17 Shrawn, 2071 |
Menu

नागरिक शनिबार

'पदेन सभासद्' को बयान

  • आइतबार १२ जेष्ठ, २०७०
  • रमेश लेखक
  • DISQUS_COMMENTS
(1 Vote)
'पदेन सभासद्' को बयान
संविधान बनाउन दुई वर्षे लक्ष्य लिएर गठित संविधानसभाले दोब्बर समय खर्चिंदा पनि संविधान बनाउन सकेन। राष्ट्र्रको जीवनमा विरलै हुने यस्ता असफलताका कारणबारे जनताको चासो स्वाभाविक हो। 
संविधान नबन्नुको कारण अर्को दलको नेता र पार्टीलाई देखाई नेताहरू आरोप– प्रत्यारोप गरिरहँदा जनता रनभुल्ल छन्। संविधानसभाभित्रका वास्तविक कथा थाहा पाउनु जनताको सुसुचित हुन पाउने मौलिक हक हो। संविधानसभाका गतिविधिलाई पत्रकारको हैसियतले नजिकबाट नियालेका राजेन्द्र फुयालको स्वतन्त्र विश्लेषणले सबैलाई सत्यसँग साक्षात्कार गराउने छ।
फुयाल संविधानसभाका स्वतन्त्र साक्षी हुन्। संविधानसभा, व्यवस्थापिका संसद र यिनका समितिमा निरन्तर उपस्थित भई रिपोर्टिङ गर्ने यी पत्रकार साथीहरूलाई हामी 'पदेन सभासद्' भनेर ठट्टासमेत गर्थ्यौं।
फुयालले संविधानसभा बहसको प्रारम्भदेखि निर्वाचनमार्फत् सभा गठनसम्मका आरोह–अवरोहलाई ऐतिहासिक विवेचनासहित लेखेका छन्। नेपालमा लिखित संविधानको थालनी र संविधानसभाको बहससँगै सुरु भए पनि संविधानसभाबाहिर आयोग, समिति र व्यक्तिहरूबाट जारी छ वटा संविधानको असफलतापछि संविधानसभा गठन भयो। पुस्तकमा संविधानसभा निर्वाचनको प्रयास र यसमा उत्पन्न गतिरोधबारे गरिएको विवेचनाले संविधानसभा जन्माउनका लागि मुलुकले प्रसव वेदना बेहोरेको स्मरण हुन्छ। संविधानसभा निर्वाचनमा भएको दलगत सहभागिता, दललाई प्राप्त परिणाम, संविधानसभाले खर्चेको समय, आर्थिकसम्बन्धी तथ्यांकले पुस्तकलाई रोचक बनाएको छ।
 २०६५ जेठ १५ गते दलहरूबीचको प्रतिबद्धताअनुरूप गणतन्त्र कार्यान्वयनपछि प्रारम्भ संविधानसभाको यात्रा बिस्तारै शिथिल बन्दै गयो। साना विषयमा पनि दलबीच हुने गरेका विवादका कारण संविधान निर्माण प्रक्रियालाई व्यवस्थित गर्न अनिवार्य कानुन संविधानसभा नियमावली बनाउन साढे पाँच महिना लागेको अनुभव पुस्तकमा समेटिएको छ। यो दलबीचको असमझदारीको ज्वलन्त उदाहरण हो। असमझदारी झांगिदै पछिल्लो समय संविधानसभा विघटनसमेत भयो। सभाभित्रका सबै समितिमा भएका छलफल, प्रस्तुत प्रतिवेदन, सहमति–असहमतिका विषयको पुस्तकमा संक्षेपीकरण गरिएको छ। समितिहरूका कामकारबाही असल र सफल देखिन्छन् भने समग्र सभाको व्यवस्थापन अव्यवस्थित र कमसल। संविधानसभाभित्र कार्यरत समितिका प्रतिवेदन प्रस्तुतिपछि विवादका विषयको पहिचान, विवाद समाधानका प्रयास सहमतिनजिक पुग्ने र आफैं टाढा भाग्ने चरित्रको प्रदर्शनका विषयलाई सरल ढंगले प्रस्तुत गरिएको छ।  
 संविधान पहिले वा शान्ति प्रक्रिया पहिले भन्ने विवाद संविधानसभाबाहिर र भित्र निकै चर्किएको विषय हो। सात दलबीच संविधान निर्माणपूर्व शान्ति प्रक्रिया पूरा गर्ने सहमति भएको थियो। २०६५ असार ११ गते भएको दलबीचको लिखित सहमतिले शान्ति प्रक्रिया छ महिनामा पूरा गर्ने निर्णय भयो तर यो विषय पछिसम्म विवादमा रहेकोले संविधान निर्माणमा समस्या आएको पुस्तकमा उल्लेख छ।
