Friday 9 Shrawn, 2071 |
Menu

अन्तर्वार्ता

कांग्रेस 'पर्फेक्ट' नहोला तर अरूभन्दा स्पष्ट छ

(0 votes)
कांग्रेस 'पर्फेक्ट' नहोला तर अरूभन्दा स्पष्ट छ
नेपालका विख्यात कोइराला परिवारमा जन्मेर राजनीतिक आरोह–अवरोहबीच हुर्केका डा. शशांक कोइराला कुशल नेत्र चिकित्सक हुन्। नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाका कान्छा छोरा डा. शशांक कांग्रेसको केन्द्रीय सदस्य छन्। संविधानसभामा उनी नवलपरासीबाट विजयी भएका थिए। कांग्रेसका उदीयमान शशांक पार्टीभित्र समन्वयकारी नेता पनि मानिन्छन्। नेपालको समसामयिक राजनीति र कांग्रेसको भूमिका सम्बन्धमा डा. कोइरालासँग प्रतीक प्रधान, उजिर मगरतिलक पाठकले गरेको कुराकानीको सम्पादित अंश :

६२/०६३ को जनआन्दोलनको नेतृत्व गरेको नेपाली कांग्रेस त्यसयता कमजोर हुँदै गएको देखिन्छ। अहिले कांग्रेसले राष्ट्रिय राजनीतिलाई किन नेतृत्व दिन सकेको छैन? 
०६४ सालको संविधानसभा निर्वाचनपछि एकीकृत नेकपा माओवादी सबैभन्दा ठूलो शक्ति भयो। माओवादीको नेतृत्वमा सरकार गठन पनि भयो। पछि एमालेको नेतृत्वमा सरकार गठन भयो। माओवादी र एमाले दुवैको नेतृत्वमा दुई/दुई पटक सरकार गठन भयो। तर, कांग्रेसको नेतृत्वमा नभएका कारण केही हदसम्म यो कुरा सही देखिन्छ। अर्को कुरा त्यतिखेर धेरै विषय थिए। र, ती विषयलाई नेपाली कांग्रेसले जसरी सम्बोधन गर्नुपर्ने थियो, त्यसरी सम्बोधन गर्न सकेन। यो कुरालाई हामीले स्वीकार गर्नैपर्छ। तर, अहिले फेरि नेपाली कांग्रेस उदयमान भएको छ। पार्टीले खटाएअनुसार म भर्खरै धनुषा गएको थिएँ। त्यहाँ कांग्रेसको पक्षमा लहर देखिएको छ। कांग्रेसमा फिर्ता आउने लहर देखिएको छ भने सर्वसाधारणको पनि कांग्रेसतिर आकर्षण देखिएको छ। अब कांग्रेसले नै बागडोर सम्हाल्नुपर्छ भन्ने सर्वासाधारणको चाहना देखिन थालेको छ। इतिहासमा जहिले पनि कांग्रेसको भूमिका अग्रणी रह्यो तैपनि यसअघि संविधानसभाको चुनावमा मधेसी लहर आयो। माओवादीको पनि डर, त्रास र धम्की देखापर्योस। माओवादीले विभिन्न एजेन्डालाई क्रान्तिकारी रूप पनि दियो। जसमा जनता केही आकर्षित भएकै हुन्। तर, अहिले पहाड, मधेस सबैतिर कांग्रेसको पक्षमा एक किसिमको लहर आएको छ।

०६२/०६३ को जनआन्दोलनपछि गिरिजाप्रसाद कोइरालालाई राष्ट्र्रप्रमुख बन्ने चाहनाले नेपाली राजनीतिमा माओवादी प्रभाव बढ्यो भन्छन् नि? 
त्यस्तो होइन। सबैलाई स्वीकार्य भएको स्थितिमा मात्रै उहाँले राष्ट्रप्रमुख बन्ने चाहना राख्नुभएको होला। त्यो कुरा उहाँले उसबेला पटक–पटक भन्नुभएको पनि थियो। त्यो मानिदिएको भए राम्रो हुन्थ्यो होला। एकातिर क्रान्तिकारी समूहको नेतृत्व गर्ने प्रचण्डजी हुनुहुन्थ्यो, अकोतिर इतिहास बोकेका गिरिजाप्रसाद कोइराला हुँदा 'इक्विलिविरियम' हुन्थ्यो। गिरिजाप्रसाद कोइरालाले त्यत्रो १२ बुँदे समझदारी गरेर माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनुभएको थियो। त्यसो त उहाँ आफैंले हतियार बोकेको अनुभव पनि थियो। यस्तो स्थितिमा माओवादीले संसदीय व्यवस्थाको विरोध गर्ने र कोइरालाको इतिहास र अनुभवका आधारमा त्यसलाई सुधार गर्दै जाँदा राम्रो हुन्थ्यो। तर, त्यस्तो हुन सकेन। 

