सन् १९६३ मा काठमाडौंका बटुमा जन्मिएका साहको प्रारम्भिक शिक्षा काठमाडौंको लेब्रोटरी माविबाट भएको हो। उनले एसएलसी दरबार हाइस्कुलबाट गरे। ताइवान गएर हवाइ चालक बन्न उनले अध्ययन पनि गरे तर पूरा नगरी बीचमै फर्किए। जब व्यापारमा हात हाले उनी विवाद र चर्चाको शिखरमा पुगे। उनको कम्पनीमा दाउद इब्राइमको लगानी रहेको समाचारले अखबारका पाना भरिन थाले। हक्की स्वभावका साहले कहिलै यी आरोप सकारनेन्।
इराकमा १२ नेपालीको हत्यापछि १६ भदौ २०६१ मा भड्किएको दंगाको एक निसाना साहका कम्पनीहरू भए। त्यस लगत्तै पत्रकार देवप्रकाश त्रिपाठीले च्यानल नेपालका लागि लिएको अन्तर्वार्ताको सम्पादित अंश :
वास्तवमा जमीमजी, तपाईको दाउद इब्राइमसँग परिचयचाहिं कहिले भएको हो?
अहिलेसम्म दाउद भन्नेसँग परिचय त भएको छैन। १३ वर्षअघि सुरुचि भन्ने साप्ताहिकले एउटा समाचार छाप्यो। मेरो अफिसको साथी सेचेन्द्र विष्टले त्यसबारे मलाई जानकारी दिनुभयो। उहाँलाई मैले सोध्नु भयो, त्यो समाचारमा आएको मान्छे को हो भनेर।
त्यो बेला (झन्डै २०४८) सम्म सुन्नुभएको थिएन?
थिइनँ। दाउदको नामै सुनेको थिएनँ।
को रैछ त दाउद इब्राइम?
अन्डरवर्ल्ड मार्केट डन रैछ।
त्यो कहिले थाहा पाउनुभयो?
मैले सेचेन्द्र विष्टसँग कुरा गरेपछि उहाँले त्यो मान्छे माफिया डन रै'छ भन्नुभयो। मैले ए हो र भने। त्यो कस्तो वाहियात लेख्या'रैछ भनेर प्रतिक्रिया दिएँ। उहाँले त्यसबारेमा खण्डन गर्न सुझाव दिएपछि हामीले स्पेसटाइम केवुलको तर्फबाट प्रेस विज्ञप्ति जारी गर्यौं।
दाउद इब्राइमसँग यसरी पटकपटक नाम जोडिरहेपछि एकचोटि भेटौं भन्ने लागेन?
त्यस्तो लागेन। जे होस् पत्रपत्रिकाको दाउदको फोटो देखेको छुँ।
दाउदका सम्पर्क सुत्रसँग कहिलै भेट्नु भएन त?
छैन। भेटेको छैन।
किन जोडियो त तपाईंको नाम?
सञ्चारक्षेत्रमा म आएपछि त्यो बेला विभिन्न मान्छेको फरक स्वार्थ थियो। मचाहिं जानिजानी यो क्षेत्रमा छिरेको पनि होइन। सुरेश श्रेष्ठ, जो गोपालमान श्रेष्ठका छोरा हुन्, उनी मेरो राम्रो साथी हुन्। उनले केवुल टिभीको व्यापार गरौं भनी प्रस्ताव गरे। झन्डै एक करोड बराबरको लगानी गर्ने कुरा उठ्यो। त्यो बेलासम्म हामी होलसेल पसलको ब्यापार गरिरहेका थियौं। मैले हुन्छ भने। त्यसपछि तीन जना मिलेर गर्ने सल्लाह गर्यौं। राजु श्रेष्ठ, निर शाह र म। निर शाहसँग पाँच/छ जना पार्टनर थिए । म मुस्लिम भएकाले ल ल यसलाई यही गाँसिदिऊँ भनेर ममाथि आरोप लगाउन सुरू भए। मलाई त्यसरी आरोप लगाएपछि यसले काम गर्न सक्दैन भन्ने तवरमा मेरो नाम जोडिएको हुनसक्छ।
तपाईँका व्यवसायिक प्रतिस्पर्धी मुस्लिम भएकाले मात्रै दाउदसँग नाम जोडेका हुन् त?
