Wednesday 5 Kartik, 2071 |
Menu

नागरिक शनिबार

कर्पोरेट कमरेड

  • बुधबार २२ जेष्ठ, २०७०
  • विनोदविक्रम केसी
  • DISQUS_COMMENTS
(1 Vote)
हरेक वर्ष मे १ मा मजदुर दिवस मनाइन्छ। नागपञ्चमीमा नागरिकहरूले आफ्नो घरको दैलोमाथि नाग टाँसेजस्तो विशुद्ध कर्मकाण्ड भएको छ यो दिवस। 'विश्वका मजदुर एक होऔँ' भन्ने थोत्रो नारा लगायो, दुईचारवटा जुलुस आयोजना गर्यो , मजदुरीको छनक, छेकछन्द नपाइने मजदुर नेताहरूले मजदुरका पक्षमा धुवाँदार भाषण ठोक्यो...बस् सकियो मजदुर दिवस।
मजदुर नेताहरूले यो दिन यदाकदा मालिकको विपक्षमा बोल्ने जोखिम पनि उठाउँछन्। जोखिम किनभने नेता भइसकेपछि धेरथोर मालिक त आफैँ भइन्छ। मजदुर दिवसकै दिन मजदुरहरू भोकभोकै मरिरहेका हुन्छन्। कसैलाई वास्ता हुँदैन। वास्ता गर्ने कुरा पनि भएन। मजदुरको नियति नै भोकभोकै मर्नु हो यो देशमा। भाग्यवादीहरूको बहुमत भएको देशमा नियतिलाई कसैले टार्न खोज्ने कुरा पनि भएन।

देशमा हप्तैपिच्छे ताल–तालका दिवस मनाइन्छन्। सूचीकृत गर्ने हो भने दिवसहरूको पुच्छर लम्बेतान हुन्छ। जस्तोः सहिद दिवस, नारी दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवस, कानुन दिवस, शिक्षा दिवस, राष्ट्रिय बाल दिवस, विश्व उपभोक्ता दिवस, विश्व पानी दिवस, विश्व क्षयरोग दिवस, विश्व स्वास्थ्य दिवस, विश्व धूम्रपानरहित दिवस, विश्व वातावरण दिवस, विश्व शान्ति दिवस, विश्व भ्रष्टाचारविरुद्ध दिवस, विश्व मानवअधिकार दिवस, फलानो दिवस, ढिस्कानो दिवस, तिलानो दिवस। यति सानो र यति गरिब देशले यति धेरै दिवसहरू धानिरहेको छ, मनाइरहेको छ। यो सर्वथा चानचुने उपलब्धि होइन। खैर, दिवस चर्चाको यो क्रम यहीँ टुंग्याउनु बुद्धिमानी हुनेछ। 

मजदुर दिवसकै दिन ती मजदुर नेतासँग मेरो भेट भएको थियो। दश वर्षअघि उनी ठ्याक्कै मजदुर नेता देखिन्थे। हुलियाका आधारमा ठ्याक्कै! बेसम्भार कपाल र दाह्री, निधारमा चिन्ताका डोबहरू, ज्यानमा धारण गरेको रङ खुइलिएको बुसर्ट र पसिनाको गन्ध... कमरेडको हुलिया रुचिकर थिएन। त्यतिबेला म उनलाई भन्ने गर्थें, 'कमरेड, कम्युनिस्टले झुत्रे हुुनुपर्छ भनेर मार्क्सले कतै लेखेका छैनन्।' प्रत्युत्तरमा उनी हाँसिदिन्थे र भन्थे, 'म मजदुरहरूको नेता हुँ, गरिखानेहरूको प्रवक्ता हुँ, मालिकहरूको प्रतिनिधि होइन।'

तर, यो दश वर्षमा पुलमुन्तिर धेरै पानी बग्यो। गायक बब डिलनले भनेझैँ 'लट अफ अदर स्टफ टू' अर्थात् पानीसँगै अरू धेरै चिज बगे। कमरेड पनि पानीसँगै बगे, समयसँगै बगे। परिवर्तनको बेगलाई आत्मसात् गरे। नतिजा? उनको हुलिया र हैसियत बदलियो। भाडाको ओसिलो छिँडीबाट उनको बास फाइभस्टार होटलजस्तो महलमा भयो। उनको महलको गेटमा पित्तलको भव्य नेमप्लेट छ– 'सर्वहारा कुटी'।

