17 Magh, 2071 |
Menu

नागरिक शनिबार

HUB

हलेसी र छिरिङको बच्चा

  • २९ असार, २०७०
  • राजु नेपाल
  • DISQUS_COMMENTS
(1 Vote)
हलेसी र छिरिङको बच्चा
काठमाडौंबाट हलेसी महादेव दर्शन गर्न जाँदै गरेको एउटा जीप उदयपुरको घुर्मी बजारबाट सुनकोसी नदीमाथिको फेरी तर्न जाने ओरालो लाग्दै छ। हिलो र खाल्डाखुल्डीले बिग्रेको सडकमा गाडीको गति सुस्त छ। त्यहीबेला बीच सडकमा देखा परेको एक स्थानीय मान्छे गाडी रोक्न संकेत गर्दै भन्छ, 'बाटो बिग्रेको छ, गाडी जाँदैन। रोक्नूस्।'
चालकसहित गाडीमा भएका सबै पाँचजना ओर्लिन्छन् र बाटो हेर्न थाल्छन्। नभन्दै बीच बाटोमा ठूलो पहिरो गएको देखिन्छ, सानो गाडी पनि पास नहुनेगरी। यत्तिकैमा एक हुल मान्छे आएर भन्छन्, 'गाडी जानेगरी यो बाटो हामी बनाइदिन्छौ, छ हजार रुपैयाँ दिनूस्।'
कहाँदेखि मन्दिर जान भनेर आएका मान्छे, बल्लतल्ल तीन हजार पाँच सयमा कुरा मिलेपछि बाटो मर्मतमा करिब १० जनाको हुल जुट्यो। गाडीमा आएकाहरू वरिपरि थकाइ मार्ने ठाउँ पनि नहुँदा चर्काे गर्मीमा उनीहरूले चाङ लगाउँदै गरेका ढुंगा हेर्न थाल्छन्।
करिब १० मिनेटपछि अर्काे गाडी पनि हलेसी जानको लागि आएर त्यहीँ रोकिन्छ। गाडीबाट चालकसहित एक पुरुष र चार तिब्बती मूलका महिला ओर्लिएर सोध्छन्, 'के भएको हो?'
अघिल्लो गाडीमा आएकामध्ये एउटा अधबंैसे जवाफ दिन्छ, 'गाडी जाने बाटो छैन, तपाईंहरू कहाँ जान लाग्नुभएको?'
'हामी हलेसी जान लागेको,' त्यसमध्येकी एउटी गोरी राम्री महिलाले भनिन्।
'त्यसोभए पैसा बाँडीचुँडी उनीहरूलाई दिऔं, बाटो बन्छ अनि सँगै जाऔंला,' उसले भन्यो र उनले मानिन्। 
उनीहरूसँग आएको पुरुष पनि अब बाटो मर्मतमा जुट्न थाल्यो। हेर्दा पूरै तिब्बती देखिने त्यो मान्छे अरूसँग हिन्दी भाषामा कुरा गरिरहेको थियो। आपसमा भने उनीहरू तिब्बती भाषामा कुरा गरिरहेका हुन्थे।
झन्डै एक घन्टाको समयमा दुईवटा गाडीका ११ जनाबीचमा राम्रै कुराकानी हुन थालिसकेको थियो। तर भाषिक समस्याले गर्दा बेला–बेला कुराकानी रोकिन्थ्यो। 
जब कुराकानी व्यक्तिगत हुन थाल्यो, तब अधबैंैसेले ती राम्री गोरी माहिलालाई सोध्यो, 'तपाईंहरू कहाँबाट आउनुभएको?'
उनले कनीकुथी नेपालीमा भनिन्, 'खास मेरो घर क्यानाडा हो। उहाँ मेरो श्रीमान् हुनुहुन्छ र उहाँहरू मेरा दिदीबहिनी। मेरो बाल्यकालको घर सिन्धुपाल्चोक। १५ वर्ष भयो क्यानाडा गएको, उतै बिहे गरेको। ऊचाहिँ भारतीय हो। दिदी–बहिनीहरूको घरचाहिँ बौद्धमा छ।'
उनी क्यानाडाकी बासिन्दा भएको र नेपाली बोल्न गाह्रो भएको देखेर अधबैैंसेले सजिलो पार्न अंग्रेजीमा बोल्न सुरु गर्योो। त्यसपछि उनी र उनका श्रीमान् झन् खुल्दै गए। 