हन्ड्रेड परसेन्ट हो। अरू कुनै कारण छैन।
तपाईँले कसैलाई/व्यवसायिक पार्टनर बन्न चाहनेवालाहरूलाई धोका दिनुभएको थियो?
मैले अहिलेसम्म कसैलाई पनि त्यसरी धोका दिएर हिँडेको छैन।
होइन भने उहाँहरू तपाईंविरुद्ध जानुको के कारण थियो त?
त्यो बेलाका छ जना महारथी हुनुहुन्थ्यो। जो मुलुकका क श्रेणीको व्यापारी हुनुहुन्थ्यो, उहाँहरूले लाइसेन्स निकाल्न सक्नुभएन- केवुल नेटवर्कको लाइन्स।
तपाइँले सक्नुभयो?
सकें, त्यो पनि एकलौटी रूपमा। पाँच वर्ष 'एक्सक्लुसिभ' भनेर निकालें। मबाहेक अरू कसैले खोल्न नपाउने गरेर।
त्योचाहिं कसरी गर्नुभयो?
(लामो सास फेर्दै) यो चाहिँ साथीभाइको हिसाबले पाएको हो। भर्खर बहुदल आएको बेला मैले धेरै मान्छे चिनेको थिइनँ। एउटा पसल चलाएर, होलसेल गर्ने मान्छेलाई पोलिटिक्स भन्ने थाहै थिएन। त्यो बेला मेरो एक जना साथीको अनुरोधमा भर्खरै चुनाव जितेर आएको सांसदलाई वानेश्वरको घरमा राखिदिएको थिएँ। उहाँको नाम विजय गच्छेदार (अहिलेका उपप्रधानमन्त्री) हो। उहाँ मन्त्री हुनुहुन्छ भन्ने मलाई लागेको पनि थिएन। किनभने मलाई त्यो बेलासम्म यो पोलिटिक्स एमाले, कांग्रेस केही ज्ञान पनि थिएन।

त्यो ज्ञानचाहिं कहिलेदेखि भयो?
जब विजय गच्छेदार मन्त्री बने, त्यसको भोलिपल्ट उहाँ बिहान मेरो घरमा आउनुभयो। आकस्मिक रूपमा उहाँ सञ्चारमन्त्री हुनुभयो। मैले भाइको एउटा काम छ, गरिदिनु पर्यो भनेर अनुरोध गरे। उहाँले गरिदिन्छु भन्ने वचन दिनुभयो र गरि पनि दिनुभयो। उनकै सहयोगमा स्पेसटाइम केवुल दर्ता गर्न सफल भएको हुँ।
सुरुमा कति लगानी गर्नुभयो?
उहाँले लाइसेन्स दिनेवेलामा हामीले केवलको मात्र होइन, स्याटेलाइटको पनि लाइसेन्स चाहिन्छ भन्यौं। त्यो बेला विजनेस इन्डिया ग्रुप (विआइटिभी) को मान्छेले पनि स्याटेलाइटको लाइसेन्स मागिरहेको रै'छ। उहाँको लागि धेरै पोलिटिकल प्रेसर छ, मैले दिनैपर्छ भनेर गच्छेदारजीले भन्नुभएपछि मैले भने, ठीकै छ, केवुलको लाइसेन्स हामीलाई दिनुहोस्। आकाश जसलाई बेच्नु छ बेच्नुहोस् हामीलाई केही मतलब छैन।
लगानीको कुरा गर्दा, त्यो बेला बैंकिङको चलन पनि त्यति थिएन। मलाई त्यसबारेमा जानकारी पनि थिएन। मलाई राम्ररी थाहा छ, केवलमा लगानी गर्नुभन्दा अघि ४-५ करोडको ब्यापार गरेर बसिरहेको थिएँ। मैले बुबासँग मागेको २०-२२ लाख रूपियाँले मैले व्यापार सुरु गरेको हो।
तपाइँको बुबा सरकारको सहसचिव हुनुहुन्थ्यो, एउटा कर्मचारीसँग लाखौं, करौडौं रुपैयाँ हुनसक्थ्यो र?