त्यतिखेर गिरिजाबाबुको राष्ट्रप्रमुख बन्ने चाहनाले उहाँ चुनावी प्रचारमा जानुभएन। त्यसको घाटाचाहिँ कांग्रेसलाई भयो, होइन? 
माओवादीलाई मूलधारको राजनीतिमा ल्याएपछि गिरिजाप्रसाद कोइराला चुनावी प्रचारमा नजानुमा दुईवटा कुराले काम गर्यो । पहिलो, उहाँको स्वास्थ्यले त्यति साथ दिएन। दोस्रो, आफैं चुनावी अभियानमा सक्रिय हुँदा माओवादीहरू अत्तालिएर प्रक्रियाबाट भाग्छन् कि भन्ने मनोविज्ञानले पनि केही काम गर्योस। यो एउटा राजनीतिक निर्णय लिनुभएको जस्तो लाग्छ। 

कांग्रेसले त्यतिखेर जनतालाई आकर्षित गर्ने एजेन्डाचाहिँ किन ल्याउन सकेन? 
माओवादीले जातीय कुरा उठाए, जुन गर्नै नसकिने थियो। 'हरेकलाई राज्य दिन्छु' भन्ने उनीहरूको कुराले सायद जनतामा उत्सुकता ल्यायो। मधेसीको पनि त्यस्तै चाहना थियो। उनीहरूको चाहना र दृष्टिकोण केही हदमा सत्य पनि हो। उनीहरूले आफ्नो कुरा राखे। र, कांग्रेसका तर्फबाट यी सबै कुरा सम्बोधन गर्न ढिलाइ भएकै हो। मधेसको एउटा युवाले गरेको प्रश्न भन्न चाहन्छु। यो प्रश्नले मलाई सोच्न बाध्य बनायो। उसले भन्यो, 'डाक्टरसाब! भोलि तपाइँले धनुषाबाट टिकट पाउनुभयो भने जित्नु पनि हुन्छ। तर, एउटा मधेसीले अहिलेसम्म पहाडबाट टिकट पाएको छ? र, उसले टिकट पायो भने पनि चुनाव जित्छ? जित्दैन नि?' यो एकदम मार्मिक भनाइ हो। यसले पहाडी समुदायले मधेसीलाई स्वीकार्दैनन् भन्ने देखाएको छ। यस्तो स्थितिमा यस किसिमका समस्यालाई कसरी सम्बोधन गर्ने? यी यावत् कुरालाई कांग्रेसले बेलैमा सम्बोधन गर्न सकेन। जनताले विकास र परिचय दुवै खोजेको छन्। यी कुरामा कांग्रेसले राम्रोसँग गृहकार्य गरेर अघि बढ्नु पर्छ। 

जातीयताको कुरामा नेपाली कांग्रेसको 'डिलिङ' कमजोर भएको भन्न खोज्नुभएको हो?
होइन। नेपाली कांग्रेसले बहुजातीय राज्यबारे जुन कुरा गरेको छ, त्यसमा अहिले यथावत छ। त्यसलाई परिवर्तन गर्न सकिँदैन। नेपालजस्तो मिश्रित जाति भएको ठाउँमा एउटा जातिको मात्रै प्रान्त बनाउनु अशोभनीय हुन्छ। त्यही प्रान्तमा अरू जातिको अवस्था के हुने? त्यसैले नेपाली कांग्रेसले लिएको अडान गलत छैन। तर, बुझाउन समय लागेको हो। अझै बुझाउन बाँकी छ। मधेसमा साथीहरूले एक मधेस एक प्रदेशको कुरा गरे। मैले एउटा प्रश्नको जवाफ मागेँ, 'सप्तरीको मानिसलाई कैलाली, कञ्चनपुरसँग मतलव हुन्छ कि उदयपुरसँग?' समग्र मधेस प्रदेश बनाउँदा सप्तरी र कन्चनपुर त एउटै प्रदेशमा पर्छ। तर, यी दुई जिल्लाबीच न सामाजिक न त सांस्कृतिक कारोबार नै हुन्छ। त्यसैले हामीले बहुजातीय हिसाबले नै प्रान्त बनाउनुपर्छ भनेका हौं। 