बाँकी सबैजना एक अर्कासँग कुरा गर्दै जानकारी लिइरहेका थिए। बाटो बनेपछि दुवै गाडी ओरालो लागे।
सुनकोसी नदीमा पुल छैन। फेरीबाट गाडी र मानिस तर्ने क्रममा अर्काे एक घन्टा ती दुई समूहबीच कुरा भयो। जहाँ उनीहरू दुई रातको लागि हलेसी जान लागेको भन्दै थिए भने पहिलाको समूह एकरातको लागि। हलेसी गुफालाई बौद्ध धर्मावलम्बीहरूमा महायाना सम्प्रदायका मानिसले मान्ने र त्यहाँ गएर मागेको जुनसुकै वर पनि पूरा हुने विश्वास रहेको कुरा उनीहरूले बताए, जुन कुरा पहिलो समूहलाई त्यति थाहा थिएन।
संयोगले झमक्क साँझ पर्दा हलेसी पुगेका दुवै समूहका तीर्थालु बस्ने होटेल एउटै परेछ। आकाशमा कालो बादल मडारिइरहेको थियो। ठूलो पानी पर्यो भने सुनकोसीमा फेरी नचल्ने अनि त्यो बिग्रेको बाटोको भोलिको अवस्था सम्झेर होला उनीहरूले पनि पहिलो समूहसँग भोलि नै काठमाडौं फर्कने सल्लाह गरेछन्।
भोलिपल्ट गुफामा भेट्दा उनीहरूले 'हामीहरू सँगै काठमाडौं जाऔं है' भन्दा पो थाहा भयो उनीहरूको विचार। 
गुफा दर्शन गरेर फर्कंदा झमझम पानी परिरहेको थियो। बाटो कस्तो होला भन्ने चिन्ताले सबैको अनुहार ग्रसित देखिन्थ्यो। तर क्यानाडाबाट आएकी छिरिङ नामकी राम्री महिला भने साह्रै खुसी देखिन्थिन्। अधबैंसेले चियाको सुर्कोसँगै जिस्काउँदै भन्यो, 'छिरिङ त साह्रै खुसी देखिनुहुन्छ नि, के भो त्यस्तो? गुरु रिम्पोछेले के भन्नु भो?'
अधबैंसैले ठट्टामा गरेको प्रश्नले उनको मन यसरी छोएछ कि उनी बसेको मेचबाट जुरुक्क उठिन्। एकदमै प्रफुल्ल भएर भन्न थलिन्, 'हो म आज एकदम खुसी छु। मेरो बिहे भएको आठ वर्ष भो, बच्चा भा'को छैन। क्यानाडामा जति उपचार गर्दा नि भएन। सबैले हलेसीमा गएर माग्नु भनेकोले म र मेरो श्रीमान् यहाँ आ'को।' हलेसी गुफाभित्र रहेको बच्चा माग्ने द्वारबारे विश्वासका साथ बोल्दै उनी भन्दै थिइन् र सबै एकटकले उनको कुरा सुन्दै।
'आज बिहान मैले र मेरो श्रीमान्ले बालकद्वारमा गएर बच्चा मागेर आयौं, अब हाम्रो बच्चा हुन्छ।' सबैले उनको आस्थामा हाँमा हाँ मिलाए, तर सबैको अनुहारमा ठूलो प्रश्नवाचक चिह्न थियो, के क्यानाडाजस्तो विकसित देशको आधुनिक उपचार विधिले गर्न नसकेको काम हलेसी गुफाको कुनामा रहेको सानो ढुंगाको ककारो मात्रको आराधनाले पूरा गर्ला त? तर कसैले यो प्रश्न उनलाई गर्ने हिम्मत गरेनन्। बरु सबैले चाँडै नै उनको इच्छा पूरा होस् भनी शुभकामना दिए। 
हिजो भेटेदेखि यति बेलासम्म दुई समूहको कुराकानीले उनीहरूले एक अर्कालाई नजिकबाट चिनिसकेका मात्र नभई उपहारसमेत आदानप्रदान गरिसकेका थिए। अझ त्यसमाथि पनि छिरिङ र अधबैंसे भने कलेज पढ्दादेखिका पुराना साथीजस्तै भएर फरर अंग्रेजीमा कुरा गर्दै थिए।
