअर्थमा यसमा राजनीति हावी हुनु अस्वाभाविक होइन। अति राजनीतिकै कारण समयमा नीति–कार्यक्रम र बजेट नआउनु भने विडम्बना हो।

तितो कफीको मिठो कथा

तितो कफीको मिठो कथा

ठमेलको हिमालयन जाभामुन्तिरबाट हिँड्ने धेरैको नाकमा सिधै आएर ठोक्किने एउटा बास्ना कफीको हो। कफी भुटेको तातो बाफले नाकलाई छोएपछि यसको तितोपनबाट उप्की आउनेको आँत पनि एकफेर सरर्र रसाउँछ।

वाम–रुढताबाट मुक्त

वाम–रुढताबाट मुक्त

त्यो कम्युनिस्ट पार्टी भूमिगत थियो। त्यसका क्रियाकलाप गोप्य थिए। भेटघाट, कुराकानी, बैठक, सभा, सम्मेलन भूमिगत रूपमै हुन्थे। हरेक कार्यक्रममा विचार, निष्ठा, त्याग, क्रान्ति र मुक्तिका कुरा हुन्थे। कसैमा लोभलालच देखिन्नथ्यो।...

चाबीचालकका कथा

फर्पिङ, सेतीदेवीका राजनप्रसाद श्रेष्ठले केयुकेएलमा चाबीचालकको काम गर्न थालेको पाँच वर्ष भयो। तर, पानीको संकट बढ्दै जाँदा यही जागिर उनका लागि निल्नु न ओकल्नु बनेको छ।

डीभीले निम्त्याएका क्षण

कुनै महिला कसरी एक पुरुषका अघि कमजोर बन्न बाध्य हुन्छे? सिर्जना शर्माको उपन्यास ‘गोल्डेन गेट' की मुख्य पात्र ‘महिमा' को कथा पढ्दा यस्ता अनेकौं जवाफ पाउन सकिन्छ।

गाउँमा टिभी : भूतको किस्सा

गाउँमा टिभी : भूतको किस्सा

द्वितीय विश्वयुद्धको त्रासदीबाट भर्खरै मुक्त भई वैज्ञानिक उन्नति, औद्योगिकीकरण र शैक्षिक जागरणसँगैको संक्रमणकालमा थियो नेपाल। भर्खरै खुल्ला समाजतर्फ लागेको पूर्वी पहाडी दुर्गम जिल्ला तेह्रथुमको सावलामा मेरो जीवनयात्रा प्रारम्भ भयो।

पोस्टकार्ड

‘ओई काली! कति'टा भयो तेरो पोस्काड्?'किशोरवयको खुड्किला टेक्दै गरेकी मलाई वैशाखको पहिलो साता मुस्तफाले सोधेको थियो।‘उन्तालिस्।'‘अरे बाप रे! कत्ति बेसी! अम्ता बचनको कति'टा छ, काली?'‘ग्यारह। हेर् मुस्तफा, मलाई ‘काली' नभन्...

शताब्दीका अविस्मरणीय यात्री

शताब्दीका अविस्मरणीय यात्री

ग्रामोफोनको अभिलेख पछ्याउँदा नेपाली संगीत आरम्भ भएको एक शताब्दी पार भइसक्यो। सेतुरामले नेवारी लोकगीत 'राजामती' रेकर्ड गरेर नेपाललाई गीति संसारमा पदार्पण गराएको मानिन्छ। यो सन् १९०८ ताकाको कुरा रहेछ। त्यही...