7 Bhadra, 2071 |
Menu

चेतन भगतले भने- तीन वर्ष अघिको भन्दा काठमाडौं फेरिएछ

(0 votes)
काठमाडौं – शनिबार हुने करिअर कार्यशालामा सहभागी हुन भारतीय साहित्यकार चेतन भगत राजधानी आइपुगेका छन्। दोस्रो पटक काठमाडौं आएको उनलाई बानेश्वरस्थित होटल एभरेष्टकी कर्मचारीले टीका लगाएर स्वागत गर्दा उनी केहीबेर आश्चर्यमा परेझैं भए। सम्हालिँदै भने- ‘धन्यवाद।’

युवा पुस्ताहरुलाई करियर कार्यशाला दिन राजधानी आएको उनी खासै घुमघाममा समय खर्च गर्न चाहदैनन्। ‘तीन वर्षअघिको तुलनामा यहाँ धेरै महल, घरहरु बनेछन्। भारतजस्तै नयाँ भवनहरु निर्माण भइरहेका छन्। केएफसी पनि खोलेको देखियो,’ उनी भन्दै थिए।

केही थकित देखिएका उनी युवाहरुको लागि आदर्शको पात्रको अभाव रहेको अनुभव सुनाउँदै थिए । ‘कोहीबाट सिकेको कुरालाई नियमित अध्यास गरियो भने जीवनमा सकारात्मक परिवर्तन मिल्न सक्छ,’ उनीले भने ।

एसआर गुप एन्ड इन्टिट्युसन्स्ले कार्यक्रमको आयोजना गर्दैछ। शनिबार राजधानीको एभरेष्ट होटलमा उनले करियर कार्यशाला दिदैछन्। दिउँसो दुई बजे सुरु हुने कार्यशालामा उनले युवा पुस्तालाई करियर सुरुवातको लागि चाहिने आधारभूत कुराहरु बताउँनेछन्। ‘पुस्तक लेख्नलाई धेरै कल्पनाशिलता चाहिन्छ, प्रेरणा भनेको नन फिक्सन हो', उनले भने- 'कसैलाई प्रभावित गर्ने क्षमता रोल मोडलमा हुनैपर्छ।'


आयोजकका अनुसार प्ल्स टु, स्नातक, स्नातकोत्तर र कर्पोरेट क्षेत्रका झण्डै चार सय दर्शक उनको कार्यक्रममा सहभागी हुँदैछन्।  काठमाडौंको जस्तो कार्यक्रम उनले अन्य मुलुकहरुमा पनि गरिसकेका छन्। भगतले विभिन्न अन्तराष्ट्र्रिय संस्थासँग मिलेर विश्वभरका ७५ भन्दा बढी स्थानमा प्रेरणात्मक मन्तव्य दिइसकेका छन्। विकासका विषयलाई प्रोत्साहन गर्न स्तम्भकारको रुपमा विभिन्न पत्रपत्रिकामा कलम चलाउँछन्।


कार्यक्रममा उनले नेतृत्व विकास, आत्मविश्वास, प्रेरणात्मक मन्तव्य र सफलताका विधिसम्बन्धी विषयमा कार्यशाला दिनेछन् । उनी ‘फाइभ पोइन्ट समवान’, ‘वान नाइट एट द कल सेन्टर’, ‘द थ्री मिस्टेक अफ माई लाईफ’, ‘टु स्टेट्सः द स्टोरी अफ माई म्यारिज’, ‘रिभोलुसन २०२०’ र ‘ वाट योङ इन्डिया वान्टस्’ नामक पुस्तकका लेखक हुन्।

उनको पुस्तकहरु ‘वान नाइट एट द कल सेन्टर’ माथि ‘हेलो’, ‘फाइभ पोइन्ट समवान’ माथि ‘थ्री इडियट’ र ‘द थ्री मिस्टेक अफ माई लाईफ’ माथि ‘काई पोचे’ फिल्म निर्माण भएका छन्। २००९ मा बैकिङ करिअरलाई छाडेर उनले लेखन पेशालाई निरन्तरता दिँदै आएका छन्।