कमरेडको कायाकल्प भएको छ। झुसिल्किरा पुतली बनेझैँ।

उनी अब कर्पाेरेट कमरेड भएका छन्।

औँलाभरि राशिका रत्नजडित औँठीहरू लगाएका छन्। गलामा दुई तोलाजतिको सुनको सिक्री लर्किरहेको छ। दाहिने हातमा सुनको ब्रासलेट चम्किरहेको छ। बायाँ हातमा राडो घडी आफ्नो अन्तर्राष्ट्रिय भव्यतासहित उपस्थित छ। ब्रान्ड न्यू स्मार्टफोनले कमरेडको व्यक्तित्वलाई कर्पाेरेट 'टच' दिएको थियो। मुखबाट ब्ल्याक लेबल ह्विस्कीको सुगन्ध आइरहेको थियो।

उनीसँग सोध्नका निम्ति मसँग धेरै प्रश्न थिए, जसरी यो देशका अधिकांश नागरिकसँग हुन्छन्। प्रश्नैप्रश्न तर उत्तर कतै छैन, कसैले दिँदैन।

कर्पाेरेट अवतार लिने कमरेडहरूमा उनी कदापि एक्ला होइनन्। देशका असंख्य कमरेडहरू कर्पोरेट कमरेड भइसकेका छन्। उनीहरूको खानपिन, लवाइ, सरसंगत, रहनसहन कर्पाेरेट तहका भइसकेका छन्। निमुखा तहका कमरेडहरूको संख्या पनि सानो छैन। उनीहरूको क्रान्ति र मुक्तिको सपना पनि सानो छैन।

'कमरेड, तपाईंको जीवनशैली अलिक चर्को भएन भन्या?' कर्पोरेट कमरेडसँग मैले संवाद उप्काएँ, 'शहरमा मान्छेहरू तपाईंका बारे नानाभाँति टिप्पणी गरिरहेका छन्। तपाईंलाई पैसा ओढ्ने र पैसै ओछ्याउने, पैसा खाने र पैसैले कुल्ला गर्ने मान्छे भनिँदै छ।' 

'भन्न दिनुस् यार,' उनी निष्फिक्री थिए, 'गरिखाने वर्गको मान्छेले गरिखाएको सबैले आहि्रस गर्छन्।' 

'कुरो त्यसो होइन,' मैले भनेँ, 'शहरमा तपाईंका मोजमस्तीका किस्सा व्यापक सुनिएका छन्।'

'सिद्धान्ततः म गलत छैन,' उनले प्रतिवाद गरे, 'मार्क्सले भनेकै छन् नि– यावज्जीवेत् सुखं जीवेत्, ऋणं कृत्वा घृतं पिवेत। भस्मीभूतस्य देहस्य पुनरागमनं कुतः।'

'त्यो त चार्वाकले भनेका होइनन् र?' म अवाक् थिएँ।

'जसले भने पनि के फरक पर्छ र?' उनको कुतर्क धाराप्रवाह थियो, 'यसै पनि कम्युनिस्टहरू भनेका भौतिकवादी हुन्। भौतिकवादीले भोग–विलास नगरे कसले गर्छ? भोग–विलास पनि क्रान्तिकै एक हिस्सा हो, एक प्रक्रिया हो। क्रान्तिको एक्काइसौँ शताब्दीको कार्यभार पूरा गर्न अब मार्क्सका किताबमात्रै रटेर हुँदैन।'

'त्यसो भए स्वेट मार्टेनको 'रातारात कसरी करोडपति बन्ने' भन्ने किताब रट्नुपर्योा अब?' मैले मुखको तीतो फेरेँ।

'आहा, कस्तो मनासिब कुरा गर्नुभो!' उनको अनुहार चम्किलो भयो, 'मैले त्यो किताब पढ्न थालेको धेरै भइसक्यो। 'कम्युनिस्ट घोषणापत्र' पढ्दापढ्दा मलाई ऐतिहासिक दिक्दारीले छोपिसकेको थियो।'

कर्पाेरेट कमरेडसँग नसकिने भयो। उनलाई केही भन्नुको तुक थिएन।

छुट्टिने बेलामा उनले पाइन्टको बगलीबाट एउटा चारपाटे झन्डा निकालेर मलाई देखाए।

'यो के हो थाहा छ?' कुनै महान् आविष्कारकले झैँ उनले झन्डाको बयान गर्न थाले, 'यो एक्काइसौँ शताब्दीको कम्युनिस्ट पार्टीको झन्डा हो। एकदमै युगसुहाउँदो र प्रगतिशील। मैले बनाएको हुँ।'