फुयाल संविधानसभामा संविधान निर्माणको कामभन्दा सरकार गठनको विषयले प्राथमिकता पाएको मान्छन्। दलहरूबीच सत्ताका लागि भएका विभिन्न अभ्यासले आपसमा उत्पन्न कटुताको कारण संविधान निर्माणमा प्रत्यक्ष असर परेको उनको तर्क छ। अन्तरिम संविधानले सरकार गठन र सञ्चालन विधिको आधार राष्ट्रि्रय सहमति उल्लेख गरेको, संविधानसभामा कुनै पनि दलको बहुमत नभएको, सरकार परिवर्तनको खेल भइरहेको र संविधानसभाको म्याद थप गर्दा प्रत्येकपटक सरकार परिवर्तनका सर्त जोडिएको विषयलाई सूक्ष्म विवेचना गर्दै लेखकले 'संविधान सत्ताको सिकार बनेको' निष्कर्ष निकालेका छन।
 संविधानसभाको कार्यकालमा सांसद खरिद–बिक्रीका लागि विदेशीसँग रकम माग्नेदेखि आपराधिक क्रियाकलापमा स्वयं सांसद संलग्न भएका घटना उठाई राम्रा–नराम्रा पक्षको उजागर पुस्तकले गरेको छ। संविधान निर्माणको प्रयासमा भएको आर्थिक व्यय जनतामा निकै चासो र आलोचनाको विषय बनेको छ। लेखकले संविधानसभामा सरकारी, गैरसरकारी, दातृ संस्थाबाट भएको खर्चको विवरण यथासम्भव दिन खोजेका छन्। उपलब्ध विवरणबाट पाठकले पारदर्शी र अपारदर्शी पाटा केलाउन सक्नेछन्। लगानी र प्रतिफलको विवरणले यसबारेको भ्रम चिर्नसक्छ।
यो पुस्तक इतिहासको सहयोगी ग्रन्थ बनेको छ। संविधानसभाको पहिलो प्रयोग वा अभ्यास असफल भएपछि इतिहासको पाटो बनिसकेको छ। संविधानसभाको गतिविधिमा चासो राख्ने जोसुकैका लागि पुस्तक जीवित दस्तावेजका रूपमा रहेको छ। नेपालको संविधानसभाको अभ्यास र असफलता सर्वत्र अनुसन्धानको विषय बन्नेछ। त्यस्ता अनुसन्धानकर्ताका लागि यो पुस्तक सन्दर्भ सामग्री हुनेछ।
  संविधानसभा असफतलाको कथा बोकेको यो पुस्तकले संविधानसभा गठनदेखि अवसानसम्म भएका  गल्तीहरू केलाउन सफल छ। संविधानसभाबाट नै संविधान बनाउन अर्को संविधानसभाको तयारी भइरहेका बेला विगतका गल्ती केलाउन, तिनको निदान गर्न र त्यसबाट पाठ सिकेर अगाडि बढ्न आवश्यक छ। भोलिको संविधानसभाले हिजोका गलत अभ्यासलाई न्युनीकरण गरेर जान सकेमात्र सफलता पाउन सकिन्छ ।
 दलहरूबीच असहमति रहेका मूलतः संघीयता र शासकीय स्वरूपबारे पनि सहमति भइसकेको अवस्थामा सहमतिबाट पछि हट्ने प्रवृतिका कारण संविधान निर्माण सम्पन्न हुन सकेन। संविधानसभाको अन्तिम क्षणमा संविधान जारी हुन नसकेको अवस्थामा नयाँ निर्वाचन र अन्य उपयुक्त विकल्पका लागि संवैधानिक व्यवस्थासमेत नगरी यसको अवसान भयो। रूपान्तरित संसद रहँदा आफ्नाविरुद्ध अविश्वास आउन सक्ने तत्कालीन सत्ताको डर र मनोविज्ञानका कारण पनि जटिलता थपिएको तर्फ फुयालले संकेत गरेका छन्। पुस्तकका केही विषयमा थप गहिराईसाथ प्रवेश गरेको भए हुन्थ्यो भन्ने पाठकमा लाग्न सक्छ। लेखकले आगामी संस्करणमा पूर्णता दिनेछन् भन्ने विश्वास छ।