सक्दैनथ्यो। मेरो बुबा सरकारी अफिसर, कृषि मन्त्रालयको। हामीले ७ देखि २० लाखसम्मको व्यापार गर्न थाल्यौं। विभिन्न पसल खोल्दै गयौं। भिडियो क्यासेटको व्यापार पनि सुरू गर्यौं। भिडियोको फिल्म ल्याएर बेच्न थाल्यौं। टोलटोलमा भिडियो देखाउने जमानामा भाडामा क्यासेट दिन्थ्यौं। कुर्बानी फिल्म ल्याएर बेच्ने बेलामा हङकङमा नौ सय, हजार पर्ने फिल्म काठमाडौं आइपुगेपछि एक लाखसम्म पुगेको थियो।
त्यो बेला त अवैध खालको फिल्म पनि खुबै चल्थ्यो नि?
त्यस्तोमा हामी कहिलै गएनौं। हामीले फिल्म ल्याएर बेच्यौँ।
भनेपछि त्यो बेला करोडौँ रुपियाँ केवलमा लगानी गर्नुभयो?
होइन, अहिलेको नाम चलेको चार्टर एकाउटेण्ट तीर्थ उपाध्यायसँग सम्पर्क गर्यौं। उहाँले यति लगानी गर्नुपर्छ, बाँकीको लोन लिनुपर्छ भन्ने सल्लाह दिनुभयो। सुरुवातमा हामीले १ करोड ४८ लाख लगानी गर्यौं। त्यसमा बैंकमा पनि त्यत्तिकै बराबर लगानी गरेको थियो।
अनि कोइराला परिवारको पनि लगानी थियो भन्छन् नि?
थिएन। त्यो हावादारी कुरा हो।
कोइराला परिवारको लगानी छ भन्नुमा कुनै कुनै कारण त होला?
यहाँ अचम्म छ। म जोसँग नजिक जान्छु नि, उसकैको लगानी छ भनिन्छ।
भनाइको मतलब दाउदको पनि नजिक जानुभएको थियो?
त्यसो हैन। म नेपालको कुरा गर्दैछु, राजनीतिक तहको।
नेपालभित्र तपाइँ गिरिजाप्रसादसँग नजिक जानु भा'को थियो?
नजिक गा थिएँ।
अनि छोड्दिनु भयो?
उहाँ ठूलो नेता हुनुहुन्छ, उहाँसँग समय पनि हुँदैन। अस्ति तोडफोड हुँदा धेरैपछि फोन गरेर दुःख लाग्यो भन्नु भाथ्यो।
तपाइँको कम्पनी तोडफोड भयो नि?
त्यो नियोजित रुपमा भयो। मेरो शान्तिनगरको स्पेस टाइमको अफिसमा मात्र आगो लगाइएको भए लाग्थ्यो हुलमुलमा भयो। तर बागबजारको २० वर्ष पुरानो मेरो पसल फोडियो, त्यसको माथिको अफिस फोडियो, त्यसमाथिको अफिसमा आक्रमण भएको छ। त्यसैले त्यो नियोजित हो। तर मसँग प्रमाण छैन।
तपाइँको अफिसमा कतिको क्षति भएको छ?
चार-पाँच करोडको भएको छ।
क्षतिपूर्तिको अपेक्षा राख्नुभएको छ सरकारसँग?
मैले अहिलेसम्म सरकारसँग कुरा गरेको छैन।

त्यो घटनापछि तपाइँको पत्रिका बन्द छ। चलाउनु हुन्न?
चलाउँछु।
कहिले?
सामानहरू जोड्दैछु, सबै सामान यहाँ किन्न पाइँदैन। केही समय लाग्ला।
ठूलो आर्थिक संकट छ भन्छन् तपाइँको कम्पनीमा?