माओवादीले जातीय कुरा ल्याएको छ नि? 
माओवादी आफैंमा स्पष्ट छैनन्। उनीहरू नयाँ–नयाँ कुरा उठाइदिन्छन्। उनीहरूले जातीय कुरा उठाइदिए। कम्युनिष्ट सिद्धान्तमा जातीय कुराले स्थान नै नपाउनु पर्ने हो। कम्युनिष्टहरू त वर्गविहीन समाज भन्छन्। उनीहरूको प्रारम्भिक विन्दु नै गलत छ। उनीहरूले धर्म निरपेक्षता भनिदिए तर कम्युनिस्टहरू धर्म नै मान्दैनन्। त्यसैले उनीहरूले राख्दै आएका कुरामा आफैँ अस्पष्ट हुन थालेका छन्। बहुलवादको विषयमा पनि माओवादीले आफूअनुकुल व्याख्या गर्ने गर्छ। यतिखेर माओवादीहरू सिद्धान्तविनाको राजनीति गर्दैछन्। बीपी कोइरालाले बहुदलीय लोकतन्त्र र बहुलवादमा कहिल्यै सम्झौता गर्नुभएन। अहिले कांग्रेस बीपीको त्यही बाटोमा अघि बढिरहेको छ। 

माओवादीको डर त्रासले हो वा अन्य कारणले कांग्रेसले हिंसाको राजनीतिलाई सशक्त प्रतिवाद गर्न सकेको छैन नि? 
यसमा दुईटा कुरा छ। पहिलो कुरा ०५२ सालमा माओवादी युद्ध किन सुरू गरियो? भन्ने प्रश्नबाट विश्लेषण गर्नुपर्ने हुन्छ। त्यतिखेर के आपत्ति आएको थियो र माओवादी द्वन्द्वको जन्म भयो? मेरो विचारमा ०४८ देखि ०५१ सम्मको समय नेपालको सुनौलो युग थियो। त्यतिखेर नै विकासका संरचना र आधार तयार भएका हुन्। समाजका हरेक क्षेत्रमा विकास हुँदै गएको थियो। मुलुक समुन्नतितर्फ लम्किएको थियो। मुलुकले विकासको गति लिइरहेका बेला माओवादीले युद्ध गर्नुपर्ने आवश्यकता किन पर्यो? यसैमा ठूलो प्रश्न छ– यो गरेको हो वा कसैबाट गराइएको हो? 

कसले उचाल्यो? 
यो अहिल्यै यसै भन्न सकिँदैन। त्यसैले त खोजीको विषय भएको छ। तर, एउटा निश्चित कुरा के हो भने यो कसै न कसैले उचालिदिएको विषयचाहिँ हो। 

दरबारको भूमिका थियो? 
केही हदसम्म राजाको हात देखिन्छ। तत्कालीन राजा ज्ञानेन्द्र र माओवादीका शीर्ष नेताबीच भेटघाट भएको कुरा उतिबेला पनि चर्चामा आएकै हो नि! होलेरी घटनालाई उदाहरणको रूपमा लिन सकिन्छ। होलेरी घटनामा तत्कालीन प्रधानमन्त्रीले सेना परिचालन गर्न खोज्दा दरबारले असहयोग गरेकै हो नि! तर, मुख्य कुरा लोकतन्त्र फस्टाइरहेका बेला ०५२ सालमा नै माओवादी जनयुद्ध किन सुरू भयो? त्यतिखेर कांग्रेसमा आएको ३६ से र ७१ को विवादमा पनि कहीँ न कहीँबाट षड्यन्त्र भएको थियो कि भन्ने लाग्छ। कांग्रेसलाई कमजोर बनाउन यस्तो विवाद उठाइएको थियो कि? नेताको हिसाबले गिरिजाप्रसाद कोइरालाले यो कुरालाई व्यवस्थापन गर्न सक्नुभएन भन्न त सकिएला। तर, यो विवाद यति बलशाली भएर आएको थियो कि यसको पछाडि केही न केही कारण भने पक्कै हुनुपर्छ। यो किन हामीले मूल्यांकन गर्नुपर्छ भने इतिहास दोहोरिन सक्छ। फेरि पनि त्यस्तो अवस्था आउन सक्छ। त्यसले गर्दा पनि कांग्रेसले यो कुरा बुझ्न आवश्यक छ। 

नेपालको राजनीतिका सवालमा विदेशी हस्तक्षेपको कुरा पनि बारम्बार उठ्ने गर्छ नि? 
नेपाल अन्तर्राष्ट्रिय समुदायको बढी हस्तक्षेप भएका मुलुकमध्ये पर्छ। मैले विभिन्न विद्धानले लेखेका आधारमा यो भनिरहेको छु। यस्तो स्थितिमा यहाँ क–कसको स्वार्थ हुन्छ? भारत र चीन दुई छिमेकी भएका हिसाबले उनीहरूको चासो हुने नै भयो। सुरक्षा, आर्थिक र जलस्रोतको मामिलामा भारतले चासो देखाउँदै आएको छ। चीनको पनि आफ्नै किसिमको चासो छ। नेपालबाट स्वतन्त्र तिब्बतको पक्षमा कुनै गतिविधि नहोस् भन्ने चीनको चासो हो। चीनको चासो पनि सुरक्षासँग जोडिएको छ। युरोपियन युनियनको 'क्रिस्चियानिटी'को विषयमा चासो रहेको कुरा बेलाबखत चर्चा हुँदै आएको विषय हो। त्यसैले बीपीले पहिला राष्ट्रियता, त्यसपछि समाजवाद अनि प्रजातन्त्र भन्नुहुन्थ्यो। अहिले राष्ट्रियताको सवालमा कसैलाई चासो छैन। सबैभन्दा पहिला हाम्रो मुलुक हो, पहिला हामी नेपाली हौं। अनि मात्रै कुनै दलको नेता र कार्यकर्ता हौं। त्यसैले राष्ट्रिय एजेन्डाको सवालमा सबै एक हुनुपर्ने होइन? जलस्रोतमा यति धेरै सम्भावना छ। तर, यसको विकास हुन सकेको छैन। यसलाई विकास गर्न दिइएको छैन। यो विकास गर्न कसले नदिएको? हामी प्रयोग भएका छौं। अरूण आयोजना आएको भए आज लोडसेडिङ हुने थिएन। त्यतिखेर पर्यावरणलाई देखाएर कतिपय पक्षले यसलाई रोकिदिए। सबैभन्दा पहिला हाम्रो मुलुक नेपालीले नै चलाउनुपर्छ भन्ने भावना हरेक राजनीतिक दलमा आउनुपर्छ। यो भावना हुनेबित्तिकै धेरै कुरा सजिलो भएर जान्छ। तर, शक्ति र पैसाका लागि प्रयोग हुन थालियो भने यसले विकराल समस्या ल्याउन सक्छ। 

त्यसो हो भने अहिले अन्तर्राष्ट्रिय शक्तिको प्रभाव र दबाब बढ्दै गएको हो? 
यो त पहिला बीपीको पालामा पनि थियो नि! 

अहिले बढेर गएको हो? 
हो। अहिले अलि बढेर गएको छ। विश्वको जसरी ध्रुवीकरण भएको छ, त्यसका कारण पनि यस्तो प्रभाव बढेको हो। जस्तो चीन उदीयमान शक्ति हो। यही आधारमा जाने हो भने छिट्टै अमेरिकालाई समेत उछिनिदिन्छ। अको छिमेकी मुलुक भारत पनि उदाउँदो शक्तिका रूपमा देखा परेको छ। यस हिसाबले अमेरिका र युरोपबाट अर्थतन्त्र एसियातिर सरेको छ। त्यसैले एक्काइसौं शताब्दीलाई एसियाको युग भन्ने गरिएको छ। यस्ता दुई राष्ट्रको बीचमा हामी छौं। त्यही भएर पूर्व प्रधानमन्त्री बाबुराम भटराईले 'दुई मुलुकको ब्रिज बन्ने' कुरा गर्नुभएको थियो। प्रचण्डजीले यसका लागि प्रयास पनि गर्नुभयो। यो राम्रो कुरा हो। तर, गर्ने कसरी? ब्रिज भन्ने कुरा सुन्दा त राम्रो हो तर गर्ने कसरी? हामीले यी दुवै देशलाई समदूरीमा राखेका छौं। भलै सांस्कृतिक र भाषिक हिसाबले भारतसँग नजिक छौं। त्यसो त चिनियाँहरूले जहिले पनि भारतसँग राम्रो सम्बन्ध राख भनेर सल्लाह दिने गर्छन्। यति धेरै सम्भावना भएको स्थितिमा नेपाल त 'ट्रान्जिट प्वाइन्ट' हुन सक्छ नि! ब्रिज बन्नका लागि पहिला नेपाल बलियो हुनपर्योम। त्यसैले राष्ट्रियताका कुरा म फेरि दोहोर्यानएर भन्छु, 'हाम्रो राष्ट्र हामी आफैंले हाँक्नुपर्छ।' दोस्रो कुरा, राष्ट्रियता र प्रजातन्त्रमा कुनै सम्झौता गर्नु हुँदैन। र, अरूले पनि यहाँ लोकतन्त्रलाई फस्टाउन दिनुपर्यो । 

