Wednesday 10 Mangshir, 2071 |
Menu

'वैद्यबिनै पनि चुनावमा'

  • आइतबार ९ भाद्र, २०७०
  • तिलक पाठक
  • DISQUS_COMMENTS
mynepal
(0 votes)
काठमाडौं - उच्चस्तरीय राजनीतिक समितिमा रहेका प्रमुख पाँच शक्ति (एमाओवादी, कांग्रेस, एमाले, मधेसी मोर्चा र मधेसी जनअधिकार फोरम नेपाल) 'नेकपा–माओवादी नआए पनि मंसिर ४ को निर्धारित मितिमै निर्वाचन गर्न प्रतिबद्ध छन्।

शनिबार मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसहित ३३ दलीय मोर्चासँग गोलमेच सम्मेलनका विषयमा कुरा नमिलेपछि प्रमुख दलहरू 'वैद्यबिनै निर्वाचनमा जान तयार' भएका हुन्।
'वैद्यहरूले चुनावमा भाग नलिए थप वार्ता गर्ने नाममा निर्वाचनको मिति सर्दैन,' एकीकृत माओवादी नेता हरिबोल गजुरेलले नागरिकसँग भने। वैद्य माओवादी नआए पनि निर्धारित मितिमै निर्वाचन हुने उनले बताए।
'उहाँ (वैद्य) हरूले निर्वाचनमा आउने प्रतिबद्धता जनाएको अवस्थामा दुई/चार दिन तलमाथि गर्न सकिन्थ्यो। अब उहाँहरू निर्वाचनमै नआउने भएपछि मितिका विषयमा केही गर्नै परेन,' उनले भने, 'उहाँहरू निर्वाचन बहिष्कार गर्नुहुन्छ, जनताले उहाँहरूलाई बहिष्कार गर्छन्। निर्वाचन चाहिँ मंसिर ४ मै हुन्छ।'
कांग्रेस नेता अर्जुननरसिंह केसी 'प्रमुख दलहरूको ध्यान मंसिर ४ को निर्वाचनमा केन्द्रित भएको' बताउँछन्। वैद्य माओवादीलाई चुनावी प्रक्रियामा ल्याउन कोसिस गरेको बताउँदै उनले भने, 'अब उहाँहरू आउनुभएन भने पनि मंसिर ४ को चुनाव रोकिँदैन। त्यसका लागि सरकारले शान्ति सुरक्षा प्रबन्ध गर्ने र दलहरूले चुनावको वातावरण बनाउने हो।'
निर्धारित मितिको निर्वाचन अघि बढाउनुबाहेक अर्काे विकल्प नभएको उनले बताए। 'सरकार र निर्वाचन मिति दुवै कुरा परिवर्तन हुन सक्दैन। यसबाहेकका अन्य विषयमा मात्रै वार्ता गर्न सकिन्छ,' केसीले भने।
एमाले नेता रघु पन्त 'मंसिर ४ को निर्वाचन नसार्नेमा प्रमुख राजनीतिक शक्ति प्रतिबद्ध रहेको बताउँछन्। 'हामीले आज (शनिबार) को वार्तामा मंसिरको निर्वाचन मिति कुनै हालतमा सर्दैन भनेर प्रस्ट भनिसकेका छौं,' पन्तले भने। निर्वाचन अवरुद्ध गर्ने विषयमा कुराकानीसमेत नहुने उनले प्रस्ट्याए।
वैद्य माओवादी मंसिरको चुनावी प्रक्रिया रोकेर अराजकता निम्त्याउन उद्यत रहेको प्रमुख दलहरूको निष्कर्ष छ। त्यही अस्थिरता/अराजकतालाई उपयोग गर्दै वैद्य माओवादी अघि बढ्न सक्ने र त्यसले थप जटिलता ल्याउने भएका कारण पनि निर्धारित मितिको निर्वाचन कुनै हालतमा सार्न नहुने निष्कर्षमा प्रमुख दल पुगेको नेताहरू बताउँछन्।
मंसिरमा निर्वाचन नभए प्रमुख राजनीतिक शक्तिहरूको अस्तित्वमाथि नै प्रश्न उठने एमाओवादी नेता गजुरेलको भनाइ छ। 'निर्वाचन मिति सारेर दलहरूले आफ्नै अस्तित्वमाथि खतरा निम्त्याउँदैनन्,' उनले भने।
प्रमुख दलहरूले 'निर्वाचन मिति सार्ने भनेको राजनीतिक दूर्घटना निम्त्याउने कार्य' का रूपमा लिएका छन्। निर्वाचन नभए जनतामा निराशा आउने र त्यसको फाइदा राजावादी शक्तिहरूले लिन सक्ने आकंलन पनि प्रमुख दलहरूको छ। 'निर्वाचन मिति सार्नु प्रमुख दलहरूका लागि आत्मघाती कदम हो। त्यसैले पनि सार्ने कुरै आउँदैन,' गजुरेलले भने।
मधेसी जनअधिकार फोरम नेपालका वरिष्ठ नेता भरतविमल यादवको भनाइमा मंसिर ४ को निर्वाचनका लागि प्रमुख शक्ति एकजुट छन्। 'प्रमुख शक्तिहरू सबै मिलेर चुनावको वातावरण बनाउनुपर्छ। जस्तो परिस्थिति आए पनि त्यसलाई सामना गर्दै चुनावमा जानुपर्छ भन्नेमा प्रमुख शक्ति सहमत छन्,' यादवले भने।
प्रमुख पाँच शक्ति एकजुट भएको स्थितिमा वैद्य माओवादी नआए पनि चुनाव हुने देखिन्छ। निर्वाचन कार्यतालिका प्रकाशित भइसकेको, निर्वाचन आयोग र सरकारले आ–आफ्नो तयारी गरिसकेका कारण पनि चुनावका लागि अनुकूल स्थिति रहेको नेताहरूको भनाइ छ। त्यसमाथि भारत र चीन दुवै छिमेकीले मंसिर ४ को निर्वाचनमा जोड दिँदै आएका छन्। अमेरिका, युरोपियन युनियन लगायत अन्तर्राष्ट्रिय समुदायसमेत निर्धारित मितिको चुनावको पक्षमा भएकाले आन्तरिक र बाह्य हिसाबले अहिले चुनावका लागि अनुकूल स्थिति रहेको नेताहरूको बुझाइ छ।