हलेसीबाट बिदावारी भएर आफ्नो गाडीमा फर्कंदै गर्दा घुर्मीको सुनकोसी आइपुग्दा ११ बजिसकेको थियो। कर्मचारीहरूलाई खानाका लागि करिब डेढ घन्टाको लागि फेरी बन्द भएछ। हिजोदेखिका थकित साथीहरू यताउता लागे भने अधबैंसे र छिरिङ कलकल बगेको सुनकोसीको किनारको ठूलो ढुंगामा बसेर कुरा गर्न थाले। करिब २४ घन्टाको चिनाजानीमा छिरिङ अधबंैसेको कुरा गर्ने शैली र उसका हरेक विषयमा भएका ज्ञानको प्रशंसक बनिसकेकी थिइन् भने अधबैंसेचाहिँ उनको हाउभाउ, बोलिचाली र विश्वासको। छिरिङका श्रीमान् यताउता फोटो खिच्न थाले भने दिदीबहिनीहरू बालुवा खेल्दै रमाउन। अधबैंसेका साथीहरू चिया पिउन ओखलढुंगाको हर्कपुर बजारतर्फ लागे।
वरिपरि कोही नभएको मौका छोपी छिरिङ भन्दै गइन् र अधबैंसे सुन्दै, 'काठमाडौंबाट हलेसी आएर दर्शन गरी फर्कंदा हेलिकोप्टरमा कति पैसा लाग्छ होला? जब अर्को साल मेरो बच्चा जन्मन्छ, बच्चा एक वर्षको भएपछि उसलाई हलेसी गुफा दर्शन गराउन लिएर आउँछु क्यानाडाबाट।' उनी कल्पनालोकमा यसरी डुबिन् कि, अधबैंसेले एकटकले हेर्दै उनको त्यो मुद्राको फोटो खिचेको पनि पत्तो पाइनन्। अधबैंसेले करिब सात हजार क्यानेडियन डलर लाग्नेबारे बताउँदा उनले भनिन्, 'द्याट्स नट मच्, आई क्यान इजिली स्पेन्ड द्याट् अमाउन्ट फर माई चाइल्ड।'
सुनकोसीमा फेरीबाट गाडी तारियो। फेरि दुवै समूह मिलेर पाँच हजार खर्च गरेर बाटो बनाए। किनकि गाडी उता गएपछि हिजो बाटो बनाउनेले भोलिको लागि पैसा कमाउन बाटो बिगारिसकेका रहेछन्। बाटो बिगार्नु र बनाउनु उनीहरूको व्यवसाय रहेछ। बाटो बन्दै गर्दा घुर्मी बजारमा सँगै बसेर दुवै समूहले खाना खाए र विभिन्न विषयमा गफ गरे तर अधबैंसेको मन भने हलेसीको बालकद्वार, छिरिङको अनुहार र उसको भविष्यको बच्चाको कल्पनाबाट बाहिर आउन सकेको थिएन। उसले आज थाहा पायो, मान्छेको विश्वास संसारमा सबैभन्दा ठूलो छ जसलाई संसारको कुनै शस्त्र–अस्त्रले हराउन सक्दैन, नत्र एउटा जोडी क्यानाडाबाट हलेसीको गुफामा बच्चा माग्न आउने मात्र होइन, अब पक्कै बच्चा जन्मन्छ भन्ने विश्वासका साथ पछि बच्चा लिएर आउन हेलिकोप्टरको बारेमा समेत कल्पना गर्न थालिसक्यो। 
नेपाल, भारत र संसारका अनेकौ भूभागको भ्रमण अनि असंख्य मठ–मन्दिरमा पूजाअर्चना गरिसकेको अधबैंसे अब सोच्न बाध्य छ, उसले कहिल्यै कुनै पनि मन्दिरमा भगवानसँग केही किन मागेन? र, उसले अझै अर्को कुनै मन्दिरमा जाँदा के माग्ने होला भनेर सोच्न पनि सकेको छैन। 
आफ्नो पूरा परिचय अनि फेसबुक र इमेल ठेगाना दिँदै अधबैंसेले भन्यो, 'तपाईंको बच्चा भएपछि खुसीको खबर मलाई पक्कै भन्नु होला है।'
प्रकृतिको काखमा ओख्रेनी