ठीक कुरा हो। मिडिया चलाउनेहरु सबै यस्तै हुने रहेछन्। समयमा कसैले तलब दिँदा रहेनछन्।
यसैगरी नै चलाउँछु भन्ने लाग्छ सधैँ?
त्यस्तो हैन। हाम्रो दुईटा लक्ष्य छ। इन्टरनेट छिटो बजारमा ल्याउने तयारीमा छौं। त्यसले घाटामा चलिरहेको मिडियालाई ठूलो सपोर्ट गर्नेछ। ९० प्रतिशत काम सकिसक्यो, १० प्रतिशत बाँकी छ। यता मलाई केही मान्छेहरु दाउदको लगानी भन्छन् अर्कोतिर मेरा 'स्टाफ'लाई हेर्छु- उनीहरुलाई हामी समयमा तलब खुवाउन सक्दैनौं। बैंकलाई समयमा व्याज तिर्न सक्दिनँ, दुःख लाग्छ।
बरु साँच्चिकै दाउदले लगानी गर्दिए पनि हुन्थ्यो पनि लाग्छ कि?
त्यस्तो लाग्दैन। त्यस्तो लगानी गर्नुभन्दा बरु बन्द गर्नु जाति हो। जुन गलत हो, त्यो गलत नै हो।
जीवनमा तपाइँले गलत काम कहिलै गर्नु भएन?
त्यसो त म भन्दिनँ, गलत काम पनि गरेको छु। कर छलेको छु।
कति धेरै छल्नु भएको छ?
धेरै हैन, अलि अलि। दुई चार लाख छल्नु नै ठूलो कुरा हो नि।
संसारलाई छल्नेबाहेकको गल्ती गर्नुभएको छ?
छैन। अरु केही गरेको छैन।
मौका नपाएर हो कि?
यो स्टेजमा आइसकेपछि अब पैसाले महत्व राख्दैन मलाई। मिडियाभित्र छु। यसलाई कसरी विस्तार गर्ने, राष्ट्रका लागि केही गर्न सकिन्छ भन्ने कुरामा केन्द्रित छु।
तपाइँ 'कम्युनिकेसन बिजनेस'मा चैं किन आउनुभयो?
म जो मान्छेसँग काम गर्दै थिएँ, कामको अफर आयो। त्यो अफरमा मैले उहाँहरुलाई लाइसेन्स लिइसकेपछि पैसा हाल भनेँ। उहाँहरुले भरे, भोलि, बिहान भन्दै झुलाए। त्यसपछि आफैँ अग्रसर भएँ। त्यतिबेला मलाई यो बिजनेसको क, ग, घ, पनि थाहा थिएन।
बडो ख्याल ख्यालमै पो आउनु भएछ त?
मलाई आफैँलाई थाहा थिएन सुरुमा म के गर्दैछु भन्ने। सुरुका चार वर्ष त्यसरी नै बिते। अहिले मलाई थाहा छ।
थाहा चै छ, तर विवादमा हुनुहुन्छ हैन?
मलाई अघि बढ्नबाट रोक्नको लागि विवादमा ल्याउँछन्। तर मलाई रोक्न सकेनन्। अस्ति भर्खर इन्टरनेटको लाइसेन्स लिएँ। बजारमा तुरुन्तै इन्टरनेट ल्याउँदैछु।
विवादमा आउनुको एउटा कारण तपाइँ बढी बोल्नुहुन्छ भन्छन् नि?
मलाई बोल्न मन पर्छ। जसको पनि कमेन्ट गर्न मनपर्छ।
अर्काको विषयमा धेरै चासो राख्नुहुन्छ...
अर्काको विषयमा धेरै चासो राख्दिनँ। तर के भइरहेको छ भनेर 'अप डेट' चै भइरहन्छु।
आईएसआईसँग जोडेर हेर्छन् नि तपाइँलाई?