अन्तर्राष्ट्रिय राजनीतिको प्रभावको कुरा गर्नेबित्तिकै भारतको कुरा बढी आउँछ। भारतलाई नेपालको राजनीतिमा किन यति धेरै चासो भएको होला? 
उनीहरूको सुरक्षा चासो हुन्छ। विगतमा भारत र चीनबीच युद्ध भएकै हो। अहिले पनि कतिपय स्थानमा सीमा विवाद छ। त्यसैले त भारत र चीनबीच बेलाबखत सम्बन्धमा उतारचढाव आइरहन्छ। तर, उनीहरू आर्थिक एजेन्डाका आधारमा निर्देशित भएकाले एक अर्काको हित हेरेर अघि बढिरहेका छन्। यस्तो स्थितिमा दुवै छिमेकीलाई सुरक्षाप्रति चासो हुनु स्वाभाविक हो। त्यस्तै भारतको जलस्रोतमा ठूलो स्वार्थ देखिन्छ। हिमालयमा पाँच लाख मेगावाटको क्षमता हो। जसमा ८३ हजार मेगावाट नेपालमा पर्छ। २ लाख ५० हजार मेगावाट चीनमा पर्छ। थ्री गर्जेज ड्याम असंभव भने पनि चिनियाँले बनाएर देखाए। उनीहरूले जलस्रोतलाई रोकिदिए भने के हुन्छ? त्यसैले यो सम्भावना भएको क्षेत्र हो। र, चासो पनि बढी नै हुने गरेको छ। यस्तो स्थितिमा हामीले जलस्रोतलगायत विषयलाई राष्ट्रिय एजेन्डा बनाएर लैजानुपर्छ। जो आए पनि त्यो राष्ट्रिय एजेन्डा नै रहन्छ। दलहरूबीच यो विषयमा छलफल हुनुपर्ने हो। तर, त्यस्तो भएको देखिँदैन। 

त्यसो त अहिले मुलुकमा उठिरहेका बहस र एजेन्डामा सबै दल अस्पष्ट नै देखिन्छन् नि! 
नेपाली कांग्रेस अस्पष्ट छैन। जस्तो– संघीयताको सवालमा कांग्रेसले ६ प्रदेश भनेको छ। संघीयता भन्ने कुरा त एउटा प्रक्रिया हो। एकै रातमा कर्णाली बनाउन सकिँदैन। संघीय भनेपछि केन्द्रले पैसा दिँदैन। अनि कसरी चल्ने? सबै कुराका लागि समय चाहिन्छ। संघीयता भनेर मात्रै हुँदैन। अहिले पनि कतिपय व्यक्तिहरू पूर्व १ नम्बर भन्छन्। उनीहरूलाई आफ्नै जिल्लाको बारेमा समेत सरोकार रहेको पाइँदैन। त्यो मनस्थितिमा हामी छौं। त्यसैले हामी विकेन्द्रीकरणको प्रक्रियामा छौं र यसका लागि समय लाग्छ। भारतले किन प्रगति गर्यो भने उनीहरूले ७० वर्षदेखि त्यही अभ्यास गर्दै आएका छन्। त्यहाँ समयमै संसदको र स्थानीय निकायको निर्वाचन हुन्छ। जित्ने र हार्ने प्रक्रिया भइरहन्छ तर हामीकहाँ जित्नेको उन्माद र हार्नेको तिक्तता रहिरहन्छ। हामीले लोकतान्त्रिक मूल्य र मान्यतालाई स्वीकार गर्नै सकेका छैनौं। 