प्रकृतिको काखमा ओख्रेनी

एफएम सुनिरहेका कुखुरा! संगीत सबैलाई मन पर्छ। वनस्पति र जीवजन्तुलाई पनि। त्यसैले त दाबा शेर्पाको खोरमा रेडियो घन्कन्छ। साउन ३ गते सुन्दरीजलमाथि मुलखर्क पुग्दा शेर्पाको खोरमा एफएम बजिरहेको थियो।

‘जीवन स्वयं एक अनुष्ठान : सर्वज्ञमान’

‘जीवन स्वयं एक अनुष्ठान : सर्वज्ञमान’

एक शताब्दी लामो जीवन जो कोहीलाई प्राप्त हुँदैन। सय वर्ष बाँच्नु र क्रियाशीलतापूर्वक बाँच्नु आफैंमा एक कीर्तिमान हो। पोखरेली सांस्कृतिक वाङ्मयका एक धरोहर सर्वज्ञमान प्रधानाङ्ग सय वर्ष लामो जीवन बाँचेर...

अहंको भोक

त्यसो त चियाका पसलमा जति अहम्को भोक अन्यत्र कहाँ मेटाउन पाइएला र! गर्नु केही नपर्ने, एक कप चिया माग्यो अनि मन लागेको अहम्मा तर्क–वितर्क गर्योो। अनि जतिखेर आफ्नो ‘भोक’ मेटिन्छ...

चार युगका चार सारथि

चार युगका चार सारथि

आधुनिक एथ्लेटिक्समा महत्वका साथ हेरिने म्याराथन दौड कसरी सुरु भयो होला? उत्तर खोज्दै जाँदा एउटा ऐतिहासिक आहान फेला पर्छ। फैडिपिडेस नामका ग्रिसेली सैनिक युद्धमा विजयको खबर दिन म्याराथनदेखि एथेन्ससम्म दौडिएको...

जाडोमा फिल्म

तिमी बसेको ठाउँमा अब त जाडो निकै बढिसक्यो होला हगि? जाडोमा धेरै पढ्न, काम गर्न मन लाग्दैन। हात ठिहिर्‍याउँछन्। जाडोमा हिटर बाल्न मजा हुन्छ। गाउँघरतिर अँगेनो वरिपरि झुम्मिएर आगो ताप्न...

बीच सडकमा उभिएर

सहरले सायद जीवनकै बाटाहरू पनि अल्मल्याइदिन्छ, धेरैपल्ट। मैले यो सहरलाई मन पराउँदाखेरि यहाँका बिहान मलाई खुब मन पर्थे। खर्पनमा साग बोकेका मान्छेहरू, दूध लिएर डुल्ने सानो गाडी, मन्दिरमा बजेको घन्टी अनि...

मलाई मनभोग आमालाई क्याडवरी

मलाई मनभोग आमालाई क्याडवरी

बिहानीको चार वा पाँच बजेतिर ओछ्यानबाट बोलाउनुहुन्छ, 'ए बाबु, मलाई उठाइदेऊ...।' त्यसपछि ओछ्यानसँगै मेचमा जोडिएको कमोढ र कोपराको प्रयोग हुन्छ।

मेरो चाहनाका अग्ला पर्खाल

मेरो चाहनाका अग्ला पर्खाल

मेरो जीवनमा 'परिचित'हरू आए, मित्र आएनन्! यस अर्थमा जीवनको धेरै भाग मैले एक्लै बिताएँ। मानिसहरूका बीच घेरिएर पनि म एक्लै, धेरैले मसित समय बिताउन चाहेर पनि म एक्लै!