राजनीतिक दुदर्शाको चित्र

‘सरकारी मार्क्सवादी'हरूका पाखण्डलाई खिल्ली उडाउँदै बेलाबेला वैचारिक विमर्शमा उभिने आख्यानकार नारायण ढकाल नेपाली आख्यान–लेखनको प्रगतिशील वृत्तमा स्थापित एक विरासत हुन्।

थोते साइँलो

थोते साइँलो जिल्ला प्रशासन कार्यालयका सुब्बासँग बाझिरहेको छ। थोते साइँलोको असली नाम गोविन्द लिम्बू हो। उसले नसुन्ने गरी अरूले ‘थोते साइँलो' भन्छन्। मान्छेले आफूलाई थोते भन्छन् भन्ने उसलाई पनि थाहा...

बिक्रीमा बसवाला

गएको शुक्रबार काठमाडौं–विराटनगर जाने बस कुर्दै कोटेश्वरस्थित कोसी पशुपति यातायातको काउन्टरमा थिएँ। त्यहाँ यातायात व्यवसायी, काउन्टरवाला, टिकट बुकर र मजस्तै बसको प्रतीक्षामा अरू यात्रु पनि थिए। 

टुटेको साहित्य जोड्दै

टुटेको साहित्य जोड्दै

बीसको दशकमा नेपाली सांगीतिक क्षेत्रका दुइटा अभियान–समूह निक्कै सक्रिय भए– राल्फा र लेकाली सांगीतिक समूह। राल्फालीहरू वामपन्थी धारमा रहेर क्रान्ति र विद्रोहका गीत गाउँथे, लेकाली विशुद्ध लोकजीवनका भाका र सुस्केरालाई...

झलमल्ल पुनहिल

झलमल्ल पुनहिल

कोही हिमालतिर क्यामेरा ताकिरहेका। कोही खुशीका आँसु चुहाइरहेका। पुनहिल (३,२१० मिटर) मा हरेक बिहान सूर्योदय र हिमाल हेर्नेहरुको मेलै लाग्छ। त्यहाँबाट धौलागिरी, अन्नपूर्ण, हिमचुली, गंगापूर्ण र माछापुच्छे्र लगायत हिमाल देखिन्छ।

राम्रो रचना मिठो नेपाली

भदौतिर जन्मने बच्चा असारमै जन्मियो– सात महिनामा। बिरामी आमाले जन्माएको शिशु कुखुराको चल्लाले जस्तै कैयौं घन्टासम्म आँखा खोलेन। रुँदा पनि रोएन।

नजिकियो सदरमुकाम

नजिकियो सदरमुकाम

म्याङलुङ– तेह्रथुमलाई कोयाखोलाले दुई भागमा विभाजन गरेको थियो। राजनीतिक भागबन्डा, सामाजिक, साँस्कृतिक सम्बन्ध, आर्थिक कारोबार सबै दुईतिर थियो। कोयाखोलावारि सदरमुकामतर्फका जलजले, सिम्ले, इसिवु, सम्दु, खाम्लालुङको सम्बन्ध म्याङलुङसँग थियो।

पन्ध्र सालकै जस्तो जनलहर

काठमाडौं– दोस्रो संविधानसभा निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसको पक्षमा देखिएको जनलहरले ९० वर्ष टेक्नै आँटेका माधवकुमार रिमाललाई पहिलो संसदीय निर्वाचन २०१५ को सम्झना गराउँछ।