कांग्रेस संघीयताका सवालमा धेरै समय अस्पष्ट नै भइरह्यो नि? 
कांग्रेस 'परफेक्ट' त छैन। तर, अरू दलभन्दा स्पष्ट छ। बहुजातीय राज्य भन्ने धारणा हो। बीपी कोइरालाले विकेन्द्रीकरण भन्नुभएको थियो। संघीयता भनेको विकेन्द्रीकरणको अन्तिम लक्ष्य हो। बीपीले नेपाल भनेको गाउँ हो भन्नुभएको थियो। तर, कांग्रेसले ०४८ सालपछि के त्रुटि गरिदियो भने उसले स्थानीय चुनावलाई कहिल्यै प्राथमिकता दिएन। कांग्रेसको ध्यान केवल संसदीय राजनीतिमा मात्रै गयो। स्थानीय चुनावले राजनीतिमा 'थर्माेमिटर'को काम गर्छ। त्यहाँ विकास भएको छ कि छैन वा कुन पार्टीको अवस्था के छ भनेर बताउने काम स्थानीय चुनावले गर्छ। नेपालमा स्थानीय चुनाव नभएको १८ वर्ष भइसक्यो। तर, त्यतातिर कसैको ध्यान नै गएको छैन। 

कांग्रेसको विरोधाभाष नै यहीँनेर छ होइन? भन्ने बेलामा बीपीको सिद्धान्त भन्ने तर व्यवहारम त्यसको उल्टो गर्ने? 
हो, यो कुरालाई म केही हदसम्म मान्छु। 

अहिले पनि स्थानीय चुनाव कांग्रेसको एजेन्डा बन्नै सकेन? 
स्थानीय निर्वाचन त हुनैपर्छ। संगठन गाउँमा नै गर्नुपर्योन। शक्ति केन्द्र काठमाडौं मात्रै हुनुभएन। अहिले पनि टिकट वितरण केन्द्रले गर्छ, हस्तक्षेप गरिदिन्छ। जबकि विगत २४ वर्षको अभ्यासमा विकेन्द्रीकरण भइसक्नुपर्थ्यो तर हुन सकेन। कांग्रेसले स्थानीय कार्यकर्तालाई कहिल्यै पनि प्रशिक्षण दिने काम गरेन। बीपी कोइरालासँग सपना थियो तर समय थिएन। हामीले यति धेरै समय पायौं तर सपना भएन। हामीले सपना नै बोक्न सकेनौं। सपना गाविसबाट सुरू हुनुपर्छ। कांग्रेसले पनि विकेन्द्रीकरणलाई अघि बढाउने काम गरेन। कांग्रेसभित्र पनि विकेन्द्रीकरण भएन। 

त्यसो भए कांग्रेसको समस्या नीतिको कि नेतृत्वको? 
नीतिको त हुँदै होइन। नेतृत्वको त्रुटिले यस्तो भएको हो। फेरि यसको मतलव अरू दलको त्रुटि नभएको होइन। अरू दल त स्पष्ट नै हुन सकेका छैनन्। 
कांग्रेसमा नेतृत्व अहिले झन् विभाजित भएको देखिन्छ नि! त्यसमाथि कसलाई अघि बढाउने भन्ने सवालमा विदेशीले समेत खेल्न थालेको देखिन्छ। 
यो स्वाभाविक हो कि उनीहरू खेल्छन्। नेपाली कांग्रेस कमजोर भएकै हो। नेपाली कांग्रेसको नेतृत्व बीपी कोइरालाको 'लेभल'को जस्तो हुनै सकेन, यो पनि सत्य नै हो। तर, हामीले सुधार ल्याउनुपर्छ, यसमा। त्यो स्तरको सोच हुन सकेन। हामी शक्तिमा नै अल्भि्कने काम गर्यौं । यस्तो स्थितिमा छिमेकीले खेल्छन्। 