हेर्नोस्। सरसर्ती हेर्दा कुनै बेला म आइएसआई बनिइन्छु; कुनै बेला म दाउदको मान्छे बनाइन्छु। फरक समयमा मलाई फरक तरिकाले विवादमा ल्याइन्छ। कहिले आइएसआई भनिन्छ, कहिले दाउदको लगानीको कम्पनी छ भनिन्छ। मेरो कम्पनीमा दाउद मात्र हैन कुनै पनि विदेशीको लगानी कसैले कसैले देखाउँछ भने कम्पनी त्यही मान्छेलाई हस्तान्तरण गर्न तयार छु।
प्रमाणित नै नहुने गरी लगानी गरिएको छ होला?
त्यो त हुनै सक्दैन। सञ्चार व्यापार बढी नै गम्भीर व्यापार हो। सरकारको एउटा प्रक्रिया हुन्छ। हरेक वर्ष तपाइँले नवीकरण गर्नुपर्छ, अडिट रिपोर्ट दिनुपर्छ। १०-१२ वर्षदेखि मैले सञ्चार मन्त्रालयमा दिएको अडिट रिपोर्ट आज आएर फेर्न सकिन्छ र।
तपाइँ ढुक्क हुनुहुन्छ आफूबाट अपराध भएको छैन?
म ढुक्क छु। मबाट अपराध कहिलै भएको छैन। गर्नेवाला पनि छैन।
अहिले तपाइँको कम्पनीमा जम्मा लगानी कति छ?
१ सय १० करोड पुग्छ होला अब इन्टरनेट लञ्च भएपछि।
बैंकको ऋण कति छ?
७७ करोड छ। मजाक हैन नि देवप्रकाश जी, ७७ करोडको ऋण हुन्छ मेरो कम्पनीभित्र।

सधैँ आइएसआई र दाउदको मान्छे भनेको सुन्दा सुन्दा तपाइँलाई कहिले कहीँ यो व्यापार नै छाडौं जस्तो लाग्दैन?
त्यस्तो कहिलै पनि भएन। म खान लाउन नपुग्ने मान्छे हैन। आज पनि मेरो बुवासँग गएर सोध्नु- यसलाई यो सब गर्न जरुरी छैन किन गर्छ भन्नुहुन्छ। कम्पनी छाड्नका लागि मैले केही गल्ती गरेको हुनुपर्यो नि। मैले गल्ती गरेको छैन भने किन छाड्ने?
मुस्लिम भएर हिन्दू परिवारसँग वैवाहिक सम्बन्ध जोड्नुको कारण के छ?
त्यस्तै भयो, लभ पर्यो। लभ परेपछि भागेर बिहे गरियो।
मुसलमानहरु त धार्मिक रुपमा कट्टर हुन्छन् भन्छन्, तपाइँले सामाना गर्नु पर्यो कि परेन यो समस्या?
भाइले ओबरायको छोरी बिहे गर्यो। मैले नेवारको छोरी बिहे गरेँ। मेरो परिवारमा त्यस्तो केही छैन।
मुस्लिम धार्मिक कट्टरताले नेपालको सन्दर्भमा कत्तिको प्रश्रय पाएको ठान्नुहुन्छ?
नेपालमा मैले त्यस्तो हिन्दू-मुसलमान भन्ने देखेकै छैन। ९९.९ प्रतिशत मेरा साथी हिन्दू छन्। उनीहरुले मलाई कहिलै पनि मुस्लिम भनेर हेरेनन्। मैले कहिलै उनीहरुलाई हिन्दू भनेर हेरिनँ। नारायण पोखरेलको प्रवचन सुन्न जान्छु कहिले कहीँ। अस्ति भर्खर बुढानिलकण्ठ गएको थिएँ।
कस्तो लाग्यो त हिन्दू प्रवचन?
म बटुमा हुर्केको केटा जहाँ जता हेरे पनि मन्दिर देखिन्छ। टोलभरि स-सना मन्दिर छन्। मलाई मुस्लमान भन्ने फिलिङ छैन। (प्रस्तुतिः कृष्ण ढुंगाना)


Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook



