Wednesday 14 Shrawn, 2071 |
Menu

बाधा अड्काउ फुकाउ रिटमा साउन १७ बाट सुनुवाइ

  • शुक्रबार २१ असार, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं - सर्वोच्च अदालतले बाधा अड्काउ फुकाउ आदेश सम्बन्धमा दायर भएका सातवटा रिट निवेदनमा आगामी साउन १७ गतेदेखि सुनुवाइ हुने भएको छ। कामु प्रधानन्यायाधीशसहित १० सदस्यीय विशेष इजलासमा बाधा अड्काउ फुकाउ आदेश र मन्त्रिपरिषद्का अध्यक्षविरुद्ध परेका २४ वटा रिट निवेदमाथि बिहीबार भएको प्रारम्भिक बहसपछि बाधा अड्काउ आदेश जारी भएपछि सो विवादसँग सम्बन्धित दायर सातवटा रिटमा मात्र साउन १७ देखि सुनुवाइ गर्ने आदेश दिइएको हो।
चौबीस वटा रिट निवेदनमध्ये १४ वटा संवैधानिक प्रक्रियासँग सम्बन्धित भएको र तीनवटा बाधा अड्काउ फुकाउ आदेश अघिका रिट निवेदन भएकाले ती बाँकी रिट निवेदनलाई भने छुट्टै इजलासमा हेरिन लागेको हो। 

साउन १७ गतेबाट सुनुवाइ हुने रिट निवेदनमा अधिवक्ताहरू डा चन्द्रकान्त ज्ञवाली, कञ्चनकृष्ण न्यौपाने, डा गोपाल शिवाकोटी चिन्तन, सुवास आचार्य, जनसरोकार राख्ने ईश्वरी महतो, अमर के.सी. र भरतमणि जङ्गमका निवेदन रहेका छन्। 

प्रारम्भिक सुनुवाइमा कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले अस्थायी न्यायाधीशले तथा न्यायपरिषद्मा आबद्ध न्यायाधीशले सो रिट निवेदन हेर्न हुने या नहुने, सबै विवादलाई एकैसाथ हेर्न हुने या नहुने र राष्ट्रलाई कसरी संवैधानिक निकास दिलाउन सकिन्छ भन्ने विषयमा कानुन व्यवसायीहरूसँग सुझाव मागेका थिए।

वरिष्ठ अधिवक्ता सुवास नेम्बाङ, शम्भु थापा, युवराज सङ्ग्रौला, महादेवप्रसाद यादव, हरिकृष्ण कार्की तथा अधिवक्ताहरू चन्द्रकान्त ज्ञवालीले सर्वोच्चका सबै न्यायाधीशले सो विवाद हेर्न मिल्ने भन्दै विशेष इजलासको समय तोक्नुपर्ने र रिट निवेदनका मूल विषयलाई आधार बनाएर अघि बढ्नुपर्ने सुझाव दिएका थियो। 

यसैगरी वरिष्ठ अधिवक्ताहरू यज्ञमूर्ति बन्जाडे, विश्वकान्त मैनाली, सुशील पन्त तथा अधिवक्ता रामनारायण बिडारीलगायतले बाधा अड्काउ आदेश जारी भएपछि नियुक्त भएका अस्थायी न्यायाधीशले सो विवाद हेर्न नहुने, संवैधानिक विवादमा सबै न्यायाधीशको इजलास आवश्यक नभएको बताएका थिए।