मैले झन्डा हेरेँ।

झन्डामा हँसिया र हथौडा थिएनन्।

तिनका ठाउँमा आईफोन र ब्ल्याक लेबल ह्विस्कीको बोतलका तस्बिर थिए। एकअर्कालाई क्रस गरेर रहेका।

'मलाई ढिलो भयो,' झन्डालाई पट्याएर बगलीमा राख्दै उनले भने, 'मजदुरहरूको  र्‍यालीलाई सम्बोधन गर्नुछ। तपाईंलाई पनि मजदुर दिवसका शुभकामना!' उनले मसँग हात मिलाएर भने, 'विश्वका मजदुर एक होऔँ।'

म सोचिरहेको थिएँ– कालीमाटीमा भारी बोक्ने मजदुर र यी कर्पोरेट कमरेड कसरी एक हुन सक्छन्?
बार्दली

बार्दली

उनले आज पनि मलाई क्वारक्वार्ती हेरिन्, खाउँला झैं।म बिहान कलेज जाँदा होस् वा दिउँसो घर फर्कंदा, उनी मलाई सधैं त्यसैगरी हेर्छिन्, कप्लक्क निलूँला झैं।सुरुमा त उनी कर्के नजरमात्रै लाउँथिन्। लुकीछिपी।...

धार्मिक सहिष्णुताको पाठशाला

धार्मिक सहिष्णुताको पाठशाला

सहिष्णु छन् नेपाली। जहाँ मन्दिर, त्यहाँ चैत्य। शिवसँगै पद्मसंभव। मिलेर बसेका हिन्दु र बौद्धमार्गी। हलेसी त झन् त्रिधार्मिक संगम। जसले हिन्दु, बौद्धमार्गी र किरातीलाई एउटै सूत्रमा बाँधेको छ।

उज्यालो पर्व

उज्यालो पर्व

दिदीबहिनीको हातबाट टीका लगाउँदा दाजुभाइको मुहारमा झल्कने खुसी दीपावलीको उज्यालोभन्दा कम हुँदैन । त्यसैले त खुसी, उमंग र उज्यालोको पर्व बनेको छ, तिहार । घरघरमा गरिने दीपावलीले पनि जीवनको अन्धकार...

बहादुर लेखक

बहादुर लेखक

नामको पछाडि 'बहादुर' सुनेकै भरमा मानिसहरू ठान्दा रहेछन्– उनी नेपाली हुन्, पुरुष हुन्। भारतीय मूलकी अमेरिकी लेखक/समीक्षक गायत्रा बहादुर भने न त नेपाली हुन्, न त पुरुष। उनले नेपालको नाममात्र...

के के गर्‍यौ गावो?

के के गर्‍यौ गावो?

‘कुन पुस्तक पढ्दै हुनुहुन्छ?' ‘मार्खेजको वान हन्डे्रड इयर अफ स्यालिच्युड।' नेपालमा यसरी कुरा सुरु भो भने कुरा चंगाको धागोझैँ लम्बिँदै जाने खतरा हुन्छ। कुनै रेस्टुराँको कुर्सीको भाडास्वरुप स्वाद गुमाउँदै गएका...

भर्चुअल दुनियाँमा साहित्य

भर्चुअल दुनियाँमा साहित्य

नेपाली साहित्यसम्बन्धी पत्रिका निस्कन थालेको साढे एघार दशक पुगिसक्यो। १९५५ सालमा प्रकाशित नेपाली भाषाको पहिलो साहित्यिक पत्रिका 'सुधासागर'यता धेरै पत्रिका निस्किए, बन्द भए । पत्रिकाहरू अब कागजका अक्षरमा मात्रै सीमित...

ओपिडीमा भेटिँदैनन् डाक्टर

ओपिडीमा भेटिँदैनन् डाक्टर

बिहीबार दिउँसो १ बजे।भेरी अञ्चल अस्पतालको बरन्डा र कोलियाभरि बिरामीको खचाखच छ। ओपिडी कक्षमा बसेका अस्पतालका सहयोगीहरूलाई बिरामीले डाक्टर कतिखेर आउँछन् भन्ने प्रश्न सोधेर हैरान पारिरहेका छन्। कुनै कक्षका सहयोगी...

सेतो छडीको कथानक

सेतो छडीको कथानक

सामाजिक कथानक पछ्याउने आख्यानकार मनिषा गौचन पहिलो उपन्यास ‘वल्लीको डायरी' पछि ‘ह्वाइट केन' लिएर आएकी छन्।