भारत र कोइराला परिवारबीचको सम्बन्धमा उतारचढाव आएको देखिन्छ। किन होला? 
विगतमा बीपी कोइराला र नेहरूबीच टकराव भएकै हो। त्यसको अवशेषको अवस्था आज पनि छ। बीपी कोइराला प्रधानमन्त्री भएका बेला उहाँले इजरायललाई मान्यता दिनुभयो। यहुदीसँग न कुनै धार्मिक सम्बन्ध छ न कुनै सीमाना नै छ। तर, किन मान्यता दिनुभयो? यसरी मान्यता दिने नेपाल एसियाको पहिलो मुलुक बन्यो। त्यो एउटा राजनीतिक निर्णय थियो। नेपाल त्यतिखेर अन्तर्राष्ट्रिय स्तरमा परिचित थिएन। यो घटनाले अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित भयो। यही घटनाका कारण नेहरू रिसाए किनभने भारतले त मान्यता दिइसकेको थिएन। नेपालले मान्यता दिएपछि मात्रै भारतले मान्यता दिएको हो। मार्सल टिटोले बीपीलाई 'राइजिङ स्टार अफ एसिया' भनिदिए। नेहरूलाई त्यो मन परेन। त्यसैले २०१७ सालको 'कु' राजाले आफ्नै विवेक र आफ्नै राजनीतिक दृष्टिकोणले गरेको होइन, गराइएको हो। शक्ति संघर्षले गर्दा त्यो दुर्घटना भएको हो। यसमा बीपीको कति त्रुटि थियो, त्यो अलग कुरा हो। त्यसलाई त्यतिखेरै व्यवस्थापन गर्न सक्नुपर्थ्यो। भारतीयहरू त्यतिखेर नेपालमा आफूहरूले 'जे भन्यो त्यही हुनुपर्छ' भन्ने चाहन्थे। त्यही भएर बीपी ०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर फर्किनुभयो। 
अको कुरा हामीले उसबेला सशस्त्र आन्दोलन गरेकै हो। फेरि हाम्रो आन्दोलन माओवादीको जस्तो जथाभावी मानिस मार्ने किसिमको पनि थिएन। त्यतिखेर कांग्रेसले सिधै राजामाथि आक्रमण गरेको हो, जुन बिफल भयो। त्यतिखेर किन बिफल भयो? अहिले किन सफल भयो? त्यो पनि बुझिराख्नुस्। त्यतिखेर सारनाथमा हुँदाको कुरा मलाई सम्झना छ। नोना (कोइराला) आमा, शैलजा (आचार्य) दिदीले तकियामा बम राखेर पठाउँदा समातिन्थ्यो तर माओवादीको कहीं पनि समातिँदैनथ्यो। यो कुरालाई पनि सूक्ष्म हिसाबले हेर्नुपर्ने हुन्छ। 

पछिल्लो समय भारतले माओवादीलाई लिएर हेर्ने दृष्टिकोणमा परिवर्तन आएको हो? 
माओवादीलाई विभाजन गर्नका लागि केही हदसम्म भारतको भूमिका रहेको चर्चा भएकै हो। त्यसमाथि भारतमा अहिले माओवादी गतिविधिले समस्या पारेको हुन सक्छ। भर्खरै मात्र छत्तिसगढमा त्यत्रो घटना भयो। यसबाट भारतीय सोचमा केही परिवर्तन आएको हुन सक्छ। 

अहिले भारतले कांग्रेस त्यसमा पनि शेरबहादुर देउवालाई अघि सार्न खोजेको भन्ने विश्लेषण गरिँदैछ। अहिले देउवालाई भारत भ्रमणमा बोलाएर निकै महŒव पनि दिइरहेको छ। यो कुरालाई चाहिँ कसरी लिनुभएको छ?
मैले बुझेसम्म भारतले पूर्व प्रधानमन्त्रीहरूलाई बोलाएर निर्वाचनको विषयमा धारणा बुझ्न खोजेको हो। त्यसै क्रममा नेपाली कांग्रेसबाट शेरबहादुर देउवालाई बोलाएको हो। फेरि सुशील कोइरालालाई किन बोलाएन? भन्ने प्रश्न पनि उठन सक्छ। त्यसमा उहाँ जान चाहनुभएन कि भन्ने पनि हुन सक्छ। अरू पूर्व प्रधानमन्त्री पनि जाँदै हुनुहुन्छ रे भन्ने सुनेको छु। जहाँसम्म एउटा कुराचाहिँ प्रष्ट हो– देउवा नेपाली कांग्रेसलाई प्रतिनिधित्व गरेर जानुभएको हो। र, उहाँलाई भारतले प्रचण्डलाई भन्दा राम्रो सम्मान दिएको पनि यथार्थ हो। अब त्यसमा केही राजनीति लुकेको छ भने म जान्दिनँ। 

