Friday 16 Shrawn, 2071 |
Menu

माग पूरा नभए निर्वाचनमा भाग नलिने गुप्ताको चेतावनी

(0 votes)
काठमाडौं - तराई मधेस राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले आठ बुँदे माग अघि सार्दै सरकारले त्यसमा सकारात्मक 'रेस्पोन्स' नगरे निर्वाचन आयोगमा दल दर्ता नगर्ने र संविधानसभाको निर्वाचनमा पनि भाग नलिने चेतावनी दिएका छन्।
रिपोर्टर्स क्लबको साक्षात्कारमा मंगलबार बोल्दै उनले निर्वाचन क्षेत्रको पुनर्निधारण, संविधानसभाको संख्या, थ्रेसहोल्ड, मतदाता नामावली संकलन, दलदर्ता प्रावधान, समावेशी विधेयक, आस्थाका बन्दीको रिहाई र संविधानका आधारभुत विषयमा सहमति लगायतका विषयमा असहमति प्रस्तुत गरे। गुप्ताले यथास्थितिमा संविधानसभाको निर्वाचन भए मधेसको लागि स्वीकार्य नहुने भन्दै आफूहरुले अघि सारेको माग निर्वाचनको लागि पूर्व सर्त भएको बताए।

'८ बुँदे मागमा सरकारको रेस्पोन्सपछि मात्रै दल दर्ता गर्छौ। त्यो नभए प्रयोजनहीन निर्वाचनका लागि दल दर्ता गर्नुको औचित्य छैन। हामि निर्वाचनमा भाग लिँदैनौ', उनले भने। मधेसी जनता अहिलेको प्रक्रियाबाट सन्तुष्ट नरहेको भन्दै आफूहरु मधेस आन्दोलनको तयारीमा रहेको समेत जानकारी दिए।

दल दर्ता गर्दा १० हजार मतदाताको हस्ताक्षर र नागरिकता नम्बर चाहिने प्रावधान अब्यवहारिक भएकोले त्यसलाई हटाउनु पर्ने गुप्ताको थियो।

भूमिगत आन्दोलन गरिरहेको जयकृष्ण गोइत समूह र शरद सिंहभण्डारी समूहसँग गम्भीर वार्ता भइरहेको जानकारी दिँदै उनले दुई दलसँग कार्यगत एकता गरेर अघि बढ्ने जानकारी दिए।

एक अर्को प्रसंगमा उनले पूर्व सभासद सदरुल मियाँ हकको हत्या प्रकरणले मुलुकमा सुरक्षा अवस्थाको विषयमा गम्भीर प्रश्न खडा गरेको भन्दै तत्काल हत्यारालाई पक्राउ गरी कारवाही गर्न माग गरे ।