वीरगन्जस्थित वाणिज्य दूतावासका भारतीय अधिकारीको विवादास्पद अभिव्यक्तिप्रति सुशील कोइरालाले प्रतिवाद गरेका कारण भारत र कोइरालाबीचको सम्बन्ध चिसिएको भन्छन् नि! 
मलाई लाग्छ, त्यो घटनामा 'मिस कम्युनिकेसन' मात्रै भएको हो। त्यो घटनापछि प्रमुख चार दलको बैठक भयो। र, त्यसमा चारै दलका नेताले प्रतिवाद गरेका हुन्। पछि भारतीय दूतावासले त्यस किसिमको घटना नै भएको छैन भन्यो। चार दलले त्यो घटनाको वास्तविकता थाहा पाएर नै निर्णय गर्नुभएको होला। 

कांग्रेस विभाजनपछि एकीककरण भएको यति वर्ष भयो। तर, वास्तविक हिसाबले चाहिं एकीकृत बन्न सकेन नि? 
यो दूर्भाग्य भयो। मैले अघि नै भनिहालें– ०५१ सालमा ३६ र ७१ बीचको विवाद भयो। मलाई लाग्छ, त्यो त्यतिखेर विवाद गराइएको हो। तर, कसले गरायो त्यो यकिन गर्न गाह्रो छ। त्यसपछि पार्टी विभाजन भयो। त्यसका कारण राष्ट्रिय हिसाबले ठूलो नोक्सान भयो। पछि एकीकरण भए पनि एक हुने प्रयास भएको देखिँदैन। त्यस्तै विजय गच्छदार, महन्थ ठाकुर, जेपी गुप्ताहरूले पार्टी छाड्ने काम गरे। त्यो पनि दूर्भाग्य नै हो। कांग्रेसमा अहिले विभिन्न गुट रहेको देखिन्छ। लोकतन्त्रमा समूह–समूह हुन्छ र हुनुपर्छ। बीपी कोइरालाको पालामा पनि थियो। तर, अहिले चाहिँ आ–आफ्नै हिसाबले गुटबन्दी भयो। सबैलाई समेट्ने प्रयास नै भएन। अब गगन थापा र बद्री पाण्डेहरूको पुस्ताले त्यसलाई कसरी लिन्छ? गुटबन्दी यति भयो कि महाधिवेशनमा आ–आफ्ना मानिसलाई जिताउन लिस्ट दिने काम भयो। अहिले त कांग्रेसका कतिपय कार्यकर्ताले बीपीको फोटोलाई हेरेर उहाँ पनि हाम्रो पार्टीमा हो र? भन्ने स्थिति आइसक्यो। हामीले आफ्नो मान्छे बनायौं तर कांग्रेस बनाएनौं। अहिले कांग्रेसको क्रियाशील सदस्यता तीन लाख छ। त्यतिखेर ४० हजार मात्रै थियो। ४० हजारले राष्ट्र नै थर्काइदिन्थ्यो तर तीन लाख सदस्य भएको स्थितिमा जुलुस निकाल्नुपर्योर भने दुई हजार मान्छे जुटाउन गाह्रो पर्छ। 

छिमेकी भारतमा हेर्ने हो भने राजनीतिमा वंश परम्परा देखिन्छ। यो स्थितिमा नेपाली कांग्रेसको राजनीतिमा कोइराला परिवारको 'लिगेसी'को संभावना के छ? 
लोकतन्त्रमा परिवारको वर्चस्व भन्ने कुरा रहँदैन। जो सक्षम छ, उही अघि बढ्छ। मलाई नेतृत्वमा पुग्ने आकांक्षा छैन तर चिन्ता छ। वास्तविक हिसाबले भन्ने हो भने मलाई नेतृत्व गर्ने रूचि छैन। तर, परिस्थिति त्यस्तो आइलाग्यो भने पछि पनि हट्दिनँ। जतिसुकै अप्ठयारो स्थिति आए पनि म भाग्दिनँ।